‘विचरा सम्पादकहरू
आफैँ हुर्काउँछन्,
आफूले पुज्नुपर्ने भगवानहरू !’

पत्रकारिता तालिममा जब सम्पादक र सम्पादनबारे कुरा उठ्छ, म प्रायः कवि दिनेश अधिकारीका उल्लिखित शब्द सापट लिएर विषय प्रवेश गर्नेगर्छु । बीचमा कवि/पत्रकार मित्र वसन्तप्रकाश उपाध्यायले लेखेका शब्द पनि सम्झनामा आउँछन् । उपाध्यायका शब्दहरू ‘प्रयास’ हवाई–पत्रिकाको २०५० साउन अङ्कमा प्रकाशित छ ।

‘सम्पादक’ शीर्षकमा, हाल–धर्मपथ, काठमाडौँ डेटलाइनमा jसन्तप्रकाश उपाध्यायको नामबाट छापिएको छ– ‘लेखेर खान नसक्नेहरू, जाँचेर खान तम्सँदा जन्मिन्छ ऊ ।’

उपाध्याय त्यो बेला गोरखापत्र संस्थानमा जागिरे थिए, जो पछि मधुपर्क हुँदै गोरखापत्रको सम्पादकसम्म भए । त्यो बेला म प्रयास हवाई–पत्रिकाको सम्पादक थिएँ ।

तिनै दिनहरूमा मलाई हरिवन, सर्लाहीका नन्दनहरि उपाध्याय ‘ओखलढुङ्गे’ (कवि दिनेश अधिकारीका बुबा)लाई उछिन्ने रहर जागेको थियो । ‘ओखलढुङ्गे’ गोरखापत्रमा सम्पादकलाई सर्वाधिक चिठी लेख्नेमा गनिन्थे । त्यसरी चिठी लेखेबापक गोरखापत्रले उनलाई सम्मान गरेको समाचार जुन दिन सुनेँ, त्यही दिन मलाई पनि उनको पदचिह्न पछ्याउँदै आफ्नो अलग पहिचान बनाउने भूत–सवार भएको थियो ।

‘पाठक–पत्र’ स्तम्भलाई गोरखापत्रले ‘सम्पादकलाई चिठी’ नाम दिएको थियो, छ । त्यसैलाई भारतीय अखबारले ‘हे सम्पादक !’ लेख्ने गर्थे । अनि हरेक अखबारले पाठक–पत्रलाई विशेष प्राथमिकता, ठाउँ र सम्मान दिन्थे । कारण त्यो बेला अखबार पढ्ने मान्छे नै थोरै हुन्थे । पढेर प्रतिक्रिया दिने त्योभन्दा कम । त्यसमाथि लेखेरै प्रतिक्रिया सम्प्रेषित गर्ने जाँगर न्यूनसँग मात्र हुन्थ्यो ।

‘सुविद गुरागाई, इनरुवा १/३ सुनसरी, पिन कोड ०५६७०७, कोसी अञ्चल, नेपाल । छैमले–२, काठमाडौँ । रत्ननगर–२ चितवन । गोली–१, सोलुखुम्बू । इनरुवा हाल मानभवन, ललितपुर । जहाँ–जहाँ पुग्थेँ, त्यहीँको डेटलाइन हुन्थ्यो चिठीमा । पठाएको भोलिपल्ट प्राथमिकतासाथ छापिन्थ्यो सम्पादकलाई चिठी ।

चिठीमा लेखिन्थ्यो, गोरखापत्रमा छापिएका कुनै समाचार, लेख–रचनाबारे प्रतिक्रिया वा मनको कुरो, टिप्पणी वा सार्वजनिक जीवनमा आफूलाई चित्त नबुझेको सन्दर्भ । त्यो बेला सुविद गुरागाई बाइलाइनमा राष्ट्रियस्तरको गोरखापत्रमा मात्र होइन, मातृभूमि, विमर्श साप्ताहिकमा पनि छापिन्थे, आफूलाई छपाउन मन लागेका कुरा ।

त्यो समयमा नेपालको ‘ब्रोडसिट–डेली’ अर्थात् ठुलो आकारको अखबार गोरखापत्रमात्र थियो । निजी क्षेत्रका अग्रज ब्रोडसिट–डेली कान्तिपुर (२०४९ फागुन ७) र आजको समाचारपत्र (२०५१ पुस २७) सङ्घर्षको चरणमा थिए । आधा शताब्दी पार गरेको सरकारी दैनिक गोरखापत्रमा लेख्नु, नाम छापिनुको मजा बेग्लै हुन्थ्यो ।

गोरखापत्र पुरानो, सरकारी सञ्चारमध्यम भएकाले मात्र होइन, भाषामा सचेत र मानक मानिने हुँदा गुरुहरूसमेत गोरखापत्र पढ्न प्रोत्साहित गर्थे । त्यही रोमाञ्च र केही सिकाइको अवसरका लागि नियमित लेखिन्थ्यो निःशुल्क चिठी, आफ्नो मानो खाएर । कापी–कलम, हुलाक खर्च गोजीबाट हुन्थ्यो, नामका लागि । जसलाई मैले २०५०, २०५१, २०५२ अर्थात् लगातार तीन वर्ष धानेको थिएँ । तत्कालीन आजको समाचार–पत्रको संवाददाता भएपछि भने तीनै विषयवस्तुलाई समाचार–पत्रका लागि सुनसरी डेटलाइनमा समाचार बनाएर लेख्न थालेँ ।

अहिले बुझ्दा लाग्छ– त्यस उमेरमा सम्पादलाई चिठीका लागि गरिएको त्यो समय र पैसाको लगानी खेर गएको रहेनछ । आयुर्वेदिक दबाईले ढिलो काम गर्छ भने जस्तो त्यसले अहिले काम गर्दै छ । तर त्यो बेला रोमाञ्चबाहेक बालुवामा पानी हालेसरह अनुभूति भएको थियो, मात्र राष्ट्रिय पत्रिकामा आफ्नो नाम र विचार छापिएको आनन्द सञ्चयनका लागि ।

त्यस बेलाका कटिङ लगभग सबै छन् मसँग । अहिले हेर्दा देखिन्छ, मैले गोरखापत्रका सम्पादकलाई सम्बोधन गरेर लेखेका अधिकतर चिठीहरू केवल लेख्नका लागि लेखिएका पाठक प्रतिक्रिया थिएनन्, गोरखापत्रका संवाददाता नपुगेका ठाउँमा समाचारहरू थिए । अर्को शब्दमा भन्दा म गोरखापत्रको अवैतनिक, अघोषित संवाददाता थिएँ ।

सम्पादकलाई चिठी होस् चाहे समाचार, म त्यतिमात्रै लेख्थेँ, लेख्छु, जति कथाले मागेको हुन्छ । शीर्षकदेखि समापनसम्म नकाटिएका अक्षर, पत्रिकाको स्टाइल–बुकअनुसार एका–दुई शब्दको हिज्जे मिलाउनबाहेक खासै मिहिनेत गर्नुपर्दैनथ्यो डेस्कले । सकेसम्म गल्ती नगर्ने, अक्षर नकाट्ने मेरो प्रतिबद्धता नै थियो । दुरुस्त अचेल पेट्रोल–डिजल ट्याङ्कर पछाडि लेखिने ‘पेट्रोलियम पदार्थमा शुद्धता: हाम्रो प्रतिबद्धता’ भने जस्तो ।

तर त्यो बेला र अहिले एउटा तात्त्विक भिन्नता छ । त्यो बेला कम से कम मलाई सार्वजनिक जीवनबाट आज जसरी कापी–कलमको दिन जाला अर्थात् कलमले लेख्नुपर्ने चलन लगभग अन्त्य होला भन्ने लागेको थिएन । त्यसैले मेरो गोजीमा हरपल एउटा कलम र टिपेक्स सँगसँगै हुन्थ्यो । कपिल काफ्ले, याम प्रधान, कृष्ण भुल्केली, भीम घिमिरे, वेदराज पौडेल, शशी कोइराला, गोविन्द घिमिरे, सचिन पोखरेललगायत पत्रकारहरू मेरा साक्षी हुन्, त्यो बेला म कति यत्नले खिपेर (छापाका जस्तै पारेर) अक्षरहरू लेख्थेँ र प्रेषित गर्थेँ ।

फ्याक्सको प्रचलन सुरु हुनुअघि टिपेक्सले राम्रै काम गरेको थियो, केरमेट सम्पादनमा । तर जसै सञ्चार–बजारमा फ्याक्स सर्वसुलभ भयो, पिसिओ (फ्याक्स–टेलिफोन सेवा)वालाहरू टिपेक्स लागेको कागजले ड्रम कोरिन्छ भनेर सकेसम्म टिपेक्स प्रयोग नगर्न दबाब दिइरहन्थे । म पनि सकेसम्म टिपेक्स प्रयोग नगर्न सचेत भइरहन्थे । कथम्कदाचित कुनै वाक्य काट्नु परे पाना नै च्यातेर सुरुदेखि लेख्न थाल्थेँ ।

मेरो यस्तो चाला अर्थात् अति–सचेतना देखेर बरु साथीहरूलाई झर्को लाग्थ्यो, मलाई लाग्दैनथ्यो । सादा कागजमा अक्षरहरू नकाटी र सीधा लेख्न याम प्रधान र मबीच एकप्रकारको अघोषित प्रतिस्पर्धा नै थियो ।

याम प्रधानका अक्षरहरू पनि सहजै बुझिने, सीधा र नकाटिएका हुन्थे । तर उनी छिटो–छिटो लेख्थे र माथिको डाँडी शब्दको अन्तिममा दिन्थे । म भने बिस्तारै लेख्थेँ र पूरै डाँडी दिन्थेँ । याम प्रधान हार्ड–न्युज मेसिन थिए, जसको तुलना अरू पत्रकारसँग हुन सक्दैनथ्यो । म भने फिचर ‘मास्टर’ थिएँ । उही कुरा कलात्मक र फरक शैलीमा लेख्न सिपालु ।

आज याम प्रधान छैनन्, म बाँकी छु । आज पनि सफ्ट न्युज लेख्न बसेँ भने उत्तिकै सचेतनाका साथ लेख्न सक्छु भन्ने आत्म–विश्वास गलेको छैन । सम्पादकीय जिम्मेवारीले गर्दा मन माफिक लेख्ने समय व्यवस्थापन गर्न गाह्रो छ, त्यो अलग कुरा हो ।

भनिन्छ, एउटा असल (जल्दोबल्दो) रिपोर्टरको असली आयु १० वर्षको हुन्छ । त्यसपछि कि ऊ सम्पादक हुन्छ, कि पत्रकारिताको शिक्षक, कि किताब–लेखक । संयोग भन्नुपर्छ याम प्रधानमा यसमा अपवाद रहे । झन्डै चार दशक सक्रिय पत्रकारितामा बिताएका प्रधान रिपोर्टर हुँदाहुँदै रोगले थलिएर असमय सधैँका लागि सेवा–निवृत्त भए । म यथावत् छु ।

वैकल्पिक काम खोज्दै पत्रकारिताको मूलधारमा आउनुअघिका दिन सम्झिँदा ऊ बेला अहिले जस्तो व्यस्तता थिएन । फुर्सदै–फुर्सद थियो । र फुर्सदको समय सदुपयोग हेतु ‘सम्पादकलाई चिठी’ लेख्ने रहर हुर्काइएको थियो, जसका केही नमुना आज तपाईलाई सुनाउन मन लागेको छ –

‘पुल बन्यो, पुल बनेन’ शीर्षकमा २०५१ साउन २५ गते मङ्गलबार इनरुवा, सुनसरी डेटलाइनमा छापिएको सम्पादकलाई चिठीको पेटबोली यस्तो छ–

‘सामान्यतया पुल बन्नु आफैँमा कुनै समाचार होइन । तर इनरुवा अस्पतालको कम्पाउन्ड प्रवेश गर्ने बाटोमा एक–एक बित्ता फरकमा खानेपानीको पाइप ओछ्याएर बनाइएको पुल अर्थात् धरापलाई पार गर्ने बिरामी र वृद्धहरूले टेक्यो कि खुट्टा पुलभित्र छिर्छ । अस्पतालजस्तो संवेदनशील ठाउँमा यस्तो धराप थाप्नुको औचित्य के हो ?’

त्यो बेला म शिक्षणको सिलसिलामा काठमाडौँ, छैमलेमा थिएँ । बर्खे बिदामा घर आएका बेला देखेर सम्पादकलाई चिठी लेखेको थिएँ । त्यसअघि अर्थात् २०५० फागुन १४ गते उतैकोे समस्या, उतैका डेटलाइनमा, गोरखापत्रमा डेब्यु गरेको थिएँ । खिचापोखरीको यो रूप शीर्षकमा लेखिएको सो पत्रमा जम्मा दुई वाक्य छन् । भनिएको छ– ‘राजधानीको एक महत्त्वपूर्ण क्षेत्र मानिने खिचापोखरीमा स्थानीय बासिन्दा पनि फोहोर कन्टेनरमा नफालेर सडकमा फाल्छन् । यस्तो कार्य नियन्त्रण गर्न सके खिचापोखरी सफा हुने थियो ।’

त्यो बेला छापिएका तीन दर्जनभन्दा बढी सम्पादकलाई चिठी प्रायः सबै न्युज–सेन्समा आधारित छन् । त्योमध्ये एउटा हाल छैमले–२, काठमाडौँ डेटलाइनमा छापिएको सामग्रीको शीर्षक हो– पत्रमन्जूषा अर्थात् मृग–मरिचिका !

‘महानगर काठमाडौँमा पत्रमन्जूषाहरू ठाउँ–ठाउँमा राखिएका त छन् तर हुलाक सेवा विभागको टिकट बिक्री काउन्टर ठाउँ–ठाउँमा नहुँदा ती पत्रमन्जूषाहरू प्रयोजनविहीन भएका छन् । देखिन्छन् तर काम छैन, मरुभूमिमा देखिने मृग–मरिचिकाजस्तै ।’

‘यस्तै, काठमाडौँ जिल्लामा छैमले, टल्कु डुँडाचौर, लप्सीफेदी, नाङ्लेभारे आदि अरू पनि गाविसहरू छन्, जहाँ अझै हुलाक, यातायातजस्ता आधारभूत सुविधाहरू छैनन् । ती गाविसहरूमा डुल्दा यी डोल्पा जिल्लाका गाउँ हुन् कि काठमाडौँका छ्ट्याउन गाह्रो पर्छ । कृपया ‘काठमाडौँ’लाई मात्र काठमाडौँ ठान्ने योजनाविद्हरूले कुरा बुझिदिनुप-यो ।’

गोरखापत्रमा सुविद गुरागाई बाइलाइनमा सम्पादकलाई चिठी छापिएको फेहरिस्त लामो छ । टेलिफोन छ टेलिफोन छैन, कता हरायो ?, पचाउनैपर्ने हो कि ?, सच्याइयोस्, विचरा ट्राफिक बत्तीहरू, समयमै सच्याइदिए राम्रो हुने थियो, दक्षिणकालीमा यस्तो पनि हुन्छ, नगर प्रवेश शुल्क किन लगाउने, ध्यान दिने कसले ? जस्ता शीर्षकमा चिठीहरू छापिएका छन् । त्यसैगरी, नेसनलको अर्थ दशरथ, वीर अस्पतालअगाडि !, जनभावनाको कदर हुनुप¥यो, बूढी राप्तीमा पुल बन्ला कि ? बस स्टपको बोर्डमात्र, मदिरा निषेधित क्षेत्रमात्र भनेर …, बत्तीमुनि अँध्यारो, जीवन बिमा र कोसीपारिका यात्री शीर्षकमा छापिएका कटिङ पनि सुरक्षित छन् ।

यहाँ उल्लेख गर्न मन लागेको ‘यो कस्तो शिक्षा निर्देशिका’ शीर्षकको सम्पादकलाई चिठी भने अलि लामो छ । शिक्षक निर्देशिकामा भेटिएको गल्ती सुधारको अपेक्षासहित घ्याम्पादेवी प्रावि, छैमले, काठमाडौँ डेटलाइन तथा सुविद गुरागाई वाइलाइनमा लेखिएको विवरण यस्तो छ–

‘प्राथमिक पाठ्यक्रम पाठ्यपुस्तक विकास इकाईद्वारा प्रकाशित ‘मेरो नेपाली किताब कक्षा–२’ को शिक्षक निर्देशिकाको पृष्ठ ७६ मा एउटा छेउ–पुच्छर नमिलेको तथा भाषा अशुद्ध भएको अनुच्छेद छापिएको छ । जो यसप्रकार छ:’

‘चराहरूका राजा थिएनन् । ब्रह्माजीले भने पीर प-यो । अनि उसले एउटा जुक्ति सोच्यो– अरू राम्रा–राम्रा चराका पखेटा खोजेर जिउमा घुसारे भने त म राम्रो भइहाल्छ । कागले त्यसै ग-यो । अरू चरालाई चित्त बुझेन । नक्कलीलाई राजा को मान्थ्यो । अरू चराहरूले कौावलाई ठुँगे, पखेटा भुत्ल्याए । काग फेरि कागै देखिएपछि उसले साह्रै लाज मान्यो ।’

‘यसका लेखक तथा सम्पादक क्रमशः जीवन वाग्ले र दिवाकर ढुङ्गेल हुन् । तर लेखक र सम्पादक जो भए पनि पाठ्यक्रम पाठ्यपुस्तक विकास इकाईजस्तो संवेदनशील ठाउँबाट उत्पादित सामग्रीहरूमा यसप्रकारका गम्भीर त्रुटिले गर्दा उसको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह लाग्न सक्दैन र !’

२०५१ भदौ १६ गते बिहीबार छापिएको ‘फोहरी संस्कार हुर्किँदै छ,’ शीर्षकको सम्पादकलाई चिठी भने पत्रकारिता र मानिसको लेखन व्यवहारसँग सम्बन्धित छ–

‘हिजोआज हाम्रो समाजमा देखिन थालेका पत्रपत्रिकाहरूले (चाहे गाईजात्राको नाममा, चाहे यौनशिक्षाको नाममा) अश्लीलतालाई बढावा दिने काम गरिराखेका छन् । यी पत्रिकाहरूमा छापिएका चित्रहरू तथा सामग्रीहरूले हाम्रोजस्तो सुसंस्कृत समाजमा फोहरी संस्कार हुर्काउने काम गरिराखेका छन् । यसैको फलस्वरूप हिजोआजका युवा–युवती क्याम्पस शौचालयको भित्तादेखि लिएर अस्पताल, बसपार्क तथा अन्य सार्वजनिक शौचालयहरूमा अश्लील शब्दहरू लेख्न पछि पर्दैनन् ।’

‘आखिर यो स्थितिको जिम्मेवार को छ ? स्थितिको गाम्भीर्यतालाई बुझेर सम्बन्धित पक्षले हलुका, अश्लील पत्रपत्रिकालाई समयमै प्रतिबन्ध नलगाउने हो भने त्यसको गलत परिणाम निस्किएपछि पछुताउनुको औचित्य रहँदैन ।’