– सुविद गुरागाई
मैले अक्षर चिन्दा इनरुवाको नाम इनर्वा थियो ।
राष्ट्रिय वाणिज्य बैङ्कको चेकमा होस् कि साइनबोर्ड इनर्वा पढेको थिएँ मैले । सिडियो कार्यालय, थाना, मालपोतका साइनबोर्डमा पनि त्यस्तै देख्थेँ । मैले थाहा पाउँदा–पाउँदै इनर्वा, इनरुवा भयो । तर, सबभन्दा पहिले कसले लेख्यो इनरुवा शब्द ? इनर्वालाई इनरुवा बनायो कसले ? कसको दिमागमा सबभन्दा पहिले यो कुरा आयो ? धेरैलाई थाहा छैन ।
त्यो बेला सप्तरीमा अर्को इनर्वा थियो, सिराहामा पनि इनर्वा थियो । मैथिलीमा ‘र’ अक्षरलाई विशेष शैलीमा छिटो उच्चारण गरिने हुँदा यो ठाउँलाई पनि इनर्वा नै भनिन्थ्यो ।
२०१५ सालको चुनाव हुनुभन्दा अघिको कुरा हो यो । सेरोफेरोको ग्राम विकास केन्द्र भुटाहामा थियो । यहाँका जिमीदार, पटुवारीहरूले रसिदमा इनर्वा नै लेख्थे । ती दिनहरूमा कर्णबहादुर मगर (पछि कर्णसिंह मुरुङ्जय), गोपाल कोइराला, ददिराम पराजुली, रघुनाथ अधिकारी, पण्डित हरिप्रसाद घिमिरे, पण्डित फणिराज नेपाली (भट्टराई) आदि साहित्यिक मनहरूको समूह थियो । बेला–बेला साहित्यिक सङ्गतिहरू हुन्थे ।
भगवती मन्दिर अगाडि चौरमा एउटा ठुलो करबिरेको रुख थियो । त्यही रुख तल महाकवि देवकोटाका साकुन्तल, सुलोचना महाकाव्य र अरू साहित्यिक रचनाहरू सुन्ने–सुनाउने काम हुन्थ्यो । शब्द–शब्दको अर्थ खोज्ने, बुझिनेगरी मिलाई–मिलाई उच्चारण गर्ने अभ्यास हुन्थ्यो ।
इनर्वामा काठको घर बनाउन भोजपुरिया, छपरिया, दरभङ्गिया मिस्त्रीहरू आउँथे । उनीहरू इनर्वा भन्न जान्दैनथे । इनरुवा भन्थे । उनीहरूले इनरुवा उच्चारण गरेको यहाँका लेखनमा रुचि भएका युवाहरूलाई मन पथ्र्यो । स्थानीय बूढापाकाहरू पनि इनर्वा त सप्तरी, सिराहातिरको लवजमा हुन्छ, यो त इनरुवा हो भन्थे । त्यसैलाई टपक्क टिपेर समकालीन युवाहरूले आफ्नो रचनाको अन्तमा, डायरीमा नाम–ठेगाना लेख्दा, साथीहरूलाई टिपाउँदा इनरुवा लेख्न–टिपाउन थाले ।
२०१० सालमा महानन्द सापकोटा इनर्वा आउनुभयो ।
उहाँ आएपछि एउटा सानो टिनको टहरो जोडेर स्कुलको सामान्य सुरुवात गर्नुभयो । स्कुललाई औपचारिक रूप दिन अर्थ सङ्कलन अभियान थालियो । त्यही क्रममा महानन्द गुरुले फणिराज नेपालीलाई नाटक लेख्न भन्नुभयो । गोपाल कोइराला, लावण्य सापकोटा, प्रमुनारायण लाल कर्ण, उमेश कर्ण, सविता श्रेष्ठ ‘चलन’ आदि कलाकार भए । टोली गाउँ–गाउँमा नाटक देखाउँदै हिँड्यो ।
सहयोग सङ्कलन अभियान सकिएपछि विश्वनाथ धर्मशालामा स्कुल स्थापित भयो । प्रस्तावित भगवती मिडिल स्कुल ।
स्कुलको ठेगाना लेख्दा ‘इनर्वा’ लेख्ने कि ‘इनरुवा’ लेख्ने भन्ने कुरा आयो । युवाहरूले आफ्ना रचना, डायरीहरूमा इनरुवा लेख्न थालिसकेका थिए । सरकारी कागजपत्रमा चाहिँ ‘इनर्वा’ नै थियो । महानन्द गुरुले इनरुवा लेखेकै ठिक हुन्छ भन्नुभो ।
यसरी इनर्वा, इनरुवा संस्थागत भयो ।
…
नाम बदलिए पनि इनरुवाको ग्राउन्ड रियालिटी बदलिएको छैन ।
हिजो जे सोच थियो, आज पनि त्यही छ । फरक यति छ, आज जहाँ इनरुवा गेट बनाइएको छ, त्यहाँ पहिले कोसीको एउटा भङ्गालोको पानी बग्न आइपुग्थ्यो । अहिलेको होलीमा पनि कोसीकै भङ्गालो जस्तो पानी हुन्थ्यो । गोही हुन्थे, पानी खान आएका, तर्दै गरेका बाच्छा मात्र होइन, गाई नै टोक्थे । जङ्गला मुलुक थियो । दबदबे हिलोमा गोरुगाडा भासिन्थे । दिउँसै बाघ कराउँथ्यो । र, बबियातिरबाट गाई–भैँसी चराउन आएका हाम्रा आमाहरू भागाभाग हुन्थे । आज त्यो छैन ।
तर, इनरुवाका कवि–लेखक, शुभचिन्तकहरूको मनमा यो ठाउँ देखेर हुने पीडा अनुभूति हिजो जे थियो, आज पनि उस्तै छ ।
‘हिउँदमा ठुला नेताहरू घुमफिरमा आउँदा,
इनरुवा कलिलो बाँस नुहेझैँ नुहिदिन्छ ।
वर्षामा सडक भरी–भरी पोखरी जमाउनु पर्दा,
इनरुवा जाँडको निगार कुहेझैँ कुहिदिन्छ ।
साथी हो ! त्योभन्दा पर्तिर केही छैन मेरो इनरुवा,
भए पनि पानीटङ्की माथिबाट सबै चुहिदिन्छ ।’
सप्तकोसी साप्ताहिक, वर्ष–६ अङ्क ३८, २०४५ साल साउन ६ गते । सुविद गुरागाई बाइलाइनमा छापिएको मुक्तक ।
जन आन्दोलनको घोषणा हुन बाँकी थियो त्यो बेलामा ।
केही दिनपछि गणेशमानसिंह, गिरिजाप्रसाद कोइरालाहरू जनआन्दोलनको घोषणा गर्न इनरुवा आएका थिए । हामी रामबहादुर बस्नेत दाइको घरको आँगनमा थियौँ । २०४६ साल माघको तेस्रो साता । जनआन्दोलनका कमान्डर सिंहले त्यहाँ आँगनको उत्तरतिर भएको काठको मञ्चबाट पहिलोपटक पञ्चायती व्यवस्थाविरुद्ध मुठ्ठी उठाएर जनआन्दोलन सुरु भएको घोषणा गरेका थिए । तीन पटक । गिरिजाप्रसाद कोइरालाले पनि हामीलाई तीन पटक जय नेपाल भन्न लगाएका थिए । ती दिनहरूमा काङ्ग्रेसीहरूका पछाडि–पछाडि हिँड्नु र जय नेपाल भन्नु कम्ती जोखिमपूर्ण थिएन । तापनि हामी पछ्याउँदै हरिनगरासम्म गएका थियौँ । लौहपुरुष गणेशमान सिंहको भाषण सुन्नुथियो । यो प्रसङ्गका बारेमा पछि भन्छु । अहिले चाहिँ त्यही जनआन्दोलन घोषणा भएको मञ्चतिर फर्कैँ ।
माल पाएर के गर्नु, चाल पाउनुपर्छ । इनरुवाले आफ्नो माटोमा जनआन्दोलन घोषणा भएको मञ्चको ऐतिहासिक महत्त्व बुझेन । यो घटना इतिहासमा एकदिन शङ्खधर शाख्वाले दासमोचन गर्न अमुक घाटको बालुवा किनेभन्दा कम महत्त्वको होइन । जुन माटोमा पञ्चायतविरुद्ध ऐतिहासिक जनआन्दोलन घोषणा भयो, त्यसको इनरुवाले राजनीतिक फाइदा लिन सकेन ।
‘यसपटक वार कि पार हुनुपर्छ । अब म बूढो भइसकेँ,’ सिंहले भनेको हामीले भुइँमा ओछ्याइएको परालमा बसेर सुनेका थियौँ । तर इनरुवा यो कुरामा न वार भयो, न पार भयो । बीचमै कुहिरोमा कतै अलमलियो । यो कुरा यतिमै मात्र सीमित हुँदैन । पञ्चायत ढलेपछि २०४७ साल साउन ६ गते विपि जयन्तीका दिन गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरू फेरि त्यो मञ्च सम्झेर इनरुवा आएका थिए । तर, यी सब कुरा इनरुवाले बिर्सिसके जस्तो लाग्छ ।
बीचमा २०५४ असोज १३ गते ‘जनआन्दोलन घोषणा भएको मञ्चको व्यथा’ शीर्षकमा नेपाल समाचारपत्रमा र अलिपछि ‘करनाल’मा बाइलाइन समाचार लेखेर मैले ध्यानाकर्षण त गराएँ तर त्यो ऐतिहासिक मञ्चको गौरव संरक्षण गर्न आजसम्म नगरले चासो देखाएको थाहा छैन । मञ्चको मात्र के कुरा यस्ता अनेकन धरोहरहरूबारे आज इनरुवा बेखबर छ । पत्रकारहरू त्यस्ता खबर दिनुपर्ने दायित्व ठान्दैनन् । इनरुवाको जन–तत्पर, सिर्जनशील पुस्तकालय खोइ ? कर्णसिंह मुरुङ्जय, रघुनन्दन महतो, मोहन विरही, जयन्त भट्टराई, श्यामलाल मिश्र, गुणेश्वर झा, रवीन्द्र चक्रवर्ती आदि नामहरू बिर्सँदो छ इनरुवाले । इतिहास बिर्सँदो छ, माटोले । इनरुवाको ग्राउन्ड रियालिटी यही हो । धन्न ! भाषाशास्त्री महानन्द सापकोटाको योगदान सम्झिने, केही काम गर्ने योजनाको आरम्भमा म पनि सहभागी हुन पाएको थिएँ । तथापि महानन्द वाटिका निर्माणको काम दुई दशकदेखि अधुरै छ ।
जे कुराबाट फाइदा लिनुपर्ने हो, इनरुवाले त्यसबाट फाइदा लिन सकेको छैन ।
…
‘फुङ्ग धूलो उडेर कुहिरो लागे जस्तो
फोहोरले किचेर बेहोस भएको जस्तो
उजाड भएको छ,
जस्तो कोसीको बगर
साँच्चै वृद्ध भएछ अब इनरुवा बजार ।’
सरोज बराल लेख्छन्, इनरुवाको तीतो यथार्थ, ‘धेरै सन्तान छन् रे यसका पनि ÷ देश–विदेश सबैतिर छरिएका ÷ यहीँको धूलोमा खेलेर उन्नति गरे ÷ अब बिर्सिएछन् क्यारे ÷ बूढो इनरुवा बजार ।’
कवि हृदयले देखेको बूढो बजारको एउटा भित्तामा मैले देख्दा–देख्दै एकदिन धर्के सर्ट, नीलो जिन्स पेन्टवाला भाइ पिसाब फेर्न थाल्यो । भित्तामा सेतो अक्षरमा लेखिएको छ– ‘थुक्क ! कुकुर जस्तो भित्तामा मुत्न (पिसाब फेर्न) लाज लाग्दैन ।’ र, छेउमै सानो अक्षरमा स्मरणीय विकल्प पनि सुझाइएको छ, ‘पछाडि बाँसघारीमा जानुस् ।’
पढेलेखेकै जस्तो देखिन्थ्यो त्यो भाइ । तर, पढे–लेखेर मात्र नहुँदो रहेछ, समाज परिवर्तन । एकान्त र भिंडमा मान्छे अविवेकी भइदिन्छ । जुन बजारमा व्यवस्थित सार्वजनिक शौचालय हुँदैन, त्यहाँ भित्ताहरूमा देख्न सकिन्छ, त्यस ठाउँको ग्राउन्ड रियालिटी । इनरुवामा सेन्सर ढोका छ, नियमित बिजुली छैन । होटलका सौचालयमा कमोट छ, साबुन छैन । घरमा होल्डर छ, बल छैन । पङ्खा–एसी चलिरहेको छ, कर्मचारी छैन । हरेकलाई आ–आफ्नो पहिचान चाहिएको छ, इतिहासको सम्झना छैन ।
विके शिवानीका अनुसार ९० प्रतिशत समस्याको कारण हाम्रो आफ्नै सोच हो । यो मननीय अभिव्यक्ति इनरुवामा मेरो जुन साथीको घरको भित्तामा टाँसिएको छ, उही साथीमा रूपान्तरको समस्या देख्छु । छोरीले फेसबुक चलाएको मन पर्दैन । नेटमा धेरै ध्यान दिए भने पढाइ बिग्रिन्छ भन्छ । नेट तथा ग्याजेटलाई अध्ययन–अनुसन्धानका हकमा कसरी उपयोग गर्न सकिन्छ, थाहा छैन । गुगल अर्थबारे सुनेको छैन । लाग्छ, समयको हावा कतातिर बगिरहेको छ, ऊ बेखबर छ । इनरुवाको अर्को ग्राउन्ड रियालिटी ।
…
‘साठी वर्ष पुगिसक्नुभो तपाई ?’
अशोक ओझा दाइलाई सोधेँ ।
‘कहाँ पुग्नु ! भर्खर ५७ वर्ष पुगेँ । प्रभुनारायण सरले जन्म–मिति त्यही लेखिदिनुभएछ । त्यही सदर भयो,’ अशोक दाइले मनको वह पोख्नुभयो, ‘सुरु–सुरुमा त मलाई केही जस्तो लागेको थिएन । अहिले फिल हुँदै छ भाइ ।’
अशोक दाइलाई अझै राष्ट्र–सेवक हुन मन थियो । काम गर्न मन थियो । तर, समय नपुगी मन मार्नुप¥यो । यो सवालमा ‘म पनि पीडित भएँ,’ भन्नेहरू थुप्रै भेटिन्छन्, इनरुवाका सडकहरूमा । तर, यो न्युज–पेगमा कुनै समाचार पढ्न पाइएको छैन । अर्थात्, अझै न्युज–सेन्स राम्ररी विकास भएको छैन इनरुवामा ।
म सुनसरी प्राविबाट चार कक्षा पढ्न भगवती स्कुलमा सरेपछि प्रभुनारायण लाल कर्ण सरसँग मेरो भेट भयो । उत्तरबाट दक्षिण फर्केको कोठामा । लामो एउटा लौरो छेउमा हुन्थ्यो । बग्रेल्ती कागज, रजिस्टर र रसिदहरूका माझमा उहाँको जिन्दगी बित्यो । मैले भेट्दा उहाँ पढाउनु हुन्थेन । स्कुलको क्लर्क हुनुहुन्थ्यो । हाम्रा विवरणहरू उहाँले जे लेखिदियो, त्यही हुन्थे । अलि सचेत अभिभावक–विद्यार्थीले उहाँका कमजोरी भेटे औँल्याउँथे पनि । धेरैलाई चासो हुँदैनथ्यो ।
यतिबेला त्यही चासो नहुनुको फल भोग्दैछ इनरुवा । हिजोको एउटा सानो भूलले आज इनरुवामा उमेर नपुगी सेवा निवृत्त हुनेहरूको सङ्ख्या थुप्रिँदो छ ।
तर, हामीले प्रभुनारायण सरलाई दोष लगाएर उम्किन मिल्दैन । आज पनि स्कुल, पञ्जिकाधिकारी र प्रमुख जिल्ला अधिकारीको रजिस्टरमा जन्म–मिति हुबहु नमिल्नेहरू बग्रेल्ती छन् । यसमा हाम्रा अभिभावक, शिक्षक र कर्मचारीको चेतनाको स्तर प्रतिबिम्बित भइरहेको छ ।
…
हावा खाने केटाहरू ।
अचेल कतिपय युवाहरू साँझ पर्नासाथ नगर क्षेत्रभित्र पर्ने पुलेसा र सडकपेटीहरूको दुवैपट्टि ‘साँझको हावा खाने’ निहुँले जमात बनाएर बस्ने गरेको देखिन्छ । जथाभावी टिप्पणी गर्ने यी उरन्ठेउला केटाहरूका माझबाट चेलीबेटीहरूले एक्लै–दोक्लै कसरी बाटो हिँड्ने ? (२०४६ जेठ १५ गते आइतबार)
पुछारको चिठी ।
इनरुवा नगर पञ्चायतको बस बिसौनी चोकदेखि गुदरी बजारसम्मको करिब एक किलोमिटर पिच सडकमा एक हजारभन्दा बढी ठाउँमा खाल्डाखुल्डी परेका छन् । यसलाई ‘सामान्य ज्ञान’भित्र समावेश गर्न मिल्दैन र ? (२०४६ साउन २५ गते बुधबार)
बाटोको सट्टा खेतमा ।
हाम्रो नगर पञ्चायतमा परेवा, कुखुरा आदिका फोहोरहरू सोहरेर सडकमा मिल्काउने चलन छ । त्यो फोहोरलाई मलको रूपमा खेतबारीमा मिल्काउने गरेमा बारीमा चाउरिएका मूला मल पाएर सप्रिन्थे कि ! (२०४६ कात्तिक १९ गते आइतबार)
सुविद गुरागाई, इनरुवा १÷३ सुनसरी, नाम–ठेगााना उल्लेख गरी गोरखापत्र दैनिकमा सम्पादकलाई चिठी छापिएका केही विवरणहरू तिथि–मितिसहित सुनाएँ तपाईलाई ।
अब तपाई नै भन्नुस्– २८ वर्षअघि इनरुवाको जे सोच र व्यवहार थियो, जे समस्यासँग इनरुवा जुझिरहेको थियो, त्यसमा आज कति परिवर्तन आएको छ ? कति सचेतना थपिएको छ ?
२८ वर्ष भनेको त तीन दशक हो । अर्थात् तीन पुस्ता । खोलो फर्किन्छ १२ वर्षमा, बाँस पनि फुल्छ । तर, हामी के गर्दै छौँ ?
साँच्चै भनुँ, न रिसाउनु नि फेरि !
हामीले योजनाबद्ध भएर बाँच्न जानेनौँ कहिल्यै । मिलेर काम गर्न र आफ्नो श्रमको मूल्य तोक्न पनि जानेनौँ । यस बीचमा आततायीहरूले मेरो दाइ–साथी शम्भु घिमिरेलाई घरबाट थुतेर लगेर मारेर नहरछेउको बकाइनाको रुखमा झुन्ड्याइदिए । अहँ ! हामीले अनुसन्धान पूरा गरेनौँ त्यसको । बुहारीहरू मारिए र बाँसका बोटमा झुन्ड्याइए । हामीले यसलाई पनि गम्भीरतापूर्वक लिएनौँ ।
‘हत्या प्रमाणित हुन सकेन,’ शीर्षकमा मैले समाचार लेखेँ । समाजले सुनेको नसुन्यै ग¥यो । सीता सदालगायत चेलीहरूको बलात्कार भयो । बलात्कारी को–को थिए ? अझै थाहा हुन सकेको छैन । अपराध प्रमाणित गर्नुपर्ने कति फाइल र प्रमाणहरू मुसाले खाए । कतिमा धमिरा लागे । कति धूलोमा पुरिए । बचे–खुचेका केही भुइँचालोमा परे ।
जिल्लाकै इतिहास बनेको सुनसरी प्राविको हत्या भयो । हामी रमिते भयौँ । हेर्दाहेर्दै ध्रुव बस्नेत, जगदीश सापकोटा, विनोद चौलागाईजस्ता युवा असामान्य स्थितिमा पुगे । हामी हेरी नै रह्यौँ । हेर्दा–हेर्दै सुनसरी खोला विषाक्त भयो, हामी केही बोलेनौँ । धान फल्ने खेतमा घर उम्रिए, हामी खुसी भयौँ । सँगै खेल्दै हुर्केका नानीहरूका दिमागमा ‘तँ मधेसी, तँ पहाडी’ भनेर झगडाको बीउ रोपिदियौँ र दङ्ग प¥यौँ ।
बाँकी, आधा समय मच्छर मारेर र आधा समय खुला ठाउँमा दिशा–पिसाब गरेर बितायौँ हामीले !
…
…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।