कवि तथा लेखक सुरेन्द्र अस्तफल चितवनमा बसेर साहित्य सिर्जना गरिरहेका साहित्यकार हुन् । २०५७ सालबाट पुस्तक प्रकाशन सुरु गर्नुभएको उहाँले समाजको चि त्रण गर्न मन पराउनु हुन्छ । अस्तफलका  ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् । ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रह, ‘बिम्बशिविर’, ‘हिउँको आरोहण’, ‘आमा’ र ‘तेलभिसामा’ चार कवितासङ्ग्रह प्रकाशन भइसकेको छ । शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रस्तुत छ, कवि सुरेन्द्र अस्तफलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

आजकल तपाईं व्यस्त हुनुहुन्छ, यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कत्तिको मन जान्छ ?  

– नमन ! पठन र शिक्षण चलिरहेको छ । अधिकांश समय पठनमा बित्ने गर्छ ! पुस्तक प्रकाशन गर्ने रहर सबै लेखकमा हुन्छ नै ।

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– प्रकृति पूर्ण संसार हो । मानिस प्रकृतिको अंश हो । जीवन चलाउन खास दृष्टिकोणको आवश्यकता पर्छ, जसलाई दर्शनको रूपमा लिइन्छ । जीवन बँचाइको उपक्रम हो ।

सुरेन्द्र अस्तफल

सुरेन्द्र अस्तफल

तपाईंलाई जाँगरिलो कवि भन्थे नि हो ?

– होइन नि । म त अल्छी पो छु । कुनै विषयले नगिजोलेसम्म म लेख्नै सक्दिनँ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– अवश्य, विश्वास गर्छु । अध्ययन, चिन्तन र मननले व्यक्तिलाई लेखनमा परिपक्व बनाउँछ ।

तपाईंका कविता बेजोड छन्, हो ? कविता राम्रो लेख्न के गर्नु पर्छ ?

– आफ्ना सन्तान सबैलाई प्रिय लाग्छन् नै । मलाई पनि आफ्ना कविता प्रिय नलाग्ने कुरा नै भएन । यो मानवीय स्वभाव नै हो । सुन्दर कविताको लागि प्रशस्त अध्ययन मननको आवश्यकता पर्छ ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?

– मेरो लेखनको प्रेरणा साहित्यिक रचना नै हुन् । त्यस्तै घरमा दाजु अर्जुन अस्तफलको कविता प्रेम र स्वर्गीय बालमुकुन्द गुरुको साहित्यप्रतिको प्रेरणा नै मेरा साहित्य लेखनका प्रेरणा हुन् ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– खाली समय साहित्य पठनमा नै समय बित्छ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ र किन ?

– मेरो प्रिय विधा कविता लेखन नै हो । राम्रो साहित्य रचना गर्न पठन र पर्याप्त समयको आवश्यकता पर्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– साहित्यिक पत्रकारिता मौलाउँदो छ । यसले जनमा चेतना वृद्धि गरेको छ । यसमा प्रशस्त विकृति देखिएका छन् । सिर्जनशील पत्रकारिता गरिनु जरुरी देखिन्छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– म प्राय: दर्शनसँग सम्बन्धित पुस्तक पढ्न मन पराउँछु । राम्रा पुस्तक लेख्न सके लेखेर बाँच्न सकिन्छ ।

साहित्यको मापदण्ड के हो ?

– साहित्यको मापदण्ड साहित्य लेखन नै हो ।

साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?  

– राजनीति मियो हो । तर राजनीति विकृतिका ऐजेरुले ग्रस्त छ ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?

– साहित्यमा तत्कालीन अवस्थालाई चित्रण गरिएको हुन्छ । त्यसैले साहित्यभित्र युगचेतना र परिवेशलाई यथार्थ ढङ्गले प्रस्तुत गरिनुपर्छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– पुरस्कार र सम्मानको ओइरो नै छ । हजारौँ पुरस्कार स्थापना गरिएको देखिन्छ । तर वास्तविक समालोचना भएको देखिँदैन । नेपाली समालोचना अति प्रशंसा र आलोचनाको सिकार भएको छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरिक साहित्यले समग्र विश्व साहित्य परिवेशलाई चिनाउने काम गरेको छ । अझ गहिराइमा पुगेर साहित्य लेखिनुपर्छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य र लेखनाथ पौडेल पछिको कविता लेखनलाई कसरी हेर्नु भएको छ ?

– भैरव अर्यालपछि हास्यव्यङ्ग्य लेखन नभएको होइन । तर जुन उचाइका साथ हुनुपर्ने हो, भएको छैन । लेखनाथ पौड्यालपछि प्रशस्त उचाइका कविता लेखिएको अनुभूति गरेको छु ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? चितवनको साहित्यिक माहौल कस्तो छ ?

– यसले नेपाली साहित्यलाई सयौँ देशमा पुर्‍याएको छ । साहित्यसँग भाषा र संस्कृतिलाई जोड्ने काम गरेको छ । चितवनको साहित्यिक माहौल साहित्यिक हिसाबले उर्वर रहेको छ ।

तपाईंलाई आशु कवि भन्न मिल्छ ? तपाईं जुन सुकै बेला पनि जुन सुकै ठाउँमा तुरुन्त कविता रच्न सक्नु हुन्छ भनिन्छ नि के यो कुरा साँचो हो ? यसका लागि सिकारु कविलाई के भन्न चाहनु हुन्छ ?

– म आशु कवि होइन । तर कुनै घटना र प्रसङ्गले जब चिमोट्छ तब त्यसलाई लिपिबद्ध गर्ने काम गर्छु । सिकारु कविले विचार मस्तिष्कमा सलबलाउँदा त्यसको टिपोट गर्नुपर्छ र फुर्सदमा कविता बनाउनुपर्छ ।

नेपाली साहित्यको प्रकाशन, वितरण र प्रसारणलाई यहाँले कसरी हेर्नु भएको छ ? यसलाई राम्रो गर्न के गर्नु पर्ला ?

– साहित्यिक पुस्तक प्रकाशनको गति बढेको छ । वितरण प्रक्रियालाई सुधार्नु पर्ने देखिन्छ । पुरस्कार र सम्मानको आधार कृतिलाई बनाइनु पर्छ ।

भनिन्छ, साहित्यले मानिसलाई आनन्दित बनाउँछ ? कसरी, किन ?

– हो, साहित्यले पक्कै पनि मानिसलाई आनन्दित बनाउँछ । साहित्य कला भएकोले यसमा रागात्मकता हुन्छ । यही शक्तिले गर्दा साहित्य सबैको प्रिय बनेको छ ।

भनिन्छ, नेपाली भाषा बिस्तारै लोप हुँदै छ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नु पर्ला ?

– नेपाली भाषा बिस्तारै विकसित हुँदै छ । यसको उत्पत्ति र विकासलाई हेर्दा भाषा लोपतिर उन्मुख भयो भनेर स्वीकार गर्न सकिँदैन । यसको जति विकास हुनुपर्ने हो, त्यति नभएको कुरा मान्न सकिन्छ ।

तपाईंको आफ्नै मन परेको पुस्तक कुन हो ? संक्षेप बताउनु हुन्छ कि किन मन पर्‍यो तपाईंलाई ?

– यही पुस्तक नै प्रिय हो भन्ने छैन । तर काव्यभित्र केही अति प्रिय कविताहरू भने छन् ! मलाई त्यस्ता कविता प्रिय लाग्छन् जुन कवितामा मानवीय गहिराइको अभिव्यक्ति हुन्छ ।

के तपाईंको घरमा साहित्यिक वातावरण छ ?

– मध्यम वर्गीय परिवारको आफ्नै आर्थिक परिवेश हुन्छ । साहित्य लेखनको प्राथमिकता तेस्रो नम्बरमा पर्छ ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– साहित्यमा विचार र कलाको समन्वय हुनुपर्छ । विचार मात्रैले र कला मात्रैले साहित्य अपुरो हुन्छ । पाठक महान् हुन् । उनीहरू अरूको पुस्तक किनेर पढ्छन् । पाठकको अदालतले लेखक हो कि होइन भनेर ट्रेडमार्क दिने गर्छ । तसर्थ लेखक पाठकमैत्री हुनुपर्छ । पाठकले पनि कृतिको विषयमा आफ्नो धारणा राखेर लेखकलाई सच्चिने मौका दिनुपर्छ ।