डिजी शर्मा, युएई ।

युएईमा नेपाली समुदायमाझ एक सामाजिक अभियानताको रुपमा परिचय बनाउनु भएकी सोनी भण्डारीले आफ्नो पहिलो साङ्गीतिक कोसेली लिएर आउनुभएको छ ।

आफ्नी स्वर्गीय आमाको स्मृतिमा भण्डारीले आफ्नै आवाजमा ‘मनै भरिन्छ, आमा तिम्लाई सम्झ्यो कि परेली झनै भरिन्छ’ बोलको गीत सार्वजनिक गर्नुभएको हो ।

सोनी भण्डारी र कृष्ण शताब्दीको संयुक्त लेखन रहेको गीतमा शताब्दीले सङ्गीत गर्नुभएको छ भने उहाँकै सङ्गीत संयोजन रहेको छ ।

कृष्ण शताब्दीको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा भिम खड्का, अनुजा सिंह, सीता भट्टको मुख्य अभिनय देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गर्नुभएको गीतलाई सञ्जीवनी डिजिटल प्रा. लि.ले बजारमा ल्याएको हो ।

रोजगारीको सिलसिलामा पछिल्लो एक दशकदेखि युएईमा रहँदै आउनुभएकी भण्डारी यहाँको विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय हुन्छ । युएईको नेपाली साहित्यमा पनि परिचय बनाउँदै लानु भएकी भण्डारी नवलपुर स्थायी निवासी हुनुहुन्छ ।