२०३२ सालमा भुक्के केटो थिएँ । लोभलाग्दो ज्यान थियो ।
त्योभन्दा अघि चार–पाँच वर्षको कुरा सम्झिन्छु । छेवर गरेको थिएन । कपाल लामो–लामो थियो । आमाले तेल लाएर चडक्क पारेर कोरी दिनुहुन्थ्यो । बेला–बेलामा बाटी पनि दिनुहुन्थ्यो । खासगरेर विराटनगर जाने बेलामा कपाल बाटिएकै हुन्थ्यो ।
बिरामी परिरहन्थेँ । महिना दुई महिनामा विराटनगर अस्पताल जानुपर्ने हुन्थ्यो । त्यतै–त्यतै अस्पताल गयो, त्यतै–त्यतै मामाघर बुग्डरी (पूर्व–कुसाहा) पनि निस्कियो । जाँदा प्रायः भमरी–दुहबी हुँदै जान्थ्यौँ । दुहवीबाट बस चढ्न पाइन्थ्यो । आराथुन बस, घोप्टे बस धरानबाट आउँथ्यो, विराटनगर जान । पछाडि हेन्डिल घुमाएर इन्जिन स्टार्ट गर्नुपर्ने । दुहवी बूढीखोलामा काठको पुल थियो । खडङ्खडङ् गर्दै तर्नुपथ्र्यो ।
मान्छेहरूले छोरी भन्ठान्थे मलाई । बसमा भिंड हुँदा, खोइ छोरी चाहिँ मलाई दिनु भन्दै मलाई आमासँग मागेर काखमा राख्थे । आमाले काखमै राख्नु भएको छ भने पनि आहा ! कति राम्री नानी भन्दै सिटमा बस्नेहरूले हातहातै अगाडिबाट पछाडि, पछाडिबाट अगाडि पुर्याउँथे । उत्रिने बेलामा मात्र आमालाई दिन्थे ।
बिचमा कतिले कपाल सुम्सुम्याउँथे, कतिले गालामा दारी दलिदिन्थे याद छैन । बुबाले चाहिँ काखमा गयो कि गालामा दारी दलिदिइहाल्ने । मनै पर्दैनथ्यो । त्यसैले सकेसम्म बुबाको छेउ नै पर्दिनथेँ । झ्याम्ले बूढा भन्थेँ रे, तर्किन्थेँ ।
बूढा अलि पुरानै विचारका थिए । फोटो खिच्न इनरुवा जाऊँ न भन्दा बूढा आमासँग रिसाउँथे । चाँडै मार्ने विचार गरिस् भन्थे । इनरुवामा स्थायी फोटो स्टुडियो थिएन । टुरिङ टाकिज सिनेमा चलाउनेहरू जस्तो भारततिरबाट क्यामेरा बोकेर आउँथे घुमुवा फोटोग्राफरहरू । पानीफोटो खिच्न । फोटो खिच्दा खिच्ने–मान्छे क्यामेरासँगै जोडिएको कालो कपडाभित्र घुम्लुङ्ङ पस्थे । झिलिक्क बत्ती बल्दा आँखा तिरिमिरि हुन्थे । त्यसरी बलेको बिजुलीले मान्छेको आयु घटाउँछ भन्ने ठान्थे बूढाहरू । त्यही कारण बाबैको एउटा फोटो पनि छैन घरमा । सरादमा तर्पण दिँदा अनुहारको सम्झना पनि हुँदैन । सरल प्रविधिको विकास हुनुभन्दा अघि नै बूढा २०३१ साल असोजमा, ४१ वर्ष पाँच महिना बाँचेर अल्पायुमै बाटो लागे । बिजुली लागेर होइन, टिबी लागेर ।

सरस्वती मावि बबियामा पढ्थेँ । स्कुल छेउमै सुनसरी खोला थियो । उता अलि पर्तिर इनरुवाबाट छेको मारेर आएको होली थियो । होलीमा कमल, मखन, नरकटका बोटहरू हुन्थे । कहिले कमल टिपेर माला बनायो, कहिले मखनका दाना टिपेर घाममा सुकायो, कहिले नरकट चुँडेर हरियो, नीलो, रातो रङमा डुबायो । आँखामा लुकायो । परेलाका डिल पल्टायो । कड्कडे घोटेर अरूलाई पोलिदियो ।
शोक न सुर्ता, भोक न भकारी । लोभलाग्दो थियो बालापन । डगरको घूलो जम्मा पारेर कोठा–कोठा बनायो । थोत्रा–थाम्रा झुन्नुरी–मुन्नुरी जम्मा पार्यो । भाँडाकुटी खेल्यो । नहरमा कर्मी साग टिप्यो । दिदीहरूसँग साइफनभित्र पसेर सिङ्गी–मुङ्ग्री समात्यो । हिले खेतमा पानी उप्छेर गराइ, चेङा, पोठी भेला पार्यो । धान काटेका खेतमा सिला खोज्यो । पुतली बनाउन दिदीहरूसँग सिक्यो । सिला खोजेका धान गौतमपुरतिरबाट साइकलमा मुरीका लाइ, बम्बै मिठाई लिएर आउेहरूसँग साट्यो । खायो । गहुँ, खेसारी ओराहा, माछा पोल्यो, ओठमा, गालामा, हातमा जताततै कालो धसिङ्गरे हुने गरी खायो ।
गौतमपुरबाट एउटा ठुलो तपेसमा टम्म मिठाई भरेर नहरैनहर एक जना बूढा मान्छे आउँथे । तिनको नाम के थियो थाहा छैन, हामी चाहिँ खास्ते बूढा भन्थ्यौँ । तराईतिर लोकप्रिय खाजाजस्तो चिनीको पाकमा डुबाएको तीनकुने आकारको मिठाई हुन्थ्यो, जसलाई हामी खास्ता भन्थ्यौँ । मैले थाहा पाउँदा, चार आनामा दुई वटा खास्ता दिन्थे तिनले । चास्नीमा रसबरी, लालमोहन पनि डुबाइएका हुन्थे । शुद्ध घिउमा बनाइएका ती मिठाईहरूको सम्झना र स्वाद इनरुवाका धेरै जिब्राहरूमा अझै पनि झुन्डिएकै छ ।
खास्ते बूढाको खास्ताको स्वाद जति उल्लेख्य थियो, त्यतिकै सम्झनायोग्य थियो उनको एउटा विशेष बानी ।
खास्ते बूढा कसैले ‘राधेश्याम’ भनेको सुने तत्काल प्रतिक्रिया जनाइहाल्थे । हल्का रिसाएजस्तो गर्थे । साथमा घामपानी जहिले पनि बाँसको बिँडवाला छाता हुन्थ्यो । कसैले छातामे राधेश्याम भन्यो भने छाता बन्द भए यसो आधा उघारेजस्तो गर्थे । खुला छ भने बन्द गर्थे र फेरि खोल्थे । काँधमा गम्छा हुन्थ्यो । कसैले गम्छामे राधेश्याम भन्यो भने गम्छा टक्टक्याउँथे । उनको टोपी लाउँथे । टोपीमे राधेश्याम भन्यो भने टोपी टक्टक्याउँथे । धेर जिस्क्याउन थाल्यो भने छेउछाउमा लौरो–कर्ची जे भेटिन्छ, त्यही उज्याएर कुट्न खोज्थे ।
हामी दिवाकर सापकोटा, कनिष्ट भट्ट, विष्णु भट्टराई, सन्तोष तिवारी, सञ्जीव अर्याल, गुणनन्द झामध्ये कसैले त्यही बेला लठ्ठीमे राधेश्याम भनिदिन्थ्यो र उनी लठ्ठी फुत्त भुइँमा फालिदिन्थे ।
यति गरेपछि हामी भुराहरूलाई काम पुग्थ्यो । त्यसपछि हामी बूढालाई कायल बनाउने हिसाबले भन्न थाल्थ्यौँ– चप्पलमे राधेश्याम, टुप्पीमे राधेश्याम, कुर्तामे राधेश्याम, गञ्जीमे राधेश्याम, धोतीमे राधेश्याम !
धोतीमे राधेश्याम ! भनेपछि चाहिँ बूढा सामान्य मुडमा छन् भने यसो धोती टक्टक्याए जस्तो गर्थे र अघि बढ्थे । झर्को लागिसकेको रहेछ भने चाहिँ छाता उज्याएर लखेट्न थाल्थे । कुट्न चाहिँ कुटिहाल्दैनथे । अरूहरूले ए भुरा हो नगर, नजिस्क्याओ बूढा–मान्छेलाई भनेर दप्काएपछि हामी चुप लाग्थ्यौँ । तर पछि बाटोमा, नहरमा स्कुलको चउरतिर जता भेटे पनि बूढालाई जिस्क्याउन थालिहाल्थ्यौँ – गम्छामे राधेश्याम, गञ्जीमे राधेश्याम, धोतीमे राधेश्याम !
तर, हामीले मिठाईमे राधेश्याम, खास्तामे राधेश्याम चाहिँ कहिले पनि भनेनौँ । सायद हामी कोही मान्छेको गरिखाने भाँडोलाई बिथोल्नुहुँदैन भन्ने कुरामा त्यो बेला पनि सचेत थियौँ ।
उनले त्यसो गर्नुका मुख्यतः दुई वटा कारण हुनसक्ने लख काटिन्थ्यो चिया पसलहरूमा । कसैले भन्थे, उनी राम–सीताका परमभक्त भएकाले राधा–कृष्णको प्रभाव आफ्नो मनमा नपरोस् भनेर टक्टक्याउँथे । कोही भन्थे, उनी राधा–कृष्णका अनुयायी थिए र राधा–कृष्णको नाम धेरैभन्दा धेरै उच्चारण होस् भनेर उनी त्यस्तो नाटक गर्थे । यथार्थ के थियो ? मेरा लागि अझै त्यो रहस्यकै विषय छ ।
यता, इनरुवामा नयनसिंह थापाको घर छेउमा एउटा पुरानो मिल भत्काएको घारी, चउरजस्तो ठाउँ थियो । त्यहाँ यसो तुलफुल लगाउने माली बूढा बस्थे । उनलाई पनि जिस्क्याउन कुर्तामे राधेश्याम, गञ्जीमे राधेश्याम, चप्पलमे राधेश्याम, धोतीमे राधेश्याम भन्न पल्केका थिए केटाहरू ।
उनलाई त्यसो भन्नुको कारण भने अर्कै थियो । उनको नाम नै राधेश्याम थियो । राधेश्याम माली । धोतीमे राधेश्याम ! भन्दा बूढा जति रिसाउँथे, केटाकेटी उति रमाउँथे ।

त्यही सेरोफेरोमा बुबाको देहान्त भयो । आमालाई बबियामा बस्न मन लागेन । एक्ली आइमाई, घरमा म बबुरोबाहेक कोही लोग्नेमान्छे नभएपछि आमाले असुरक्षा अनुभव गर्नुभयो । बिहे गर्न बाँकी तीन दिदीहरू थिए । साल्दिदी, हरि र कान्छी । छोरीहरूका हकमा पनि मनोवैज्ञानिक भय भयो आमालाई । जेठी पुफूको घर इनरुवामा थियो । उहाँकैमा शरण पर्नुबाहेक उपयुक्त विकल्प देख्नुभएन । म बिरामी भइराख्ने भएकाले उपचारका लागि पनि अलि सजिलो हुन्छ भन्ने लाग्यो होला । बुबाको ४५ दिनको काम सकिएलगत्तै आमा इनरुवा आउनुभयो ।
एक कक्षा पास भइसकेको थिएँ । इनरुवामा दुई कक्षामा नाम लेखाउनुपर्ने भयो । तर, एक कक्षा पास गरेको प्रमाण थिएन । त्यो बेला शशी बजगाई सर इनरुवाबाट बबिया स्कुलमा पढाउन जानुहुन्थ्यो । आमाले केटाको सर्टिफिकेट ल्याइदिनु भनेर २० रुपियाँ दिनुभएछ । तर, उहाँले बिर्सनुभयो, पैसा स्कुलमा बुझाउनुभयो वा आफैँ खर्च गर्नुभयो ? राम जाने । महिना दिन बितिसक्दा पनि शशी सरले सर्टिफिकेट ल्याइदिनुभएन ।
बेला अर्थात् शैक्षिक–सत्र बित्न लागेको थियो । सुनसरी प्राविमा जयन्त भट्टराई हेडसर हुनुहुन्थ्यो ।
‘सर्टिफिकेट छैन भने … केटो सानै छ, एकमै नाम लेखिदिऊँ,’ भन्नुभएछ जयन्त सरले ।
आठ वर्षको भइसकेको थिएँ । फेरि एकमै पढ्नुपर्ने भयो ।
तर, त्यो बेला एकमा भर्ना हुनु भनेको अहिलेको जस्तो ल्याङफ्याङे पाराको थिएन । केटाले बकाइदा टोपी लगाएर फोटो खिच्नुपथ्र्यो । केटीले दुई चुल्ठी बाटेर रिबिन बाँध्नुपथ्र्यो । अहिले एसएलसी दिने बेला भइसक्छ । विद्यार्थीको यकिन जन्म–मिति, जन्म–दर्ताको ठेगान हुँदैन ।
एक कक्षामा फेरि भर्ना भइयो । अरू साथीहरू भन्दा दुई वर्ष जेठो थिएँ म । बबन मिश्र सरले ढुकुमुकु ढुकुमुकु कसको हात भन्दै ढाडमा भुक्क हान्नुहुन्थ्यो । अलि बढी रिस उठेको छ भने औँलाका बिचमा पेन्सिल राखेर घुमाउनुहुन्थ्यो । तापनि हामी सरको आँखा छलेर, पाटी कोल्टे पारेर खरी–मार्ने खेल खेल्थ्यौँ ।
कहिले जितेर गोजीभरी खरी हुन्थे । कहिले हारेर रुँदै घर जान्थेँ ।
सँगै पढ्ने एउटा प्रदीप घिमिरे भन्ने साथी थियो । निकै मिल्ने । भूमिसुधार अधिकृत हो कि एलडिओको छोरा थियो । जनकपुर मूल घर । अचेल त्यो कहाँ छ ? बाँचेकै छ कि मरिसक्यो ? केही थाहा छैन । खोज्दै छु ।
इनरुवामा एकमा पढ्दा, मैले पढ्नुपर्ने केही थिएन । सब जानेकै थियो । जयराम, गीता, दीपक । त्यही पिङ खेलेको, त्यही मामाघर गएको । त्यही मुसाले बिरालोलाई दुलोभित्र पसेर छक्याएको । त्यही ताराबाजी लै लै । त्यही टालाटुली बटुली, कति राम्री पुतली ।
एक कक्षामा फस्ट भइहालेँ । यसरी चिठ्ठामा परेको उपलब्धिको सिलसिला त्यतिमा मात्र रोकिएन । तीन कक्षामा त जिल्ला फस्ट पो भएँछु । त्यो बेला कक्षा तीनमा जिल्लास्तरीय परीक्षा हुन्थ्यो । धेरै विद्यार्थीको पहिलो विद्यालय स्थानान्तरण कक्षा तीनमै हुन्थ्यो ।
बीचमा अरू धेरै राम्रो गरेका (कविता, हाजिरीजवाफ, वक्तृत्वकला, खेलकुद, स्काउट आदिमा) प्रमाणपत्रहरू थिए टन्नै । पछि जलाइदिएँ । तर, त्यो जिल्ला फस्ट भएको अर्थात् २०३५ को अन्तिम परीक्षामा सर्वप्रथम भएको प्रमाणपत्र चाहिँ अझसम्म पनि सँगाली राखेको छु ।
बेला–बेलामा हेर्छु । मजा आउँछ ।
तर मजा आउने कुरा गर्दा खास उल्लेख गर्नुपर्ने बाल–बिज्याइँ भने अर्कै छ ।