कुरो २०११ सालतिरको हो । पूर्व तीन नम्बर ओखलढुङ्गाको चिसङ्खु छहरे गाउँका ढुण्डिराज कोइराला हाम्रो घरमा बस्तथे । उनी पढ्न भनेर राजधानी काठमाडौं झरेका थिए । हामी केटाकेटीचाहिं उनीसँग पढ्थ्यौं । हामीलाई पढाउने क्रममा सधैंजसो उनी एउटा कविता सुनाउने गर्दथे । त्यो कविता थियो – ‘मेरा प्यारो ओखलढुङ्गा’ ।
आफू ओखलढुङ्गा निवासी भएको हुँदा ओखलढुङ्गाको तारिफमा लेखिएको त्यो कविताप्रति ढुण्डिराजलाई ठूलो गर्व थियो । सुरुसुरुमा त मेरो बालमनभित्र त्यो कविता घुसेन, तर पछि ढुण्डिराजको व्याख्या सुनेर अर्थ र भाव खुल्दै गएपछि भने म पनि त्यस कवितामा उत्तिकै रत्तिन थालें । यति राम्रो कविता लेखने को रहेछ ? भनेर खोजी पस्ता पत्ता लाग्यो– त्यसका रचयिता सिद्धिचरण श्रेष्ठ रहेछन् ।
कवि सिद्धिचरण श्रेष्ठसँग मेरो नाममात्रको परिचय सर्वप्रथम त्यसरी नै भएको हो । व्यक्ति सिद्धिचरणसँग चाहिं मेरो चिनजान २०१८ सालको जाडो याममा सिराहा जिल्लाको अर्नेमा गाउँमा भएको थियो । सिराहाको ब्रह्मापुरीमा मेरो जग्गा थियो र त्यही जोडिएको अर्नेमा भन्ने गाउँमा सिद्धिचरण श्रेष्ठको पनि खेती थियो । हिउँदमा म एक–दुई महिना त्यतै बिताउँथे तर कविसँग भेट्ने संजोग तथा निहुँ कुनै पाइएको थिएन । वास्तवमा त्यत्रा विख्यात कविलाई भेट्ने र कुरा गर्ने आँट नै आएको थिएन ।
२०१८ सालको पुसमा ‘रचना’ निस्केपछि चाहिं कविसँग भेट्ने अनुकूल मौका पाएँ । पत्रिकाको पहिलो अङ्क बोकेर म ब्रह्मापुरीबाट अर्नेमा गएँ । कवि खलिहानमा धानका बिटाको छेउमा गुन्द्रीमथि बसेर हुक्का तान्दै दाइँ गरेको दृश्य हेरिरहेका थिए । नमस्कार गरेर आफ्नो परिचय दिएपछि कविले आफूनजिकै बसाए । ‘रचना’ सरसरती पल्टाए अनि पत्रिका निस्क्यो भनेर तारिफ गरे । नयाँ रचिएका आफ्ना कविता सुनाए । अरसिकहरु भएको गाउँका मजस्तो प्रशंसक श्रोता भेटेर होला कविले त्यहाँ बसुन्जेल बराबर भेट गर्न आउन भने ।
म कविकहाँ बराबर जान थालें । कहिलेकाहीं कुनै नयाँ कविता रचिएपछि सुनाउने हतार लागेर कवि मलाई बोलाउन मान्छे पनि पठाउँथे । यसरी त्यो साल डेढ–दुई महिना सिराहा बस्ता कविसँग राम्रो हिमचिम भयो । उनले ‘रचना’लाई कविता पनि दिए । ‘जून र हिउँ’ शीर्षकको त्यो कविता २०१८ साल बैसाखको ‘रचना’मा छापियो पनि । त्यसपछि पनि आफ्ना कृतिहरु दिएर कविले रचनालाई सहयोग गरिनै रहे ।
कवि सिद्धिचरण श्रेष्ठलाई २०१८ सालदेखि उनी बाँचुञ्जेलको सङ्गतमा विभिन्न कोणबाट हेर्ने अवसर मैले पाएँ । कवि सिद्धिचरण श्रेष्ठलाई उनको नजिकका मान्छेहरु काजी दाइ भनेर सम्बोधन गर्दथे । म पनि उनलाई काजी दाइ भन्ने गरी नजिकको भैसकेको थिएँ । काजी दाइलाई मैले जस्तो चिनें त्यस्तै रुपमा बिभिन्न घटनाका माध्यमबाट यहाँ प्रस्तुत गर्ने प्रयत्न गर्दै छु ।
काजी दाइ रोयल नेपाल एकेडेमीको स्थापनाकालदेखि नै त्यसको सदस्य थिए र त्यहाँको साहित्य विभागमा कार्यरत थिए । २०२१ सालमा उनले कविता योजनाको थालनी गरेका थिए, कविता पत्रिका निकाल्ने, कविता उत्सव गर्ने, कविता र काव्यसम्बन्धी पुस्तक प्रकाशित गर्ने आदि काम एकेडेमीबाट त्यसै योजन अन्तर्गत भएका हुन् ।
२०२२ साल बैशाख २६ गते काजी दाइको घरमा एउटा छलफलको आयोजना गरिएको थियो । जेठ २८ गते राजाको जन्मोत्सवको अवसरमा एकेडेमीले कविता उत्सव गर्नेबारे काजी दाइले उपस्थितहरुसँग सल्लाह गरे । केही सशक्त युवा कविहरुले यस्तो कुरामा सहमति जनाएनन् र विरोध गरे । अनि काजी दाइले विश्वका केही राजतन्त्रामक देशमा यस्तो प्रथा छ र यो अनुचित होइन भने । उदाहरणको निम्ति उनले केही अङग्रेजी पुस्तक र पत्रिकाका उद्धरण पनि बाँचेर सुनाएका थिए । त्यसपछि विरोध केही साम्य भएको थियो ।
त्यही साल जेठ २४ गते पनि काजी दाइकहाँ कविता उत्सवबारे नै सरसल्लाह गर्न अर्काे भेला भयो । काजी दाइकै आयोजनामा एकेडेमीमा पहिलोपटक कविता उत्सव हुँदै थियो । यसबारे उनी ज्यादै उत्साहित थिए र युवा कविहरुले समेत त्यस उत्सवमा भाग लिऊन् भन्ने प्रवल इच्छा काजी दाइको थियो ।
२०२२ साल जेठ २८ गते प्रथम कविताउत्सवको आयोजना रेडियो नेपालमा गरियो । रेडियोबाट त्यसको प्रत्यक्ष प्रसारण भएको थियो । कवि लीलाध्वज थापा र प्याकुरेल एमासनले कविता पढ्नुअघि आफ्ना केही असन्तुष्टि पनि व्यक्ति गरे । ती कुरा रेडियोबाट बाहिरका श्रोतासम्म पुगिरहेका थिए । यसबाट काजी दाइ निकै चिन्तित भए । अब कताबाट कसकसको कति खप्की खानुपर्ने हो भन्ने कुराले उनी त्रसित थिए । कार्यक्रमको समाप्तिपछि भैरव अर्याल, कृष्ण प्रसाद पराजुलीहरुले केही हुँदैन चिन्ता नगरौं भनेर काजी दाइलाई ढाडस दिएका थिए । त्यस प्रथम कविता उत्सवमा भैरव अर्याल प्रथम घोषित भएका थिए ।
कविता उत्सव गरेर कत्ति न जस कमाउँला भन्ने सोचाइ काजी दाइको थियो । तर त्यसपछि एक महिना पनि नबित्दै असार १० गते काजी दाइसमेत पाँच जना एकेडेमिसियनहरु खोसुवामा परे । लेखनाथ, सोमनाथ, यज्ञराज र तुलसीमान पनि पदमुक्त हुनेमा थिए । यी सबैलाई मासिक रु. ३००।– दिएर आजीवन एकेडेमिसियनको उपाधि दिइएको थियो ।
काजी दाइ एकेडेमी छुटेपछि फुर्सदिला थिए । प्रायः जुन बेला पनि घरैमा भेट हुन्थे । त्यो ताक भैरव अर्यालको डेरा नयाँसडकको पारस होटल अगाडि थियो । म भैरवकहाँ गइरहन्थें । भैरव र म काजी दाइकहाँ जान्थ्यौं । समय बितेको पत्तै हुँदैनथ्यो । कहिलेकाहींं त काजी दाइका कुरा सुन्दा सुन्दै राति निकै अबेला पनि हुन्थ्यो र म भैरवकै डेरामा सुत्थें ।
काजी दाइको कोठामा किताब, कापी पत्रपत्रिकाहरु असरल्ल भएर छरिएका हुन्थे । त्यहाँ एउटा ठूलो रजिष्टर कापी पनि हुन्थ्यो । त्यो कापीको अघिल्लो पानामा नै यस्तो लेखिएको थियो– “खबरदार ! यो कापी म जीवित छउन्जेल कसैले पनि नहेर्नु !”त्यो कापीमा बूढाले के लेखेका रहेछन् भनेर हामीलाई निकै खुलदुली भयो । एक दुईपटक भैरव र मैले काजी दाइसँग त्यसबारे कुरो कोट्यायौँ पनि । तर चित्तबुइदो जवाफ पाइएन । एक दिन बेलुका निकैबेर हामी काजी दाइकहाँ बस्यौं । उनी कुनै काममा एक छिन अर्को कोठातिर लागे । यस्तो सुनौलो मौका छोपेर हामीले त्यो गोप्य कापी हेर्ने निधो गर्यौं । यसो त्यो कापी आफूतिर तानेर पाना पल्टाउन मात्र के लागेका थियौं काजी दाइ आइपुगिहाले ! त्यो बेलाको हाम्रो दुर्दशा भनिसाध्य छैन । अति लज्जित भयौं हामी ।
काजी दाइले भने– “मलाई थाहा थियो, जसलाई पनि यस्तोमा कौतूहल हुन्छ । अरु पनि यस्तोमा फेला परेका छन् । मैले यसमा नितान्त निजात्मक कुराहरु लेखेको छु । मेरो अन्त्यपछि मात्र यो सार्वजनिक होस् भन्ने मेरो इच्छा । पछि त तपाईँहरुले नै हेर्ने र छाप्ने हो नि यो ! अहिलेचाहिं कृपया यो नपल्टाउनुहोस् !” काजी दाइका कुरा सुनेर भैरव र म अवाक् भयौं र माफी माग्यौं ।
निजात्मक कुरा लेखिएको त्यो कापी काजी दाइले किन त्यसरी खुला रुपमा कोठामा राखेका हुन् योचाहि हामीले बुझ्न सकेनौँ । मान्छेहरुको धैर्यको परीक्षा गर्न नै त उनले त्यसो गरेको हैनन् ! भनेर भैरव र मैले चर्चा पनि गरेका थियौं । अब त काजी दाइ बितिसकेपछि त्यो गोप्य कापीको रहस्प पनि खुल्नुपर्ने हो । काजी दाइको आशय पनि त्यस्तै थियो ।
ती दिन काजी दाइकहाँ जानेहरुमा विजय मल्ल, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, पुरूषोत्तम बस्नेतआदि पनि हुन्थ्ये । एक जना डाक्टर देवब्रत दास गुप्ता नामका बङ्गाली सज्जन पनि काजी दाइको सङ्गत गर्न प्रायः आउने गर्दथे । उनी साहित्य प्रेमी थिए र बङ्गला साहित्यको निकै तारिफ गर्दथे । तिनको बोली यस्तो हुन्थ्योः– “आमार बाङ्ला साहित्तो किम्बा बाङमयो अत्तोन्तो परिष्कृत्त छ ।” प्रचुर मात्रामा बङ्गाली मिसिएको त्यस्तो नेपाली उच्चारण सुन्दा हामीलाई निकै रमाइलो लाग्थ्यो । कति पटक त डाक्टर देवब्रतको त्यस्तो बोली सुन्ने लोभले पनि हामी काजी दाइकहाँ पुग्थ्यौं ।
केदारमान व्यथितले खोलेको नेपाली साहित्य संस्थानले पहिलोपटक चितौनमा साहित्य सेमिनार गर्दै थियो । त्यसरी साहित्य सेमिनार गर्ने कुरा सर्वप्रथम उपेन्द्र श्रेष्ठले उठाएका थिए । तर पछि साहित्य संस्थान नै त्यसमा बढी सक्रिय भयो । उपेन्द्र यसबाट निकै खिन्न भएका थिए । उपेन्द्र र व्यथितमा सौहाद्र्रता ल्याउन काजी दाइले पनि निकै प्रयत्न गरे । पछि उपेन्द्रलाई समेत सेमिनारको आयोजक सदस्यमा राखेर विवादको समाधान गरिएको थियो ।
३ फागुन २०२२ का दिन काजी दाइको निम्तोमा रमेश विकल र म नयाँसङकस्थित साहित्य संस्थानको अफिसमा गयौं । साहित्यिक पत्रिकाका सम्पादकहरुलाई साहित्य सेमिनारको प्रचार समितिमा राख्ने बारे मिटिङ बोलाइएको रहेछ । तर त्यस सेमिनारको मूल उद्देश्य साहित्यिक कम र राजनीतिक बढी भएको हुँदा प्रचार समितिमा बस्ने कुरामा हामी सहमत भएनौं तत्कालीन मन्त्री केदारमान व्यथितले सम्पूर्ण साहित्यकारहरु व्यवस्थाको समर्थनमा छन् भनेर राजालाई प्रसन्न तुल्याउन यस्तो सेमिनार गर्न लागेका हुन् भन्ने धारणा त्यो थुप्रै साहित्यिकहरुमा थियो । अतः त्यस्तो विवादास्पद विषयमा आफ्नो नाम सामेल गर्न अरु केही सम्पादक पनि राजी भएनन् । काजी दाइ यसबाट अलि खिन्न भए । “तपाईंहरुबाट त यस्तो आशा थिएन” भने । समितिमा नबसे पनि साहित्य सेमिनारमा जान भने हामी राजी भयौं ।
२०२२ साल फागुन २३ गते चितौनको रामपुरमा राजा महेन्द्रबाट त्यो प्रथम साहित्य सेमिनारको उद्घाटन भयो । पाँच दिनसम्म सेमिनार चल्यो । त्यसमा प्रस्तुत विभिन्न प्रस्ताव, पच्यायती साहित्य लेखिनु पर्छ भन्ने व्यवस्थावादीहरुका हैकमी दुराग्रह आदिबारे त्यहाँ भएको चर्काचकीको बेग्लै कथा छ । त्यो बेला आठ दश दिनसम्म काजी दाइसँग निकट भएर बिताएका क्षणहरु भने अविस्मणीय छन् ।
साहित्य सेमिनारको साँस्कृतिक कार्यक्रममा विजय मल्लले लेखेको ‘छोरी चोर’ शीर्षकको नाटक देखाइएको थियो । त्यो नाटक छेउ न टुप्पाको पञ्चायती प्रचारात्मक कृति भयो भन्ने चर्चा दर्शकहरुमा चल्यो । काजी दाइले पनि हामीसँग “त्यस्तो कृतिले विजयको प्रतिष्ठा खस्काउँछ” भनेर प्रतिक्रिया व्यक्त गरे । “तपाईं आफैं पनि त त्यस्तो प्रवृत्तिलाई सघाइरहनुभएको छ नि !” भनेर हाम्रा केही साथीले प्रश्न गर्दा काजी दाइ निरोत्तर भएका थिए ।
साहित्य सेमिनार सकिएपछि फागुन २९ गते हामी रामपुरबाट नारायणघाट आयौं । त्यहाँ डा. मथुरा श्रेष्ठकहाँ बसियो । काजी दाइ, चित्तधर ‘हृदय’, द्वारिका श्रेष्ठ, तुलसी दिवस, मदन रेग्मी, उपेन्द्र श्रेष्ठ, पुरूषोत्तम बस्नेत, विश्वकेशर मास्के र म थियौं । राति डा. मथुराको कोठामा एउटा सानो कविगोष्ठी भयो । काजी दाइ, चित्तधर र तुलसी दिवसले कविता पढे । चित्तधरका लामा र सेता दाह्री थिए भने दिवसका छोटा र काला दाह्री थिए । काजी दाइका कुनै छोरा पनि त्यहीँ थिए । उनले सेतो दाह्री र कालो दाह्री भनेर चित्तधर र तुलसी दिवसलाई औल्याउँदा त्यहाँ हाँसोको पर्रा छुटेको थियो । त्यो बेला मलाई दाह्री खटिरा आएको थियो र मेरो पनि अलि अलि लामो, नकाटेको दाह्री थियो । काजी दाइले मलाई देखाएर “खटिरे दाह्री !” भनेपछि त झन् निकैबेरसम्म सामूहिक हाँसो चलिरहेको थियो ।
२०२५ पुस २६ गते । ब्रह्मपुरीबाट काजी दाइलाई भेट्न म अर्नेमा गएँ । उनी खलिहानमा नै घाम तापेर बसेका थिए । एक जना गरिब किसान धानको दाइँ गरिरहेका थिए । उनले काजी दाइको खेत अधियाँमा कमाएका रहेछन् । त्यसै खेतको धानको दाइँ भैरहेको थियो । दाइँ सकियो । धान उडाइबताई सकियो । एक ठाउँमा थुप्रो लगाइयो । हट्वे (जोख्ने मान्छे) बोलाइयो । तिनले जोखेर बराबरका दुइटा थुप्रा लगाइदिए । यसपछि काजी दाइले ती किसानलाई भने– “तैँले खाएको कर्जा तिर्नुछ, तेरो भागको त्यो थुप्रो पनि यतै मिसा !” ती किसानले हात जोड्दै भने, “मालिक ! हाम्रा धियापुता भूख्ले मरजातै, तनिक दया करु ! (मालिक ! मेरा छोराछोरा भोकै मर्छन् केहीत दया गर्नुस् !)” काजी दाइले कड्किएर हप्काउँदै भने, “सावाँ व्याज सबै गर्दा यतिले त पुग्दैन, अझ तँमाथि दुई मन जति बाँकी नै रहन्छ, त्यसको कागत गर । धानसान पाउँदैनस् ।” बिचरा ती गरिब किसान हात जोरेर रून्चे स्वरले बिन्तीभाउ गर्दै रहे, तर काजी दाइका मनमा कत्ति पनि दया पलाएन । उनको यस्तो निर्दयी सामन्तीरुप त्यसअघि कहिल्यै मैले देखेको थिइनँ । मलाई घोर अचम्म लाग्यो र भने– “काजी दाइ यति सारो त गर्नु भएन, बिचरालाई केही त दिनुस् ! यसबाट त तपाईंको सिद्धान्त र व्यवहारमा फरक पर्छ नि !”
काजी दाइले भने, “हेर्नुस् मैले यसलाई दिएँ अथवा कर्जा माफ गरिदिएँ भने मेरा अरु आसामीले पनि यस्तै खोज्छन् । त्यसो गरेर कहाँ साद्दे हुन्छ र ! मेरा भाइछोराहरुले पनि मन पराउँदैनन् । सारा व्यवस्था नै भताभुङ्ग हुन्छ । तपाईं हामी चाहेर पनि उदार बन्न सक्तैनौँ । आफ्नो सामन्ती छवि राख्न सकेनौँ भने यहाँ हाम्रो मान्यता र महत्ता नै खत्तम हुन्छ । यो परम्परा हो यसलाई नाध्न मिल्दैन । सिद्धान्त भन्ने कुरा व्यवहारमा उतार्न कहाँ सकिन्छ र !”
काजी दाइका यस्ता कुरा सुनेर म अवाक् भएँ । उनले गर्ने गरेका समाजवादी र प्रगतिशील कुरा त देखावटी स्वाङ पो भन्ने मलाई लाग्यो । संवेदनशील, सहृदयी, भावुक र प्रगतिशील भनिएका कविमा त्यस दिन देखिएको क्रूर निष्ठुरता मैले कहिल्यै बिर्सन सकिनँ । पछि पनि काजी दाइले कहिलेकाहीं प्रगतिशीलताका कुरा गर्दा म उनीबाट भएको त्यो अप्रिय घटना सम्झाउने गर्दथेँ । त्यो बेला काजी दाइ निकै असजिलो मान्दथे ।
गोपाल पाण्डे ‘असीम’ र काजी दाइले २०२५ सालको भानुजयन्ती जनकपुरमा भव्य रुपले मनाउने सल्लाह गरेछन् । जनकपुरका लोकराज पाँडेको यस कुरामा निकै आग्रह पनि रहेछ । म जनकपुरसँग सम्बन्धित भएको हुँदा काजी दाइले जनकपुर जानेहरुमा मलाई पनि सामेल गरे । त्यसै वर्ष भानुभक्तलाई राष्ट्रिय विभूति घोषित गरिएको थियो । जनकपुरका जनक, सीता र राम आदिको गाथा गाउने भानुभक्तको जयन्ती जनकपुरमा मनाइनु निकै अर्थपूर्ण थियो ।
२०२५ असार २९ गते पन्ध्र जना जति कवि लेखकहरुको टोली गोपाल पाँडे र काजी दाइको नेतृत्वमा प्लेनद्वारा काठमाडौंबाट जनकपुर पुग्यो । सबैलाई शक्ति निकेतनमा राखिएको थियो । काजी दाइ, जनार्दन सम, गुमानसिंह चामलिङ र म एउटै कोठामा बस्नेमा पर्यौँ । बाहिर हिँड्नुअघि जनार्दन सम विशेष सिगारपटार गर्दा रहेछन् । क्रीम, पाउडर टीका आदि लगाएर लोग्नेमान्छेले सिंगार गरेको त्यसअघि नौंटड्ढीमा बाहेक अन्त कतै मैले देखेको थिइनँ । समको त्यस्तो सिंगार देख्ता चामलिङ र म छक्क परेका थियौं । अनि काजी दाइले त्यहीं भनेका थिए, “उहाँहरुको परिवार नै पाउडर परिवार भनिन्छ नि ! यो खान्दानी चलन हो । यसले सौन्दर्य बढाउने मात्र होइन उहाँहरुको व्यक्तित्वमा कलात्मक नाटकीयता झल्काउनसमेत यसबाट सहयोग पुग्दछ ।” काजी दाइका कुरा सुनेर जनार्दन सम हाँसे र आफ्नो मेकअप जारी नै राखे ।
तीन दिनसम्म जनकपुरमा विभिन्न कार्यक्रमसहित भानुजयन्ती मनाइयो । भानुभक्तबारे तराइबासीलाई जानकारी गराउन मात्र होइन राष्ट्रभाषा नेपालीको प्रचारका दृष्टिले समेत जनकपुरको भानुजयन्ती निकै सफल ठहरिएको थियो । राष्ट्रभाषा र साहित्यको प्रचार–प्रसार विकासका निम्ति आफूसक्तो लागिपर्ने स्वभाव काजी दाइको थियो । जनकपुरमा मनाइएको पहिलो भानुजयन्ती त्यसैको परिचायक थियो ।
२०२८ साल पुस २५ गते दिउँसो एक जना साथी लिएर काजी दाइ मलाई भेट्न आइपुगे । पहिलोपटक यसरी अचानक काजी दाइ आफैं आएको देखेर मलाई आश्चर्य र कौतूहल मात्र होइन केही अनिष्टको आशंका पनि भयो ।
भलाकुसारीपछि सासै नफेरी काजी दाइले भने– “प्रेमा शाहले एक जना भारतीयसँग बिहे गरिन्, थाहा पाउनुभो ! बिचरा तपाईंहरुका मित्र हेरेका हेर्यै भए, हामीले चाहेको कुरा भएन !” काजी दाइ त्यही नयाँ खबर सुनाउन हस्याङफयाङ गर्दै आएका रहेछन् । हाम्रो एक जना साथीसँग प्रेमा शाहको बिहा हुने सम्भावनाको चर्चा त्यो बेला काठमाडौँको साहित्यिक जमातमा चल्ने गथ्र्यो । काजी दाइ पनि त्यस्तो होस् भनेर शुभेच्छा राख्तथे, तर कुरो विपरीत भएकोमा काजी दाइ खिन्न थिए र मलाई पनि त्यो खिन्नतामा सामेल गराउने हतारले उनी आएका रहेछन् ।
भोलिपल्ट सबेरै म काजी दाइकहाँ अर्नेमा गएँ । दिनभरि बस्नेगरी आउने उर्दी उनको थियो । भीमसेन थापाबारे लेख्न थालेको खण्डकाव्यका अंश, सिराहा र त्यहाँको प्रमुख उत्पादन शिवबूटीबारेको ताजा कविता काजी दाइले सुनाए । आफ्नो जेलजीवन र क्रान्तिकारी राजनीतिकहरुसँगको सम्पर्कका संस्मरण पनि त्यो दिन उनीबाट सुन्न पाइयो । अर्नेमामा हाट लाग्ने दिन थियो त्यो । केहीछिन काजी दाइसँग हाट पनि घुमियो । दिनभरि काजी दाइको सङ्गत गरेर साँझतिर म ब्रह्मपुरी फर्केको थिएँ ।
अट्ठाइस सालतिरकै कुरा हो । भैरव अर्याल र म काजी दाइलाई भेट्न ओमबहालस्थित उनको घरमा गयौं । काजी दाइले एउटा डायरी हेर्न दिए । त्यो सुधाकर शर्मा नामक व्यक्तिको डायरी रहेछ । तिनले आत्महत्या गरेका रहेछन् । नायव सुव्बा कर्मचारी रहेछन् ती । त्यो डायरीमा निम्न वर्गीय कर्मचारी–जीवनको विषय भोगाइ, पारिवारिक कलहबाट उत्पन्न कुण्ठा अनि आत्महत्या गर्नुअघिको मनस्थितिबारे मार्मिक विचार र विवरण लेखिएका थिए । काजी दाइ सुधाकरसँग परिचित रहेछन् । उनले सुधाकर र तिनको आत्महत्याबारेका विभिन्न पक्षमा हामीसँग चर्चा परिचर्चा गरे । भैरव त्यो डायरीमा निकै डुबेका थिए र त्यसबारे अध्ययन गरेर केही लेख्छु भनेर केही दिनका निम्ति काजी दाइसँग मागेर त्यो लिएका पनि थिए ।
काजी दाइ राजसभा स्थायी समितिको सदस्य भएपछि हाम्रो आवतजावत निकै घट्यो ।
काजी दाइले त्यो दिन आत्महत्या गर्ने विभिन्न व्यक्तिका अनेक कुरा हामीलाई सुनाए । अनि अचानक ओछ्यानमा लम्पसार परेर सिरकले मुख छोप्दै भने– “मलाई पनि कहिल्यै नउठ्ने गरी मस्तसँग सुतिदिऊँ जस्तो लाग्छ, तर के गर्नु सुधाकरको जस्तो आँट गर्न सक्तिनँ ।” हामीले काजी दाइका ती कुरालाई हलुका हास्यका रुपमा लियौं, तर उनले निकै गम्भीरतासँग ती कुरा भनेका थिए । त्यो बेला उनमा त्यस्तो नैराश्य किन आएको थियो बुझ्न सकिएन ।
काजी दाइ राजसभा स्थायी समितिको सदस्य भएपछि हाम्रो आवतजावत निकै घट्यो । यसो कहिलेकाहीं कुनै गोष्ठी, सभा, समारोह आदिमा झल्याकझुलुक देखादेख मात्र हुन्थ्यो । एक किसिमले केही वर्ष हाम्रो सम्बन्ध औपचारिक मात्र रहन गयो भने पनि हुन्छ ।
२०४२ सालको गुणराज पुरस्कार मेरा पिताजीलाई दिने घोषणा भएको थियो । पुरस्कार वितरण देवघाटमा हुँदै थियो । पिताजीसँग म पनि २०४२ चैत १ गते देवघाट पुगेको थिएँ । काजी दाइ केही दिनदेखि त्यहीं बसेका रहेछन् । भेटघाट भयो । पिताजीसँग उनको धार्मिक आध्यामिक परिचर्चा भयो । मधुधाराका कविता सम्बन्धी पुराना रमाइला कुरा पनि दुई जनामा भए । देवघाटमा त्यो दिन निकै रमाइलोसँग बित्यो । भोलिपल्ट पुरस्कार वितरण थियो । काजी दाइ नारायणघाटमा जरुरी काम भएकाले सबेरै त्यता गए । देवघाटको भेटमा काजी दाइले यहीं एउटा सानु झुप्रो बनाएर जीवन बिताउन पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेका थिए । देवघाटबारे टाइप गरिएको कविताको पनि उनले हामीलाई दिएका थिए ।
काठमाडौँ फर्केको केही दिनपछि काजी दाइको फोन आयो । त्यो बेला उनी त्रिभुवन स्मारक समितिको अध्यक्ष थिए । समितिको कार्यालय महाडाङ्ल स्थानमा थियो । म काजी दाइलाई भेट्न त्यहाँ गएँ । काजी दाइसँग अरु मान्छे पनि थिए । काजी दाइले मेरा पिताजीको क्षेमकुशल सोधे । अनि मधुधाराको प्रसङ्ग झिक्तै भने– “१९९० देखि २००० सालसम्म कुमारी मधुधारा चर्चित कवयित्री थिइन् । हुलाकबाट तिनका कविता छापिन गोरखापत्र, शारदा आदि पत्रिकामा आएथे । अचेल तपार्इंहरुले पारिजात, प्रेमा शाह, बेन्जु शर्मा आदिलाई मन पराएजस्तै त्यो बेलाका हामी युवा कवि–लेखकहरु मधुधाराका फ्यान थियाैँ । तिनको तारिफ गरेर चिठी लेख्यौं । अधीर भएर उनको उत्तरको प्रतीक्षा गथ्र्यौँ । उत्तर आउँथ्यो र रमाइलो मानेर हामी पढ्थ्यौं । यस्तै पत्रव्यवहार चल्दाचल्दै २००० सालमा तिनले आफ्नो पलमा लेखिन्– ‘अब मेरो बिहा भयो पत्र व्यवहार गर्न मिल्दैन, क्षमा पाउँ ।’ यस्तो पढ्दा हामीलाई ज्यादै नमज्जा लागेको थियो । केही वर्षअघि गणेश भण्डारीले ‘प्रज्ञा’मा मधुधाराको नाममा साम्बभक्त सुवेदी र सोमनाथ घिमिरे व्यासले कविता लेख्थे भनेर रहस्योद्घाटन गरेपछि त म छाँगाबाट खसेजस्तै भएको थिएँ । साम्बभक्त र तपाईंका पिताजीले मधुधाराको नाममा कविता लेखेर हामीलाई झुक्याइदिएको र हामी सजिलै झुक्किएको सम्झँदा अहिले पनि मलाई ज्यादै नमज्जा लाग्दछ । मधुधाराको नामबाट पत्र व्यवहार गर्ने पनि तपाईंकै पिताजी हुनु हुँदोरहेछ । मधुधाराको मोहिनी रुप र रसिक माधुर्यको जुन छवि हाम्रो मनमा थियो त्यो अचानक गल्र्याम्म ढल्दा प्रेमराज र मजस्ता सम्पादकहरुको कस्तो हालत भयो होला? तपाईं आफैं सोच्नुस् !”
काजी दाइ त्रिभुवन स्मारक समितिका अध्यक्ष थिए । यस नाताले प्रायः उनी थानकोटको त्रिभुवन स्मारकमा नै बस्तथे । थानकोट प्रहरी चौकीबाट एक दिन काजी दाइले फोन गरेर सपरिवार अर्को दिन सबेरै उनीकहाँ आउन निम्त्याए । म भोलिपल्ट परिवार सहित थानकोट उनीकहाँ गएँ । दिनभरि जसो हामीले त्यहाँ बितायौं । त्रिभुवन स्मारक स्थलको विकास र विस्तार निम्ति भैरहेका काम काजी दाइले हामीलाई देखाए । परको नागढुङ्गबाट नौबिसेको, त्रिभुवन राजपथको ज्यादै सुरम्य दृश्य देखिन्छ भनेर हामीलाई देखाउन लगे । त्यहाँबाट देखिने मनोहारी दृश्य हेर्दे काजी दाइले त्यहाँको सौन्दर्यबारे लेखिएको कविता सुनाए । त्यसपछि हामी फेरि त्रिभुवन स्मारक नै फक्र्यौ । त्यहाँ वासु शशि काजी भेट्न आएका रहेछन् । दिनभरि जसो काजी दाइसँग बिताएर हामी साँझतिर घर फर्केका थियौं ।
प्रायःजसो साहित्यिक सभा समारोहमा काजी दाइलाई नै सभापति बनाइने चलन त्यो बेला थियो । जसले जहाँ अनुरोध गरे पनि काजी दाइको नाइँ भन्ने बानी थिएन । सभापति त हुन्थे, तर सभा विसर्जन गर्न उनले माइकबाट बोल्दा श्रोताले केही पनि बुझ्दैनथे । उनको बोली अस्पष्ट त थियो नै श्रोताहरु गफगाफमा लागेर गाइँगुइँ हुन थालेपछि त झन् ठयाम्मै तातोभुत्लो केही बुझिँदैनथ्यो । माइक अगाडि मुख चलाएको, हात हल्लाएको र फिस्स हाँसेको त देखिन्थ्यो, तर बोली सुनिने र बुझिने भन्ने कुराचहिं ठ्याम्मै हुँदैनथ्यो । यो बेला श्रोतादर्शकलाई कुनै मूक–फिल्मको दृश्य हेरेजस्तै हुन्थ्यो । काजी दाइसँग यस्तै सभापछिको जलपानमा मैले उपर्युक्त कुरा कोट्याएँ । काजी दाइले जवाफ दिए– “कसैले भाषा साहित्यबारेको सभामा मलाई सहभागी गराउँछ भने त्रैलोक्यकै सुख भोगेजस्तो अनुभव हुन्छ । यदि मेरो बोली बुभिँदैन र सुनिँदैन भने त्यो दोष मेरो होइन । आयोजकले नै यसबारे विचार गर्नुपर्छ । म त भाषासाहित्यको पुजारी हुँ, त्यसको पूजाअर्चना गर्ने अवसर कसैले दिन्छ भने म त्यो लत्याउन किमार्थ सक्तिनँ ।” उनका यी कुरा सुनेर म निरूत्तर भएको थिएँ ।
एक घण्टाजति काजी दाइकहाँ बसेपछि बिदा मागें । काजी दाइसँगको मेरो अन्तिम भेट त्यही भयो ।
काजी दाइ अस्वस्थ छन् भन्ने सुनेर २०४९ बैशाखको पहिलो साता म उनलाई भेट्न गएको थिएँ । उनी निकै शिथिल देखिन्थे । काजी दाइले मेरा पिताजीको स्वास्थ्यबारे सोधे । भैरव अर्यालका परिवारको स्थितिबारे सोधे । मेरा छिमेकी साहित्यकार लीलाध्वज थापाका परिवारको हालचाल सोधे । रचना प्रकाशित नभएको बारे पनि निकै चाख देखाए । धेरै वर्षपछि म काजी दाइको घरमा गएको थिएँ । त्यो नयाँ घर थियो सम्पूर्ण सुविधायुक्त, तर काजी दाइको पुरानो घरको जस्तो चिरपरिचित आत्मीयता मैले त्यस घरमा पाउन सकिनँ । उनको पुरानो घर साहित्यको मन्दिरजस्तो लाग्यो भने त्यो नयाँ घरचाहिं राजनीतिक दाउपेचकी अखडा झैं प्रतीत हुन्थ्यो । काजी दाइको मन त्यहाँ नरमाएर अन्तै टाढाको आलोकका छालमा छचल्किन आतुर भए झैं लाग्यो मलाई । एक घण्टाजति काजी दाइकहाँ बसेपछि बिदा मागें । काजी दाइसँगको मेरो अन्तिम भेट त्यही भयो ।
२०४९ जेठ २२ गते बिहान विजय चालिसेले फोन गरे । काजी दाइलाई अघिल्लो दिन शिक्षण अस्पताल लगिएको र भोलिपल्ट बिहान अस्पतालमा नै उनको निधन भएको सूचना विजयले दिए ।
काजी दाइलाई आफ्नो अन्त्यको आभास पहिल्यै भैसकेको रहेछ । अस्पताल जाने अघिल्लो दिन आफ्नी जेठी छोरीलाई फोन गरेर उनले भनेछन्, “मधु ! मलाई भेट्न आउँदिनस् ? अब मेरो जाने बेला लाग्यो !” उनेल प्राण त्याग्नुअघि अस्पतालमा पनि आफ्ना सम्बन्धितहरुसँग बिदा माग्दै भनेछन्, “आज म जाँदै छु नमस्ते !”
काजी दाइ बित्नुभन्दा दुई दिनअघि वासु पासा उनलाई भेट्न गएका रहेछन् । पासालाई उनले भनेछन्– “पासा ! मलाई लट्टेको साग खान साह्रै मन लाग्यो, खुवाऊ न !” पासाले साग किनेर ल्याई पकाउन लगाएर काजी दाइको त्यो इच्छा पूरा गरिदिएछन् । काजी दाइ बारेका यी कुरा सुन्दा मलाई कस्तो कस्तो नरमाइलो लागेको थियो ।
काजी दाइको अवसानपछि उनको पार्थिव देह एकेडेमीभित्र राखियो । उनका केही उत्तराधिकारीको राजनीतिक महत्वकाङ्क्षा पूर्तिका निम्ति काजी दाइको निर्जीव देहको अत्यघिक प्रयोग प्रदर्शन प्रज्ञा–प्रतिष्ठानमा जसरी भयो, अघिकांशलाई त्यो पचेन । काजी दाइलाई युग–कवि सिद्धिचरण श्रेष्ठ भनेर चिनाएको राष्ट्र भाषा नेपालीले हो, तर उनको अवसानपछि एक पक्षले उनलाई आफ्नै मात्र पेवाको रुपमा प्रस्तुत गरेर सिद्धिचरण श्रेष्ठको राष्ट्रिय मान्यतालाई नै खुम्चयाइदिएको थियो । यस्तो व्यवहार उनको गरिमा र प्रतिष्ठाको अनुकूल थिएन ।
काजी दाइले नेपाली भाषाको भण्डार समृद्ध पार्न प्रशस्त योगदान गरे । नयाँ र युवाले उनीबाट प्रोत्साहन पाउँदथे । भवानी भिक्षु, गोविन्द गोठाले, विजय मल्लजस्ता नेपाली साहित्यका प्रसिद्ध व्यक्तित्वलाई लेखनमा प्रेरित गर्ने मान्छे काजी दाइ नै थिए । भाषा र साहित्य निम्ति लागिपर्नेहरुप्रति सदैव सहयोग र समर्थनको सद्भाव काजी दाइको देख्न्थ्यिो । यी उनका अमल सद्गुण थिए भने प्रत्येक मानवमा भएजस्तै कतिपय दुर्गुण पनि उनमा नभएका होइनन् । कुराकानीमा उनी प्रगतिशीलताका समर्थक र अधिनायकवादका विरोधी देखिन्थे, तर आफ्ना ती विचारविरोधी आचरण उनी आफैं गर्दथे । उनी सामन्तवादी जमिनदारी संस्कारबाट मुक्त हुन पनि सकेका थिएनन् । अलोकतान्त्रिक सत्ताको हिमायतीका रुपमा पनि उनी प्रयुक्त भै नै रहे । परेको बेला उनी अरुबाट सहयोग त लिन्थे, तर त्यस्ता हितैषी सहयोगीप्रति सार्वजनिक रुपमा सद्भाव र कृतज्ञताका शब्द व्यक्त गर्न काजी दाइ निकै कञ्जुसी गर्दथे । यस्ता कमीकमजोरीलाई चाहिं काजी दाइका दुर्गणकै रुपमा लिनुपर्दछ, तर उनका गुणले यी अवगुणलाई ओझेल पारिदिएका छन् ।
सारांशमा युगकवि सिद्धिचरण श्रेष्ठका व्यक्तिगत चारित्रिक पक्ष केही विवादास्पद र दुर्वल देखिए पनि नेपाली वाङ्मयको चुली उठाउन जुन स्तुत्य साधना उनले गरे त्यसबाट नेपालीजगत्मा उनको नाम सदा चहकिलो र जीवन्त भइरहने छ । काजी दाइसँगको सात्रिध्य र सङ्गतलाई म आफ्नो जीवनको एउटा महङ्खवपूर्ण प्राप्ति नै ठान्दछु ।
(२०५६ को उत्तम शान्ति पुरस्कार प्राप्त यो कृति अजम्बरी पब्लिकेसनबाट आउँदो साता बजारमा आउँदैछ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।