पुरानो एउटा डायरी भेटियो ।
भनिन्छ मन लगाएर खोज्ने हो भने ईश्वर पनि भेटिन्छ । यो डायरी भेटिनु कुनै समाचार होइन । तर यतिबेला कथाले मलाई तीन बजे राति उठेर त्यो डायरी खोज्न लगायो ।
खोज्दा–खोज्दै बिचमा एउटा समाचारको कटिङ पनि भेटियो, जसलाई म १० वर्षदेखि कहाँ हरायो होला भनेर सोचिरहेको थिएँ । वास्तवमा हामीले हरायो भनेर ठानिएका धेरै कुराहरू हराएका हुँदा रहेनछन् । मात्र ती केही वर्ष हाम्रा आँखाबाट ओझेलमा परेका हुँदा रहेछन् ।
कुन सड्को, कुन सड्को आज आँखामा पर्यो त्यो समाचारको कटिङ, जसको साइनो सुनसरीको पत्रकारिताको इतिहाससँग छ । कृष्ण अधिकारी दाइ पनि यो समाचार कटिङ भेटिएको सन्दर्भले खुसी हुनु हुने भो ।
साथीहरूले मलाई सुनसरीको पत्रकारिताको इतिहास लेख्न संयोजक बनाइदिएका छन् । मेरो दायित्व पनि छ, इनरुवाको वास्तविक इतिहास लेख्ने । इनरुवाको मात्र होइन, समग्र सुनसरीको इतिहास लेख्ने । तर म यही पाराले त लेख्न सक्तिनँ होला । लेख्दा–लेख्दै कतिपय प्रसङ्ग सम्झिनासाथ भावुक, अनियन्त्रित भइहाल्छु ।
डम्बर थापा दाइ सम्झिन्छु, कस्तो–कस्तो लाग्छ । मेरो भविष्य चाहिँ त्यति सारो हुँदैन होला, कसैलाई, मलाई भेट्यो कि यसलाई सय–पचास रुपियाँ दिउँ जस्तो लाग्ने ।
एकताका म इनरुवाको जल्दोबल्दो पत्रकार थिएँ । म पत्रकार हुनुमा के–के तत्त्व कारक थिए थाहा छैन तर मभित्र बालखैदेखि पत्रकारिताको सेन्सचाहिँ थियो । म चित्त नबुझेको कुरा अर्थात् सुधारका केही अवसर देखिए भनिहाल्थेँ ।
कुनै साथीको कोठामा पस्यो भने त्यो कोठा कति मिलाएको छ भनेर हेर्थेँ र यदि मिलेन जस्तो लाग्यो भने आफैँ मिलाइदिन थाल्थेँ । गाउँमा केटाको बिहे होस् कि केटीको … म खोजिन्थेँ । बेहुला–बेहुलीको कोठा सजाउने ठेक्का मेरै हुन्थ्यो । म गाउँमा छु भने सकियो, भनिराख्नु पर्दैनथ्यो काम आफैँ हुन्थ्यो । त्यस्तो केटा थिएँ म पहिले । प्रो–एक्टिभ ।
तिनै दिनहरूमा मैले एउटा समाचार लेखेँ । समाचार सिद्धान्ततः जानेर होइन, समाचारजस्तै पारेर लेखेँ । नयाँ सन्देश, मातृभूमिहरू पढिन्थ्यो ।
समाचार–जगत साप्ताहिकमा पनि बेलाबेलामा लेखिरहन्थेँ । गाउँमा सिर्जनशील पुस्तकालयको अवशेष बाँकी थियो । दीयो क्लबको पनि धेर–थोर अस्तित्व थियो । कहिले किताब, कहिले पत्रिकाहरू हात परिरहन्थे ।
एकदिन नारायण दाइलाई सोधेँ ।
‘कहाँ जानुभएको थियो हौ तपाई ? निकै दिन हराउनुभयो त !’
नारायण नाम गरेका एक जना असई थिए, कहिले मुद्दा फाँट, कहिले सञ्चारमा काम गर्थे । हाम्रो पसलमा खाना खान्थे । कापीमा हिसाब मैले लेख्नुपर्थ्यो । छ–सात दिनदेखि आएका थिएनन् । त्यो दिन फेरि खाना खाँदै गरेको देखेँ ।
‘झापा गा थिएँ,’ उनले भने ।
‘किन ? सरुवा भयो र ?’ मैले सोधेँ । झापामा उसका कोही आफन्त थिएनन् भन्ने मलाई थाहा थियो ।
‘होइन, झापामा एक जना मान्छे पक्रिन गा’थेँ ।’
‘को मान्छे थियो त्यो ?’
मलाई लाग्छ यो त्यही प्रश्न थियो, जसले मजस्तो बबुरोलाई पनि भुटानमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनसँग जोडिदियो ।
भएको के रहेछ भने टेकनाथ रिजाल त्यहाँ एक जना आफन्तकोमा शरण लिएर बस्दा रहेछन् । त्यहीँबाट आन्दोलनका गतिविधि सञ्चालन गर्दारहेछन् ।
पुलिसले थाहा पायो । समात्यो र पानीटङ्की लगेर इन्डियाको पुलिसलाई बुझाइदियो ।
मलाई यसमा समाचार छ भन्ने लागिहाल्यो । उनले खाना खाइसकेपछि उनीसँगै पुलिस अफिस गएँ । मुद्दा फाँटमा मिसिल हेरेँ, टिप्नुपर्ने कुरा टिपेँ, आएँ ।
मलाई जिल्ला प्रहरी कार्यालयमा जान–आउन कुनै रोकटोक थिएन सानैदेखि । हतियारहरू राखिएको कोठामा पनि म जान्थेँ बेला–बेलामा । त्यो कोठालाई क्वाटर–गार्ड भन्छन् । पुलिसहरू बन्दुक निकाल्थे, पछाडि घाममा बसेर बन्दुकमा तेल लाउँथे, नाल साफ गर्थे । कोही बुट टल्काइरहेका हुन्थे । म पनि बन्दुक ल्याउन, लगेर भित्र स्टेन्डमा मिलाएर राख्न सघाउँथेँ । यो प्रसङ्गमा अहिले यति नै भनुँ । अहिले चाहिँ त्यही पुरानो समाचारवाला सन्दर्भमा फर्किऊँ ।
विवरण टिपेपछि समाचार लेखेँ । सुरुमा शीर्षक लेखेँ । सिद्धान्ततः पहिले समाचार लेख्ने हो, अनि शीर्षक राख्ने हो । खासमा शीर्षक राख्ने काम रिपोर्टरको होइन । सम्पादकको हो । तर म चाहिँ यो मामलामा पनि अलि फरक भएँ । अझै सुरुमा शीर्षक लेख्छु, अनि समाचार लेख्छु । त्यो बेग्लै कुरा हो कि समाचार लेखिसक्दा सुरुमा लेखेको शीर्षक चित्त बुझेन भने परिवर्तन हुनसक्छ । तर त्यस्तो दुर्लभ संयोग खासै भएको छैन । सुरुमा शीर्षक लेख्नु र त्यही शीर्षकको सेरोफेरोमा शब्दहरूको मियो घुमाउनुको मजा बेग्लै छ ।
…
‘बिर्तामोडमा भूटानी नेपाली पक्राउ ।’
मैले त्यो बेला लेखेको समाचारको शीर्षक । डेटलाइन इटहरी । बाइलाइन छैन ।
समाचारको सुरुमा लेखिने ठाउँको नामलाई डेटलाइन र समाचार लेख्ने मान्छेको नामलाई बाइलाइन भन्छन् भन्ने थाहा थिएन त्यो बेला ।
‘झापा जिल्लाको बिर्तामोड, गरामनी बस्ने गङ्गा दाहालका घरबाट यही मङ्सिर १ गते रातको १ बजेको समयमा प्रहरीको एक डफ्फा घरभित्र प्रवेश गरी भूटानी सरकारमा सल्लाहकार रहेका ४५ वर्षीय टेकनाथ रिजाललाई बिनापुर्जी पक्राउ गरेर बेपत्ता बनाएका छन् ।’
३६ शब्द । लिड लेख्दा वाक्य २० शब्दभन्दा बढी भयो भने पढ्नेलाई झर्को लाग्छ, पढ्नेको सास फुल्छ । मान्छेले त्यहाँ भएका प्रसङ्ग बिर्सिन्छ, सुन्ने–पढ्नेलाई सुनेका–पढेका शब्द र भन्न खोजिएको कुरा बुझ्न समय चाहिन्छ, भन्ने थाहा थिएन । लिड भनेकै के हो … थाहा थिएन ।
त्यो समाचारमा अरू सात वाक्य छन् । दोस्रो, तेस्रो, सातौँ र आठौँ वाक्यमा निज शब्द परेको छ, जसमध्ये सुरुको एउटा ह्रस्व र बाँकी तीनवटा दीर्घ छन् । लेख्दालाई लेख्ता लेखिएको छ । भुटानको भु दीर्घ लेख्ने चलन थियो ।
‘निजलाई के कारणले गिरफ्तार गरिएको हो सोबारे प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले केही बताउन चाहेको छैन ।
विश्वस्त सूत्र अनुसार भुटानको आन्तरिक मामिलामा गडबड हुँदा आफ्नो ज्यान जोगाउन भूटानबाट भागेर नेपाल पसेका निज रिजाल केही वर्ष अघिदेखि नेपालमा निर्वासित जीवन बिताइरहेका थिए । स्थानीय पत्रकार एवम् बुद्धिजीवीहरूले यस धरपकडलाई अपहरणको संज्ञा दिएका छन् ।
कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो । नेपालमा मानव अधिकारका कुराहरू भाषण र नारामा मात्र सीमित भएको कुरा रिजालको अपहरणले पुष्टि गरेको छ । यो समाचार लेख्तासम्म नीज रिजाललाई छाडिएको छैन । नीजलाई, भुटान सरकारलाई सुपुर्दगी गर्ने नगर्नेबारे थाहा हुन सकेको छैन ।’
सप्तकोसी साप्ताहिक, वर्ष–८ अङ्क–५ । २०४६ मङ्सिर १५ गते बिहीबार ।
तर यो मैले लेखेको पहिलो समाचार होइन । पहिलो समाचारको शीर्षक त ‘नेपाल, भारत सिमानामा हत्या’ भन्ने थियो, जुन गुरागाईं ‘दलित’ बाइलाइनमा छापिएको थियो । इनरुवाबाट प्रकाशित हुने समाचार जगत साप्ताहिक, वर्ष ५ अङ्क १३ । २०४४ मङ्सिर १३ गते आइतबार ।
यो समाचारको भाषा र अरू समाचार प्रसङ्गहरू तपाईंलाई सुन्ने इच्छा भए म भन्दै जानेछु । कृपया पछि सन्दर्भ कोट्याउनुहोला, कुनै कागजमा टिपिराख्नुस् ।
अहिलेचाहिँ त्यही टेकनाथ रिजालवाला समाचारको कुरा गरौँ ।
दोस्रो वाक्य ठिकठिकै छ । तेस्रो वाक्य चौबिस शब्द । त्यो विश्वस्त सूत्र भनेको चाहिँ त्यही नारायण दाइ हो । भुटान मामलामा आन्तरिक गडबडी छ भन्ने कुरा त्यही बेला हामीलाई थाहा थियो । नेपालीलाई त्यो घाउ आजसम्म पनि टन्किरहेकै छ । चौथो वाक्यमा भनिए जस्तो त्यो बेलाका पत्रकार र बुद्धिजीवीहरू हामी नै हौँ । काठमाडौँतिरबाट आएका पत्रिकामा त्यस्तै वाक्य लेखिएको हुन्थ्यो, मैले पनि ‘सक्कलबमोजिम नक्कल’ उतार गरिदिएँ ।
‘कुनै पनि मान्छेले स्वतन्त्र बाँच्न पाउनु उसको मानव अधिकार हो,’ भन्ने वाक्यमा चाहिँ विचारको मात्रा बढी छ । यस्ता विचारहरू कलात्मक शब्दमा कुनै पनि समाचारभित्र कसरी घुसाउने सिकिएकै थिएन त्यो बेला । अथवा यसो भनौँ– समाचारमा विचार लेख्नुहुन्छ वा हुँदैन भन्ने बहस मेरो कानसम्म आइपुगेको थिएन । छैटाैँ वाक्य डेली पेपरवालाहरूले त्यति मन नपराउने तर साप्ताहिक, ट्याबलाइटवालाहरूले पटक–पटक कपी–पेस्ट गरेर हैरान लगाउने खालको छ ।
पञ्चायतको जगजगी भएको बेला यस्तो समाचार वाइलाइनमा लेख्न सकिने कुरै थिएन । कसले यस्तो सूचना लिक गर्यो भन्ने बाहिर थाहा भयो भने त कुरै सिद्धियो ।
मैले सूचना सङ्कलन गरेपछि लुसुक्क लेखेर, इटहरी लगेर कृष्ण दाइलाई दिएको थिएँ । किनभने कृष्ण दाइको पत्रिकामा मेरा धेरै कविताहरू त्योभन्दा अघि पनि छापिइसकेका थिए । इटहरी आउ–जाउ ठिकै थियो ।
त्यो बेला इटहरीबाट इनरुवा पुग्न बसमा ढुक्कले डेढ घण्टा लाग्थ्यो । भर्खर उद्घाटन भएको कृष्णा टाकिजमा मिथुन चक्रवर्तीको ‘घर एक मन्दिर’ हेर्न टिकट काट्न नसकेर रुन्चे अनुहार बनाएको अहिलेजस्तो लाग्छ ।
…
मेरो घर (घर थिएन डेरा) प्रहरी कार्यालयको छेउमै भएकाले मैले सुरुमै भनिहालेँ, प्रहरी–स्रोतमा राम्रै पहुँच थियो । भित्रका खुफिया कुराहरू मेरो कानमा आइरहन्थे । त्यसमध्ये केही काठमाडौँबाट आउने विमर्श साप्ताहिकको सुलसुले स्तम्भमा पठाउँथेँ । कहिले समाचार जगतमा दिन्थेँ ।
अरूले थाहा नपाउनेगरी काम गर्नुपर्थ्यो । अहिलेजस्तो मन लागेको कुरा लेख्न, बोल्न, छाप्न पाइँदैनथ्यो । डरैडर हुन्थ्यो । पञ्चहरूको निगाहमा जिन्दगी हुन्थ्यो ।
मलाई लाग्छ कृष्ण दाइले यो समाचार खासै सम्पादन गर्नुभएको छैन । किनकि कृष्ण दाइलाई मेरो बानी थाहा थियो । मेरो लेखाइमा कुनै शब्द काटियो भने किन काटिएको भनेर तर्क–विर्तक गरिबस्थेँ । मान्छेलाई जवाफ दिँदादिँदाको दास्ती हुन्थ्यो । बरु जे लेखेको छ, त्यो छापिदियो सकियो । अब ऐन–कानुनले नै लेख्न नमिल्ने शब्द हो भने कुरा बेग्लै भयो । नत्र छोडिदैनथ्यो कसैसँग पनि डिस्कस गर्न । प्रहरीसँगको सङ्गत निकट भएकाले होला सिडियो कार्यालयका कर्मचारीसँग पनि डराउँदिनथेँ ।
यो प्रसङ्ग अहिलेलाई यति नै ।
इटहरीबाट फेरि इनरुवा फर्कौँ ।
त्यो समाचारमा आज मेरो नाम छैन । यदि त्यहीबेला बाइलाइन छाप्न पाएको भए आज कति राम्रो हुन्थ्यो ! अरू केही नभए पनि एउटा सबैले प्रष्ट बुझ्ने लिखित दस्तावेज त हुन्थ्यो ! कम से कम मैले यसरी यो समाचार मेरै हो र मैले नै लेखेको हो भनेर पुष्टि गरिराख्नुपर्ने थिएन ।
अलि महत्त्वपूर्ण लेखाइमा बाइलाइन नहुँदा इतिहास नै प्रभावित हुँदोरहेछ तर मेरो हकमा चाहिँ रिजाल पक्राउवाला समाचार मैले नै लेखेको हो भन्ने पुष्टि हुन्छ । यो समाचार मैले नै लेखेको हो भन्ने खास प्रमाण भनेकै समाचारको कटिङलाई २८ वर्षदेखि मेरै हो भन्दै सँगालिराख्नु हो ।
अरूको भए अरूले नै राख्थे होलान् ।
…
अचेल भगवती मावि पछाडिको होली सुकेर खङ्ग्रङ्ङ भइसकेको छ । त्यो बेला होलीपारि जाने बाटोमा कल्भर्ट भत्केको थियो । महेन्द्र चोकदेखि पानी बटारिएर आउँथ्यो । हामी नाङ्गा–नाङ्गै नुहाउथ्यौँ । सोमबारे हाटमा बेच्न लाने गाई–भैँसीका पुच्छर समाउँथ्यौँ ।
आज भाइहरू सम्पादक भइसकेका छन् । उनीहरू मलाई यो ठाउँमा तेरो हैसियत के हो भने जसरी प्रश्न गरिरहेछन् ।
सुविद गुरागाई कहाँको पत्रकार हो ? कति पढेको पत्रकार हो ? भनेर सोधिरहेछन् । अब सोधेपछि केही न केही त जवाफ दिनैपर्यो तर विडम्बना के छ भने त्यही जवाफ दिने चक्करमा म नचाहँदा नचाहँदै पनि छुच्चो हुनु परिरहेको छ ।
राम्रो गर्नु हाम्रो कर्तव्य होइन, आनन्द हो । जुरस्थ्रुको बाइलाइन ।
बाइलाइनको कुरा गर्दा म जहिले पनि मित्र व्याकुल पाठक सम्झन्छु । अहिले अमेरिकामा छन् ।
‘हाम्रा संवाददाता भनेको तपाईँ हो,’ भेटमा हाँसी–हाँसी जिस्क्याउँछन् उनी ।
यसमा पनि एउटा रोचक सन्दर्भ लुकेको छ तर त्यो प्रसङ्ग म अहिले भन्दिनँ । पछि भन्छु ।
…
पुरानो डायरी भेट्न त भेटियो तर त्यसमा त्यस्तो उल्लेख गर्नुपर्ने खास केही थिएन । २०५४ साल माघ २७ गतेदेखि फागुन २ गतेसम्म हामीले इनरुवामा ग्रामीण पत्रकारिता प्रवीणता तालिम सञ्चालन गरेका रहेछौँ । डायरी भन्नु कि के भन्नु ! त्यो त्यही तालिममा भए–गरिएका कुराहरूको टिपोट थियो ।
क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर र पत्रकारिता तथा सञ्चार स्रोत विकास केन्द्र इनरुवाको आयोजनामा तालिम भएको सन्दर्भ छ त्यसमा ।
प्रशिक्षकहरू शरदचन्द्र वस्ती, यज्ञ शर्मा, टङ्क खनाल, मोहन भण्डारी । सम्पर्क फोन नम्बरहरूसहित । सहभागीहरू थिए २३ जना ।
क्रमशः अर्जुन पोख्रेल, अरुण प्रधान, अबुल हुसेन अन्सारी, इकवाल अहमद, कृष्णप्रसाद आचार्य, चन्दा रायमाझी, चम्पा अधिकारी, छत्रबहादुर आले, पिबि दियाली, प्रल्हाद गुरागाई, मणिराज दुलाल, मञ्जुकुमारी उराँव, मिथिला अधिकारी, मुकुन्द दहाल, रविनकुमार घिमिरे, राजेश विद्रोही, राम कोइराला, विजय खतिवडा, वीरेन्द्रकुमार शाह, शालिग्राम काफ्ले, शशी कोइराला र सन्तोषकुमार देव । म त म भइगएँ । तालिम संयोजनकर्ता । आजको समाचारपत्र संवाददाता ।
त्यहीस्तरको पत्रकारिता तालिम इनरुवामा फेरि कसैले आयोजना गर्यो कि गरेन ? अहिले यसै भन्न सक्तिनँ ।
बीचमा इनरुवासँग मेरो अलिकति ग्याप भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 








