महापुरुष

मूलः इरेना आयोनिन्दु अद‌मिन्दु
अनुवादः गोविन्द गिरी प्रेरणा

जब उसले आफ्ना स्कूले साथीहरूलाई ‘संगठन’को बारेमा क्यै नबताउन अनुरोध गर्यो, तिनीहरूले उसलाई ‘महापुरुष’ भनेर उपनाम राखे।
“तर म त ‘महापुरुष’ होइन । एक मुक्का हान्नेबित्तिकै म सबथोक ओकल्नेछु ।”
“किन ?”
“किनभने म पीडा खप्नै सक्दिनँ ।”
“त्यसो भए तिमी मूर्ख हौ ।”
“त्यो म जान्दिनँ । तर म नरा‌म्रोसँग आत्तिन्छु ।”
“कुनै दिन तिमी मानिस बन्नेछौ भन्ने कुरामा विश्वास छैन ?”
उसले यी सब कुरामा मतलब राखेन, बरू मुस्कायो ।
“म आशा गर्छु, कुनै एक बन्नेछु ।”
“तिमी महापुरूष बन्नेछौ जसरी भए पनि !”
त्यहाँ उसलाई घेरेर बसेका थुप्रै केटाहरूको हुलको हाँसोको लहर कोलाहल बनेर फैलियो ।
“कृपया मलाई गलत नसम्झ !” मैले भनिसकें- “नत्र भने मैले गोप्यता भङ्‌ग गर्ने खतरा सधैं रहनेछ ।”
ऊ सधैँ सानो, ख्याउटे र शान्त प्रकृतिको बालकझैं देखिन्थ्यो । त्यस दिनसम्म त उसलाई छुचुन्द्रे मुसासमेत भनिन्थ्यो ।
“जे होस्, म आफ्नै किसिमले सहयोग गर्न सक्छु !” उसले एक्कासि भन्यो।
“अहो ! के हो त्यस्तो तिम्रो सहयोग गर्ने तरिका?” सबैले एकसाथ उत्सुकता देखाए ।
“मेरो बासँग प्रशस्त पैसा छ।”
उसले आफ्नो टाउको झुकायो मानौं ऊ लज्जित भइरहेछ । तिनीहरूले ऊ धनी हुनु प्रतिको आश्चर्यलाई लुकाउन सकेनन् ।
“तिम्रो बाले कसरी ल्याउँछन् पैसा?”
“आफ्नो कामबाट ल्याउँछन् ।”
“त्यस्तो काम के हो हँ ?” अरूहरूले उल्ल्याउने किसिमले सोधे ।
“उहाँ जहाजको मालिक हुनुहुन्छ ।”
यो कुनै मेघ गर्जेको आवाज झैं अनुभव भयो तिनीहरूलाई । केही क्षणको मौनतापछि तिनीहरू स्नेहपूर्वक कराए, उसले भनेको कुरा नपत्याएर, “तिमी झूठ बोल्दैछौ ।”
ऊ हाँस्यो, “मैले झूठ बोल्नुपर्ने कारण नै के छ? जे होस्, त्यो महत्त्वपूर्ण कुरा होइन । मैले व्यर्थैमा विस्तृत कुरा भनें । मुख्य कुरा त, मेरो बुवाले ‘संगठन’ को लागि पैसा दिनुहुन्छ।
“यदि उहाँले सहयोग गर्न मान्नु भएन भने नि ?”
“मैले भनेको मान्नुहुन्छ ।”
“त्यसो भए तिम्रो बुवाले तिमीले जे भने पनि मान्नु हुन्छ त ?”
“त्यो त मेरो गल्ती हैन । म जस्तो छु, त्यही हुँ । कृपया मलाई निराश नपार । म हुतिहारा छैन।”
“तिमीलाई कसले हुतिहारा भन्यो र ? तिमी त महापुरुष हौ।”
उसले यस्तो केही पनि प्रदर्शन गरेन जसले उनीहरूले उसलाई उपनाम राख्नुको कारण दुःखी भएको देखियोस् । उनीहरूले पनि न त्यसबेला न त्यसपछि नै यो उपनामले बोलाउने काम गरे।
उसले आफ्नो प्रति‌ज्ञा पूरा गरिरह्यो पैसा ल्याउने । धेरै पैसा ल्याउने । ऊ सधैं कक्षा सकिनेबित्तिकै बन्द खाम टेबुलमा छाडेर हिँड्‌थ्यो । त्यो पैसा कसले लिन्छ, उसले त्यो पनि कहिल्यै हेरेन । उसले हेर्न चाहेन पनि । उसले यसकारण हेर्न चाहेन किनकि उसले आफू आफैँलाई विश्वास गर्न सक्दैनथ्यो ।

उसका सहपाठीहरूले उसलाई ‘महापुरुष’ भनेर बोलाउने क्रम शुरू गरे मानौं तिनीहरूले उसको वास्तविक, नाउँ नै बिर्सिसकेका हुन् । बिस्तारै तिनीहरूले उसले ‘संगठन’मा संलग्न हुन नचाहेको इच्छा स्वीकार गरे । तिनीहरूको उसप्रतिको दृष्टिकोण बदलियो । तिनीहरूले उसलाई हतोत्साह गर्ने काम गरेनन् । तिनीहरूले वास्तविकताप्रति अनभिज्ञ रहेर बढी सुरक्षित हुने उसको उपाय ठीकै ठाने । समयको प्रवाहसँगै उसको उपनाम पनि हरायो र शेष रहयो- मात्र जर्ज, माइकल, निकोलस ….. महापुरुष इत्यादि ।
एउटा त्यस्तो दिन पनि आयो- उसले आफूलाई बर्दीधारी सैनिकहरूले घेरिएको पायो । उसले तिनीहरूलाई मुस्कानरहित अनुहार‌ले पालैसँग सहानुभूति पाउने आशासहित हे-यो । पर्चा छाप्ने मेसिन कहाँ लुकाइएको छ, त्यो उसलाई सोध्ने कल्पनासमेत गर्दैनन् भन्ने सोचेर झण्डै ऊ हाँस्यो । वास्तवमा उसले पर्चा देखेकै हो, सबैले देखेकै हुन् । तिनीहरूले पर्चा स्कूलमा ल्याएर बाँड्‌थे तर ऊ भने यी सब क्रियाकलापबाट सधैँ पृथक् भै रह्यो ।
सैनिक अधिकृतले झोंक्किदै सोध्यो, “तैंले क्यै पनि देख्या छैनस्, तँलाई क्यै थाहा छैन भन्ने कुरा हामी कुनै पनि हालतमा विश्वास गर्दैनौं भन्ने शायद तैंले सोच्या छैन होलास्, हैन ?”
महापुरुष मज्जाले हाँस्यो खित्का छोडेर ।
“तर तपाईंले मलाई विश्वास गर्नै पर्छ । म यस्तो कुरामा कहिल्यै पनि संलग्न भइनँ, नत्र अरुभन्दा म उनीहरूको पछि लाग्दैनथें र ?”
“को अरु?”
“अहँ, मलाई थाहा छैन … मैले तिनीहरुलाई देखिनँ ।”
एउटा गतिलो थप्पड उसको गालामा बज्रियो।
“यी वाहियात कुरा छाड्‌नुस्, तपाईं कुनै मूर्खसँग व्यवहार गर्दै हुनुहुन्छ भन्ने भ्रम त्याग्नुहोस !”
उसलाई एक्कासि त्रासको भूतले छोयो ।
“ए त्यसो पो !” अर्को एउटा जोडदार थप्पड उसको गालामा बज्रियो । “तँ साँचो बोल्छस् कि बोल्दैनस् ?”
उसले सास फेर्न अप्ठ्यारो भएको अनुभव गयो ।
उसले भन्यो, “सुन्नुहोस महाशय ! तपाईंहरू व्यर्थैमा आफ्नो अमूल्य समय नष्ट गर्दै हुनुहुन्छ ।”
“ए त्यसो भए तँलाई निकै बहादुरी देखाउने आँट छ ?”
“म कुनै हालतमा पनि बहादुर होइन । हुन सक्दिनँ पनि । तर एउटा कुरा के भने म क्यै पनि जान्दिनँ-क्यै पनि !”
उसमाथि कठोर प्रहारहरू भइरहे । ऊ पिटाइले लखतरान भयो। उसले हतास भएर दुवै हात फैलायो ।
“कृपया कृपया त्यसो नगर्नुहोस् ।”
“त्यसो भए त बताउँछाै ? बताउने हो ?”
“अहँ, म बताउन सक्दिनँ। मलाई केही पनि थाहा छैन।”
पिटाई फेरि शुरू भयो । आफ्नो छाती दुवै हातले छेकेर ऊ कक्य्राक कुकरुक्क भयो ।
“ल भन् त!”
“म तिनीहरूलाई ठीक यसै भनिरहेको थिएँ।”
“कसलाई ?”
“मेरा स्कूलका साथीहरूलाई!”
“के? के भनिए तैंले तिनीहरूलाई ?”
“मैले भनें कि म पीडा खप्नै सक्दिनँ, त्यसैले म क्यै पनि सुन्न चाहन्नँ !”
“तँ केही हदसम्म ठीक ठाउँमा आइस् !”
“तर तपाईंहरूले कुरै बुझ्नु भएन। म क्यै पनि बताउन सक्दिनँ किनभने मलाई क्यै पनि थाहा छैन ।”
“ठीक भनिस्, म पनि क्यै जान्दिनँ ।
“मैले क्यै जानेको भए त तिनीहरूलाई मैले कुरो खुस्काउँला भन्ने डर भइहाल्थ्यो नि ! म बिरामी छु… मैले तिनीहरूलाई क्यै पनि नबताउन सचेत गरें।”
“बस् बस् अब बकवास बन्द गर्। अझै तँ ठीक ठाउँमा आउँदैनस् हैन ? तल भूमिगत च्याम्बरमा लैजाऊ यसलाई ।”
“हैन हैन मलाई त्यसो नगर्नोस् । यो अन्याय हुन्छ । म बिरामी हुन्छु। म कमजोर छु ।”
उसले सास फेर्ने प्रयत्न गयो । मुख खोल्यो र संसारको हावा निल्ने असफल प्रयास ग-यो । उसका आँखाहरू आँशू र अत्यासले टम्म भयो।
मात्र लैजाँदै रहेछन्। जब सैनिकहरू भूमिगत च्याम्बरमा पुगे, त्यतिखेर तिनीहरूले पत्तो पाए, तिनीहरूले त मूर्दा पो लैजाँदै रहेछन् ।
भोलिपल्ट स्कूल अनेक, हल्ला र कानेखुशीले व्याप्त थियो। केहीले महापुरुषलाई सैनिकले लगेको देखेका थिए। त्यहाँ अत्यासपूर्ण स्थिति थियो ।
“ऊ डर लुकाउनै नसक्ने काँतर थियो ।”
“हैन हैन, यो उसको गल्ली हैन ऊ बिरामी थियो।”
“ऊ वास्तवमा बच्चै त थियो।”
“तर उसले क्यै भन्न सकेन होला, किनभने उसलाई क्यै पनि थाहै थिएन ।”
“उसले जान्न नचाहनु नै उसको बुध्दिमानी थियो।”
बिहानको खाना खानेबेलातिर सत्य प्रकट भयो अनि त ग्रामोफोन बजेर तरङ्गित भएझैं सबैको मुखबाट एउटै शब्द, एउटै आवाज उच्चारण हुँदै प्रतिध्वनित हुन थाल्यो ।
ऊ महापुरूष थियो । महापुरूष थियो । ऊ महापुरूष थियो। महापुरूष… महापुरूष ।
तर यतिबेला यो आवाजले उसको उपनाम उच्चारण गरेको पटक्कै भान पर्दैनथ्यो।

०००