साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

तथाकथित निरपेक्ष

कृपया जसले ‘राज्य भनेको धर्म निरपेक्ष हुनुपर्छ,’ ‘राज्यको कुनै धर्म हुँदैन,’ आदि भनिरहेको छ, सारमा उसले धर्मको अर्थ नबुझेजस्तो लाग्छ ।

धर्म भनेको अविधा अर्थमा धारण गर्नु हो । सत्य जे हो, त्यो धर्म हो ।

समय, परिस्थिति, व्याख्या आदि अनुसार सत्य फरक–फरक हुन सक्छ भन्नेहरू पनि छन् । तर यो भ्रम हो । पूरा कुरा बुझ्न बाँकी रहेको अवस्था हो । सत्यलाई बुझ्नु, त्यसलाई आफूमा धारण गर्नु र सोहीअनुरूप कर्तव्य निर्वाह गर्नु, मानव धर्म हो ।

यसको एउटा उदाहरण हेरौँ । अहिंसा परमो धर्म भनिन्छ । यसको अर्थ हो, म कुनै पनि प्रकारको हिंसा गर्दिनँ भन्ने विचार मनमा लिनु र सोहीअनुरूप व्यवहार गर्नु । निश्चय नै हिंसा पाप र अहिंसा ठूलो धर्म हो । असल आचरण, सदाचार धर्म हो ।

लक्षणा अर्थमा धर्म नीति हो, नियम हो । कर्तव्य हो । अनुशासन हो ।

उज्यालो, ताप दिनु सूर्य (घाम)को धर्म हो । पोल्नु आगोको, तीर्खा मेट्नु पानीको धर्म हो । आँपको रुखले आँप नै फलाउनु त्यो रुखको धर्म हो भने आँपको रुखले अरू केही फलाउनु वा फल्न थाल्नु अधर्म । दिन–रात भइदिएर, आफ्नो अक्ष र कक्षमा घुमिदिएर पृथ्वीले अहिलेसम्म आफ्नो धर्म निर्वाह गरिरहेको छ ।

माटोको धर्म सिर्जना उमार्नु र बिरुवाको धर्म सिर्जित हुनु हो । यात्रीलाई लक्षित गन्तव्यमा प¥याउनु सवारीचालकको धर्म हो । अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउनु गुरुको धर्म हो । त्यो बाटोमा हिँड्नु शिष्यको धर्म हो ।

किसानको धर्म के हो ? चिकित्सकको धर्म के हो ? प्रहरीको धर्म के हो ? सैनिकको धर्म के हो ? न्यायाधीशको धर्म के हो ? पत्रकारको धर्म के हो ? तपाईलाई थाहा नै छ । नबुझेकालाई कुरा बुझाउनु नेतृत्व, सहजकर्ता, लेखक–कवि आदि अगुवा वर्गको धर्म हो ।

परिवारको, समाजको, राज्यको अर्थात् हरेक वर्ग समुदायको एउटा धर्म हुन्छ । रुखको एउटा धर्म हुन्छ । जङ्गलको एउटा धर्म हुन्छ । बाघको एउटा धर्म हुन्छ । सबैले आफ्नो गच्छे र क्षमताले भ्याएसम्म धर्म धानेका हुन्छन् ।

व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण, मूल वृत्ति, प्रकृति वा स्वभाव धर्म हो, जुन स्वाभाविक र सहज हुन्छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोक–विश्वास भएका सनातनीहरूका अनुसार पुण्य कार्य धर्म हो । ठोस, तरल, ग्यास, अणु–परमाणु आदि जुनसुकै आकार–प्रकार भएका पदार्थको आ–आफ्नै धर्म हुन्छ । आकार नभएका भनिएकाहरूको पनि एउटा धर्म हुन्छ ।

निराकार केही छैन । मात्र हामीले त्यसको आकार थाहा पाउन वा व्याख्या गर्न बाँकी हो । ब्रह्माण्डको आकार गोलो, लाम्चो, चारपाटे वा अन्य कस्तो प्रकारको छ ? अहिलेसम्म वैज्ञानिकहरूले भन्न सकेका छैनन् । यसको अर्थ, ब्रह्माण्ड निराकार छ भन्ने होइन । यो कत्रो छ ? कति परसम्म छ ? खोजी हुन बाँकी छ । भनिन बाँकी छ ।

अहिले अधर्मले धर्मलाई जितेको छ भनिन्छ । तर होइन । समाज यदि आफ्नो गतिमा चलिरहेको छ, मान्छे बस्न लायक छ भने हामीले बुझ्नुपर्छ, त्यहाँ धर्मले अधर्मलाई पछारेको छ । विभिन्न तह र तप्काले आ–आफ्नो काम इमानदारीपुर्वक गरिरहेका छन् र नै यो समाज चलिरहेको छ । नत्र समाजको जुइँना उहिल्यै खुस्किसकेको हुन्थ्यो ।

सानो उदाहरण हेरौँ । यहाँ पत्रकारहरू ‘पित पत्रकारिता’ गर्छन् भन्ने आरोप छ । के साँच्चै यहाँ सबै पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरेका छैनन् ? यदि सबै पत्रकारहरूले भनिए जस्तो लत्तो छोडेका हुन्थे भने समाजमा पत्रकारिताको काम हुनै सक्तैनथ्यो ।

पुर्खाहरू ‘हृदयमा हरि हुनुपर्छ,’ भन्थे । यसको अर्थ हो, हरेक मानवको अन्तरआत्मामा प्रज्ञा र करुणाको भाव विकास गर्नुपर्छ । धर्मको ख्याल हुनुपर्छ । निश्चय पनि यदि कुनै मानवमा दया, माया, सेवा, दान, त्याग जस्ता कार्मिक भाव छन् भने ऊ मानव धर्मसापेक्ष हुन्छ ।

निरपेक्ष केही हुँदैन । सबै यो पृथ्वी, विश्व ब्रह्माण्ड, यहाँका हावा, पानी, ढुङ्गा, माटो, वनस्पति, प्राणी आदिसँग सापेक्षित भएर विकास वा पतन हुने हुन्छ । जसले राज्य भनेको धर्म निरपेक्ष हुन्छ वा हुनुपर्छ भनिरहेका छन्, त्यो विचार पनि निरपेक्ष होइन । यही समाजको सापेक्षतामा विकास भएको एउटा वैकल्पिक विचार हो । एक पक्षबाट सोचिएको कुरा हो ।

खासमा निरपेक्ष भनिएको विचार धर्मको खोल ओडेका कठमुल्लावादीहरूको व्यवहारले क्षुब्ध भएर व्यक्त गरिएको प्रतिक्रियामात्र हो । यो पनि सापेक्षताकै एक अङ्ग हो ।

यो विश्व ब्रह्माण्डमा कुनै पनि कुरो निरपेक्ष छैन । निरपेक्ष भनेको शून्य हो । शून्य केही हुँदैन । अङ्कमा शून्य देखाउनुप¥यो भने पनि वरपरबाट गोलो घेराको सहारा लिनुपर्छ ।

कुनै पनि सिर्जनाका लागि एउटा आधार चाहिन्छ ।

पृथ्वीको जन्म, जीव, वनस्पति, सभ्यता–संस्कृति, दर्शन–विचार आदिको उत्पत्ति र विकास सबै सापेक्षताको सिद्धान्तअन्तर्गत सिर्जित तथ्य हुन् । विश्वमा कुनै पनि कुरा आफैँमा स्वतन्त्र नभई अर्कासँग कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ, अर्थात् सापेक्ष हुन्छ । हरेकको हरेकसँग मन, वचन र कर्मको सम्बन्ध हुन्छ । आकास–पातालको सम्बन्ध जोडिएको छ । हामी नेपालमै बसेर अमेरिकाका मान्छे, पशु, पक्षी वृक्ष, पानी सबैसँग जोएिका छौँ । बीमा हामीलाई हावाले जोडेको छ ।

बसुधैव कुटुम्बकम् ! हामी सबैको आकास एउटै छ । धरती एउटै छ । यस अर्थमा गहिरिएर मनन गर्दा के साँच्चै कुनै पनि राज्य धर्म निरपेक्ष हुन्छ ? वा हुन सक्छ ? ढुङ्गा, पानी, माटो, हावा आदिको रचना निराधार भएको हुँदै होइन ।

‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता हो । सबैले आफ्नो धर्म मान्न पाउने, सबै धर्मको सम्मान हुने अवस्था हो,’ भन्नेहरू पनि केही सङ्ख्यामा छन् । उनीहरू राज्यको धर्म हुन्छ वा हुँदैन भन्ने पक्षमा तटस्थ हुन चाहनेहरू हुन् । तर यसमा पनि धर्म सापेक्षताको पर्याप्त अंश छ ।

राज्यले सबै धर्मको अस्तित्व स्वीकार गर्नुपर्छ, अर्थात् सबै धर्मलाई सम्मान हुने वातावरण बनाउनुपर्छ भन्नु धर्म सापेक्षता हो । कुनै पनि राज्यले व्यक्ति, समाजको धर्म जे हो त्यो पहिचान, अङ्गीकार र पालना गर्न–गराउन सहयोग गर्नुुपर्छ भन्नु धर्म सापेक्षता हो ।

राज्य समानता, न्याय र धर्म संस्थापनाका लागि मानिसहरूद्वारा निर्मित एउटा विशेष अवधारणा हो, यो गैर–धार्मिक हुनै सक्दैन । त्यसकारण पनि राज्य धर्म सापेक्ष हुनुपर्छ । राज्य धार्मिक हुनुपर्छ । राज्य न्यायिक हुनुपर्छ ।

म धर्म मान्दिनँ, म धर्म निरपेक्ष हुन्छु भन्न राज्यले पाउँदैन । राज्य भनेको लोककल्याणकारी हुनुपर्छ । लोकको कल्याण गर्नु राज्यको धर्म हो । यस अर्थ पनि राज्य धर्मसापेक्ष हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोशमा ‘निरपेक्ष’ शब्दको अर्थ, ‘१. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने । २. कुनै चासो नराखिएको; उपेक्षित । ३. असम्बन्धित; सम्बन्धदेखि मुक्त,’ लेखिएको छ । के हामीले राज्यको धर्मको सवालमा चाहेको त्यस्तै हो । जसले जे गरे पनि हुने ? धर्मको हेक्का, डर नभएको समाज वा राज्य ? भर्खर जन्मिएको बच्चाको हेरचाह र सुरक्षा गरेर पशु समुदायले त आफ्नो धर्म निर्वाह गर्छ भने मानव समुदायमा त्यति पनि विवेक हुन्न ?

हालै एक मित्रले सामाजिक सञ्जालमा ‘गाईको मासु खानेहरू मङ्गल ग्रहमा पुगिसके । गाईको पिसाब खानेहरू पृथ्वीमै छन्,’ भन्दै आफ्नै अज्ञानता झल्काउने पोस्ट राखे । खासमा गोराहरू गाईको मासु खाएका कारणले मङ्गल ग्रहमा पुगेका होइनन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ लेखेको धेरै वर्षपछि मात्र पश्चिमाहरूले चन्द्रमामा पाइला टेकेको तथ्य ती मित्रलाई थाहा नभएको उनको कुराबाट झल्किन्छ ।

महाभारतकालीन समयमा विज्ञानको जुन विकास भएको कल्पना पूर्वको पवित्र भूमिमा गरिएको थियो, त्यतिको कल्पना आजसम्म पनि पश्चिमाहरूले गर्नसकेका छैनन् । क्षणमै मान्छे अलप हुने र क्षणमै मान्छे प्रकट हुने, मरेकालाई पनि जीवित पार्ने, उही मान्छेलाई तत्काल दुरुस्त अनेकौँ बनाउने (रक्तबिज) जस्ता वैज्ञानिक उपलब्धि ऊ बेला कल्पना गरिएको थियो । यस्तो उच्चतम् क्षमता विकास गर्न आधुनिक भनिएको पश्चिमी सभ्यतालाई अझ कति वर्ष लाग्ने हो ?

आज संसारमा क्रिस्चियन धर्मसापेक्ष राष्ट्रहरू छन् । इस्लाम धर्मसापेक्ष राष्ट्रहरू छन् । बौद्ध धर्मसापेक्ष राष्ट्रहरू छन् । तर जब हिन्दू धर्मसापेक्ष राष्ट्रको कुरा उठ्छ, ‘अहँ हुँदैन !’ भनिन्छ । किन ?

अमेरिका जस्तो सम्पन्न र अग्रणी राष्ट्रमा राष्ट्रपति ‘बाइबल’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान्छन् । इन गड सव ट्रस्ट भन्छन् । त्यो क्रिश्चियन धर्म सापेक्षता हो कि होइन । यदि होइन भने हाम्रा राष्ट्रपतिलाई ‘गीता’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान कसले र किन रोकिराखेको छ ?

अहिले व्यक्तिको धर्म परिवर्तन हुन्छ, गराइन्छ भन्नेहरूको मेला लागेको छ । खासमा दुःखी, गरिब, भेदभावमा परेका, सीमान्तकृत समुदायका हिन्दू सनातनीलाई छानी–छानी धर्म परिवर्तन गराएको प्रचार गरिँदै छ । यसका लागि प्रयोग भएकाहरूले प्रेम, विवाह, औषधि, पढाइ, नोकरी, आर्थिक सहयोग आदिलाई हतियार बनाएका छन् ।

यो आपत्तिजनक प्रवृत्तितर्फ लक्षित गर्दै अखिल विश्व गायत्री परिवार, हरिद्वारका तर्फबाट केही दिनअघि एउटा जिज्ञासा सार्वजनिक गरिएको थियो । गायत्री परिवार भन्छ, ‘भोक’भन्दा ठूलो धर्म र ‘रोटी’भन्दा ठूलो ईश्वर यदि कतै छ भने कृपया देखाइदिनुहोला, हामी पनि धर्म परिवर्तन गर्न चाहन्छौँ ।

तर धर्म परिवर्तन गराउन चाहनेहरूले निकै दिन बितिसक्दा पनि यो जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

नेपाली माटोमा जन्मे–हुर्केका सिद्धार्थ गौतम, बुद्ध (ज्ञानी) भएर आजन्म हिन्दू धर्ममा सुधारको कुरा गरे । मूर्ति–पूजा परम्परा र अन्धविश्वास प्रवृत्तिको विरोध गरेर बुद्धले हिन्दू धर्म सुधार गर्न ठूलो गुन लगाए । ‘अप्पो दीप भवः’ भनेर बुद्धले संसारभरिका मानव समुदायलाई आफूभित्र विद्यमान ‘उज्यालो’ रूपी ‘ईश्वर’ चिन्न र धर्म सापेक्ष हुन प्रेरित गरे ।

सारमा, हामी आफ्नो ‘तपोभूमि’मा पुर्खाहरूले विकास गरेको पूर्वीय सभ्यताबाट जति विमुख हुन खोज्दै छौँ, उति आफ्नो पहिचान र राष्ट्रियता कमजोर बनाउँदै छौँ । दुःख लाग्छ, हामी हाम्रो धरातलीय यथार्थ र गौरवशाली इतिहास बिर्सेर पश्चिमाहरूको नक्कल गर्दै के हुन उद्यत छौँ ? जबकि उनीहरू नै भन्दै छन्, गीताभन्दा उत्कृष्ट दर्शन अरू छैन ।

हेनरी डेभिड थोरोलाई, ‘भागवत् गीताको तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह लाग्छ ।’ मेरिना क्रिस्टिनाका लागि ‘गीता अत्यन्त प्रिय ठहरिएको छ ।’ विलियम रोवर्टस्का अनुसार वेदमा लेखिएका कुराले अनन्त सत्यलाई प्रस्तुत गर्छन् । आर्थर भर्सलुइ भन्छन्, ‘हामीले वेदान्ततिर फर्कनु आवश्यक छ, किनकि उपनिषद्हरूले आदिमकालदेखि प्राप्त हुने विशुद्ध तत्व–मीमांशाको ज्ञान प्रदान गर्छन् ।’

पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षतः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ ।

प्रतिक्रिया
Loading...