रोचक घिमिरे

रोचक घिमिरे

केटाकेटी छँदा पिताजीको कोठामा बेला बेला उहाँका समकालीन साथी सँगातीहरूको जमघट भएको देख्दथेँ । त्यहाँ आउने व्यक्तिहरू को हुन् ? के गर्छन् ? भन्ने चासो हुँदैनथ्यो । सात–आठ वर्षको भएपछि मात्र मैले ती पाहुनाहरूको महत्त्वबारे अलिअलि जानकारी पाएँ । एकजोर व्यक्ति प्रायः सँगै आउने गर्नुहुन्थ्यो । तिनलाई पिताजी ‘साहिंला बाजे र काहिंला बाजे’ भन्नुहुन्थ्यो भने उहाँहरू चाहिं पिताजीलाई ‘पण्डितजी’ भन्ने गर्नुहुन्थ्यो । यसरी मैले पनि ती दुई व्यक्तिलाई त्यसै रूपमा चिनेँ । राणा प्रधानमन्त्री भीमशमसेरको टङ्गाल दरबारसँग सम्बन्धित हुनुहुन्थ्यो मेरा पिता–सोमनाथ घिमिरे व्यास । भीम शमसेरकी छोराबुहारी समुद्रकुमारी राणाकै सहयोगमा हाम्रो परिवार रामेछापबाट काठमाडौं आई टङ्गालमा घरजम गरेर बसेको थियो । टङ्गाल दरबारमा चालिसे थर भएकी एकजना महिला प्रायः सानी छोरी लिएर आउने गर्नुहुन्थ्यो । उहाँलाई दरबारका मान्छेहरू ‘नाकिनी बज्यै’ भन्दथे । छोरीहरूको नामचाहिं गायत्री र ज्योति थियो । सानी ज्योतिलाई मेरा पिताजी ‘दीपज्योति नमोस्तुते’ भनेर बोलाउने गर्नुहुन्थ्यो । नाकिनी बज्यैका दुई जना छोराको नाम जगन्नाथ र मदन थियो । मैले आमालाई सोधें–‘साहिंला बाजे र काहिंला बाजे को हुन् ? आमाले भन्नुभयो–दुवैजना नाकिनी बज्यैका भाइ हुन्; ज्योतिका मामा हुन् । पछि पिताजीबाट पो थाहा पाएँ– साहिंला बाजे–लक्ष्मीप्रसाद देवकोटा हुनुहुँदोरहेछ भने काहिंला बाजे उहाँकै भाइ मधुसूदन प्रसाद देवकोटा हुनुहुँदोरहेछ ।

देवकोटाकी ठाँहिली दिदी नाकिनी बज्यै हुनुहुँदोरहेछ । किन उहाँलाई नाकिनी बज्यै भनियो त्यो मैले बुझिनँ । महाकविसँग हाम्रो परिवारको निकटता नाकिनी बज्यैकै माध्यमले भएको होला भन्ने मलाई लाग्दछ ।

पिताजीका मित्र साम्बभक्त सुवेदी (साहित्यिक सहीद कृष्णलालका साला) मलाई घरमा पढाउन आउनुहुन्थ्यो । उहाँले साहिँला बाजेको साहित्यिक योगदानको बारेमा जानकारी दिनुभयो । मेरो बाल–सुलभ बुद्धिले के ठम्यायो भने यी राम्रा राम्रा सिलोक लेख्ने ठूला कवि रहेछन् । साम्ब गुरुबाटै ‘मुनामदन’ अरु पुस्तक र राम्रा कविताहरू लेख्ने कवि लक्ष्मीप्रसाद देवकोटा ठूला मान्छे हुन् भन्ने थाहा पाएँ मैले ।

मेरो स्मृति विम्बका महाकविलाई विविध घटनाका माध्यमबाट यहाँ प्रस्तुत गर्दैछु । आफ्नो स्मृति सन्दर्भका माध्यमबाट उहाँको स्वभावका विशिष्ट पक्ष र उहाँको जीवनका अनुद्घाटित केही प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक नै ठहरिएला ।


भीम समशेरका नाति सत्य समशेरको दार्जीलिङको टुनबारीमा चियाबगान थियो । नेपालका इष्टमित्रहरूलाई त्यहाँबाट चियाको कोसेली आउने गर्थ्यो । हामीकहाँ पनि काठका बाकसमा चियाका पोका आउने गर्थे । महाकविको घरमा चियाका पोका पु-याउन पिताजी मलाई पनि पठाउने गर्नुहुन्थ्यो । देवकोटाका भानिज; नाकिनी बज्यैका छोरा जगन्नाथलाई त नेपालमा त्यो चियाको विक्रेता नै बनाइदिनुभएको थियो पिताजीले । म चिया पु-याउन मैतीदेवीको घरमा गएको एक दिन महाकविले आफ्नी पत्नीसँग भन्नुभयो–‘पण्डितजीले त चिया खाने बानी नै पारिदिनुभयो ! त्यसमाथि ठाहिँली दिदीले पनि चिया पठाएर उपरिमाथि थुपरी पारिरहनुभएको छ ! अब त चियाको लत नै बस्यो बा !’ महाकविको परिवारमा चिया प्रवेश यसरी भएको रहेछ भन्ने अड्कल काटेँ मैले ।


पिताजीको कोठामा एकदिन भएको जमघट मेरो मनमा ताजा छ अहिले पनि । पिताजीको रुचि सङ्गीतमा पनि थियो । हारमोनियम, तबला, बाँसुरी, खैंजडी जस्ता वाद्ययन्त्र बजाउनुहुन्थ्यो उहाँ । शास्त्रीय सङ्गीत घन्कन्थ्यो कोठामा । त्यस दिनको जमघट त विशेष नै थियो । महाकवि; उहाँका भाइ मधुसूदन, योगी नरहरिनाथ, जनकलाल शर्मा र साम्बभक्त सुवेदीको उपस्थिति त्यहाँ रहेको सम्झना छ मलाई । महाकवि हारमोनियम बजाउँदै गाउँदै हुनुहुन्थ्यो । पिताजीका हात तबला ठोकिरहेका थिए, जनकलाल जाने पनि नजाने पनि बाँसुरी फुक्दै हुनुहुन्थ्यो । योगीजी र साम्ब गुरु हा…हा…गर्दै शब्दले ताल दिइरहनुभएको थियो । महाकविका मुखबाट त्यो बेला निस्केका गीतका दुई पंक्ति मात्र म अहिले सम्झन्छु । शास्त्रीय स्वरूपमा लय हालेर उहाँ यसरी गाउँदै हुनुहुन्थ्यो–‘तन्त्र तँ पर जा ! पर जा तन्त्र ! मन्त्र जपी तपी आ !’ यिनै गेडालाई प्रमुखता दिएर उहाँले तन्मय भएर विभिन्न भावभङ्गिमामा निकैबेर गीत सुनाउनुभयो । हामी केटाकेटीहरू ढोकाको छेउमा उभिएर त्यो तमासा रमाइलो मानेर हेरिरहेका थियौं । भर्खर प्रजातन्त्र आएको बेला राजनीतिक दलहरूले देखाएका अवाञ्छित कार्यकलाप र प्रजातन्त्रको खोलमा आएका विकृतिमाथि व्यङ्ग्य गर्दै रचना गरिएको कविताका पंक्ति होलान् यी भन्ने मलाई लाग्दछ अचेल । यो कविता उहाँको सङ्कलनमा भए नभएको जानकारी मलाई छैन ।


मेरा पिताजीको ‘आशौच विज्ञान तथा घिमिरे वंशावली’ नामक पुस्तक छापिने क्रममा थियो । त्यसैको पाण्डुलिपि मिलाउँदै हुनुहुन्थ्यो उहाँ । त्यसैबेला महाकविजी भाइ मधुसूदनसहित आइपुग्नुभयो । कुराको प्रसङ्गमा त्यो पाण्डुलिपि उहाँहरूलाई देखाउनुभयो पिताजीले । महाकविले सर्सर्ती त्यसमा नजर दौडाउनुभयो । अनि पिताजीसँग कागत माग्दै भन्नुभयो–‘म यसको भूमिका लेखिदिन्छु !’ पिताजीले आफ्नो लेटरप्याड र कलम दिनुभयो । महाकविले भन्नुभयो–‘लीला समशेरले मलाई उपहार दिएको अंग्रेजी फाउन्टेन पेन छ मसँग, त्यही अंग्रेजी कलमबाट अंग्रेजीमा भूमिका लेखिदिन्छु ! कलम चाहिंदैन ।’ यति भन्दै सरर्र दुई पानामा लेखेर पिताजीलाई दिनुभयो ।

‘‘यो नेपाली र संस्कृतमा लेखेको पुस्तकको भूमिका नेपालीमै लेखेको भए राम्रो हुन्थ्यो अंग्रेजीमा किन ?’’ पिताजीको यस्तो प्रश्नको जवाफमा महाकविको भनाई थियो–‘‘यो जमाना अंग्रेजीबाजहरूको हो, अंग्रेजीमा लेखेपछि यस पुस्तकको महत्त्व बढ्छ, तपाईंको पुस्तकको महत्त्व बढाउन मैले अंग्रेजीमा लेखेको हुँ ।’’

महाकविको त्यो भूमिका २०१५ सालमा प्रकाशित त्यस पुस्तकमा रहेको छ । त्यसको पाण्डुलिपि मसँग अहिले पनि सुरक्षित छ । अन्त्यमा आफ्नो नाम लेख्ने क्रममा महाकविले आफूलाई ‘समटाइम एजुकेसन मिनिस्टर’ भनेर पनि लेख्नुभएको छ । महाकविले अंग्रेजीमा लेखेको भूमिका यही मात्र हो कि अरु पनि छ अनुसन्धानको विषय हुनसक्छ त्यो ।


महाकवि प्रायः काहिंला भाइलाई लिएर नै हामीकहाँ आउनुहुन्थ्यो । उहाँ एक्लै आउनुभएको सम्झना छैन मलाई । त्यसदिन पनि उहाँहरू दुईजना पिताजीलाई भेट्न आइपुग्नुभयो । बिहानको समय र जाडो याम थियो । महाकविले दौरा सुरुवाल, बाक्लो कोट, मख्खी बुट्टे टोपी र गलेबन्दी लगाउनुभएको थियो । पिताजीसँग कुराकानी सकेर उहाँहरू तल ओर्लनुभयो । जुत्ता तलै राख्ने चलन थियो । दुवै भाइले जुत्ता लगाउनुभयो । पिताजी पनि बिदा गर्न तलै आउनुभएको थियो । महाकवि हिड्न लाग्दा दाहिने गोडाको जुत्ताको तलुवा पूरै जस्तो खुस्किएको र लगाएर हिड्नै नसकिने स्थितिमा पुगेको देखियो । तैपनि त्यही जुत्ता लगाएर ल्याफ्र्याक् ल्याफ्र्याक् गर्दै हिड्ने सुर कस्नुभयो महाकविले । पिताजीले भन्नुभयो–‘‘साहिंलाबाजे ! म अर्को जुत्ता खोज्छु !’’ महाकविलाई बल्लबल्ल मनाएर पिताजी जुत्ता खोज्न थाल्नुभयो । आफ्ना श्रद्धेय मित्रलाई पुरानो जुत्ता दिएर अनादर गर्न पिताजीको आत्माले मानेन । नयाँ जुत्ता कतै भेटिएन । यस्तै गम्भीर स्थितिमा पिताजीलाई झट्ट सम्झना भएछ–हिजो मात्र किनेको धागोको तलुवा भएको कपडाको चट्टी ! काठमाडौंमा घरभित्र त्यस्तो चट्टी लगाउने चलन निकै थियो त्यसबेला । स्याण्डल अथवा चप्पल यहाँको बजारमा आइसकेको थिएन । पिताजीले त्यही नयाँ एकजोर चट्टी ल्याएर महाकविको खुट्टा अगाडि राख्तै भन्नुभयो–‘‘यो लगाएर जानुस् !’’ हार्न नसकी त्यही चट्टी लगाएर फ्याट् फ्याट् गर्दै महाकवि हिड्नुभो । त्यो बेलासम्म मैले महाकविको महत्व र मर्यादा बुझिसकेको थिएँ । महान् प्रतिभाले छोडेको यो जुत्ता पनि संग्रहणीय र अमूल्य निधि हो भन्ने मलाई लाग्यो । त्यो एकजोर जुत्ता सुरक्षित रूपमा राखें मैले । मेरा भाइ बहिनीहरू पनि नेपाली साहित्य र महाकवि देवकोटाको महत्व बुझ्न सक्ने उमेर र बुद्धिका भैसकेका थिए । महाकविको निधनपछि देवकोटा जयन्ती मनाउने प्रचलन हाम्रो घरमा पनि सुरु ग¥यौं । महाकविका तिनै जुत्तालाई पिर्कामाथि राखेर मखमलीे फूलको माला लगाइदिएर प्रणाम गर्दै उनकै कविताका पंक्ति पढ्दै श्रद्धाञ्जली चढाएर प्रत्येक वर्ष लक्ष्मीपूजाका दिन देवकोटा जयन्ती मनाउने क्रम थाल्यौं हामीले ।

केही वर्षसम्म यो क्रम चल्यो । मेरा भाइहरू अध्ययनको क्रममा बनारस तर्फ गए । म पनि आफ्नो व्यवहार र खेतीपातीका सन्दर्भमा २,३ वर्ष पूरा जनकपुर र सिराहामा बसें । पिताजी पनि काम विशेषले कलकत्ता र बनारस तिरनै धेरै समय बिताउनुहुन्थ्यो ।, २०२८ सालको लक्ष्मी जयन्तीका दिन म काठमाडौं थिएँ । महाकविका ती जुत्तालाई पूजा गरेर जयन्ती मनाउन जुत्ता राखेको ठाउँमा खोजें । तर ती जुत्ता पाइएनन् । घरको हेर विचार गर्न राखेको मान्छेले महत्व नबुझेर, काम नलाग्ने थोत्रा जुत्ता ठानेर फ्याकिदिएछन् । ज्यादै नै थकथक लाग्यो मलाई । आफूसँग भएको दुर्लभ सम्पदा गुमेको अनुभूतिले रन्थन्यायो निकैदिन । यसपछि महाकविको तस्वीरलाई माला लगाएर देवकोटा जयन्ती मनाउन थाल्यौं हामीले ।


क्यान्सर रोगले थलिएका महाकविलाई उपचार निम्ति २०१५ सालमा कलकत्ता लगियो । मेरा पिता पनि सो बेला कलकत्तामा बस्नुहुन्थ्यो । बिरामी महाकविलाई अस्पताल भर्ना गरिएको खवर सुनेर पिताजी भेट्न जानुभएछ । त्यहाँ श्रीमती मन देवकोटा, महाकविका भाइहरू–मधुसूदन देवकोटा, गोपी माधव देवकोटा र महाकविकी पुत्री पनि हुनुहुदोरहेछ । पिताजीलाई देखेर बिरामी महाकविको ओइलाएको मुहारमा अलिकति मुस्कान छाएछ । स्वास्थ्य सम्बन्धी जानकारी लिएर पिताजी फेरि आउने वाचा मार्दै विदा हुनै लाग्नुभएको बेला महाकविले भन्नुभएछ–‘‘पण्डितजी ! म यो बङ्गदेशमा मर्न चाहन्न, मेरो स्वास्थ्यमा कुनै सुधार छैन, म आफ्नै मुलुकको पाशुपत तीर्थमा, वागमती तटमा पुग्न आतुर भएको छु । ल्याएको खर्च सकियो, मलाई काठमाडौं जान सहयोग गर्नुस् !’’ महाकविको इच्छानुसार पिताजीले पाँचशय भा.रु दिनुभएछ । सो रुपियाँ लिएबापत् कागज लेख्न भाइ मधुसूदनलाई अराउन लाग्नुभएछ महाकवि । मेरा पिताले सो कुरा अस्वीकार गर्दै भन्नुभएछ–‘‘तपाईंको व्यक्तित्वलाई पत्याएर मैले यो सहयोग गरेको हुँ, तमसुकलाई पत्याएर दिन खोजेको होइन; साहिंला बाजे ! तमसुक लेखेर मलाई लज्जित नपार्नुस् !’’ तैपनि महाकविले आफू नजिक रहेका ३,४ ओटा पुस्तक पत्रिकाहरूमा–मैले पण्डित सोमनाथ घिमिरेसँग पाँच सय कं.रु. सापट लिएको छु भनेर लेख्तै पिताजीलाई भन्नुभएछ–‘‘तपाईंले कागज लिन मान्नुभएन, यति भएपछि म नरहे पनि यो देखेर मेरा परिवारले तपाईंको पैसा तिरिदिनेछन् ! मलाई शान्ति मिल्नेछ ।’’

यसपछि परिवारसहित महाकवि काठमाडौं आउनुभयो । केही दिनपछि पिताजी पनि काठमाडौं आउनुभयो । आफूले सहयोग गरेपछि महाकविले तमसुक लेखेर दिन खोजेको र आफूले नमानेको सबै वृत्तान्त पिताजीले हमीलाई सुनाउनुभयो र भन्नुभयो–‘‘त्यो पैसा माग्न अथवा ताकेता गर्न तिमीहरू नजानु नि ! उहाँहरूले आफैं दिए मात्र लिनू ।’’


यस घटनाको केही पछि पिताजी फेरि कलकत्ता जानुभयो । महाकवि घरैमा आराम गरिरहनुभएको थियो । एकदिन दिउँसो मधुसूदन देवकोटा हाम्रो घरमा आउनुभो र मलाई भन्नुभो–भोलि बिहान दाजुकहाँ भेट्न आउनु, बोलाउनुभएको छ । मैले ठानेँ महाकविले त्यही सापटी फिर्ता गर्न बोलाउनुभएको होला । म भोलिपल्ट बिहान महाकविको मैतीदेवीस्थित निवास कविकुञ्ज गएँ । काहिंला भाइ मधुसूदन पनि त्यहीँ हुनुहुन्थ्यो । महाकवि ओछ्यानमा पल्टिरहनुभएको थियो । मलाई देखेपछि उठ्नुभो । भाइसँग कागज र कलम मागेर लेख्न थाल्नुभो महाकवि । मेरा हजुरबाको नाम सोध्नुभो । मेरो बोलाउने नाम ‘आत्मा’ मात्र थाहा थियो उहाँलाई, न्वारनको नाम सोध्नुभो । मैले बताएँ । कागज लेखिसकेपछि मलाई दिँदै महाकविले भन्नुभो–‘‘बाबु ! यो कागज राख्नू, तर पण्डितजीलाई नभन्नू नदेखाउनुू, वहाँले कागज लिन मान्नुभएन, मलाई यो नलेखी शान्ति भएन, ब्रम्हस्वमा परिएला भन्ने चिन्ताले सताइरहेछ मलाई ! परेको बेला मात्र यो कागज झिक्नू, नत्र कसैलाई नदेखाउनु है !’’

कागज बोकेर हिँडे म । बाटैमा हेरेँ–महाकविको हस्ताक्षरमा त्यो कागजमा यस्तो लेखिएको थियो–‘‘श्रीकान्तको नाति, पण्डित सोमनाथको छोरा का.ई. टङ्गाल बस्ने वर्ष १५ को घनानाथ घिमिरेसँग आजका मितिमा कम्पनी रुपियाँ पाँच सय ऋण लिएको छु । म्यादभित्र यो तिर्न नसके लीला शमशेर ज.व.राले मलाई बकसपत्र गरी दिएको का.ई.जमलको यति चारकिल्ला भित्रको आधा रोपनी जग्गा तपाईं साहुले भोगचलन गरी लिए मलाई मञ्जुर छ ।’’ यस्तै बेहोरा भएको रीतपूर्वकको तमसुक थियो त्यो । साक्षीमा भाई मधुसूदनलाई सही गराइएको थियो, दायाँ बायाँ र पुछारमा महाकविले सहीछाप गर्नुभएको थियो । त्यस्तो कागत पढिसकेपछि आफ्ना खुट्टाले भुइँ छोडेको अनुभव भयो मलाई । मेरो केटौले बुद्धिमा मात चढ्न लाग्यो । त्यत्रा ठूला कवि मेरा ऋणी भए, म उनको साहू भएँ भन्ने घमण्ड चढ्यो ममा । कसैलाई पनि नभन्नू भनेर वाचा बँधाएका हुँदा यो कुरा मैले आफूभित्रै सीमित राखेँ । पिताजी त कलकत्तामै हुनुहुन्थ्यो । यहाँ भए पनि वहाँलाई भनेको भए ‘साहिंला बाजेले कागज गर्छु भन्दा आफूले नमानेको, आफ्नै छोराले चाहिं यस्तो तमसूक लिएछ; भनेर रिसाउनुहुन्थ्यो र पक्कै त्यो कागज च्यातिदिनुहुन्थ्यो । पाँच सय भा.रु.मा जमल जस्तो ठाउँको आधा रोपनी जग्गा पाउने सम्भावना भएको त्यो कागज त्यसै त महत्त्वपूर्ण छँदैथियो, त्यसबाहेक नै पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको हस्ताक्षरको त्यो तमसूक मेरा निम्ति निकै ठूलो उपलब्धि थियो भन्ने कुरा बुझेको थिएँ मैले । पैसा अथवा जग्गा पाए पनि नपाए पनि त्यो महत्त्वपूर्ण कागज आफूसँग सुरक्षित रहोस् भन्ने चाहेको थिएँ मैले । कागजबारे महाकवि, वहाँका भाइ मधुसूदन र मबाहेक कसैलाई थाहा थिएन ।

मलाई त्यस्तो तमसूक लेखेर दिएको केही दिनपछि नै महाकवि निकै थलिएर शान्तभवन अस्पताल भर्ना हुनुभयो । अस्पतालमा वहाँलाई हेर्न म दुई पटक गएँ । त्यस्तो अशक्त अवस्थामा पनि मलाई देखेपछि महाकवि आफ्नी पत्नी र भाइ मधुसूदनलाई भन्नुहुन्थ्यो–‘‘पण्डितजीको रिन तिरीदेऊ है ! मलाई ब्रम्हस्व नलागोस् !’’ वहाँलाई भेट्न जाँदा त्यै रिनको कुरा सम्झनु हुँदोरहेछ, झन् पीडा दायक हुँदोरहेछ भन्ने मलाई लाग्यो र पछि म अस्पताल गइनँ । अन्तिम अवस्थामा पुगेपछि महाकविलाई पशुपति आर्यघाट लगियो । साथी बाबुराम पौडेल र म २०१६ साल भदौ २९ गते बिहान वहाँलाई हेर्न गयौं ।

निधारमा पशुपतिको चन्दन लगाइदिएर सुताइएका महाकवि हात जोडेर आगन्तुकहरूलाई नमस्कार गरिरहनुभएको थियो । तारको पङ्खा र ग्लुकोजको बट्टा पनि त्यहीँ थिए । श्रीमती देवकोटा नजिकै हुनुहुन्थ्यो । त्यही बेला मदनमणि दीक्षितले महाकविको तस्वीर खिच्नुभयो । त्यसै दिन साँझ ६ बजेतिर महाकविको निधन भएको खबर सुन्यौं । अन्तिम अवस्थामा खिचिएको मदनमणि दीक्षितको हस्ताक्षर समेतको त्यो तस्वीर मसँग छँदैछ ।


महाकविको निधन भएपछि सरकारले वहाँलाई लागेको २२ हजार रिन तिरिदिने, अन्तिम संस्कारका निम्ति रु. तीन हजार दिने र महाकविका दुई जना छोरालाई बालिग नहुन्जेल प्रत्येकलाई १०० रुपियाँ भत्ता दिने निर्णय ग-यो । एकदिन बिहान मधुसूदन देवकोटा म कहाँ आउनुभयो र जेठा दाजु लेखनाथ देवकोटाकहाँ भोलि दिउँसोतिर जानू भन्नुभयो । म निर्धारित समयमा डिल्लीबजार धोवीधारास्थित लेखनाथ देवकोटाको घरमा गएँ । भाइले लिएको रिन तिर्न डाक्नुभएको रहेछ । वहाँले भन्नुभयो, ‘‘पण्डितजी त कलकत्तामै हुनुहुँदोरहेछ । भाइले पाँच सय भा.रु. वहाँसँग लिएको रहेछ ! लौ बाबु यो रकम लैजानुस् ! कुनै कागज भाइले लेखिदिएको छ भने त्यो फिर्ता दिनुस् !’’ लेखनाथ देवकोटाका यी कुरा सुनेपछि मेरो सपना भताभुङ्ग भयो । महाकविको त्यस्तो कागज छैन भनौं भने झुठा ठहरिने ! मधुसूदन देवकोटालाई समेत यो कुरा थाहै छ ! आउन लागेको रकम माया मारेर त्यो कागज राख्ने कुरा पनि भएन । पछि पिताजीलाई थाहा भयो भने झन् मेरो दुर्गति हुन्छ । यस्तै सोचेर मैले भनेँ– ‘‘कागज त छ तर घरमा नै छुट्यो म लिएर आउँछु !’’ घर आएर महाकविको त्यो तमसूक लिएर फेरि म पुगेँ लेखनाथ देवकोटाकहाँ । वहाँले त्यो कागज हेर्नुभो, मलाई पाँच सय भा.रु. दिनुभो र मेरै अगाडि ध्वार्र कागज च्यातेर फालिदिनुभो । मलाई कसैले आफ्नै छाति करौंतीले चिरेर फालिदिए जस्तो लाग्यो । अहिलेको जस्तो त्यो बेला फोटोकपि गर्ने प्रविधि थिएन । कागजको तस्वीर चाहिं खिच्न सकिदोरहेछ तर त्यो बेला त्यस्तो बुद्धि आएन । यसरी महाकविको त्यस्तो अत्यन्त महत्त्वपूर्ण र मूल्यवान् कागज मेरो हातबाट गुम्यो । आफ्नो जीवनको यो एउटा ज्यादै पीडादायी घटना ठानेको छु मैले । पहिले त त्यो कागजबाट ममा अहम् पना हुर्केको थियो । तर पछि महाकविसँग आफ्नो परिवारको निकटता देखाउने मूल्यवान् चिनोको रूपमा लिएको थिएँ मैले त्यस तमसुकलाई । त्यो महत्त्वपूर्ण प्रसङ्गको अन्त्य त्यसरी विषादमय बनेको थियो । महाकविको त्यो तमसुकबारे मैले आफ्ना पिताजीलाई पनि वहाँको जीवनकालमा कहिल्यै बताइनँ । अरुलाई पनि थाहा दिइनँ । कुरा थाहा पाउने मधुसूदन देवकोटा पनि उहिल्यै दिवंगत भैसक्नुभयो, सर्वप्रथम यहीं उद्घाटित गरेको हुँ त्यो अनुद्घाटित तमसुक प्रसङ्ग ।

महाकविलाई लीला समशेरले बकस दिएको विश्वज्योति हलसँगैको जमलको त्यस्तो मूल्यवान ठाउँको जग्गा, जुन आज करोडौंको सम्पत्ति हुनेथियो त्यो के भयो ? कवि परिवारले भोग गर्न पाए वा पाएनन् त्यो मलाई थाहा छैन । यो एउटा खोजीको विषय हुनसक्छ आजको पुस्तालाई ।


महाकवि विषयको अन्तिम प्रसङ्ग उल्लेख गरेर यो संस्मरण टुङ्ग्याउन चाहन्छु । २०२४ सालमा कवि क्षेत्रप्रताप अधिकारी ‘रचना’ को सम्पादक मण्डलमा हुनुहुन्थ्यो । साझा प्रकाशनका जी.एम. हुनुहुन्थ्यो त्यो बेला उहाँ । एकदिन अधिकारीले भन्नुभो, ‘‘ महाकविको एउटा महत्त्वपूर्ण समालोचनात्मक लेख प्रज्ञा प्रतिष्ठानमा थन्किएको रहेछ । त्यो प्रकाशमा नआई त्यत्तिकै हराउने सम्भावना देखियो के गर्ने ?’’

त्यो बेला बालकृष्ण सम प्रज्ञामा उपकुलपति हुनुहुन्थ्यो । समले लेखनाथ पौडेलको ‘तरुण तपसी’ मा लेखेको भूमिकासँग विमति जनाएर महाकविले लेखेको–‘तरुण तपसी प्रदक्षिणा’ शीर्षकको लेख रहेछ त्यो । उपकुलपतिले अड्काएको त्यो लेख ‘रचना’ मा छाप्ने तारतम्य मिलायौं हामीले । प्रज्ञाबाट त्यसको टाइप गराएर उपकुलपतिको जानकारी बिना नै हामीले हात
पा-यौँ । स्रोतबारे प्रश्न उठ्ने सम्भावना देखेर आफ्ना पिताको पाण्डुलिपि रु.१००/– पारिश्रमिक लिएर ‘रचना’ मा प्रकाशनार्थ दिएको स्वीकृतिपत्र महाकविका छोरा पद्मप्रसाद देवकोटाबाट लियौं । ‘रचना’ पूर्णाङ्क १४ (२०२४) मा त्यो प्रकाशित भयो ।

समालोचनामा समेत महाकविको दक्षता प्रमाणित गर्ने सो लेख अत्यधिक चर्चित भयो । पछि साझा प्रकाशनले ‘स्रष्टा देवकोटा द्रष्टा परिवेशमा’ शीर्षक पुस्तकमा सो लेख समावेश ग-यो । तर कसरी कहाँबाट प्राप्त भयो स्रोतबारे कुनै जानकारी दिइएन । सम्पादकले पनि त्यसबारे केही खुलाएको देखिएन । काम गर्ने हनुमान् जस पाउने ढेडु उखान चरितार्थ भयो त्यस घटनाबाट ।

नेपाली साहित्याकाशका विराट् प्रतिभा महाकवि देवकोटासँग आफ्नो परिवारको निकटता रहनु मेरानिम्ति निकै ठूलो गर्वको कुरा हो । आफ्नो प्रातिभ ज्योतिले नेपाली वाङमयलाई आलोकित पारिरहेका महाकवि देवकोटाको स्मृति मात्रले पनि हाम्रो जीवनमा सदैव आलोक छरिरहने छ ।

विख्यात भारतीय साहित्यकार डा. शिवमङ्गल सिंह सुमनको महाकवि देवकोटा बारेको टिप्पणी अत्यन्त सारपूर्ण लाग्दछ मलाई । डा.सुमन लेख्छन्–‘‘ नेपाली साहित्यमा देवकोटाको आविर्भाव एउटा घटना थियो भने वहाँको महाप्रयाण एउटा इतिहास बन्यो । निस्सन्देह विश्व कविहरूका पंक्तिमा वहाँको पनि आसन छ । यस्तो अभावको क्षतिपूर्ति सजिलै हुन सक्तैन । यस्तो युगान्तकारी प्रतिभा पाउन राष्ट्रले फेरि उत्सर्गशील तपस्यामा रत हुनुपर्छ । यिनै एउटा कविलाई पाएर नेपाली साहित्य सधैँका लागि विश्व साहित्यको समकक्षी भएर गौरवान्वित भएको छ ।’’

यिनै भावनासँग सहमत हुँदै महाकविमा हार्दिक शब्द श्रद्धा अर्पण गर्दछु ।

९ असोज, २०६५
गहनापोखरी, टङ्गाल, काठमाडौं