फन्टुस फिक्सन भन्ने–सुन्ने सिलसिलामा थुप्रै रमाइला संयोगहरू सिर्जना भएका छन् । कहिले लेखक कथा खोज्दै पात्रसम्म पुगेको छ । कहिले पात्र कथा भन्न लेखक खोज्दै आइपुगेको छ । कहिले सत्य घटना सुनाउँदा–सुनाउँदै कथा भइदिएको छ ।
यसपटक पनि यस्तै भएको छ । म कथा सुन्न हजुरबुबा तारानाथ बञ्जारातिर फर्केर कुर्सीमा बसेको छु ।
मर्दकी दस वटी । सन्तानले डाँडाकाँडा ढाकुन् भन्थे बूढापाकाहरू । हाम्रै उदयपुरको हँडिया बकनियामा जसजीत भन्ने राई थियो, त्यसले २२ वटी स्वास्नी भेला पारेछ ।
एकपछि अर्को गर्दै २२ वटी पु¥याएपछि गाउँलेबाट राजा त्रिभूवनलाई उजुर परेछ । लु ! यो जसजीत भन्ने राईले ता गाउँमा कसैका छोरी–चेली कहीँ–केही भन्नै पाएन, सोहोर–साहार पारिसक्यो यसले । यसलाई त फाँसी पाऊँ भनेर निवेदन परेछ राजाकहाँ । अनि लु के रहेछ त भनेर दुई जना पाले जसजीतलाई पक्रिन आए । सिपाही पक्रेर काठमाडौँ पु¥याएपछि राजाले सोधेछन् –
‘ए… जसजीत भन्ने तिमी नै हौ ?’
‘तीन कुरालाई सरकार !’
तीन कुरालाई सरकार ! भन्ने उसको थेगो थियो । ‘तीन कुरालाई सरकार !, मैलाई जसजीत भन्छन्,’ भनेछ ।
‘तिमीलाई त तिम्रा गाउँबाट फाँसी दिनु भन्ने निवेदन छ । के हो ?,’ भन्दा ‘सरकार ! ठिकै छ, सरकारको आदेश मान्न म तयार छु,’ भनेछ ।
उसले सरकारको जो आदेश भने पनि अब सिधै गोली हान्न त सरकारले मिल्दो रहेनछ । कुनै न कुनै कसुर प्रमाणित हुनुपर्ने रहेछ । त्यसपछि राजाबाट मर्जी भएछ –
‘तिम्रा २२ वटी श्रीमती छन् त ?’
‘गाउँले सप्पैले त्यसै भन्छ सरकार !’ भनेछ ।
‘त्यसो भए फलानो मितिमा मेरो हँडिया बकनियामा सवारी हुन्छ । त्यहाँ तिम्रा ती २२ वटी श्रीमती उपस्थित गराउन सक्छौ त ?’ भन्दा जसजीतले ‘तीन कुरालाई सरकार ! सक्छ,’ भनेछ ।
त्यतिखेर तमाखु खाने चलन थियो । राजासँग त्यति कुरा भएपछि उसले अलि परतिर गएर तमाखु भरेछ र स्वाइँ–स्वाइँ, टररर्रर–टररर्रर पारेछ । गुडगुडे हुक्का सधैँ झोलामा बोकेरै हिँड्दो रहेछ । मसलाहरूले, जट्टामसीहरूले गालेको तमाखु खाँदो रहेछ ।
अनि राजालाई त मग–मग–मग–मग–मग बास्ना आएपछि कसो गरुँ, के गरुँ भन्ने भएछ !
‘ए, यो जसजीतेले त कस्तो तमाखु खाँदो रहेछ, एक पात तमाखु मागेर ल्याऊ–ल्याऊ,’ भनेर राजाले सिपाहीलाई अह्राएछन् । ‘ए, जसजीत एक पात तमाखु राजालाई बक्सन्छौ अरे,’ भनेर सिपाहीहरूले मागेपछि उसले तमाखु दिएछ ।
ल ! ठिकै छ । अब हँडिया बकनिया मेरो सवारी हुँदा त्यहाँ तिम्रा २२ वटी श्रीमती दाखिल गर्न सक्छौ,’ भन्दा ‘तीन कुरोलाई सरकार सक्छ,’ भनेछ ।
अनि पालेलाई चिलिममा तमाखु भर्न लगाएछन् राजाले । तमाखु भरेपछि सट्ट एक सर्को तानेको छ भन्नुहुन्छ, सरररररर जीवै फूलको थुँगो जस्तो एकदम ठन्डा भएर आनन्द आएछ ।
‘राम–राम ! यो मान्छे त के रहेछ, के रहेछ ! घिउ जस्तो पो रहेछ,’ भन्ने राजाको मनमा परेछ ।
‘तिमीले यो के–के चिजले बनाको तमाखु, जसजीत ?,’ भनेर राजाले सोधेछन् ।
‘सरकार ! त्यस्तै हो, के हुन्छ र ! म गरिब–दुःखी, यसो जडीबुटीबाट बनेको हो सरकार !,’ भनेछ ।
‘तिमी साँच्चीकै तमाखु खाँदा रै’छौ,’ राजाले भनेछन्, ‘र पो २२ वटी श्रीमती जम्मा पारेका रै’छौ ।’
‘तीन कुरोलाई सरकार ! यत्ति नै हो मेरो सम्पत्ति भने पनि जे भने पनि । यही तमाखु खान्छु । अर्थोक केही छैन, सरकार !’ भन्ने जवाफ दिएछ ।
‘ल ! ठिकै छ । अब हँडिया बकनिया मेरो सवारी हुँदा त्यहाँ तिम्रा २२ वटी श्रीमती दाखिल गर्न सक्छौ,’ भन्दा ‘तीन कुरोलाई सरकार सक्छ,’ भनेछ । त्यसपछि राजाले ‘लु जाऊ अहिले,’ भनेर फुर्सद दिएछन् ।
…
जुन मितिमा सरकारको सवारी हुने भनिएको थियो, त्यही मितिमा सवारी भयो ।
जगजीतको पालो २२ वटी श्रीमतीलाई कोही पिँध मात्रै भा’का, कोही नयाँ, कोही बिट गा’का, कोही आधा, कोही काटेका, कोही नकाटेका अनेक थरिका डोका बोकाएर तयार पारेछ । सबैलाई ठिक–ठिक एउटा–एउटा डोका दिएर, ठिक–ठिक नाम्लो लगाइदिएर कसैका डोकामा गिठ्ठा, कसैकामा भ्याकुर, कसैकामा मकैको घोगो, कसैकोमा काँचो कोला, त्यस्तै केकेकेके फलफूलहरू एक–एक थोक सबैलाई हालिदिएको थियो । बाहुनी पनि थिए, रइनी, भोटिनी, मगर्नी सबैथरिका थिए ।
सरकारले त्यस्तो तमाखुको चाहना गरिबक्सेको थियो, अब म गरिब मूलाले के लगेर टक्र्याउँ त ! २२ वटी स्वास्नी दाखिल गर्नुपर्ने, भोलि मलाई गोली हान्ने पो हुन् कि ! जगजीतका मनमा यस्तै कुराहरू आएछन् ।
जे भए पनि यही तमाखु लगेर टक्र्याउनु प¥यो भन्ने सोचेर उसले एक मटिया तमाखु विशेष हिसाब–किताबले मजासँग बनाएछ । त्यसरी बनाएको तमाखु ठिक्कको एउटा मटियामा खाँदेर माथिबाट नातो बाँधेछ ।
…
सबै जोरजाम गरेर हँडिया बकनिया पुग्दा राजाको सवारी आइपुग्ने बेला भा’कै रै’नछ । सबै मालमत्ता र स्वास्नीहरू चउरमा खक्र्याएर तमाखु खान थालेछ । त्यतिखेर अहिलेको जस्तो गाडी–साडी चल्ने चलन थिएन । केहीबेरपछि घोडाको बग्गीमा राजाको सवारी भएछ ।
सवारी हुँदा–हुँदै मग–मग–मग–मग तमाखुको बास्ना राजालाई गैगो । ला, अघि आएछ जसजीते त भन्दै–भन्दै राजा सवारी हुनुपर्ने ठाउँतिर गएछन् । केही पर राजा बस्ने क्याम्प बनाएको थियो । गएर ठ्याक्क बसेपछि राजाले पालेलाई सुरुमै जसजीतलाई बोलाउन आदेश दिएछन् ।
‘तीन कुरोलाई सरकार !’ भन्दै जसजीत हात जोडेर राजाका अगाडि उपस्थित भएछ ।
‘जसजीत आयौ,’ भन्दा ‘सरकार तीन कुरोलाई आएँ,’ भनेछ ।
‘तिम्रा २२ वटी श्रीमती पनि ल्यायौ ?’
‘ल्याएँ सरकार !’
‘कहाँ छन्, त खोइ ?’
‘उता बाहिरतिर छन् सरकार !’
‘लु, यहाँ अगाडि बोलाऊ ।’
राजाबाट बोलाउने आदेश भएपछि सबैलाई ग्यामगुम्म उठाएर २२ वटीलाई नै राजाका अगाडि उभ्याइदियो ।
‘यिनै हुन ?,’
‘यिनै हुन् सरकार !’
‘यी सबै हुन् ?’
‘सप्पै हुन्, तीन कुरोलाई सरकार !’
राजा पनि छक्क परे सबैलाई आँखै अगाडि देखेर । त्यसो भए लु बस भने राजाले र सबै बसे । अनि राजाले ती केटीहरूलाई पालै–पालो नजिक बोलाएर सोधे –
‘ए बहिनी, तिम्रा श्रीमान्को नाम क्या हो ?’
सबैले भनेछन् – जसजीत ।
…
‘यो जसजीतका श्रीमती २२ वटी छन् भनेको हो त ?’ भन्दा ‘हो’ भन्ने भएपछि राजाले ती केटीहरूलाई सोधेछन् –
‘यो जसजीते बाठो छ कि, राम्रो छ कि, विद्वान छ, कि धनी छ कि, के देखेर आयौ ?’
‘सरकार ! यो धनी पनि छैन, यो राम्रो पनि होइन, त्यस्तो लेखापढी गर्न जान्ने पनि होइन, तर सरकार एउटा योसँग विशेष कला छ, त्यही भएर हामी यसको पछाडि लागेका हौँ ।’
‘के हो त्यस्तो विशेष कला ?’
अर्कीलाई सोधे, अर्कीले त्यसै भनी । अर्कीलाई सोधे, अर्कीले पनि त्यसै भनी । जतिलाई सोधे, सबैले त्यसै भने । न सिकाएर पठाएको हो, न कुरो त्यही हो !
‘एउटा योसँग बाँसुरी छ । जङ्गलमा एउटा डाँडामा गएर बाँसुरी बजाउँछ । हामी छोरीमान्छे दाउरा–घाँस जाने चलन हो । दाउरा–घाँस जान्छौँ । जङ्गलमा गएपछि बाँसुरीको भाषाले हामीलाई त जाऊँ–जाऊँ–जाऊँ बनाउँछ । त्यही बाँसुरीको भाका सुनेर आएका हौँ ।’
‘सबै त्यसैगरी आएका हौ ?’
‘सप्पै त्यसैगरी ।’
राजाले पालैपालो एउटीलाई सोधे, एउटीले त्यसै भनी । अर्कीलाई सोधे, अर्कीले त्यसै भनी । अर्कीलाई सोधे, अर्कीले पनि त्यसै भनी । जतिलाई सोधे, सबैले त्यसै भने । न सिकाएर पठाएको हो, न कुरो त्यही हो !
अहिले छोरा पुस्ता छैनन्, नाति–पनातिहरू छन् ।
‘हुन त यो एकफेरा लाहुर पनि गा’को हो तर यसको सम्पत्ति केही पनि छैन ! त्यही एउटा बाँसुरी छ । त्यही बाँसुरी बजाको शब्दमा, त्यही पाराले हामी आयौँ । न त्यसमा यसको केही मन्त्र छ, न तन्त्र छ, न जादू गर्छ, के गर्छ ! थाहा छैन तर हामीलाई चाहिँ त्यही बाँसुरीले पहिले मोह बनाएर ल्याएको हो सरकार !,’ २२ वटीकै कुरो हुबहु मिल्योे ।
‘अब के खान्छौ त तिमीहरू ? यत्रा बाइस–बाइस वटीले !, खान पु¥याएको छ, लाउन पु¥याएको छ ?,’ भन्दा यस्तै आफू–आफू व्यवस्था गार्छौँ, दुःखजिलो गर्छौँ, कन्दमूलहरू खान्छौँ, बनीबुतो गर्छौँ,’ भनेछन् ।
‘त्यसो भा ल ठिक छ । मैले गाउँलेका कुरा पनि सुनेँ । तिमीहरूका कुरा पनि सुनेँ । गाउँलेले भन्नु एउटा कुरो हो । तिमीहरूको कुरो पनि चित्त बुझ्दै छ, मिल्दोजुल्दो नै लाग्यो,’ भनेर राजाले जसजीतलाई अलि कडा स्वरमा सोधेछन् –
‘ए, जसजीत अब के गर्छौ ?’
‘तीन कुरोलाई सरकार !’
‘तिमीलाई त गाउँ नै दग्ध ग¥यो जसजीतेले, यसलाई फाँसी दिनू भन्ने माग छ जनताको ।’
जसजीत डरले कालोनीलो भएछ ।
‘अब जनता त मेरा सबै उत्तिकै हौ । तिमीलाई फाँसी दियो भने यी २२ वटीको झन् बिजोक हुन्छ । त्यत्तिकै फाँसी दिन त मिल्दैन । के गर्ने त अब ?’ राजाले सोधेछन् ।
‘तीन कुरोलाई सरकार ! जो मर्जी हजुरको,’ भनेछ ।
‘ल, ठिक छ त्यसो भए म यी २२ वटीको मुख हेरर तिमीलाई छोडिदिन्छु । के माग्छौ अब ?,’
‘तीन कुरोलाई सरकार ! सरकारको आज्ञा जे हुन्छ सरकार, भनेपछि राजाबाटै हुकुम भएछ, ‘यो हँडिया बकनियाको २४ बिघा जमिन तिमीलाई भो । बकस म दिन्छु । तिमी जिप्तभर माग्छौ कि पुस्ताभर माग्छौ ?’
‘सरकार, म जिप्ताभरलाई,’ भनेछ ।
उसले सन्तान–दर–सन्तानलाई भन्न खोजेको थियो होला तर भाषा राम्रो जानेन । त्यसैले ‘किरातीको बुद्धि भदौको भेल’ भनेका होलान्, बूढापाकाले ।
जिप्ताभरलाई भनेर मागेपछि जसजीत राईलाई हँडिया बकनियाको २४ बिघा जग्गा जिप्ताभरलाई लालमोहर गरिएको छ भनेर स्वीकृत गरिदिए राजाले ।
अनि ‘तीन कुरोलाई सरकार ! म के टक्र्याउँ,’ भनेर त्यही एउटा मटियामा लगेको तमाखु टक्र्याएर राजालाई खुसी पारेको थियो रे !
जिप्ताभरलाई भनेको हुनाले आफू बाँचुञ्जेल जसजीत राईले हँडिया बकनिया खायो । उसको जीउ गएपछि सरकारले हरिहाले । ऐलानी भो, अरूले पाए ।
जसजीतका सन्तानहरू अहिले पनि भेटिन्छन् । जीतमान र मनजीत नामका दुई छोरा, सुकमान, नरबहादुर कुबिरसिंह पृथीबहादुर, मतापसिंह, शेरबहादुर, सुसुपाल, धनमोहन, भद्रध्वज, भगतसिंहलगायत ११ भाइ नाति भए । अहिले छोरा पुस्ता छैनन्, नाति–पनातिहरू छन् ।
…
अरूको के कुरा गर्नु ! मेरो आफ्नै हजुरबाका १३ वटी स्वास्नी थिए । कान्छी हजुरआमा त अझै हुँदै हुनुहुन्छ ।
सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । पढ्नेलाई धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।