
कतिपय साथीहरू मलाई यसकारण बेलाबेलामा सम्झिरहन्छन् कि म पनि मान्छेचाहिँ गजबकै दुस्साहसी हुँ । जङ्गबहादुरजस्तो भने होइन । जङ्गबहादुर योजनाबद्ध दुस्साहसी थिए, म भने परिस्थितिवश दुस्साहसी कहलिएँ ।
२०६४ जेठमा जनकल्याण प्रावि बबियाबाट जानीजानी सरुवा भएर सरस्वती जब्दी प्रावि इटहरी आएपछि त्यही साल हिउँदमा विद्यार्थीलाई शैक्षिक भ्रमण लिएर जाने प्रस्ताव गरेँ । प्रावि तहका विद्यार्थीलाई लामो दुरीको गन्तव्यमा शैक्षिक भ्रमण लिएर जाने कुरा आफैँमा विशिष्ट र त्यो स्कुलका लागि पहिलो अनुभव थियो ।
प्रधानाध्यापक ददिराम निरौलासहित शिक्षक साथीहरूले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे । मैले तराईका विशेषगरी थारु समुदायका केटाकेटीलाई पहाड देखाउन लैजानु उपयुक्त हुने ठानी प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रभन्दा अझ एकबिहान उत्तर त्रिवेणी, खोकु–छिन्ताङ जाने योजना बन्यो । तमोर नदीको पुल तार्ने र बोटमै सुन्तला फलेको देखाउने लक्ष्य निर्धारण गरियो । किरात सांस्कृतिक कथासँग जोडिएको भनिएको खुवालुङ (कोसी माझमा रहेको ढुङ्गा)को चर्चा त्यो बेला मिडियामा थिएन, अन्यथा खुवालुङ पनि हाम्रो सेल्फी गन्तव्य हुनेथियो ।
प्रस्ताव ओके भएपछि पैसा उठाएर हामी बराहक्षेत्र र तमोरको झोलुङ्गे पुल तर्दै, डराउँदै, बाटोमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित ‘लाल–नारा’हरू पढ्दै खोकु–छिन्ताङ पुग्यौँ । केटाकेटीहरू पहाड भिरालोमा घर, बोटमा सुन्तला फलेको देखेर र कारखानामा बन्दाबन्दै गरेको धनकुटे बिस्कुट किन्न पाएर निकै रमाए । फर्कदा कोही पहिलोपल्ट मारलुन (जेटबोट) चढेर कोसीको बाटो हुँदै र कोही पैदल अक्करे भीरको बाटो हुँदै बराहक्षेत्र फर्कियौँ ।
बराहक्षेत्रमा एउटा उल्लेख्य कुरा के भयो भने त्रिवेणी जानुअघि एउटा होटलमा खाना बनाइदिनू भनेर पाँच सय रुपियाँ अग्रीम दिएका थियौँ । खाना खाइसकेपछि गोटागन्ती हिसाब गरेर सबैको पैसा तिरियो । हिसाब गर्ने मैँ थिएँ । त्यो अग्रीम भुक्तानी गरेको पाँच सय रुपियाँको कुराचाहिँ बिर्सिएछ ।
एकैपटक इटहरी आएपछि झल्याँस्स भयो । हिसाब मिलाउँदै गर्दा होटलवालाले पनि त्यसबारे कुनै चर्चा गरेनन् । दुई वर्षपछि ठूली एकादशीमा बराहक्षेत्र मेला गएका बेला मैले सन्दर्भ उक्काएको थिएँ तर होटलवालाले जबाफदेही हुने छनक देखाएनन् । त्यो प्रसङ्ग त्यत्तिकै भयो ।
म अक्करे भीर सम्झिँदै थिएँ । त्रिवेणीमा तमोर तर्नुअघि बाटोमा, सप्तकोसी किनारमा अक्करे भीर छ, जहाँ पहरा खोपेर (ब्लास्टिङ गरेर) बनाइएको बाटो हुँदै आऊजाऊ गर्नुपर्छ ।
हामी त्यहाँ पुग्दा केही मानिसहरू कल्याङमल्याङ गर्दै भीरमा केही खोजिरहेका थिए । छिन्ताङका एक जना केटा विराटनगर महेन्द्र मोरङ क्याम्पसमा विज्ञान विषय लिएर पढ्दै रहेछन् । विराटनगरबाट घर फर्किने क्रममा गाउँलेहरूलाई देखाउन साइकल लिएर त्यही अक्करे भीरको बाटो हुँदै आएका रहेछन् । विचरा साइकलैसहित कोसीमा खसेछन् । ‘साइकल भीरकै एउटा रुखमा अल्झिएको छ, त्यही निकाल्दै छौँ,’ भन्दै थिए एक जना स्थानीय । मान्छेको केही अत्तोपत्तो थिएन ।
मैले अक्करे भीरको सन्दर्भ र गीत त सुनेको थिएँ तर त्यही ठाउँलाई अक्करे भीर भन्छन्, त्यहाँबाट खसेर थुप्रै भरिया र गाइगोरु कोसीको पानीमा मिसिइसकेका छन् आदि–इत्यादि प्रसङ्ग भने थाहा थिएन । फेरि त्यसबेला यात्रा र शैक्षिक भ्रमणको रोमाञ्चकताबीच त्यस्तो सोधीखोजी गर्नेतिर ध्यान पनि गएन । पहाडमा सुरुङजस्तो खोपेको बाटो र अनौठो लोकेसन देखेर ‘नवीनजी प्लिज एक क्लिक’ भन्दै चार–पाँचवटा फोटो खिचियो । रमाइलो गरियो । अक्करे भीरमा फोटो खिच्ने टोलीमा मसँगै मित्रहरू पवित्रा ल्वागुन, सुवर्णशम्शेर विष्ट, सम्झना ढुङ्गेल, राजन पौडेल विद्यार्थी प्रतिमा चौधरीलगायत थियौँ ।
पछि इटहरी आएर चर्चित अक्करे भीरसँग जोडिएका प्रसङ्गहरू सुनेँ, अभिभावकहरूबाट । सम्झिँदै आङ जिरिङ्ङ भयो । अन्जानमै मैले कहिले पहाड नदेखेका केटाकेटीलाई अक्करे भीर पु¥याएँ । धन्न अनपेक्षित केही भएन ।
…
पहाड छँदा खासगरी जागीरको सिलसिलामा सोलु हुँदा कथाले मागेअनुसार दुस्साहसका अनेक उदाहरण छन्– कति जानी–जानी, कति अन्जानमा सिलसिलाबद्ध भएका ।
दुर्गम पहाड सोलुमा २०४६ फागुनदेखि २०५० माघसम्म लोभलाग्दो चोखो चार वर्ष समय बितेको छ मेरो । सुरुमा एक महिना टापटिङ, त्यसपछि सरकारी मास्टर भएर दुई वर्ष सोताङ र २०४८ जेठदेखि २०५० माघ १७ सम्म गोली बस्दाका अनेक किस्सा छन् । तीमध्ये लामजुरा पास (भन्ज्याङ) सेरोफेरोका दुस्साहसी कथा सम्झिँदा त्यो बेला धन्न बाँचियो जस्तो लाग्छ ।
लामजुरा पासको हिउँमा चिप्लेको, रसिला स्याउ, आरूबखडाका फूल र हँसिला सेर्पिनी, तामाङ्नी र मगरनीहरूसँगको सामीप्य र अनुरागका अलग कथा छन् । एक बसाइमा भन्न, सुन्न, बिट मार्न सकिन्न । माया सम्झी–सम्झी रुन्छौ बेकारमा लगायत मेरो गजल लेखनमा बान्की भरिनुको अघाउँजी सम्झना र पृष्ठभूमि जोडिएको छ त्यसमा ।
रातभर निसङ्कोच बसिन्थ्यो, हिँडिन्थ्यो, खाइन्थ्यो, नाचिन्थ्यो । प्रायः शुक्रबार स्कुल बिदा भएपछि कि टापटिङ कि सदरमुकाम सल्लेरी हिँडिन्थ्यो, एक्लै । कहिले पिके लेक छेकारो मार्दै, कहिले लामजुरा पास छिचोल्दै । टापटिङमा विनोद डाँगी, भागवत पौडेल, गोपाल चौलागाईलगायत साथीहरू थिए । सल्लेरी तलब निकासा, परीक्षालगायत कामले गइन्थ्यो ।
एकदिन सल्लेरीबाट लामजुरा पास हुँदै गोली, मेस्की फर्किँदै थिएँ । दुई दिनअघि हिँउ परेर जताततै ठाँटो जमेको थियो । जाँदा–जाँदै बाटोमा, एकान्त जङ्गलमाझ सनातन पहिरो लाछिरहने अप्ठेरो ठाउँ थियो । बाटो साँघुरो र चिप्लो । ठाँटो, पानीसमेत जम्ने, सुनपाती फुल्ने लेक थियो ।
बाटो जति अप्ठेरो भए पनि छिचोल्नु त थियो नै । मन गाँठो, मुटु दह्रो पार्दै, छड्के–छड्के हुँदै पहिरो काट्न थालेँ । तर जोगिने प्रयास गर्दा–गर्दै पनि चिप्लिहालेँ । क्रममा रुकस्याक (पहाडी यात्रामा प्रयोग गरिने हरियो, दह्रो झोला) कसो–कसो ठोक्किएछ काइ लागेको रुखको हाँगोमा, हिँडाइको सन्तुलन बिग्रिहाल्यो ।
हुने हुनामी टारेर टर्दैन भनेको यही हो । चिप्लिँदै गर्दा ‘ला गइयो आज, यति नै रहेछ दिन,’ भन्ने सोचेँ । तर आयुको छोरालाई वायुले खाएन । करिब सय मिटर तल एउटा चिमालको रुखको अलि ठुलो, तेर्सो हाँगामा खुट्टो अल्झियो, कसो–कसो हातले त्यसैको अर्को हाँगो समाइएछ ।
तल हेरेको, निकै तल किन्जा खोला बगिरहेको थियो । त्यसबाट खसेको भए एकैपल्ट चार–पाँच सय मिटर तल खोलामा पछारिने थियो । उस्तै मान्छे भए परिस्थिति सम्झिनासाथ मूर्छा परेर झर्ने थियो, तर म थिएँ कि अरू बेला भावुक कवि भए पनि परेको बेलामा मनको जब्बर, दुस्साहसी ।
खुट्टा चिमालको हाँगोमा अल्झिएपछि जिउलाई नियन्त्रणमा राख्दै तल सेपिलो ठाउँबाट माथि सुरुको बाटोमा उक्लेँ । अगाडि–पछाडि हेरेँ मान्छे कोही थिएन । भिरेको झोला पनि पिठ्युमै थियो ।
अलि तल घाम लागेको ठाउँमा एउटा ढुङ्गा रहेछ, ईश्वरलाई धन्यवाद दिँदै सरासर त्यही ढुङ्गामा पुगेर रुकस्याक बिसाएँ र लुगा टक्टक्याउन थालेँ । त्यतिखेरसम्म डर लागेको थिएन । सामान्य घटनाजस्तो लागेका थियो । तर ढुङ्गामा बसेर लुगा टक्टक्याउँदै, काला–मसिना जुका टिप्दै थिएँ, चारैतिर बादल लागेजस्तो भयो । कसो–कसो त्यही ढुङ्गामा ढलेँछु ।
आधा घण्टापछि आँखा खुल्दा पनि वातावरण सुनसानै थियो । ढुङ्गामा म एक्लै थिएँ । जुका आफ्नै ढङ्गले लागिरहेका थिए । त्यो निर्जन, पहिरो गएको ठाउँमा त्यो दिन साँच्चै चिप्लिएको भए, चिप्लिएको–चिप्लियै हुने थिएँ । कसैले चाल पनि पाउने थिएन सायद ।
…
अर्को एक दिन लेकमा बिर्सनलायक घटना बेहोर्नुपरेको बारम्बार सम्झना भइरन्छ ।
२०४८ सालको कुरा हो । दसैँको निकासा लिन सल्लेरी जाने क्रममा टापपिङ हुँदै जानुप¥यो भन्ने योजनासहित झोलासोला बोकेर टापटिङतिर लागेको थिएँ ।
नेपालकै सबैभन्दा अग्लो पहाड पिके–लेकलाई उत्तर पार्दै दक्षिण–पूर्व जाने क्रममा करिब दुई घण्टा सुनसान नागी र एक घण्टा जङ्गल छिचोल्नु पथ्र्यो । सुनसान नागी र जङ्गलमा हुँडार, स्याल, भालुलगायत हिंस्रक जनावरको भय हुन्थ्यो । तर म ती सबबाट बेखबर चौरीगोठ छिर्दै, मोही–सेरकाम चाख्दै आफ्नै सुरमा अघि बढिरहेको थिएँ । बाटोमा एक ठाउँ हुँडारको हुलसँग जम्काभेट भयो ।
लेकमा हुँडार भेटिँदा चुपचाप छेउ लागेर उभिनुपर्छ, उनीहरू आफ्नै सुरमा जान्छन् । गाई–बस्तु वा साना जनावर, बालबालिका एक्लै–दुक्लै भेटे आक्रमण गर्ने हुन्, नत्र सिनो खाने हुन्, ठुला मान्छेलाई केही गर्दैनन् भन्ने सुनेको थिएँ । नागीमा चुपचाप एक छेउ बसेर रमित हेर्न लागेँ । करिब आधा घण्टापछि हुँडारको त्यो हुल आफ्नै सुरमा ओझेल प¥यो । म पछाडि फर्किँदै, हेर्दै अगाडि बढेँ ।
तर समस्या यतिमै सकिएको थिएन । त्यो दिन मेरा जिन्दगीको सबैभन्दा बिसर्नलायक दिन हुन बाँकी नै थियो । म टापटिङ जाने बाटो पहिल्याउँदै अघि बढुदै थिएँ । साँझ पर्न लागेको थियो । लेकबाट करिब आधा घण्टा तल झरिसकेपछि यकिन भयो, म त बाटो भुलेर अर्कै गाउँमा पो पुगिसकेको रहेँछु । त्यो गाउँको नाम अहिले सम्झनामा छैन, यत्ति थाहा छ कि त्यो टापटिङ मास्तिरको सेर्पा गाउँ थियो । टापटिङमा भने मगरहरूको बाहुल्य भएको बस्ती हो ।
बाटो भुलिएको गाउँमा गोठालासँग सोध्दा थाहा भयो, त्यताबाट पनि तेर्सै–तेर्सो टापटिङ पुग्न सकिन्छ तर आधा घण्टाभन्दा बढी समय लाग्छ ।
अँधेरी रात थियो । अबेला भइसकेको थियो । बीचमा एउटा सुनसान खोल्सो, फड्के तर्नुपर्ने थियो । बाटोमा जङ्गलै–जङ्गल थियो । अँधेरी रातको समय एक्लै अघि बढ्ने आँट आएन । त्यो रात त्यहीँ बास बस्ने निधो गरेँ ।
गाउँ भन्नुमात्रको थियो । अलि वरपर गरेर चार–पाँचवटा घर थिए । त्यसमध्ये एउटा अलि ठुलो घर छानेर आँगनमा पुगेँ । र मभित्र को हुनुहुन्छ भन्दै मान्छे बोलाएँ ।
भित्र बत्ती बलिरहेको थियो, धुँवाको राग बाहिरसम्मै आइरहेको थियो ।
पाँच–सात मिनेटपछि एउटी अधबैँसे सेर्पिनीले झ्यालबाट चिहाएर हेरिन् । मैले साँझ परेकाले बास बस्न दिन अनुरोध मागेँ । उनले आफू एक्लै भएकाले बास दिन नमिल्ने बताइन् । म भने त्यतिञ्जेल पहाडमा खाइखेली भिजिसकेको सरकारी मास्टर थिएँ । सरक्क टेर्नेवाला थिइनँ ।
केहीबेरमा उनी ढोका खोलेर तल आइन् । उनले ‘हामीसँग मास्टरहरूले खाने जस्तो खानेकुरा केही छैन, अन्त जानु बस्न,’ भन्ने जिकिर गरिन् ।
त्यो अप्ठेरो समयमा बल्ल–तल्ल टेकेको आँगन थियो । नजिकै अरू घर थिएनन् ।
मैले, ‘खानेकुरा दिनुपर्दैन, मसँगै छ, यहाँ बस्ने मात्र हो र यहीँ बस्छु,’ भनेर झोला बिसाइवरी पिढीमा धर्ना कसेपछि उनी भित्र गइन् र एउटा पुरानो, पातलो सुकुल लिएर आइन् । आँगनछेउको दाउरा राख्ने टाँडजस्तो ठाउँमा गएर बस्न भनिन् ।
सुकुल लिएर म टाँडतिर लागेँ । उनी भित्र पसेर ढोका लगाइन् । आलु उसिनेर दिन्छिन् कि भन्ने अपेक्षा थियो, तर उनले सुरुमै खानेकुरा हुँदैन भनेकाले, केही भनिन् । रुकस्याक सिरानी लगाएर सुकुलमा ढल्किएँ ।
ब्यागमा दुई प्याकेट आरारोट बिस्कुट बोकेको थिएँ । त्यही एक प्याकेट निकालेर किक्लिक–किक्लिक गर्दै खाएँ । पर्तिर धारा थियो, पानी खाएँ र सुतेँ ।
राति दुई बजेतिर चिसो–चिसो भएर आँखा खुल्यो । छेउमा हेरेको सँगै कुकुर सुतिरहेको रहेछ । त्यो त कुकुर बाँध्न बनाइएको कटेरो पो रहेछ । पहाडको भोटे कुकुर, खेदाउन आँट आएन । धन्न नभुकी चुपचाप सुतिरहेको थियो । भोटे कुकुर रिसायो भने कति आक्रामक हुन्छ भन्ने मलाई थाहा थियो ।
करिब एक घण्टा त्यत्तिकै ओल्टे–कोल्टे फर्किँदै, कुकुरछेउमै पल्टिरहेँ । एक घण्टापछि भने सुत्न मन लागेन । बाहिर टहटह जून लागिरहेको थियो । चुपचाप रुकस्याक बोकेँ र बाटो लागेँ । कुकुर आफ्नो ठाउँमा गुडुल्किएर सुतिरहेकै थियो ।
त्यो रात त्यसरी कुकुरसँग सुत्नुपरेको एउटा विशेष कारण थियो ।
जनप्रिय निमावि टापटिङमा काम गर्ने शिक्षक ढुण्डी पराजुली हालसालै एउटा खहरे खोल्सोमा मृत अवस्थामा भेटिएका थिए । उनी विनोदजीहरूको डेरा भएको सैलुङ गाउँबाट राति खाइपिइवरी आफ्नो डेरा लुम्सातिर जाँदै थिए ।
ढुण्डीको हत्या भएको हो भन्ने झोसपोलको आधारमा स्कुलका हेडसर बाबुराम कार्की, उनका भाइ तथा शिक्षक शङ्कर कार्की र अर्का शिक्षक देवीराम कटुवाल पक्राउ गरिएका थिए । पछि कर्तव्य–ज्यान प्रमाणित हुन सकेन, भवितव्य ठहर भयो । तर त्यो बेला हत्याको खबर खरको आगोजस्तो फैलिएको थियो र चारैतिर डरको वातावरण थियो । तपाईलाई पनि थाहा छँदै छ– सबैथोक लुकाउने ठाउँ हुन्छ, डर लुकाउने ठाउँ हुँदैन ।
जे होस्, त्यो दिन त्यसरी तीन बजे राति डरको वातावरणबीच एक्लै त्यो लेकाली जङ्गली बाटोमा हिँड्नु दुस्साहसकै एउटा नमुना अनुभूति मानेको छु मैले आफ्नो जिन्दगीको ।
त्यसभन्दा आठ वर्षअघि निर्माणाधीन इनरुवा पानीटङ्कीको टुप्पोमा चढेको र त्यहाँबाट झुक्किएर खसेको प्रसङ्ग तपाईँलाई केही सुनाएको छु, केही भन्न बाँकी छ ।
…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







