‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ को छोटो सूचीमा कवि सुशीला खड्का ‘हसिना’को नवीनतम काव्यकृति ‘पहिरोभित्रको घाम’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा काव्य लेखेका पाँच लेखक समावेश छन् ।
वर्तमान समाजमा व्याप्त दूषित मानसिकता तथा मानिसले मानिससँगै गर्ने अमानवीय व्यवहारलाई सुशीलाले आफ्नो कविताको विषय बनाएकी छिन् । विविध किसिमका समाजिक दृव्र्यवहार, मानिसका द्वैद चरित्र तथा सामाजिक विसङ्गतीको चित्रण हसिनाका कविताका विशेषताका रुपमा देखिएका छन् ।
पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ५५ थान कविताहरु सङ्ग्रहित छन् ।
छोटो सूचीमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, गगन योक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’, सुशीला खड्का ‘हसिना’को कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझको सङ्गत’ रहेका छन् ।
यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त २८ काव्य कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नेपाली काव्य साहित्यको भविष्य उज्यालो रहेको संकेत गरेको बताएका छन् । उनले भनेका छन्, “११ काव्य विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली काव्य साहित्यमा दर्बिलो उपस्थिति जनाएका छन् । नवोदित कविहरूको विचार निर्माण, चिन्तनको आयतन, विषयवस्तुप्रतिको फरक बुझाइ र दृष्टिकोण तथा साधनालाई काव्यकृतिले प्रतिनिधित्व गरेका छन् ।”
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’का छोटो सूची क्रमशः जेठ २ गते (बुधबार) र जेठ ४ गते (शुक्रबार) सार्वजनिक गरिनेछ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।