‘तपाईं ! आमाहरू महान् हुनुहुन्छ । तपाईंहरूकै नैतिक बल र मतबाट आज म संसद् सदस्यमा निर्वाचित भएको छु । बच्चा जन्माउनु मात्र होइन जसले मातृवात्सल्य दिएर आफ्नो कर्तव्य पूरा गर्छ । ऊ नै वास्तविक आमा हो ।’ विश्वासले प्रमुख अतिथिको मन्तव्यमा भनेका थिए ।

उज्ज्वल अनुहार, प्रस्ट र हक्की बोली, त्रिचालीस वर्षीय नेताको भाषणलाई सन्तमायाले एकटकले सुनिरहेकी थिइन् । उनको त्यो उमेर रोगी भएर ज्यान डाँडामाथि अस्ताउन लागेको घामजस्तै हुन लागेको थियो । लोग्नेको पनि के कुरा गर्नु, दिनदिनैको सुर्ती र तमाखुको तल्तल मेटाउँदा मेटाउँदै भूकम्पबाट भत्किएर ढल्नै लागेको घरझैँ भएको थियो शरीर । त्यसमाथि रातभरको खोकीले समयमै निदाउन सक्ने अवस्था होइन । एउटा भएको सन्तान अमेरिका छिरेपछि न सम्झिन्थ्यो, न बिर्सिन्थ्यो । सन्तमायाले सम्झेर कुनै समयमा फोन गर्दा, ‘अहिले म काममा छु, बिजी छु, तपाईंहरूको जस्तो मलाई कहाँ फुर्सद छ र ! फुर्सद भएपछि फोन गरौँला’ भनेर फोन राखिदिन्थ्यो । केही दिन अघि फोन गरेर यो सम्पत्तिको संरक्षण गर्न अनुरोध गर्दा उसले भनेको थियो, ‘ममी, तपाईंहरूको त्यो बाँदर लाग्ने दुई रोपनी भिर मलाई चाहिँदा पनि चाहिँदैन । तपाईंहरू जेसुकै गर्नोस् । मलाई त्यो देश फर्किएर आउन मन पनि छैन ।’

उसले कति चाँडै भुल्न सकेको आफ्नो देश, माटो, खोला-नाला, समाज, घरपरिवार । सुविधाको लोभले आफ्नो जन्मभूमि भुल्नु कहाँ सम्मको राष्ट्रियता र देश प्रेम हो ?

सन्तमायालाई साँच्चै पीडा भएको थियो आफूले जन्माएर पनि छोराछोरीको माया पाउन नसकेको वर्तमान जीवनको दर्द । यो उमेरमा विश्वासले आमा भनेर सम्बोधन गरेको विषयले सन्तमायाको हृदय तरङ्गित भएको थियो ।

आजभन्दा त्रिचालीस वर्ष अघि जसरी उनको हृदयमा मातृत्व पलाएको थियो त्यो सम्झेर आज उनलाई भक्काने छुटेको हो । तर त्यो विषय न विश्वासले पत्याउँथ्यो न समाजले । उनी आफू मात्र वास्तविक साँची भएर जिन्दगीको यो मोडसम्म बाँचिरहेकी थिइन् ।

‍====

सन्तमायाको जीवन, कथाको घटनाभन्दा फरक थिएन । जुन विगत सम्झेर पश्चात्ताप र ग्लानि खपेर बाँच्नु सिवाय अरू केही हुँदैन ।

सन्तमायाको बीसै वर्षमा बिहे भएको थियो । घरको आर्थिक अवस्था दयनीय भएकाले लिलामानले सन्तमायालाई एकदिन भनेका थिए, ‘सन्तमाया, हाम्रो बिहे भएको मात्र एकवर्ष भएको छ । यो एक्काइस वर्षको कलकलाउँदो जवानीमा तिमीलाई छाडेर विदेश जान मलाई कहाँ मन थियो र ? छोराछोरी जन्मिएपछि खाने मुख बढ्छ । त्यसमाथि बढाउनु र पढाउनु पर्‍यो । म विदेश जानै पर्ने भयो ।’

त्यतिखेर सन्तमायाको उज्ज्वल अनुहार मलिन भएको थियो । तर वर्तमान र भविष्यको आर्थिक पीडाले लिलामानलाई रोक्न सक्ने उनमा सामर्थ्य थिएन । त्यही भएर उनले भनेकी थिइन्, ‘हजुर ! दुई वर्षमा विदेशबाट फर्किहाल्नु होला । जेजस्तो कमाइ हुन्छ, त्यही रकमले अलिकति खेती किनेर खुसीले जिन्दगी बिताउँला ।’

घरपरिवार, आमाबाबु, श्रीमती यी सबैलाई छाडेर उनी पराई मुलुक हिँडेका थिए । घरबाट बिदाइ हुने बेलामा छेउछेउमा च्यातिएको थैलीबाट पाँच सयका दुई ओटा नोट दिएर आशीर्वाद दिँदै आमाले भनेकी थिइन्, ‘चिरञ्जीवी रहेस् छोरा । बाबु ! यो पैसाले बाटामा केही किनेर खानु । आमाको मन न हो, यो घरबाट तँ बाहिर निस्कँदा मेरो हृदय यति रुन्छ कि त्यो म कसरी व्यक्त गर्न सक्छु ! बुझ्ने छोराले मेरा आँखाबाट झर्दै गरेका आँसु देखेर अवश्य पीडा बुझ्न सक्छ ।’

उनले आमाको अनुहारमा दृष्टि लगाउँदा आमाका आँखा पूरै टिलपिल थिए । लिलामानले आमाका आँसु पुछिदिएर आमा र बाबुबाट बिदाइ लिएका थिए । आमाका आँखाका आँसु पुछेका हातले सन्तमायाका आँसु पुछेर उनलाई अँगालो मार्दै बिदा भएको उनको मानसपटलमा अहिलेझैँ लाग्छ ।

‍====

वास्तविक भन्ने हो भने मान्छेको अनुपस्थितमा वर्षामा बढेको नदी हिउँद लागेपछि घट्दै गएझैँ माया पनि बिस्तारै बिस्तारै घट्दै जाँदो रहेछ । सन्तमायाको घर र माइतीघर एक दिउँसोको बाटो हो । खोला तरेर माइतीघर जान पर्थ्यो, उही त हो रावाखोला । वर्षायाममा तर्न नसकिने भएकाले माइती जाँदा खोला पुलबाट तर्नु पर्दथ्यो । हिउँदमा खोला सजिलै तर्न सकिने थियो । माइती जाने घर र घर आउने बीच बाटोमा सन्तमायासँगै स्कुल पढेको बालसखी रबिको घर थियो । रविलाई उनले स्कुल पढ्दादेखि नै धेरै मन पराएकी थिइन् । तर रविले खास दिलचस्वी दिएको थिएन । रविका छोराछोरी हुर्किसकेकाले सन्तमाया रविको घरमा जाँदा औधि मान गर्थे । त्यो आउजाउको बीचमा उनी माइत जाँदा र घर पर्कंदा रविसँग राम्रै हिमचिम बढ्यो ।

एकदिन उनीहरूबीच एकान्तमा रहेर पोखिनै लागेको बैँस समाल्दै रविले भनेको थियो, ‘तिमीहामी दुवै विवाहित व्यक्ति हौँ । हाम्रो यो बैँसको उन्मादित क्रियाकलाप पर्दाफास भयो भने तिम्रो र मेरो पूरै घरबार भाँडिन्छ । तसर्थ अब हामी नभेटौँ ।’

सन्तमायाले कपालको चुल्ठो बाँध्दै छिल्लिएर भनेकी थिइन्, ‘छोराछोरीकी आमालाई मात्र कति अँगालो मार्छ ऊ । मेरो त न बच्चा जन्मिएर शरीर बिग्रिएको छ, न मन । किन मेरो बैँसबाट टाढा हुन खोज्छौ ? तिम्रो वैवाहिक सम्बन्ध बिगार्न पनि त मैले यो सम्बन्ध गाँसेकी होइन नि । लोग्ने विदेशमा छ । यहाँ दिनै यौवनको मात चढ्छ । दुई वर्षसम्म यो फुटिसकेको बैँसलाई म कसरी रोक्नु ?

रविले अलिकति मुस्मुराएर भनेको थियो, ‘जमाना पनि खै कस्ता आए ? लोग्ने वा स्वास्नी परिवारका लागि विदेशमा कमाउन जान्छन् । त्यहाँ उनीहरू ताता घाममा डढेर कमाएको पैसा घर पठाउँछन् । यहाँ भने लोग्ने वा स्वास्नी पग्लिंदै गरेको बैँसको बाँध फुटाएर मोजमस्ती गर्छन् । अचम्म छ आजको जमाना !’

‘हेर रवि, भोक लागेपछि नखाई अघाइँदैन भन्ने त सबैलाई थाहै छ । फेरि मिठो खान कसलाई मन लाग्दैन होला र ? तिमीले पनि त मेरो बैँसमा हात हाल्यौ । कति मलाई मात्र भन्न सकेको ।’

‘सन्तमाया हामी दुईको कारणबाट कसैको वैवाहिक सम्बन्ध नष्ट नहोस् । म एउटा विवाहित पुरुष । यो कुरा तिमीले राम्ररी बुझेकै हौली । हाम्रो सम्बन्ध मेरी श्रीमतीले थाहा पाइन् भने मेरो हाल के हुन्छ ?’

सन्तमायाले रविलाई दाहिने हातले बिस्तारै घँचेडेर भनिन्, ‘मैले तिमीसँग पछि पछि लागेर जान्छु भनेकी छु र ? उहाँ नआउन्जेलसम्म त हो नि … ।’

‘तलमाथि भयो भने म जिम्मेवारी हुन्न नि ?’

‘बैँस लुट्ने हामी दुवै । अघाएपछि सिर्जित हुने परिणाम भने मैले मात्र फेस गर्ने !’ उनले अझ दृढ भएर भनिन्, ‘नो टेन्सन । टाँसिन्छे भनेर नसोच ।’

तर त्यो एउटा घटनाले उनको जीवन मर्नु वा बाँच्नुको दोसाँधमा उभिएको थियो । वास्तविक भन्ने हो भने, सन्तमाया लोग्नेविना आमा हुन लागेकी थिइन् ।

एकदिन सन्तमाया सासूले बनाइदिएको कोसेली बोकेर माइततिर लागिन् । खडेरी परेकाले छ महिना अघिदेखि पानी परेको थिएन । त्यही भएर होला रावाखोला सुकेर जो कोही तर्न सक्ने अवस्थामा थियो । त्यही खोलाको किनारमा बसेर सन्तमाया धेरैबेर रोइन्, चिच्याइन् । तर उनको वेदना र प्रार्थना सुनिदिने कोही थिएन । खोलाको सुरिलो सुसेली र पानीको छालले पनि सन्तमायालाई जिस्क्याएझैँ लागेथ्यो, ‘ए सन्तमाया बच्चा कहिले पाउँछेस् । लिलामानलाई बाबु देखाउँछेस् भने त ऊ विदेशी मुलुकमा भाँडा माझ्न गएको डेढ वर्ष हुन लाग्यो । जन्मिन लागेको बच्चाको बाबु तैँले देखाउन सकिनस् भने घर वा माइतीले तँलाई घरबाट निकालिदिन्छन् र यो खोलाको पानीजस्तै ढुङ्गाहरूमा बजारिंदै बजारिंदै कहाँ हो कहाँ जानुपर्छ । बरु आइज अहिले मसँगै जाऔँ । मसँगै आइस् भने ती तेरा सबै पीडाहरू पानीको चिसोले मसँगै हिँडेको केही क्षणमा बिलाउने छन् र तेरो अस्तित्व मेटिनेछ ।’

के के सोच्दा सोच्दै सन्तमायाले सकिनसकी खोला तरिन् तर उनका पाइला एकदम कमजोर थिए । जिउ गह्रुँगो भएर प्रसव वेदना सुरु भएको थियो । उनी खोलावारिको बर्खेमा पुगेर वरिपरिका झ्यासहरू जम्मा पारेर त्यही झ्यासमाथि पल्टिइन् । त्यसबेला उनलाई प्रसव वेदनाले अत्यन्त च्याप्यो । घरबाट बिहान सात बजे हिंडेकी सन्तमाया भोलिपल्ट दश बजेसम्म त्यही बर्खेको झ्यासमाथि लडेकी थिइन् । झ्यासमाथि ओछ्याएको मजेत्रोमा एउटा बच्चा च्याँ… च्याँ… गर्दै रुँदै थियो ।

सत्ताइस घण्टाको विचार विमर्शले उनको जिन्दगी के हुने भन्ने निर्क्योलो हुन सकेको थिएन । सन्तमायाका दिमागमा थरिथरिका विचार र भावनाहरू खेलिरहेका थिए, ‘बच्चासँगै त्यही खोलाको दहमा हाम फालेर मर्ने, बच्चासँगै रविको घरमा गएर जबरजस्ती भित्रिने, बच्चालाई खोलाको भेलमा झ्याँकेर आफू मात्र घर जाने ।’

तीन विकल्प उनले सोचिन् । उनलाई अझै बाँच्नु थियो । यो अनमोल जिन्दगी किन खेर फाल्नु ? बच्चा हरेक स्वास्नी मान्छेले जन्माई नै रहेका हुन्छन् । कति महिलाहरू परपुरुषसँग लागेर अर्कै घरबार बसालेकै छन् । रविसँग गएर जिन्दगीभर कलह हुन्छ । समाजले कति थुक्छ थुक्छ । यी विकल्प पनि उनलाई ठिक लागेन । बरु बच्चालाई खोलामा बगाएर जाने, यो विकल्प उनलाई ठिक लाग्यो । यो न कसैलाई थाहा हुन्थ्यो न घरबार बिग्रिन्थ्यो ।

उनी बर्खेबाट बच्चालाई छातीमा टाँसेर खोलाको किनारमा पुगिन् । उनको मातृहृदय एकाएक पग्लियो । उनका हातहरू थरर कामे । उनले क्वाँ… क्वाँ… रोएर बच्चालाई छातीमा बेस्सरी टाँसिन् । खोलामा बगाउने बित्तिकै बच्चा मर्न सक्थ्यो । उनको मनले त्यसो गर्न नमानेर बच्चा बोकेर अलि पर बगरमा उभिइन् । खोलाको बगरमा ठूलाठूला ढुङ्गा थिए । ती ढुङ्गाको आडमा सुकेका काँसका डाँठहरू जम्मा गरेर उनले राखिन् । वरिपरि ढुङ्गाको गारो लगाएर सानो ओडारजस्तो बनाइन् । अनि मजेत्रोमाथि बच्चा सुताएर उठेकी मात्र के थिइन् फेरि बच्चा टिपेर छातीमा टाँसिन् र क्वाँ क्वाँ रुन थालिन् । उनका आँखाबाट झरेका आँसुले बच्चाको अनुहार अलेली भिजेको थियो । उनले बच्चालाई छातीमा टाँसेर अघाउन्जेल दूध खुवाइन् र त्यहीँ सुताइन् । बच्चालाई ढुङ्गाले नकिचिने गरी छोपेपछि उनी दृढ भएर उभिइन् । त्यसपछि उनी खोलामाथिको टारी खेतको डिलमा पुगेर छाती पिटीपिटी दुवै हातले आँसु पुछेर रोइरहेकी थिइन् । एकाएक रोई मुर्छा परेर ब्युँतिदा एउटा अधबैँसे मानिसले बच्चा बोकेको देखिन् । त्यतिखेर उनको हृदय केही हल्का भएको थियो ।

‍‍‍‍====

डम्बरसिंह काँसघारीमा गाईबस्तु छाडिदिएर खोलाको भित्तामा रहेको क्यामनाको बोटको छहारीमा बसेका थिए । उनी चर्को घामको कारण धेरै प्यास लागेर खोलाको किनारमा पुग्दा बच्चा रोएको सुने । यताउता हेर्दा कतै मान्छे छैन । खोलाको ढाँडमा कतैकतै बच्चाका समेत चिहान थिए । एक्लैदुक्लै हुँदा चिहान नजिकैतिर तर्साउँछ भन्ने डम्बरसिंहले सुनेका थिए । बच्चै हो कि के हो भन्ने मनमनै सोचेर डम्बरसिंहले केही बेर उभिएर शान्त किसिमले सुने । त्यो रुवाइ जीवित बच्चाकोजस्तै आवाज थियो । ‘यो भ्रम होइन वास्तविकता हो । एकपटक के रहेछ बुझौँ ।’

डम्बरसिंह बच्चा रोइरहेको स्थानमा पुगे । वरिपरिका ढुङ्गा पन्छाएर हेर्दा साँच्चै त्यहाँ बच्चा नै थियो । दश मिनेटसम्म उनले यताउता हेरे तर उनका आँखाले देख्न सक्ने चारैतिरको दिशामा कुनै मानव जाति देखिएन । उसको मनमा एउटा भावना आयो, ‘म आजसम्म बाबु हुन सकिनँ । मेरी श्रीमती आमा हुन सकिनँ । हो, आज मलाई भगवान्ले बाबु बनाउन खोजेका होलान् । यो बच्चा लिएर पाल्छु । कसैले यो मेरो बच्चा हो भनेर केही दिनसम्म माग्न आयो भने दिउँला । नत्र पापिनी आमाले खोलामा फालेको बच्चा म संरक्षण गर्छु भन्दा गाउँ, समाजले के नस्विकार्ला र ?’ भन्ने सोचेर उनले बच्चा हातमा समाए । रुँदै गरेको बच्चा एकाएक रुवाइबाट रोकियो ।

डम्बरसिंहले बच्चालाई आफ्नो इष्टकोट फुकालेर बेरबार गर्दै छातीमा टाँसेर भने, ‘आजकाल हृदयमा कस्तो माया र दया नभएका आइमाई जन्मिएका रहेछन् । आफ्नो गर्भबाट जन्मेको बच्चा खोलाको छेउमा फालेर जान सक्ने आमाको हृदय ढुङ्गाभन्दा कति कठोर रहेछ । त्यस्तालाई आमा पनि कसरी भन्नु ?’

बच्चा भुइँमा राखेर उनका दुवै हात समाएर डम्बरसिंहले फेरि भने, ‘हेर् बाबु ! तँ अभागी रहेछस् । दूध खुवाएर सेकताप गर्नुपर्ने बेलामा तँलाई बगरको ढाँडमाथि फालेर आमा हिँडिछे । त्यो वास्तवमै पापिनी आमा हो । आफ्नै कोखबाट जन्मेको बच्चा फाल्न सक्ने आमा नभएर नरपशु हो । उसको हृदयमा मातृवात्सल्य भन्ने कुरा रहँदै रहेनछ । खैर, केही छैन । म तेरो भाग्य निर्माण गर्छु । आजदेखि म तेरो बाबु बनेँ ।’

====

सन्तमायाले यतिखेर त्रिचालीस वर्षअघि आफ्नो जीवनमा घटेको बिर्सनै नसक्ने घटना सम्झिएकी थिइन् । यो उमेरसम्म उनलाई थाहा थियो विश्वास मैले जन्माएको छोरो हो । मात्र सरोगेट छोरो । यो कुरा न विश्वासलाई थाहा थियो न समाजलाई । थाहा थियो त त्यही बच्चा छाडेका ठाउँका नबगेका खोलाका ढुङ्गा र सन्तमायालाई थियो । आज त्यो सम्झनाले उनी भक्कानिएकी थिइन् ।

उनले जन्माएर पालेको छोराले विदेश गएर बिर्सिएकोमा पीडा त थियो नै तर विश्वास आफूले जन्माएको छोरो हो भन्न उनी न सक्थिन् न त समाजका कुनै मानिसले पत्याउँथे । विश्वासको सामाजिक कार्य र राजनैतिक सेवाबाट सन्तमाया राम्ररी प्रभावित भएकी थिइन् । मञ्चमा प्रमुख अतिथिको नाताले उनलाई खादा ओडाइदिँदा सन्तमायाको मन यति प्रफुल्लित भएको थियो कि त्यो कसरी व्यक्त गर्न सक्थिन् र ?

घुँडा दुखेर मञ्चमा आउन नसकेको अवस्थामा दुवै हात अँठ्याएर विश्वासले मञ्चमा लगेको र खादा लगाइदिएर सम्मान गर्दाको क्षणले सन्तमायाको मन खुसीले गद्गद् भएको थियो । खादा लगाइदिएपछि एक हातले सन्तमायाको पाखुरामा समाएर मञ्च अगाडि श्रोतादीर्घाको अघिल्तिरको खाली कुर्सीमा बसाउँदा सन्तमायाको मुखबाट एक्कासि झिनो स्वरमा निस्किएको थियो, ‘विश्वास तिमीलाई विश्वास नलाग्न सक्छ । मैले नै तिमीलाई जन्माएकी हुँ । म तिम्री आमा हुँ !’

त्यतिखेर मञ्च र श्रोतादीर्घामा भएका सबै मान्छेहरू आश्चर्य मानेर सन्तमायातिर हेर्दै थिए ।