
‘तपाईको नाम के हो दाजु ?’
‘मनोज महर्जन ।’
‘कहाँबाट आउँदै हुनुहुन्छ ?’
‘ठिमी ।’
‘अनि तपाईको ?’ नागरिक दैनिकमा रात्रि–डेस्कको कामका लागि सुन्धारा जाने क्रममा तीनकुनेबाट एउटै सिटको सहयात्री बनेका महर्जनलाई मैले नाम भनेँ ।
‘अनि तपाईको चाहिँ घर ?’
‘इटहरी,’ मैले भनेँ ।
‘ए …!’ उनले केही बुझेजस्तो गरेर केहीबेर मेरो अनुहारमा हेरे अनि सोधे, ‘साँच्चि, कस्तो मान्छे हो द्वारिकलाल ?’
‘लौ … कसरी थाहा पाउनुभो तपाईले द्वारिकलालको नाम ?’
इटहरीसँग कुनै प्रत्यक्ष साइनो नभएका महर्जनको मुखबाट अचानक द्वारिकलालको नाम सुन्दा म छक्क परेँ ।
‘अब थाहा पाउनै प¥यो नि ! पत्रिका हे¥यो उसैको फोटो, उसैको खबर छ । टिभी हे¥यो उसैको समाचार । रेडियो सुन्यो उही । फेसबुक हे¥यो उही । युटुब हे¥यो उही ।’
ठिमीका मनोज महर्जनलाई तपाई चिन्नुहुन्न । द्वारिकलाललाई पनि थाहा छैन, मनोज महर्जन को हुन्, के गर्छन् ? मैले पनि पहिलोपल्ट गत शनिबार सुन्धारा जाने लोकल बसमा भेटेको । चिन्दिनथेँ त्यसअघि ।
तर उनी चिन्दा रहेछन् द्वारिकलाललाई । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी । त्यो बेला दुई साता युटुबको ट्रेन्डिङमा थिए । नेपाली मिडियाको समाचार र सम्पादकीयमा थिए । उनलाई चिन्ने नेपालीको सङ्ख्या करोडभन्दा माथि उक्लिसकेको थियो ।
एक महिनाअघिसम्म केही लाखले चिन्ने मान्छेको पहिचान यसरी एकाएक करोडमा कसरी उक्लियो ? प्रश्न गम्भीर छ । मिडिया र सामाजिक सञ्जालमा द्वारिकलालकोचर्चा चुलिँदै गर्दा इटहरीकै होनहार गायक प्रीतम आचार्यको लिटिल च्याम्स् विजय यात्राको चर्चा भने सेपमा परेको थियो ।
यसको अन्तर्यमा थोरै रोचक तर थोरै दुखद्, सबैले थाहा पाउनैपर्ने एउटा विशेष कथा लुकेको छ ।
एक दिन राति द्वारिकलालले अरू काम छोडेर पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्न एक करोड छुट्याउने निधो गरेछन् । उनको यो निधो केही वर्षअघि विराटनगरमा पर्शुराम बस्नेत समूहले पत्रकार खिला ढकाललाई नाकमा मरणासन्न हुनेगरी हिर्काएको तर त्यो आततायी समूहलाई आजसम्म कुनै चित्तबुझ्दो कारबाही नभएको बरु राजनीतिक रूपमा एकपछि अर्को सफलता हात लाग्दै गएको घटनाप्रेरित रहेछ ।
त्यसपछि त के थियो, समाचार बिकाउने मसला खोजिरहेका पत्रकारहरूले काम पाइहाले । मलाई पनि राम्रै रोजगारी मिल्यो । धेरै दिन भएको थियो फेसबुकको भित्तामा दिल खोलेर लेख्न नपाएको । त्यसबीचमा मैले उनका बारेमा फेसबुकमा के लेखेँ ? तपाईको जिज्ञासा समाधानका लागि अब केही बुँदाहरू रिक्याप गरौँ ।
सुरुमा एक–दुई वाक्य अङ्ग्रेजीबाट बोल्ने, बोली सकेपछि उनलाई सुनिरहेको मान्छेको अनुहारतिर हेर्ने र आफ्ना कुराको खासै प्रभाव नपरेको देखी ‘अङ्ग्रेजी बुझ्नुहुन्छ तपाई ?’ भनेर सोध्ने विशिष्ट बानी छ द्वारिकलालको, तर म त्यसो गर्दिनँ ।
‘सेलिब्रिटी’ शब्दको अर्थ तपाईलाई थाहा छ । जब कसैलाई उसले नचिनेका व्यक्तिले पनि चिन्न थाल्छन्, त्यस्ता व्यक्ति सेलिब्रिटी कहलिन्छन् । यहाँ म उनै एकाएक दुई साताभन्दा बढी युटुबको ट्रेन्डिङमा रहन सफल सेलिब्रिटी द्वारिकलाल चौधरीको धरातलीय यथार्थ चर्चा गर्न लागेको छु ।
आफूलाई सामान्य मोही किसान थारुको छोरो बताउने द्वारिकलाल चौधरी एकाएक कसरी सेलिब्रिटी भए ? अथवा उनी सेलिब्रिटी हुन कसरी प्रेरित भए ? पृष्ठभूमिमा कोको सहयोगी छन् ? सारा प्रश्नको जवाफ मिडियामा आइसकेको छ । यहाँ म मेरो केही अनुत्तरित जिज्ञासाहरू मात्र राख्दै छु ।
पत्रकारलाई धक्का लगाएर वा अरू अनपेक्षित घटना गराएर सेलिब्रिटी हुने घनचक्करमा कसरी भुमरिन्छ मान्छे ?
…
विषयको उठान प्रस्थान–बिन्दुबाट गर्दा ठिक होला । त्यो बेला सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाको राप उत्कर्षमा थियो । एकदिन इटहरीको जनताबस्ती मैदानमा परिवर्तनकामी मान्छेहरूको भिड जम्मा पारियो । म, द्वारिकलाल चौधरीलगायत सयौँ रमिते थियौँ भिडमा ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष ‘कमरेड’ पुष्पकमल दाहाल प्रचण्डलाई फूलमाला–अबिरले अनुहार नचिनिने पार्न राम्रै बन्दोबस्त गरिएको थियो । वरिपरिको सुरक्षा घेरा जनमुक्ति सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार तहको थियो । माझमा थियौँ हामी ।
स्वागत–सम्मान, महान् सर्वहारा क्रान्तिको जयगान, सशस्त्र नृत्य प्रदर्शनपछि शुभेच्छुक र रमितेको भिडलाई सम्बोधन गर्दै प्रचण्डले भने–
‘हाम्रो महान् सर्वहारा क्रान्तिको मानमर्दन गर्न, शान्ति प्रक्रिया भाँड्न, हामीलाई अप्ठेरोमा पार्न, कम्युनिस्टहरूको अस्तित्व सिध्याउन केही पत्रकारहरू विदेशी गैरसरकारी संस्थाको हन्डी खाएर लगातार कलम चलाइरहेका छन् । हाम्राविरुद्ध लाग्ने यस्ता पत्रकारलाई कसैले एक–दुई धक्का दियो भने पनि फरक पर्दैन । फेरि पनि हामी भन्छौँ– हामीलाई पत्रकारिताको आडमा धेरै जिस्क्याउने काम नगरियोस् । यदि पत्रकारहरूबाट यसरी हाम्राविरुद्ध निरन्तर प्रहार भइराख्छ र त्यसको प्रतिवाद हाम्रा समर्थक न्यायप्रेमी कार्यकर्ताबाट हुन्छ भने त्यसको जवाफदेही स्वयम् पत्रकारहरू नै हुनेछन् ।’
भिडको करिब आधा हिस्साले परर्रर ताली बजायो । यस्तो सुन्दै खुन तात्ने कुरामा कोही सेलिब्रिटीले मनोज गजुरेलले जस्तो ताली बजाउन भनिराख्नु पर्दैन ।
कुरो निकै वर्षअघिको भएकाले शब्दहरू केही तलमाथि भए पनि मनसाय यही थियो । त्यसबेला उनले पत्रकारहरूविरुद्ध बोल्दै ‘हामी हातमा दही जमाएर बस्दैनौँ,’ पनि भनेका थिए । तर त्यो प्रसङ्ग अलि असान्दर्भिक हुने भएकाले यहाँ ‘कोट’ गर्न चाहिनँ । ‘केही पत्रकार’ भन्दै नाम नखुलाई, जुन पनि पत्रकार हुनसक्ने आशङ्का उत्पन्न हुने, कार्यकर्ता उत्तेजित पार्ने र कुनै पनि अनपेक्षित घटना गराउनसक्ने क्षमतानिहित प्रचण्डको यो भाषण मेरो मनमा आजपर्यन्त बसेकै छ । द्वारिकलालको मनमा पनि रहेछ ।
त्यसैको पछिल्लो संस्करण बने कमरेड द्वारिकलाल । आफ्नो समयमा, आफ्नै शैलीमा उनले भनेका थिए– ‘मेराविरुद्ध केही पत्रकार प्रयोग हुन थालेका छन् । म त्यस्तालाई एक–एक गर्दै, कालोमोसो दल्दै, टिन ठटाउँदै नगर–परिक्रमा गराउँछु । भाटे कारबाही गर्छु, लात्तले हान्छु । नाकको डाँडी भाँच्छु । यसका लागि मैले एक करोड छुट्याइसकेको छु ।’
उनले आफ्नो धम्कीलाई संसारको सबैभन्दा उत्तम नीति मानिने इमानदारिताको सुगर–कोटेड खोलले बेसरी बेरेका थिए । खोलबाहिर ‘पीत पत्रकार र भ्रष्टाचारीविरुद्ध हुने जनकारबाही’ लेखिएको स्टिकर टाँसेका थिए । उनको यही ‘प्याकेज’को विशेष आकर्षणमा आजपर्यन्त केही युवाहरू परेका छन् । समाजमा व्याप्त विसङ्गति, विकृति, भ्रष्टाचार नजिकबाट देखेका निराश युवाहरू कुनै पनि भावनात्मक र उत्तेजक कुराहरूतर्फ आकर्षित, संवेदित हुनु स्वाभाविक मानिन्छ ।
तर द्वारिकलालको प्रस्तुतिमा दण्डहीनताको चिन्ता जोडिएको छ ।
…
‘तपाई नगरप्रमुखजस्तो सबैको अभिभावक हुनपर्ने, कानुन कार्यान्वयन गराउनुपर्ने पदमा बसेको जिम्मेवार व्यक्तिले यसरी खुलेआम कालोमोसो दल्छु, कुट्छु, मार्छु, कानुन हातमा लिन्छु भन्न मिल्छ ?’ पत्रकारहरूले सोधे ।
‘मिल्छ, किन मिल्दैन ?’ उल्टै प्रतिप्रश्न गर्दै द्वारिकलालले भने, ‘आजसम्म कुन भ्रष्टाचारीलाई, कुन पीत पत्रकारलाई कानुनी कारबाही भएको छ मलाई देखाउनुस् । विराटनगरमा पत्रकारको नाकको डाँडी भाँच्नेलाई के कारबाही भयो ? उसले त भाँची नै दियो । मैले भाँच्छु मात्रै भनेको छु । रिस उठेको बेला कसैले वेद पढ्छ ? हेर्नुहोस्, यो कानुन, प्रहरी–प्रशासन, अदालत भनेको कमजोरहरूका लागि मात्रै हो । हामीजस्तो शासकका लागि होइन । ल … मैले पत्रकार विराट अनुपमलाई ओपेन च्यालेन्ज दिएँ । कहाँ जानुपर्छ जान भन्नू, के गर्नुपर्छ गर्न भन्नू !’
समस्या त त्यहाँबाट सुरु हुन्छ, जब नेतृत्व भिड प्रभावित भएर चाहिने–नचाहिने कुराहरू बोल्न थाल्छ । भनिन्छ भिडमा अनुवाद भएपछि विद्वान र मूर्खमा फरक रहँदैन ।
बाटो हिँड्दा भेटिने भिडसँग म जहिल्यै सुरक्षित हुने प्रयास गर्छु । सेफ्टी फस्ट । सकेसम्म आफूलाई सुरक्षित ठाउँमा राखेर बाँकी कुरा सोच्छु । भिड जहिल्यै सेल्फ सेन्सरसिप र इग्नोर (स्वनियन्त्रण र अस्वीकार)को कारक हुनेगरेको छ । पत्रकारितामा यो घातक हो । तर भइरहेको छ त्यही ।
भिडमा धेरैपटक नेतृत्वद्वारा पत्रकारिताविरुद्ध विष घोलिएको छ । एका बिराउने सारा पिराउने पारिएको छ । आन्दोलनका क्रममा पत्रकारलाई हल्का धक्का लगाउन पाइयो भने आन्दोलन त भड्किन्छ नै, कभरेज पनि राम्रै हुन्छ भन्ने गलत मानसिकताको भुत्भुते समाजमा ठाउँठाउँमा छरिएको छ, जो बेलाबेलामा आगो बनेर ह्वार्रर दन्किन्छ र त्यही दन्कोमा आतातायीहरू रातारात सेलिब्रिटीजस्ता देखिन्छन् ।
…
कसैलाई कालोमोसो दल्नु, टिन ठटाएर गाउँ वा सहर घुमाउनु, टाउकोमा दिसा खन्याउनु, चारपाटा मुड्नु, जुत्ताको माला लगाउनु, घाँटीमा जाँतो झुन्ड्याउनु, सुँगुरको पाठा बोकाउनु, गाउँघर निकाला गर्नु, भाटे कारबाही गर्नु, थुकेको थुक चाट्न लगाउनु, गोडा ढोग्न लगाउनु, डाँडा कटाउनु, जात हटक गर्नु, सामाजिक बहिस्कार गर्नु, बोक्सीको बात लाउनु, रन्डी–रन्डो भनेर अपमान गर्नु, छोइछिटो गर्नु, जातीय भेदभाव गर्नु, मलमुत्र खुवाउनु, कान समातेर उठबस गराउनु, कुखुरा बनाउनु, पुन्युले डाम्नु, झीर रोप्नु, कुट्नु, दास बनाउनु, नाङ्गेझार पार्नु, बलात्कार गर्नु वा गर्न लगाउनु, सामूहिक ढुङ्गाले हान्नु, तेजाब हाल्नु, हात काट्नु, आँखा फुटाउनु, झुन्ड्याउनु, बोरामा बाँधेर पानीमा बगाउनु, विष पिउन बाध्य पार्नु, विषालु जनावरले टोकाउनु, मृत्युदण्ड दिनु आदि बर्बरकालीन समाज तथा निरङ्कुश शासकले सोच्ने र अपनाउने सजायका प्रकारहरू हुन् । सभ्य समाजको कलङ्क र कानुनद्वारा निर्मूल गरिएका अपराधहरू हुन् ।
तर म छक्क पर्छु, इटहरी नगरप्रमुख प्रकरणमा जोडिएर मेरा कतिपय अधिकारकर्मी र सञ्चारकर्मी साथीहरूले नै ‘भ्रष्टाचारीलाई कालोमोसो दल्छु, टिन ठटाएर सहर घुमाउँछु, भाटे कारबाही गर्छु, जनकारबाही गर्छु,’ भनेको लाई ठिक ठहर गर्दै ‘भ्रष्टाचारीलाई गर्नुपर्ने नै त्यही हो,’ भने ।
स्मरणीय छ एकपटक रवीन्द्र मिश्रले ‘भ्रष्टाचारीलाई कीरा परोस्,’ भन्ने अभियान चलाउँदा अधिकारकर्मी र जनस्तरबाट निकै विरोध भएको थियो । पछि उनले त्यो नारा सच्याएका थिए ।
म छक्क पर्छु, २१ औँ शताब्दीमा पनि हाम्रो दिमागमा अमानवीय सजायको बिम्ब किन आउँछ ? के हाम्रो सोच अझै ‘बाहुनलाई सुँगुरको पाठा बोकाएर डाँडा कटाउने’ एकतन्त्रीय राणाकालीन समाजको स्तरभन्दा माथि उठ्न सकेको छैन । विधिको शासन पालना र कानुन कार्यान्वयन गर्ने निकायमा भएका व्यक्ति (नगरप्रमुख) नै कानुनी होइन, बर्बर सजायका प्रकारहरू दिमागमा बोकेर हिँड्छन् भने त्यसले उनका समर्थक र सर्वसाधारण माझमा कस्तो धारणा निर्माण गरिहेको छ ? समाजमा कस्तो नजिर स्थापित भइरहेको छ ? के हामीले चाहेको समाज र नेतृत्व यस्तै हो ?
…
एकपटक नागरिक पूर्वेली डेस्कको काम सकेर विराटनगरबाट घर फर्किंदै गर्दा दुहवीमा हातमा लाठी–दाउरा लिएका थुप्रै मान्छे नेपाल बैङ्कअगाडि सडकमा झुरुप्प भेला भएका थिए । उनीहरूमध्ये केही अलि परतिर केही मान्छेलाई घेरेर भिडन्तको स्थिति उत्पन्न गर्दै थिए ।
मैले मोटरसाइकल रोकेर कुरा बुझ्न चाहेँ । तर मैले मोटरसाइकल रोकेको देख्नासाथ एक जना युवा हुर्रिएर मतिर आए र भने–
‘तपाई यहाँबाट गइहाल्नू । यहाँ जे पनि हुनसक्छ । यहाँ अहिले पत्रकारको काम छैन !’
अब म के भनुँ ! रातिको मामलो । अनुहार तम्तमाइलो पारेर हिँड्नुबाहेक केही उपाय थिएन ।
अर्को एकदिन पहिचानवादी आन्दोलनको उत्कर्ष बुझ्न म र मित्र नवीन गड्तौला मोटरसाइकलमा इनरुवातिर जाँदै थियौँ । तित्रीवनमा लाठीधारीहरू घेरा हालेर राजमार्गमा बसेका थिए । हामीले ‘हामी पत्रकार हौँ, रिपोर्टिङको सिलसिलामा हिँडिरहेका छौँ,’ भनेर जान दिन आग्रह ग¥यौँ ।
‘सट्का (सिर्कनो) खान मन छ ? मन छ भने जानू । नभए फर्किनू, पत्रकार–सत्रकार थाहा छैन हामीलाई,’ एउटाले भन्यो । हामी चुपचाप नहरको बाटोतिर लाग्यौँ । हामीलाई सट्का खान मन थिएन ।
केही दिनअघि द्वारिकलाल चौधरीको गाउँ लबिपुरमा उनकै छिमेकी साइकल मिस्त्रीको काम गर्ने एक जना थारु युवाले मेरो मोटरसाइकलमा प्रेस लेखेको देख्नेबित्तिकै ‘पत्रकार सबै गलत समाचार लेख्नेमात्रै छन्, तिमी गइहाल यहाँबाट । नत्र कुटाइ खाउला,’ भनेको पनि झल्झली सम्झिँदै छु म यो बेला ।
‘के द्वारिकलाल बेइमान हुन् ?’
एकदिन बिहान आदरणीय धनराज गिरी दाजुले मलाई एकाएक सोध्नुभयो ।
मैले भनेँ –
अहँ ! उनलाई सोझै बेइमान भन्न मिल्दैन । तर जब स्वाभिमान अभिमानमा रूपान्तर हुन्छ, कल्पना स्वैरकल्पनामा र इमानदारिता घमण्डमा बदलिन्छ, त्यसपछि बेहोर्नुपर्ने समस्या अर्कै हुन्छ । द्वारिकलालको सवालमा भएको यही हो ।
कहिलेकाहीँ मलाई पनि त्यस्तै हुन्छ ।
…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

