टाढा टाढा एउटा गाउँमा
बाजे बराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेको छु
त्यसैले आफू आफ्नै किरिया बसेको छु ।

ए कोही नआओ बोलाउन मलाई
मभित्र आफ्नै कोलाहल छ
निषेधै निषेधको कोरा बारी बसेको छु
आफ्नै वियोग वेदनाको हलाहल छ ।

यिनै पङ्क्ति लेखी आजभन्दा निकै वर्षअघि २०३३ असोज १९ गतेको मध्यरातमा भैरव अर्यालले बाग्मतीमा हाम्फालेर आफ्नो चोला बिसाएको थियो । भैरवको आत्महत्याले हामी उसका साथीसँगाती त मर्माहत भयौं नै, सम्पूर्ण नेपाली बौद्धिक क्षेत्र यसबाट स्तब्ध भयो । समाजका विकृति र विसङ्गतिलाई आफ्नो सशक्त कलमले भित्तो पुर्याएर थिल्थियाउने भैरवले एक दिन आफूलाई बाग्मतीमा बजारेर आफैंमाथि यस्तो विद्रूप व्यङ्ग्य प्रहार गर्ला भनेर कसैले सोचेकै थिएन, तर उसको आत्महत्या वास्तविक थियो । वास्तविकता नमानी धरै थिएन ।

भैरवको भयावह मृत्युको यतिका दिनपछि उसका बारे केही लेख्न लाग्दा विगतमा मैले देखेजानेका उसको जीवनका विविध पाटाहरु मेरो माथिङ्गलमा ताजा भएर उर्लिरहेका छन् । भैरवसँग दिव्य दुई दशकसम्म मेरो सङ्गत भयो । चल्तीको भाषामा यसलाई घनिष्ठ सम्बन्ध पनि भन्न सकिन्छ । ज्यादै नजिकको साथीले त्यसरी अचानक संसार छोडेर जाँदा आफू एक्लिएझैं लाग्नु स्वाभाविकै थियो । त्यो भैरव जो मेरा अगााडि आफ्नो अन्तव्र्यथालाई नलुकाई उदाङ्ग पारिदिन्थ्यो र म आफू पनि उसका अगाडि सड्ढोचरहित भएर व्यक्तिन सक्थेंँ, चुँडायो उसले त्यसरी निर्मम भएर घनिष्ठ मितेरीको बलियो गाँठोलाई सधैँका लागि । ऊ बिते पनि उसको अस्तिङ्खव बेला–बेलामा मेरो वातावरणमा आएर रङ्मङिइरहन्छ । नेपाली हास्यव्यङ्ग्य विधा, समसामयिक राजनीति, सामाजिक–साहित्यिक सन्दर्भ र आफ्ना साथीभाइका गतिविधिबारे छलफल गर्न नपाउँदा, अनि कयौं रमाइला प्रसङ्गमा उसलाई सामेल गर्न नपाउँदा अहिले पनि हामी भैरवका साथी सँगातीलाई छटपटी र उकुसमुकुस हुन्छ ।

भैरव अतिमानव, महामानव, महापुरूष वा अरु यस्ता कुनै विशेषण लगाइनुपर्ने पात्र थिएन । गरीब नेपालका लाखौं निमुखा सन्तानझैं सोझो, सरल र सामान्य गाईप्राणी नागरिक थियो ऊ । आफूले बुई चढाएर टुप्पोमा पु¥याएका कयौ लाटाबुङ्गाहरुलेँ आफैंलाई लात हान्दा पनि प्रतिकार नगरेर बरु चोट खप्तै सहिदिनु निको मान्थ्यो ऊ । अलिकति मायाको आभासले उसको छाती भरिन्थ्यो– स्नेहले, साथीङ्खवले र ममताले । तर कतैबाट दयाको सप्कोले च्वास्स छोएझैं उसलाई लाग्दा भने उस भित्रको मान्छेको बच्चो रन्कन्थ्यो कि त रून्थ्यो ! अनि आफूलाई यसरी पोख्थ्यो ऊः –

“मागी पाइने भीखभन्दा आफ्नै भोक मीठो
रोइरोई बाँच्नु भन्दा हाँसी मर्नु निको !”
यस्तैयस्तै थियो भैरव अर्याल ।

सबभन्दा पहिले २०१६ सालमा ‘हालखबर’ दैनिकमा कार्यरत कवि भैरवप्रसाद अर्याललाई मैले चिनेको हुँ । पछि हास्यव्यङ्ग्यकार भैरव अर्यालको साहित्यिक पगरी भिरेर ऊ आफू बाँचेको देश, समाज र युगका विकृतिलाई उदाङ्गो पारेर तिनमाथि निरन्तर प्रहार गर्न थाल्यो । अन्त्यमा आफैंमाथि घातक प्रहार गरेर केवल चालीस वर्षकै उमेरमा ऊ चिरनिद्रामा सुत्यो ।

भैरवको आत्महत्यापछि अनेकौं अनुमान र टिप्पणी लेखिए, सुनिए, तर त्यो मृत्यु उसका लागि अप्रत्याशित र अनपेक्षित थिएन । उसका अनेक चिठीपत्र र लेखोटहरु पढ्दा सजिलै यो कुराको अनुमान लगाउन सकिन्छ । योजनबद्ध रुपबाट नै भैरवले आफ्नो मृत्यु वरण गरेको थियो । अस्वाभाविक मृत्यु अँगालेर समाजको ध्यान आफूतर्फ तान्ने अठोट सम्भवतः निकैअघि नै भैरवले गरिसकेको थियो । निकैअघि भैरवले आफ्ना साथीभाइलाई लेखेका चिठीहरुबाटसमेत यही कुरा सिद्ध हुन्छ ।

भैरवले आफ्नो व्यक्तिङ्खवको निर्माण कसरी ग¥यो भन्ने कथा पनि कम घतलाग्दो छैन । संवत् १९९२ सालतिर गोकर्ण अर्जेल गााउँका होमनाथ उपाध्याय अर्जेल आफ्नी सानिमाको हेरविचार गर्न कुपन्डोलमा बसेका थिए । त्यही वि. सं. १९९३ साल असोज ५ गते ऋषिपञ्चमीका दिन तिनकी पत्नी खेचकुमारीले जेठो छोरो जन्माइन् । छोराको नाम तीर्थराज अर्जेल राखियो । यही बालक पछि भैरव अर्यालको नाममा विख्यात भयो ।

घरमै पढेर लेखपढ गर्न र संस्कृत स्त्रोतहरु पाठ गर्न सक्ने भएपछि २००५ सालमा तेह्र वर्षकै उमेरमा पिताले साङ्ले खोलाकी शोभादेवीसँग भैरवको बिहे गरिदिए । पिता होमनाथले भैरवलाई अरु पढाउने मनसायले सरकारी जागिर खाएर शहर नक्सालमा डेरा गरेर बस्ने गोकर्णकै बद्रीनाथ आचार्यकहाँ राखिदिए । यो २००८ या ९ सालतिरको कुरो हो । बिहान बेलुका बद्रीको भात पकाउने र दिउँसो रानीपोखरी संस्कृत पाठशालामा पढ्ने क्रम शुरु भयो भैरवको । संस्कृतमा प्रथम परीक्षा पास गरेपछि ऊ बेलुकाबेलुका नक्साल नारायणचौरका गुरू शेषराज रेग्मीसँग पनि पढ्न लाग्यो ।

बद्रीनाथ आचार्यलाई छन्दोबद्ध कविता रच्ने सोख थियो । उनको सङ्गतमा परेर भैरव पनि कविता कोर्न लाग्यो र अभ्यास बढाउँदै जान लाग्यो । आफ्नो मिहिनेत र शेषराज गुरूकहाँको पढाइबाटसमेत भैरवको ल्याकत निकै बढ्दै गयो । यति भएपछि अब एकैचोटि सम्पूर्ण मध्यमाको परीक्षा पास गर्न सक्छु भन्ने आत्मविश्वास उसमा जाग्यो । आफ्ना बाबु र बद्रीलाई समेत पत्तै नदिई सम्पूर्ण मध्यमाको परीक्षाको फर्म भर्ने सुर कस्यो भैरवले । तर फर्म भर्न नगदी रू. दस त्यो पनि भा.रू. चाहिन्थ्यो । ऊसँग भुटीभाङ केही थिएन । घरमा भनौं भर्खर प्रथमा पास गरेकोलाई सम्पूर्ण मध्यमाको फर्म भर्न पैसा दिने कुरै हुँदैनथ्यो । उल्टो गाली खानुपर्थ्यो । गम्दागम्दै एउटा जुक्ति निकाल्यो भैरवले ।

त्यो बेलाका श्री ५ युवराजाधिराज कवि हृदयका थिए । म. बी. बी शाहका नाममा उनका कविता प्रकाशित, प्रसारित हुन्थे । भैरवले यिनै भावुक साहित्यिक युवराजसँग आफ्नो बह पोख्ने सुर कस्यो । म गरीब विद्यार्थी हुँ, संस्कृत पाठशालामा पढ्दै छु, सम्पूर्ण मध्यमाको फर्म भर्न भा.रू. दस लाग्छ, निगाह भए जय मनाई जाँच दिने थिएँ भन्ने बेहोराको कवितात्मक विन्तीपत्र लेखेर राजदरबारमा दर्ता गर्यो । त्यो पठाएको पर्सिपल्ट एउटा घोडचडी सैनिक नक्साल आयो र भैरवप्रसाद अर्जेलको डेरा खोज्न लाग्यो । यो चाल पाएर लौ बित्यास पर्यो, पक्रन पो आयो कि ? व्यर्थै युवराजलाई किन त्यस्तो चिठी पठाएँछु भनेर डराउँदै भैरव कोठाभित्र लुक्यो । तर त्यही डेरामा बस्ने बुद्धि भन्ने हक्की महिलाले सैनिकसँग कुरो बुझेपछि भैरवलाई बाहिर बोलाइन् र राजदरबारबाट पैसा आएको रहेछ भन्ने खबर सुनाइन् । भैरवले सही गरेर राजदरबारबाट आएको बन्दी खाम बुझेर लियो । खोलेर हेर्दा खामभित्र नगदी बीस रुपियाँ रहेछ । आफूले मागेको भन्दा दोब्बर भा.रू. पाउँदा भैरव खुसीले उफ्रियो । उसको भुइँमा खुट्टा थिएन ! श्री ५ युवराजले छोरालाई पढ्न पैसा पठाएको भन्ने खबर गाउँमा पुगेपछि भैरवपरिवारको नाक ठडियो र इज्जत पनि बढ्यो । कविताले यसरी पैसा तान्न सकेपछि बद्री आचार्य र अरुका अगाडि भैरवको धक फुक्यो । म पनि राम्रा कविता लेख्न सक्तोरहेछु भन्ने आत्मविश्वास पलायो ।

त्यसपछि उसको कविता कोेर्ने क्रम बढ्दै जान थाल्यो । अब आफू पनि कविजी बन्ने सपनामा भैरव रमाउन लाग्यो । दरबारबाट आएको पैसाले फर्म भरेर २००९ सालमा भैरवले सम्पूर्ण मध्यमा परीक्षा पास गर्यो । त्यसै साल भैरवलाई घाँटी दुख्ने रोग लाग्यो र उसको स्वर सुकेर बिग्रियो । बिग्रेको बोली बोलेर बाँच्ने बाध्यताले जीवनभर भैरवलाई सतायो । पुराण बाँचेर अथवा पुरोहित्याइँ गरेर भए पनि छोराले जीविका चलाउला भन्ने बाबुआमाको सपना चकनाचूर भयो । अब भैरवले जागिर खानुबाहेक अर्को उपाय रहेन । शहरमा पैसा खेपेर छोरा पढाउन सक्ने हविगत बाबुआमाको थिएन ।

भैरव अब जागिरको समस्याले पिरोलिन लाग्यो । त्यो बेला अमेरिकी सहयोगबाट टिचर ट्रेनिङ कोर्स चल्थ्यो । त्यो ट्रेनिङ पास गरेपछि शिक्षकको जागिर पाइन्थ्यो । भैरवले छाउनीस्थित छात्रावासमा छ महीनासम्म बसेर २०११ सालमा त्यो ट्रेनिङ पास गर्यो । शेषराज गुरूकहाँ पढ्दा र टिचर ट्रेनिङ लिंदा माधव घिमिरे, मुक्तिनाथ तिमिल्सिना, अच्युतराज रेग्मी, पूर्णप्रसाद ढुङ्गेल बल्लभमणि दाहाल, कनकदीप ब. आ. हरुसँग भैरवको सङ्गत भयो । कविता लेख्ने, सुनाउने, कवि सम्मेलनहरुमा पठाउने क्रम चलिरह्यो ।
शिक्षकको जागिर पाएर २०११ सालमा पोखरामा खटिएर गयो भैरव । त्यहाँको कन्धनीडाँडा (राखी गाउँ विकास समिति वडा नं ९) स्थित भवानी प्राथमिक स्कूलमा शिक्षक भएर दुई वर्ष–जति बितायो भैरवले । त्यहाँ नेपाली काङ्ग्रेसका सक्रिय नेता रसमोहन भट्टराईको घरमा भैरवको डेरा थियो । रसमोहनका छोरा आनन्दमोहन अहिले सर्वोच्च अदालतमा न्यायाधीश छन् । कन्धनीडाँडामा शिक्षक भएर बस्ता भैरवको जीवनमा एउटा दुःखद र अविस्मरणीय घटना घट्यो । त्यसको सम्झनाले पछिसम्म पनि भैरवलाई विचलित पार्दथ्यो । भएछ के भने २०१२ सालतिरको गर्मीयाममा स्कूलका विद्यार्थीको जमात लिएर भैरवमास्टरसाप नजीकैको खोलामा पौडी खेल्न गएछन् । विद्यार्थीहरुसहित भैरवमास्टर गहिरो दहमा पौडिन लागेछन् । यत्तिकैमा एउटा दस–एघार वर्षको विद्यार्थी पानीमा डुबेछ । केही बेरपछि मात्र भैरवलाई यो कुरा थाहा भएछ । हत्तपत्त खोजतलास गरेर निकाल्दा त्यो विद्यार्थीको प्राण पखेरु उडिसकेको रहेछ । गाउँभरि आगो झैं दुर्घटनाको हल्ला फैलियो । बिचरो त्यो मर्ने केटो आफ्नो बाबुको एउटै मात्र छोरो रहेछ । ठूलो बज्रपात त्यो परिवारलाई परेछ, तर पनि त्यो केटाको परिवार अथवा गाउँलेहरुले भैरवप्रति कुनै दुर्भावना राखेनछन् । बरु भैरव नै ज्यादै उद्विग्न भएछ त्यस दुर्घटनाबाट ।

त्यस्तो त्रासदिपछि भैरवको मन पोखरामा रमाउन सकेन । दुई वर्ष पुगनपुग बिताएर ऊ काठमाडौं फर्कियो र यहींको पासिखेलस्थित इन्द्रायणी स्कूलमा पढाउन थाल्यो । २०१३ देखि २०१५ सालसम्म उसले त्यस स्कूलमा पढायो ।

टिचर ट्रेनिङमा बस्ता भैरव छन्दोबद्ध र गद्य दुवै किसिमको कविता लेख्थ्यो र गुरm तथा साथीहरुलाई सुनाउँथ्यो । सबै उसका कविताको तारीफ गर्थे । माधव घिमिरे पनि ट्रेनिङमा गुरू थिए र उनी पनि भैरवलाई कविता लेख्न उत्साहित गर्थे । त्यहाँ ट्रेनिङ लिइरहेका केही साथीले भैरवको कविता मन पराएर राखेका थिए । पोखरा बस्ता स्कूल बिदा भएको बेला भैरव बजारको पुस्तकालयमा पत्रपत्रिका पढ्न जाने गर्दथ्यो । एक दिन त्यसै गरी पढ्न जाँदा काठमाडौंबाट निस्केको कुनै पत्रिका उसको हात पर्यो । पाना पल्टाउँदै जाँदा एउटा कवितामा पुगेर उसका आँखा टक्क अडिए । खुसी मान्नु कि खेद उसले ठम्याउन सकेन । ऊ तीन छक्क पर्यो । आफूले लेखेको कविता त्यसरी छापिएको सर्वप्रथम देख्ता खुसी लाग्नु स्वाभाविकै थियो, तर त्यस कविताको लेखकमा अर्कैको नाम छापिएको हुँदा उसले यो मेरो कविता हो भनेर अरुसँग चर्चा गर्ने र प्रकट रुपमा खुसी मनाउने कुनै आधार नै फेला पारेन । कनक दीप ब. आ. को नाममा त्यो कविता छापिएको थियो । कनकदीपको पनि आफ्नो नाममा सर्वप्रथम छापिएको रचना त्यही थियो भनेर भैरव हामीसँग हाँसो गर्थ्यो । भैरवले साथहरूसँग र अन्तर्वार्ताहरूमा आफ्नो पहिलो कविता २०१३ सालको ‘नवनिर्माण’मा छापिएको भने पनि पछि अनुसन्धानबाट पत्ता लागेअनुसार उसको सर्वप्रथम प्रकाशित कविता ‘नयाँ जीवन’ हो र यो कुन्तीदेवी भट्टराईको सम्पादनमा निस्केको ‘प्रतिभा’ पत्रिकाको २००९ साल फागुन, वर्ष १ अङ्क ७ मा छापिएको हो ।

‘हालखबर’ दैनिकमा त्यो बेला ‘हाँस्नु हुन्छ भने’ शीर्षकको स्तम्भ छापिन्थ्यो । सम्पादक दाताराम नै छद्म नामले त्यसमा लेख्ने गर्दथे । भैरवको गाउँका एक जना ‘हालखबर’मा पिउन थिए । उनीबाट नै नियमित रुपमा भैरव ‘हालखबर’ पढ्न पाउँथ्यो । ‘हालखबर’को हास्यव्यङ्ग्य पढ्दा भैरवलाई पनि हास्यव्यङ्ग्य लेख्न मन लाग्यो । एकदुइटा सामयिक हास्य चुट्किला ‘खोला पारिको पुरेत बाजे’का नाममा लेखेर तिनै पिउनको हात भैरवले ‘हालखबर’मा पठायो । दातारामले मन पराएर त्यो छापिदिए । उनले अरु पनि पठाउन खबर गरे र हरेक हास्यको एक रूपियाँ पारिश्रमिक पनि दिने गरे ।

‘हालखबर’का मालिक रङ्गनाथ शर्माको प्रजातान्त्रिक महासभा भन्ने एउटा राजनीतिक पार्टी थियो । त्यो पार्टी २०१५ सालको आमनिर्वाचनमा भाग लिंदै थियो । संयोगवश त्यस पार्टीको चुनावी प्रचार गीत भैरवले लेखिदिएको थियो । चुनाव चिह्न हात बारेको त्यो गीत यस्तो थियोः– “हातको भोट हातैमा खसाल, आफ्नो थिति आफैँले बसाल ।” चुनावमा आफ्नो पार्टी हारे पनि रङ्गनाथजीलाई भैरवको कविता निकै मन पर्यो । यता ‘हालखबर’को हास्यस्तम्भ पनि लोकप्रिय भैरहेको थियो । दातारामको घचघच्याइमा भैरव अब ‘हालखबर’मा नै जागिर खान आइपुग्योे । रङ्गनाथले उसलाई पहिले प्रुफरिडरमा राखे । अब बकम्फुस शर्माको नामबाट पनि भैरव लेख्न थाल्यो । हास्यव्यङग्यतर्फ यसरी आफूलाई प्रेरित गर्ने दाताराम शर्मालाई भैरव यस क्षेत्रका आफ्ना गुरू मान्दथ्यो । २०१५ सालदेखि २०१८ सालसम्म भैरवलै ‘हालखबर’मा काम गर्यो । पछि २०१८ सालदेखि भैरव ‘गोरखापत्र’मा जागिर खान पुग्यो । यसरी एउटा सक्रिय पत्रकारको रुपमा भैरवले गरेको सेवा पनि उल्लेख्य रहेको छ । ‘हालखबर’देखि ‘गोरखापत्र’सम्म र पछि पनि बाँचुन्जेल गुरू–चेला दाताराम र भैरवको सङ्गत र साथ छुटेन ।

जागिर खाँदाखाँदै भैरवले २०१४ सालमा प्राइभेट परीक्षा दिएर एस.एल.सी. पास गर्यो । प्राइभेट नै पढेर २०२२ सालमा आइ.ए. पनि गर्यो । अनि सरस्वती कलेज लैनचौरको छात्र भएर २०२४ सालमा बी.ए उत्तीर्ण गर्यो । २०२६ सालमा त्रिभुवन विश्वविद्यालयबाट भैरवले नेपाली विषयमा एम.ए. परीक्षा पास गर्यो । ‘गोरखापत्र’मा जागिरे छँदा शैक्षिक प्रमाणपत्रको अभावले जहिले पनि प्रमोसनमा तगारो तेर्सिने हुँदा यसरी अनियमित पढाइबाट भए पनि विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र जुटाउनैपर्ने बाध्यता भैरवलाई आइपरेको हो ।

विद्यार्थीकालमा र विभिन्न स्कूलको मास्टर छँदा साथीहरुको सङ्गत, कम्युनिष्टसाहित्यको अध्ययन, चारैतिर देखिने अभाव र दरिद्र वातावरणको प्रभावले त्यो बेला भैरवभित्र भयंकर विद्रोहात्मक भावना आन्दोलित हुने गर्दथ्यो । त्यो विद्रोह कहिले कविताको रुपमा फुट्थ्यो, कहिले विद्यार्थीलाई पढाउँदा कक्षा भित्र छचल्किन्थ्यो, त कहिले हास्यव्यङ्ग्यको माध्यमबाट पोखिन्थ्योे ।

२०१४ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुमा कृषिप्रदर्शनीको उद्घाटन गर्न गएका थिए । उनले आफ्नो भाषणमा गाउँ र देश विकासको आदर्श उपदेश छाँटे । भैरवले पासिखेल स्कूलका तर्फबाट बोल्न आफ्नो नाम पनि लेखायो । अनि आफ्नो भाषणको क्रममा ऊ यसरी पड्कियोः– “यस्तो प्रदर्शनीको यो गाउँमा के मतलब ! जहाँ शिक्षा छैन, चेतना छैन, एउटा भएको स्कूलसम्मको पनि महादुर्गति छ, कटेरोमा बिजोग तालले पढाइएको छ, खालि मुखले विकास भन्दैमा विकास हुन्छ ? इमानदारीसँग लागिपरेर विकास गर्नुपर्छ तब पो विकास हुन्छ, यस्ता फजूलका कुराले देश बन्दैन र देश विकास पनि हुँदैन……. ।”

भैरवले प्रधानमन्त्रीकै सामुन्ने यस्तो रोषपूर्ण भाषण छाँटेको मात्र होइन प्रधानमन्त्री फर्कन लाग्दा बाटोमा विद्यार्थीलाई घेर्न लगाएर हामीलाई स्कूल भवन चाहियो ! भनेर नारासमेत धन्काउन लगायो । प्रधानमन्त्रीले स्कूल बनाइदिन्छु भनेर कबोल गरे । भोलिपल्टै आवश्यक रकम पठाए पनि । यो कुरा त्यस भेकमा चर्चित भयो र नामका अगाडि विशेषण थपेर भैरवलाई ‘कम्निस्ट भैरव’ भन्न थाले । यसअघि बद्रीनाथ आचार्यलाई ‘काङ्ग्रेस बद्री’ भन्ने गर्थे रे !

त्यो बेला गोविन्दप्रसाद लोहनीका कम्युनिस्ट विचारधाराका किताब छापिन्थे । उनका किताब पढेर भैरव र उसका साथीहरु निकै प्रभावित भएका थिए । ती कम्युनिस्ट लेखक लोहनीलाई प्रत्यक्ष भेट्न भैरव र नवराज चालिसे निकै लालायित भएछन् । अनि एक दिन बडो प्रयत्नपछि भेटेछन् पनि, तर लोहनीका किताबले जति प्रभाव पारेको थियो, साक्षात् लोहनीलाई नै भेट्ता र कुरा गर्दा भने भैरवहरुको उनीप्रतिको आकर्षण विकर्षणमा बदलिएछ । लोहनीको व्यक्तित्त्व त्यो बेला आफूलाई ज्यादै नीरस र निस्तेज लागेको थियो भन्ने चर्चा भैरव पछि हामीसँग गर्दथ्यो ।

‘हालखबर’मा काम गर्दाताका कविको रुपमा चाहिं भैरव चर्चित भैसकेको थियो । विभिन्न पत्रपत्रिकामा भैरवप्रसाद अर्यालका नाममा उसका कविता प्रकाशित हुने गर्दथे, तर हास्यव्यङ्ग्यचाहिं भैरव आफ्नो नाममा लेख्तैनथ्यो । तात्कालिक सामाजिक, राजनीतिक प्रसङ्गमाथि गरिएका हल्का हास्यव्यङ्ग्यलाई साहित्यिक महङ्खवका मान्न सकिंदैनथ्यो । यसैले साहित्यिक मापदण्डभित्र पनि अटाउन सक्ने हास्यव्यङ्ग्य लेख्ने लालसा जाग्यो भैरवमा । ‘रुप–रेखा’मा २०१७ सालमा ‘नयाँ भाखा र नयाँ कविता’ शीर्षकको हास्यव्यङ्य छापियो भैरवको । यसमा पनि मजाको व्यङ्ग्य के भयो भने लेखकको नाम छापिदा त्यहाँ ‘इभरब् पर्सात् अर्जेल’ छापियो । भइरव लेखिएकोमा टाइप उछिट्टिएर मिलाउँदा इभरव हुन पुगेको थियो ।

सर्वप्रथम भैरव अर्याल भएर हास्यव्यङ्ग्यमा देखिएको चाहि ‘रचना’को पहिलो अंक २०१८ सालमा हो । ‘टी पार्टी’ शीर्षकमा छापिएको त्यो हास्यङ्ग्य निबन्धले भैरवलाई प्रसिद्धिको चुचुरोतर्फ डोर्यायो । हास्यव्यङ्ग्य लेखको प्रचुर माग उसकहाँ आउन थाल्यो । विभिन्न पत्रपत्रिकाका सम्पादकको करबलमा परेर भैरवको कलम हास्यव्यङ्ग्यतर्फ दौडिन लाग्यो । स्तरीयतामा एकमात्र केशवराज पिँडालीले आसन जमाएको हास्यव्यङ्ग्य फाँटमा यसरी भैरव अर्याल पनि जमजमाउन र चम्किन थाल्यो । शुरुमा हास्यतर्फ बढी जोड दिएर लेख्यो उसले । हँसाउने उद्देश्यलाई प्रधानता दिएर रचिएका ती निबन्धमा व्यङ्ग्य पक्ष गौण हुन्थे । भैरवको प्राथमिककालीन हास्यव्यङ्ग्यका सङ्कलन ‘काउकुती’ र ‘जय भुँडी’मा यस्तैखाले निबन्ध बढी परेका छन् । त्यसपछिका सङ्कलन ‘गलबन्दी’ र ‘इतिश्री’मा चाहिं व्यङ्ग्यतर्फ बढी जोड दिएर हास्यको हल्का पुट दिने प्रयत्न भैरवले गरेको छ ।

आफ्ना पछिल्ला व्यङ्ग्य रचनाहरुमा प्रयोगशीलता र कल्पनाशीलताको कौशल देखाउनेतर्फ भैरव बढी लागेको देखिन्छ । आइन्दा अबदेखि लेखनमा कलम नै नकोर्ने भनेर भैरवले संकलनको नाम नै ‘इतिश्री’ राख्यो । नभन्दै ऊ जीवित छँदाको अन्तिम प्रकाशित पुस्तक पनि त्यही ‘इतिश्री’ नै भयो । ‘दश औतार’ चाहिं भैरव बितिसकेपछि छापिएको हो ।

भैरवको पहिलो हास्यव्यङ्ग्यको पुस्तक ‘काउकुती’ (२०१६) को प्रकाशनको सन्दर्भ पनि चाखलाग्दो छ । त्यो बेला भैरव चर्चित हास्यव्यङ्ग्य लेखक भैसकेको थियो । विश्व, आफ्नो मुलुक र समाजका विसङ्गति र बेथिति माथि सशक्त, सटीक र हास्यात्मक पारामा व्यङ्ग्य गरिएका उसका रचनाबाट प्रभावित नहुने पाठक कोही थिएनन् । ‘रुप–रेखा’, ‘रचना’, ‘प्रहरी’, ‘सिहनाद’ आदि पत्रिकामा छापिएका रचनाहरु बटुल्दा एउटा सङ्कलन निकाल्न पुग्दथ्यो । जगदम्बा प्रकाशनबाट भैरवको पहिलो हास्यव्यङ्ग्य सङ्कलन प्रकाशित हुने कुरा चलिरहेको थियो, तर त्यो पहिलो सङ्कलन आफैंले छाप्नुपर्छ भनेर कर लगाउनेमा म पनि थिएँ, तर जगदम्बा प्रकाशनले छाप्दा इज्जत हुने, ठूलाबडाहरुको नजीक हुँदा आफ्नो पनि भलो हुने तर्क दिएर भैरवले जगदम्बा प्रकाशनलाई आफ्नो सङ्कलन छाप्न जिम्मा लगायो, तर पछि किताब छापेर तयार हुँदा प्रकाशकमा वासुदेव शर्माको नाम छापियो । त्यस्तो व्यवहारले भैरव रन्थनियो । त्यो बेला जनकपुर भएको मलाई पठाएको चिठीमा भैरवले यस्तो लेख्योः– ….किताब छापिइसक्यो, तर अन्त्यमा आएर अर्थात् कभर छाप्न बाँकीमा प्रकाशक हुनेले निमोठिएको कुरा गरे । जसले मनमा नराम्रो ठेस लागेको छ । आखिर जतिसुकै सभ्य, भलादमी भए पनि ठूलाबडा भनेको ठूलाबडा नै हुँदा रहेछन्, हेर हामीजस्ता चानचुनेहरुलाई सधैं पिध्नै खोज्ने । नत्र हेर न, तिमीले नदे भन्दाभन्दै मैलेचाहिं उनीहरुले एक वर्षदेखि मागेको नदिंदा रिसाउलान् भनी दिएँ, छापियो, अहिले कभर छाप्ने बेलामा त प्रकाशक जगदम्बा प्रकाशन नभएर वासुदेब लुइँटेल रे ! रिसाएँ, झोकिएँ, तर मेरो रीस र झोक्काले डराउने को हो र ? …..
(‘रचना’ भैरव कृति अंक १ वैशाख–जेठ–२०३८ पृष्ठ ५८)

जगदम्बा प्रकाशनले ‘काउकुती’ नछाप्नुको रहस्यचाहिं भैरवलाई निकै पछि थाहा भयो । ‘काउकुती’का केही निबन्ध स्तरहीन, चुत्थो खालका र वाहियात भन्ने लागेछ प्रकाशकलाई । त्यस्तो संकलन निकाल्दा आफ्नै इन्सल्ट हुने ठानेर अर्कैको प्रकाशकत्त्वमा ‘काउकुती’ छापिएको रहेछ । यी कुरा भैरवले टेप अन्तर्वार्तामा भनेको छ । २०३४ सालमा प्रकाशित ‘भैरव भन्छन्’ नामक पुस्तकको पृष्ठ ६०, ६१ मा पनि यी कुरा पढ्न पाइन्छन्, तर यस घटनाको परिणाम स्वरुप एउटा राम्रो काम चाहिंं के भएछ भने ‘काउकुती’ले वासुदेव शर्मा लुइँटेललाई निकै कुतकुत्याएछ र हास्यव्यङग्य साहित्यको प्रकाशननिम्ति कौवा प्रकाशन नै जन्मिएछ । ‘काउकुती’को तेस्रो संस्करण (२०२५) मा वासुदेवले यस्तै लेखेका छन् । नेपाली हास्यव्यङ्ग्य विधामा कौवा प्रकाशन, वासुदेव लुइँटेल र भैरव–वासुदेवहरुको कौवामण्डलीले मच्चाएको धुनधान मिहिनेतको फल लागेर अहिले नेपाली हास्यव्यङग्यको फाँट कति हरिलो भरिलो, फराकिलो ,स्तरीय र गरिमायुक्त भएको छ त्यो हामी सबैले देखेकै छौं । त्यो बेला स्तरहीन भनेर भैरवका हास्यव्यङ्ग्यलाई खिसीटिउरी गर्नेहरु पनि हाल आफ्नो मान्यता बदल्न बाध्य भएका छन् ।

दोस्रो संकलन ‘जयभुँडी’को प्रकाशनमा पनि आफू ठगिएको कुरा भैरव साथीभाइसँग बराबर गर्दथ्यो । ‘काउकुती’ देखेर रत्न पुस्तक भण्डारले पनि भैरवको हास्यव्यङ्ग्य संकलनको किताब छाप्न माग्यो । भैरवले आफ्नो गर्जो टार्न चार सय रूपियाँ लिएर ‘जयभुँडी’ छाप्न दियो । यो किताब छाप्न रत्न पुस्तक भण्डारलाई दिएको छु भनेर कागत लेखेको भैरवको भनाइ हुन्थ्यो, तर सर्वाधिकार नै आफूलाई लेखकले लेखेर दिएको कुरा रत्न पुस्तक भण्डारका मालिक भन्थे, तर भैरवले यो कुराको खण्डन ‘भैरव भन्छन्’ (२०३४)कै पृष्ठ ६१/६२ मा गरेको छ । ‘जयभुँडी’ निकै कमाउने किताब भयो अहिलेसम्म । यसका दृश्य, अदृश्य थुप्रै संस्करण निस्किसकेका छन् । अर्थाभावले ग्रस्त एउटा निरीह लेखक बाध्यतावश कसरी प्रकाशकको नाजायज शोषणमा परेर ठगिन्छन् भन्ने कुराको यो एउटा मार्मिक र सत्य उदाहरण हो ।

भैरवको प्रोत्साहन, प्रेरणा र श्रमले चम्किएर यहाँ थुप्रै व्यक्ति स्थापित साहित्यकार बनेका छन् । यसनिम्ति तिनले लिखित रुपमा भैरवप्रति कृतज्ञताका उद्गारहरु पनि व्यक्त गरेका छन् । कतिले चाहिं भैरवको सोझो र सरलपनाको फाइदालाई आफू लेखक बन्ने काइदामा पनि प्रयोग गरेका छन् । हाकिम, साथीभाइ, मान्यजन आदिको करकापमा परेर उसले अरुका निम्ति सिङ्गै पुस्तक अथवा फुटकर रचनाहरु लेखिदिएको कुराको साक्षी म आफैं पनि छु । एक जना विराटनगरतिरकी भद्र पोखरेल महिला छिन् । तिनको नाममा भैरवले महिलासम्बन्धी एउटा सिङ्गो किताब नै लेखिदियो । लेखिकामा श्रीमती पोखरेलको नाम छापियो । अर्का एक जना त्यो बेलाका फुटबल खेलाडी बर्माजी थिए । उनी जापान भ्रमण गरेर फर्केका थिए । हाकिममार्फत् भैरवलाई चेपुवामा पारेर तिनले आफ्नो जापान भ्रमणसम्बन्धी किताब लेख्न लगाए । जापान घुमेर आउने एउटा, आफ्नो मुलुकको मधेससम्म टेक्न नपाए पनि जापान घुमेको पुस्तक लेख्ने अर्को । कुरो मज्जाकै होइन त ?

अरु त अरु हाकिम रिझाउने फन्दामा परेर आफ्नै अखबारका हाकिमको पत्रकारितासम्बन्धी किताब पनि लेखिदिनुपरेको थियो भैरवले । जनसम्पर्क अधिकारी ढुङ्गेल, साहित्यिक सम्पादक भट्टराई, पत्रकार शाक्य, शर्मा जस्ता थुप्रै मान्छेले आफू चम्किन भैरवको पसीनाको प्रयोग गरेका थुप्रै दृष्टान्त यहाँ छन् । कतिले भैरवका कविता प्रतियोगितामा पठाएर आफूले पुरस्कार पनि पड्काएका छन् । यसरी विभिन्न व्यक्तिले विभिन्न तरीकाबाट भैरव अर्यालको बौद्धिक शोषण गरेका पर्याप्त उदाहरण यहाँ पाइन्छन् ।

भैरवले आफ्ना धेरै–जसो हास्यव्यङ्ग्य सजिलै आफ्नै खुशीमा लेखेको होइन । सम्पादकहरुको करमा परेर उम्कनै नसक्नै भएपछि मात्र उसको कलमले हास्यव्यङ्ग्य ओकल्थ्यो । ‘रचना’ मा उसका जति पनि हास्यव्यङ्ग्य छापिएका छन् ती सबै मैले उसलाई बाध्य पारेपछि मात्र लेखिएका हुन् । एक–दुई पटक त कस्तो पनि भएको छ भने पन्ध्र–बीस दिन पछ्याउँदा पनि उसले लेख्न सकेन । केही सीप नलागेर अफिसमा बिदा लिएर ऊ डेरामा बस्यो ।

न्हैकन्तलाको डेरामा त्यो बेला भैरव एक्लै बस्तथ्यो । अफिसमा भेट गर्न जानेहरु बिदा लिएको चाल पाएर भैरवको घरमा पुग्थे । घरमा नभेटेपछि ती डेरामा आउँथे । यसबाट लेखनमा महाविघ्न पर्दथ्यो । बिदाको घोर दुरmपयोग हुन्थ्यो । यसरी त भएन भनेर जुक्ति निकाल्दै मैले भैरवलाई भनें– “कोठामा बाहिरबाट म ताल्चा मारिदिन्छु, भित्र बसेर लेख । पिशाब लागे कोठामै कोपरा छँदै छ, तिर्खा लागे घैँटोमा पानी छँदै छ, म चुरोट, सलाइ, सुपारी, बिस्कुट पनि ल्याएर राखिदिन्छु तलतल र भोक लागे खानू ! योबाहेक अर्को उपाय छैन ।” नभन्दै भैरवले पनि मान्यो र मैले त्यसै गरें । भैरवलाई कोठामा थुनिदिएर हिंडे । चार घण्टाजति पछि आएर कोठा खोलेँ, भैरवले आधाआधी लेखेछ । बाँकी भोलि भन्यो र भोलिपल्ट त्यसै गरेर लेखाइयो । दुई दिनसम्म यस्तो बन्धनमा परेर लेखेपछि तेस्रो दिन निबन्ध पूरा गरेर मलाई दियो । ‘मिष्टर एन्. मुनि नेपालमा’ भन्ने निबन्धको जन्म यसै गरी भएको हो ।

अफिस बिदा लिन लगाएर मेरै घरमा बेग्लै कोठामा लुकाएर– ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ र ‘वीरबलको लाहुर यात्रा’ जस्ता निबन्ध भैरवलाई लेख्न लागाएर ‘रचना’मा छापिएका हुन् । परिवारका कोही बिरामी परेर अस्पतालमा कुर्न बिदा लिंदा, अथवा भैरव आफैं पनि बिरामी भएर घर बस्ता, अनि घरपरिवारका अनेक समस्यामा पिरोलिंदासमेत भैरवलाई सताएर हास्यव्यङ्ग्य लेख्न लगाएको छु मैले । त्यसरी करकाप, पीडा अनि बाध्यतामा परेर लेखे पनि जब पूर्णआकार पाएर ती रचना पत्रिकामा छापिएर बाहिर आएथे तब भैरवका कलमबाट निस्केका सटीक, सार्थक, सशक्त र प्रभाविला व्यङ्ग्य पढेर पाठक चमत्कृत हुन्थे । भैरवका अधिकांश हास्यव्यङ्ग्य रचनाको सृजन र प्रकाशनको प्रक्रिया यस्तै थियो ।

कविताचाहिं भैरव स्वतःस्फूर्त रुपमा लेख्थ्यो । त्यस्तो करकाप कवितानिम्ति गर्नु पर्दैनथ्यो । उसले कविता पनि प्रशस्त लेखेको छ, तर उसको ख्याति हास्यव्यङ्ग्यमा नै फैलिएको छ ।

भैरव २०२० सालअघिसम्म सात्त्विक प्रकृतिको थियो । रक्सीदेखि दस हात परै बस्थ्यो । पत्रकारहरुलाई पाकिस्तान भ्रमणका निम्ति आएको निम्तो मान्न २०२१ सालतिर बालमुकुन्ददेव पाण्डे र भैरव अर्यालहरु गए । यसैबेला बालमुकुन्दको सङ्गतमा परेर उसले मद्यपान गर्न सिकेछ । भैरवलाई निकै माया गर्ने ‘गोरखापत्र’का तत्कालीन सम्पादक गोपालप्रसाद भट्टराई र ‘राइजिङ नेपाल’का सम्पादक वरुणसमशेर अफिस छुटेपछि प्रायः साँझको पेय लिन भैरवलाई समेत मोटरमा हालेर लैजान्थे । भैरव त्यो बेला सपरिवार मेरै घर टङ्गालमा बस्तथ्यो । राति सबै सुतिसकेपछि गोपाल र वरुणहरु भैरवलाई पुर्याउन आउँथे । चकमन्न रातमा रसियन जिपको घार्रघुर्र र मातेको मान्छेको भाषणबाट हाम्रो निद्रा खुल्थ्यो । सडकपारि घर भएका लीलाध्वज थापाको कोठामा पनि बत्ती झल्याकझुलुक बल्न लागेको देखिन्थ्यो । भोलिपल्ट झ्यालबाटै भैरवलाई व्यङ्ग्य हान्दै थापाजी भन्थे– “क्या हो भैरवजी व्यासजीको पवित्र गौशालालाई त्यसरी अभक्ष खाएर अपवित्र पार्ने ?” भैरव मसिनु स्वरमा टट्यौलो पाराले जवाफ दिन्थ्यो, “हैन, अभक्ष होइन, कविजी ! अलिकति गुजेश्वरीको प्रसाद अचाएर आएको थिएँ ।”

सोह्र वर्षको उमेरमा घाँटीको स्वरनली दुखेर सुकेर बिग्रिएको आवाज नै भैरवको जीवनमा अभिशाप सिद्ध भयो । यस्तो घाँटीको रोगीले चुरोट खानु हुँदैनथ्यो, तर भैरवले अम्मल छोड्नै सकेन । यसबाट झन् घाँटीले असह्य पीडा दिन्थ्यो । भैरवका परिचित राजदरबारका जनसम्पर्क अधिकारी पूर्णप्रसाद ढुङ्गेलको प्रयासबाट दिल्लीमा उपचार गराउन जाने खर्च दरबारले दियो र २०२० सालमा भैरवसँग म पनि दिल्ली गएँ, तर त्यहाँका डाकटरले उपचार हुन नसक्ने कुरा भनेपछि भैरव ज्यादै निराश भयो । उसले त्यहीं निराशाले छट्पटिएर बाबुराम पौडेल र मलाई झुक्याएर आफूलाई जमुनामा सेलाउने सुर पनि कसेछ, तर हाम्रो सौभाग्यै भनौँ त्यो बेला त्यस्तो अनर्थ केही हुन पाएन ।

पछि २०२६ सालमा जर्मनीमा पत्रकारितासम्बन्धी अध्ययन गर्न जाने मौका पायो भैरवले । घाँटीको उपचार त्यहाँ हुन सक्ने सम्भावनाले भैरव उत्साहित थियो । नभन्दै भैरव उपचार गरेरै फर्कियो । अब उसको स्वर बेग्लै भएको थियो । मसिनु सुकेको स्वर बिलाएर अलि चर्को धोद्रो स्वरमा ऊ बोल्न लागेको थियो ।

जर्मनीबाट फर्किएको भैरवको स्वभावमा निकै ठूलो परिवर्तन आएको थियो । मानसिक विचलनको निकै ठूलो भारी बोकेर फर्केको थियो भैरव । अफिसको काममा, लेखनमा, परिवारमा, साथीभाइका माझमा, कतै पनि रमाउन सक्तैनथ्यो ऊ । मानसिक दुर्बलतामा थिचिएको भैरवले सबैतिर आफ्ना विरुद्ध षङ्यन्त्रको जालो बुन्न थालिएको देख्यो । उसको सृजनशीलता पनि स्वात्तै सुकेर गयो । जति करबल गरे पनि कलम चलाउन ज्यादै मुश्किल पर्न थाल्यो उसलाई । यस्तो असक्षम भएर बाँच्नुभन्दा मर्नु निको लाग्न थाल्यो उसलाई । यस्तैमा एक दिन आफ्नै घरको झयालबाट फाल हालेर कोलाहल मच्चाइदिएछ उसले । उसलाई मानसिक चिकित्सक डा. विष्णुप्रसाद शर्माको उपचारमा पनि राखियो, तर पनि भैरवको मनमा बाक्लैसँग लागेको शंका उपशंका र अनावश्यक तर्कवितर्कको जालो पूर्णतया हट्नै सकेन । अति गहिरो मानसिक विचलन र उद्विग्नताको भासमा ऊ धसिंदै गयो र अन्त्यमा आत्महत्याको बाटो रोज्यो उसले ।

नेपाली साहित्यमा हास्यव्यङ्ग्य विधाको प्रवेश गराउने मूल पुरूष शक्तिबल्लभ अर्याल हुन् । शक्तिबल्लभले जन्माएको नेपाली हास्यव्यङ्ग्यमथि उनकै पछिल्लो पुस्ताको सगोत्री भैरव अर्यालले कस्तो जगमगाउँदो पाइन चढाइदियो भने आज थुप्रै लेखक विधामा लागे । तापनि भैरवलै छोएको उचाइमा पुग्न तिनलाई हम्मेहम्मे परिरहेछ । यसो भनेर तिनको अनादर अथवा उपेक्षाचाहिं गर्न खोजिएको नठानियोस् । यो यथार्थ हो ।

हास्य व्यङ्ग्यको शिष्ट संयोजन, राष्ट्रिय अन्तर्राष्ट्रिय विसङ्गति र विरोधाभासप्रति कठोर प्रहार, आफ्नै उखानटुक्का र उदाहरणको स्वाभाविक तथा चमत्कारिक प्रयोग, आफ्नै वरिपरिका पात्र, सत्य घटना अनि परिवेशको यथार्थ चित्रण र कहिल्यै असङ्गत नठहरिने विषयहरुको सफल चयन नै भैरव अर्यालका हास्यव्यङ्ग्य लेखनका विशेषता हुन् । यिनै विशेषताले गर्दा अन्य हास्यव्यङ्ग्यकारहरुको भन्दा बेग्लै र विशिष्ट ठाउँ आज पनि भैरव अर्यालको सुरक्षित रहेको छ । भैरवले लेखेको यत्तिका वर्ष बितिसक्ता पनि त्यो बेला पढ्दा जस्तो स्वाद उसका हास्यव्यङ्ग्यले दिन्थे आज पनि त्यत्तिकै स्वाद तिनले दिइरहेकाछन् ।

पत्रकारिता फाँटमा पनि भैरवको प्रशस्त दखल थियो । ‘गोरखापत्र’, ‘मधुपर्क’ र भैरव अर्याल त्यो बेला एकअर्काका पर्यायवाचीका रुपमा जोडिएका थिए । भैरवलाई यी पत्रिकाबाट अलग्ग पारेर हेर्नै सकिंदैनथ्यो, तर पनि भैरव अर्याल मूलतः हास्यव्यङ्ग्यकार नै हो भनेर मान्नु पर्छ ।

पुस्तकाकारमा नआएका विभिन्न पत्रपत्रिकामा छरिएका भैरवका निबन्ध कविता अरु पनि छन् । तिनलाई संकलित रुप दिएर प्रकाशमा ल्याइनुपर्दछ । यसबाट भैरवको सर्जक–व्यक्तित्त्वको महत्ता बढ्ने मात्र होइन, नेपाली वाङ्मयलाई अझ समृद्ध पार्न सहयोग पुग्नेछ । हास्यव्यङ्ग्य विधा पनि सम्मानित, शिष्ट परिष्कृत र उल्लेख्य बन्न सम्छ भन्ने कुराको प्रमाण भैरवका हास्यव्यङ्ग्यले दिएका छन् । आज हास्यव्यङ्ग्य विधाको प्रगति निम्ति जस्तो सकारात्मक वातावरण बनिरहेको छ त्यसको जग बलियो पार्न भैरव अर्यालको पसीना र रगत प्रशस्त बगेको छ भन्ने तथ्य हामीले बिर्सनु हुँदैन । त्यस्तो शाश्वत हास्यव्यङ्ग्य शिल्पीसँगको सान्निध्य र साथीत्त्वलाई म आफ्नो सौभाग्य सम्झन्छु ।

( ‘सम्झनामा फक्रिएका थुँगाहरू’ पुस्तकले २०५६ सालकाे उत्तम शान्ति पुरस्कार प्राप्त गरेकाे थियाे ।)