‘खोजेको हामीले के हो ? सोचेको हामीले के हो ?
यो हो कि अथवा त्यो हो ? रोजेको हामीले के हो ?’
साँच्चै खोजेको हामीले के हो ? हामी सडकदेखि सदनसम्म जे–जस्तो जनमत सङ्कलन गर्छौँ, के त्यसमा हामी प्रष्ट छौँ ?
सडकमा देखिएकामध्ये बहुदा मानिसहरूको मनमा छ, छोराछोरीहरूले राम्रो पढ्न पाएनन् । उनीहरूको भविष्य बिग्रिने भो । फेरि त्यही मनमा शिक्षकहरूले विद्यालय बन्द गरिदिएनन् भन्ने गुनासो पनि छ । बाल अधिकार आत्मसात गर्नुपर्छ, बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु हुँदैन भन्ने हामी हरेकलाई थाहा छ तर अमुक राज्यको सिमाना हेरफेर गराउन हामी नै बालबालिकाको अर्धनग्न जुलुस निकाल्छौँ ।
बन्द कुनै पनि अर्थमा ठिक होेइन, बन्द सदाका लागि बन्द गरौँ भन्नेहरूको बहुमत छ । तर त्यसैभित्र बन्दको मौन समर्थन गर्नेहरूको सङ्ख्या कम छैन ।
कहिले सङ्घीयता हाम्रो लक्ष्य हो भन्ने कहिले अखण्डता चाहिन्छ भन्ने गोलचक्करमा घुमिरहेको छौँ हामी । ‘एक युगमा एक पटक आउने’ प्रसङ्ग पगरी गुथाएर तयार भएको पटकथाको क्लाइमेक्समा जताततै अलमल व्याप्त छ ।
समाजमा हात बनाएर ‘देखियो तिम्रो नयाँ नेपाल पनि,’ र ‘बरु पुरानै नेपाल ठिक थियो,’ भन्ने अभिमत थपिन थालेको छ । के पटक–पटकको आन्दोलन र बलिदानको प्रतिफल हामीले चाहेको यही हो ?
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्प्रेरणाले वर्षौं बितिसक्दा पनि नेपाली मनलाई नछोएको किन ?
मुलुक समृद्ध बनाउने लक्ष्य, सपनाको रिहर्सल र धरातलीय यथार्थ आज कहाँ छ ? पटक–पटक बलिदान र सत्ता परिवर्तन गर्न गराउन सक्ने हाम्रो क्षमतामा प्रश्नचिन्ह किन बाक्लिँदो छ ? हामी चिहानहरूका माझ दिशाहीन यायावर कहिलेसम्म हुने ? कुहिरोको काग भएर सधैँ हावामा गोता खाइरहनु हाम्रो अभीष्ट हो ? होइन भने ‘लक्ष्य नभएको मानिस साँच्चै बाँदरजस्तै हुन्छ,’ भन्ने लक्षणा–अर्थ चरितार्थ गर्दै हामी आफूमा कस्तो प्रवृत्ति हुर्काउँदै छौँ ?
मुलुकका जिम्मेबार तथा जनताप्रति उत्तरदायी भएको दाबी गर्नेहरू विषयको जटिलताप्रति साँच्चिकै गम्भीर हुन सकिराखेका छैनन् । राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, नैतिक सवालमा जनता र मुलुकलाई समृद्ध बनाउने खाका कोर्ने काममा खेलाँची भइराखेको छ । समय लम्ब्याउने, तन्काउने र अरूलाई आफ्ना एजेन्डामा लतार्ने पट्यारलाग्दो बाघचाल चलिरहेको छ ।
समाज विलम्बताको आत्मरतिमा रमाइरहेको छ । अगाडि छातीमा ‘जे गर्छु, नेपालमै गर्छु,’ र पछाडि ढाडमा ‘नसके विदेश जान्छु,’ लेखिएको भेस्ट लाउनेहरूको चहलपहल उल्लेख्य छ । हामीलाई आफ्नो गाउँ–ठाउँ, मुलुक समृद्ध बनाउन औधि मन छ, सँगसँगै विदेशमा काम गर्न जान पाइएन, पासपोर्ट–भिसामा छुट पाइएन भन्ने चित्त–दुखाइ पनि उत्तिकै छ । यस्तो पृष्ठभूमिमा यो निःशुल्क राम–रमिता हेराइको क्रमभङ्ग कहिले होला ?
संसारमा कुनै पनि आमूल परिवर्तन र समृद्ध समाजको निर्माण जनता नताती भएको थाहा छ ? प्रतीक्षा गर्नेले तिनै कुराहरू मात्र पाउँछन्, जो अगाडि जानेले छोडेका हुन्छन् भन्ने सुन्नुभएको छ ? बाटोे, घर, समाज र देश आफूले चाहेअनुकूल बनाउने आफ्नो दायित्व भुलेर हामी कतै अरूप्रति अनावश्यक निर्भर त भइरहेका छैनौँ ?
हामीले प्रयोग गर्ने बाटोमा किन खाल्डाखुल्डी परेको छ ? सवारीवाला, पैदलयात्री, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग आदि सरोकारवालाहरू किन आ–आफ्नो भूमिकामा सही तरिकाले प्रस्तुत हुन सकेका छैनन् ? बनाउनुपर्ने सडक, पुल किन समयमै बन्दैनन् ? सडकपेटी प्रयोग गरेर किन पैदलयात्रीहरू आरामले आफ्नो गन्तव्यमा जान पाउँदैनन् ? भएका जेब्राक्रसबाट हिँड्न किन चाहँदैनन् मान्छे ?
सडकको यो उदहारणजस्तै हाम्रा राजनीतिक नेतृत्व र पार्टीहरू किन हामीले सोचेजस्ता हुन सकेका छैनन् ? किन जुन जोगी पनि कानै चिरिएका मात्र आउँछन् ? किन हाम्रो समृद्धिको सनातन सपना तुहाइएको छ ? किन हामी यो बेथिति स्वीकार गरिहेका छौँ ?
हामी कतै ‘सक्छौ प्रतिकार गर नत्र स्वीकार गर’ भन्ने यथास्थितिवादी चिन्तनबाट मनोग्रसित भएका त होइनौँ ? फेरि, स्वीकार के गर्ने ? के हामी अक्षम छौँ भनेर स्वीकार गर्ने ? हामीले मन मारेका छौँ, हार खाएका छौँ भनेर स्वीकार गर्ने ? कि हामी सधैँ अरूद्वारा शासित हुन योग्य छौँ भनेर स्वीकार गर्ने ?
हाम्रो परिसरमा अरूले आहा ! भन्नेखालको फूल रोप्न अझै बाँकी छ किन ? हाम्रो घर–आँगन परिसर किन फोहोर व्याप्त छ ? हाम्रा कार्यकक्षहरू किन हामीले चाहेअनुकूल छैनन् ? कर्मचारीहरू किन भ्रष्टाचारमा लिप्त छन् ? घुस लिने–दिने दुवै राष्ट्रका सत्रु हुन् भन्ने दिव्य–उपदेश थाहा छ तर हामी किन घुस दिन्छौँ र लिन्छौँ ? हाम्रा व्यापारीहरू किन मिसावट र छलीमा मग्न छन् ? हामी सामान किन्नुअघि त्यसको गुणस्तरप्रति किन सचेत छैनौँ ? कलमजीवीहरू किन भ्रमजीवीजस्ता देखिएका छन् ? हामी आफ्नो अधिकार खोज्दा अरूको अधिकारको सम्मान गर्न किन सक्दैनौँ ? हामीमा यो चेत र चिन्तन कहिले आउँछ ?
गुट्काको खोल किन डस्टबिनमा छैन ? घरमा होल्डर छ तर त्यसमा बल किन छैन ? बसको छतमाथि मान्छे किन छन् ? थाहा छ, खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ । तर साबुन पानी हात हाम्रो व्यावहारिक जीवनमा सँगसँगै हुन किन सकिरहेको छैन ? पान खाएर जताततै थुक्ने बानी किन बनेको छ ? मान्छे नभएको कोठामा पङ्खा–हिटर किन चलिरहेका हुन्छन् ? सडक बत्ती दिनभरि किन बलिरहेको देख्न पाइन्छ । सडक बनाइसकेको पनि हुँदैन, खन्न हतार भइसक्छ किन ? के हामी बिनायोजना काम गरिरहेका छौँ ?
हामी सबै कुरामा अपेक्षित गम्भीर किन छैनौँ ? हामी जहाँ पालो पर्खिनुपर्ने ठाउँ हो, बैँक काउन्टर, बसस्टप, अस्पताल आदिमा हतार गर्छौँ तर समाज तथा राजनीतिक यथास्थिति परिवर्तन र नयाँ सिर्जनाका लागि हतार गर्दैनौँ किन ? ‘यहाँ यस्तै छ’ भनेर किन आफ्नो निरिहतामा गौरव गर्छौँ ? ‘नेपाली समय’ यस्तै हो भनेर हामी आफ्नो गम्भीर भुललाई किन सामान्यीकरण गर्छौँं ?
प्रष्ट छ, हाम्रो पढाइअनुसार व्यवहार मिलेको छैन । गुरुहरू लज्जित र विद्यार्थीहरू दिग्भ्रमित छन् । व्यक्ति एक्लैमा पनि समयमा आएको चेतनाको ठूलो मूल्य हुन्छ भन्ने सत्य हामीले बिर्सिएका छौँ । हामीभित्रको स्वाभिमान, मान्छे हुनुको चेत र अन्तरआत्मा ‘कोमा’ उन्मुख छ । यस्तोमा प्रलय पनि आफैँ होस् भन्ने चाहना राख्नु गम्भीर गल्ती हो भन्ने हामीलाई कसले बुझाइदिने ? के हामी अरूको इसारामा नाच्ने कठपुतली हौँ ? होइन भने कसैले धागो बाँधेर हाम्रा हातखुट्टा नचाइरहेको सार्वजनिक आभास किन भइरहेको छ ?
आफूलाई परिवर्तन नगरी, सबै खालका बेथितिप्रति प्रश्न नगरी सही जबाफ आउँदैन भन्ने हामीलाई थाहा छ, तर गर्नुपर्ने प्रश्न गरिएको छैन । कक्षामा शिक्षक सिकाउँछ, समाजमा कोही पनि मान्छे दलित हुँदैन, कसैलाई पनि दलित भन्नुहुन्न, सम्झिनु हुन्न, कसैलाई पनि त्यस्तो व्यवहार गर्नुहुँदैन । विद्यार्थी प्रश्न गर्छ, त्यसो हो भने संविधानको अनुसूचीमा केही जातिलाई दलित हुन् भनेर किन उल्लेख गरिएको हो ? के जबाफ दिने शिक्षकले ?
सनातनदेखि चलिआएको विकृति निमिट्यान्न पार्न चाहिने वास्तविक जागरण हाम्रो व्यवहारमा आउने कहिले ? त्यसको सट्टामा संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग नै बनाएर पनाति पुस्तासम्म पनि किन दलित पहिचान र व्यवहारलाई संस्थागत गर्न उद्यत किन छौँ हामी ?
‘जबाफै आएन किन ? सोधेको हामीले के हो ?
धमिलो किन छ विचार ? घोलेको हामीले के हो ?’
अनेक प्रश्नहरू सतहमा छन् तर चित्तबुझ्दो जबाफ आएको छैन । अगुवाहरू उत्तरदायी नभएकैले अनुयायीहरू प्रश्नको दलदलमा भासिएका हुन् । अहिले हाम्रासामु प्रश्नहरू तेर्सिएका मात्र छैनन्, तिनका बीचमा घातक स्वीकारोक्ति पनि छ, जुन पृष्ठभूमिमा मेरो गोरूको बाह्रै टक्का भन्नेहरूको सङ्ख्या बढ्दै छ । मैले भनेको ठिक, अरूले भनेको बेठिक । मैले गरेको तर्क, अरूले गरेको कुतर्क । मलाई भए पुग्छ, अरूलाई जेसुकै होस् । मलाई आफ्नो अधिकारसँग मात्र चासो छ, अरूको अधिकारका लागि अरू नै बोलुन् ।
अनेकखाले विरोधाभास बोकेर अखण्डता भए पनि ठिकै, सङ्घीयतावादी भए पनि ठिकै ठान्नेहरू एकपछि अर्को थपिँदै छन् । एकातिर जनमतको कदर गर्छौं भनिन्छ, अर्कोतिर बहुमत जनताले भनेको मान्ने इच्छाशक्ति देखाइँदैन ।
हाम्रो अहिलेको बढ्दो अज्ञानता र मौनता स्वयम्का लागि घातक छ । तर यो सवालको गम्भीरता बुझ्न अझ कति दिन लाग्छ ? हामी किन स्वीकार गर्ने यो घातक स्थिति ? भनिन्छ, जसले समयलाई बर्बाद गर्छ, त्यसलाई समयले बर्बाद गर्छ ।
परिवर्तन सम्भव छ, परिवर्तन हुन सक्छ, परिवर्तन गर्न सकिन्छ भन्ने हामीलाई थाहा छ । तर परिवर्तन अहिले नगरे कहिले गर्ने ? ‘एक युगमा एक दिन आउँछ’ भनेर कति पर्खिने ?
नयाँ मुलुक बनाउँछौँ भन्नेहरू राजनीतिक परीक्षणको भाँडाकुटी खेलमा रमाइरहेका छन् । अगुवाहरूको राजनीतिक चेत र अभीष्ट अस्पष्ट छ । तर नेतृत्व र तिनका अनुयायीलाई अहिलेकै अवस्थामा कहिलेसम्म बेहोर्नुपर्ने हो हामीले ? के हामी यिनलाई दण्डित गर्ने क्षमता राख्दैनौँ ? हामी कति दिन भइराख्ने यो बेथितिको साक्षी ? कहिलेसम्म भइराख्ने ‘जो अगुवा उही बाटो हगुवा’ उखान चरितार्थ गर्ने माउतेको पछुवा ?
‘सुनेको हामीले के हो ? बुझेको हामीले के हो ?
यो कस्तो लाग्दै छ अर्थ ? बोलेको हामीले के हो ?’
मुलुकका स्वनामधन्य प्राध्यापक, लेखक अगुवाहरूमै दिशाभ्रम भएपछि कसको के लाग्छ ? जिज्ञासा स्वाभाविक हुन्छ, एकपछि अर्को विवादास्पद निर्णय र यस्ता कामहरू किन, कसको लहडमा हुन्छन् ? अनि आफ्नो निर्णयमा टिकिरहने नैतिक साहसबाट नेतृत्व किन स्खलित हुँदै छ ?
नेतृत्व मूर्खताको हद पार गर्न किन लागिपरेको छ ? ‘पाजी, उल्लु, गधा, गोरु, कुकुर, बाँदर’ आलि उपनाम दिन लायकहरू अझ कति थपिने हुन् ? जे हो त्यो भन्दा–बोल्दा कसलाई केको आपत्ति ?
नेपाल हिन्दू बहुल राष्ट्र भएकोमा कसैलाई कुनै शङ्का छ ? यदि छैन भने कसैले यो देशलाई ‘हिन्दू बहुल मुलुक’ बनाउनुपर्छ भन्दा अर्कोलाई टाउको दुख्नुपर्ने किन ? हुँदै नहुने ‘निरपेक्ष’ पक्षधरहरूसँग लिँडेढिपीबाहेक कुनै मौलिक तर्क छैनन् । आफ्नो पक्षमा विश्वसनीय उदाहरण नपाएपछि उनीहरू सनातन संस्कृतिको अवशेषका रूपमा रहेका बलि, छुवाछुत, बोक्सी, महिनाबारी जस्ता कुप्रथाको प्रचार गर्छन् र हिन्दू राष्ट्र हुँदैन भन्छन् । तर ती कुप्रथारूपी जलकुम्भीहरू सफा गर्दै, डढाउँदै निर्मूल पार्ने दिशातिर सनातनी समाज अग्रसर रहेको सकारात्मक प्रयासहरूको चर्चा गर्न भने लज्जाबोध हुन्छ, किन ?
सति, कमारा–कमारीजस्ता कुप्रथाहरू सनातनी समाजबाट उन्मूलन भइसके । भग्नावशेषका रूपमा बाँकी विभेदका ऐँजेरुहरू क्रमशः कम हुँदै छन् । समाजमा शिक्षा र चेतना बढ्दै जाँदा सबैखाले विभेदहरू पुरानो पुतको अवसानसँगै अब एक दशक पनि टिक्नेवाला छैनन् ।
तर विडम्बना समाजको यस्तो स्वाभाविक गतिलाई दिग्भ्रमित पार्ने प्रयासहरू बढेका देखिँदै छन् । इतिहास बिर्सेर पहिचानको तर्क अघि सारिन्छ । बालहठ भने पनि शिखण्डी तर्क भने पनि यस्ता अलमलहरूमा समर्थन जुट्दै जाँदा हात लाग्ने बाँकी सिकाइ उपलब्धि के हो ? कल्पना गरिएको छैन ।
हामी मिलेर बस्छौँ भन्दा, ‘अहँ हुँदैन, हामी अलग–अलगै हुनुपर्छ, हामी आफ्नो आफ्नो पहिचान अलग्गै बनाउँछौँ, हामी मिसिन सक्दैनौँ,’ भनिँदै छ । भनाइँदै छ । तर हामी सोचौँ, के हामी स्व–प्रेरणाले यो विभेदको, अज्ञानताको स्थिति अझ सघन बनाउन चाहिरहेका छौँ ? हामी कसका लागि यो सब गरिरहेका छौँ ?
‘हामी किन फेरि थप अँध्यारोमा रमाउन बानी परिरहेका छौँ ?
हामी बुझेरै कि नबुझेर यो बेथितिमा ल्याप्चे लगाइरहेका छौँ ?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।