प्रतिबन्धित नेपाली काङ्ग्रेस र सात वामपन्थी पार्टीहरूले भने, “देशमा प्रजातन्त्र छैन ।” प्रजातन्त्र ल्याउन उनीहरू अब आउने फागुन ७ गते आन्दोलन गर्छन् रे !

यो सुनेर पञ्चहरूले भने, “यहाँ प्रजातन्त्र छ, पूरै छ ।”

आफ्नो दाबी सिद्ध गर्न पञ्चहरूले अस्ति गएको १५ गते र्याली गरेर पञ्चायतको झ्याली पिटे । निर्दल र बहुदलका बीचमा अब द्वन्द्व नमच्चिएर थच्चिने कुरै भएन । त्यसैले मैले पनि अब यस अवसरलाई छोपी पैसा कमाउने दाउले एउटा ‘बिजनेस कन्सर्न’ खोल्ने भएको छु ।

तर चिन्ता एउटै छ, त्यो के भने पछि गएर यी बहुदलवादी र निर्दलवादी अवसरवादी भएर पनि सम्झौतावादी भइदिए भने आफू त फेरि तादी वा मादीमा पुगेर झ्वाम्म फालहाल्नुपर्ने हुन्छ ।

यस बेला मलाई लोककथाकी त्यो मर्छु भन्ने बूढी सासू र पोइल जान तयार भएर बसेकी तरुनी विधवा बुहारीको सम्झना भइरहेछ ।

कुरो के भएछ त भने मर्ने बेला नगिचिएको सम्झेर बूढी सासूले भनिछ, “हेर् बुहारी ! अब म मरिहाल्छु । म मरेपछि तँ पनि पोइल गइहाल्छेस् । त्यसैले यो खेतबारी बेचेर अलिकति धर्मकर्म गरी परत्र सुधार्छु म ।”

बुहारीले स्वीकृति दिई, खेतबारी सबै बेचियो । तर समय बित्तै गयो, पछि त न बूढी मरी न बुहारी पोइल गई । घरमा खाने दानासम्म पनि भएन ।

अब यसै गरी देशमा प्रजातन्त्र छैन भन्ने कुरामा विवाद गरेर अहिले ङ्यारङ्यार र ङुरङुर गर्न थालेकाहरू छ वा छैनमा मतैक्य भएर पटापट कुर्सीमा बसिदिए भने वामपन्थीहरू फेरि भटाभट फुटेर नौ टुक्राको नौ टुक्रैमा विभाजित हुनेछन् र व्यापार गर्छु भनी पुँजी लगाएर नाफा लिने कुरामा ढुक्क भएर बसेको म स्वाँठचाहिँ बिल्लिबाठको बिल्लिबाठमै पर्नेछु ।

केटाकेटीमा बूढापाकाहरूले भनेको सुनेको छु, दुई थरीका बीच झगडा भएका पाखामा बसेर हेर्नेले माझीऔँला र बूढीऔँलाको नङ जुधाएर ‘नारद, नारद’ भन्नु रे, झगडा चर्कंदै जान्छ रे ।

किन ढाँटिरहूँ अस्ति १५ गतेको पञ्चर्यालीमा मैले भूगोलपार्कमा बसेर नङ जुधाएर किटिककिटिक पार्दै नारदमन्त्र जपेको जप्यै गरेँ ।

सके अब तपाईंहरू भन्नुहोला, “ए मुलङ्खरे ! राजनीतिक विवादमा फल्ने र फुल्ने कुन बिजनेस हो यो तेरो ?”

वास्तवमा सही कुरो गर्ने नै हो भने मेरो यो बिजनेसको मूल जरो नै राजनीतिक विवादमा गएर गाडिएको छ । राजनीतिक विवाद जतिजति चर्कन्छ र जतिजति जुलुस, प्रदर्शनहरू हुन्छन् उतिउति मेरो बिजनेस फल्छ, फुल्छ र फलदायी हुन्छ ।

अब तपाईंहरू सम्भवतः मनमनै भन्नुहोला, “ए बाबा ! यस तुलेगाँडोले कुन बिजनेस खोल्न आँटेछ, यस्तो राजनीतिक अशान्तिमा बिग्रने सट्टा झन् फल्ने र फुल्ने ?”

भइगयो अब म तपाईंहरूलाई धेरै बेरसम्म कुतूहलमा राख्दिनँ । मेरो यो नयाँ खोल्ने बिजनेस कन्सर्नको नाम हो, ‘जिन्दावाद एन्ड मुर्दावाद कं. प्रा.लि. ।’ यसको अध्यक्ष तथा महाप्रबन्धक म स्वयं हुनेछु ।

हुन त कम्पनीको नामैबाट पनि कम्पनीको काम के रहेछ भन्ने कुरो स्पष्ट हुन्छ । तर पनि खुलस्तै गरेर भनिदिऊँ, कुनै पनि बहुदलवादी, निर्दलवादी वा जोसुकै पनि वादी तथा प्रतिवादीले जुलुस निकालेर जिन्दावाद, मुर्दावाद गराउनु छ भने मेरो कम्पनीबाट भाडामा गराउन सक्नेछन् ।

अब यस जिन्दावाद एन्ड मुर्दावाद कम्पनीमा तपाईंहरू पनि सरिक भएर सेयर होल्डर बन्न चाहनुहुन्छ भने आउनोस्, मेरो ‘जिन्दावाद एन्ड मुर्दावाद कम्पनी’ को सेवा प्राप्त गरेर कुर्सी हत्याउनोस् ।

के गर्ने र पञ्चहरू प्रायः लोभी र पापी भइदिए । अस्ति १५ गते बहुदलवादीहरूलाई तर्पण दिने उद्देश्यले निकालेको र्यालीमा पनि पैसा खाने भइदिए ।

कति वरिष्ठ कहलिएका पञ्चहरूले त झन् लिने बेलामा लिए ठूलाठूला थैली, मनाउने बेलामा चाहिँ मनाए आफ्नै भैली । जसले गर्दा सरकारलाई लाज पचाएर कतिपय संस्थानका मानिसहरूलाई अनिवार्य रूपमा सामेल गराएर जिन्दावाद र मुर्दावाद भट्याउन लगाउन परिरहेको ।

त्यसैले हामपन्थी, वामपन्थी, दामपन्थी, घामपन्थी र जामपन्थी गरी कुर्सीका दाबेदारहरू जो, जति, जे पन्थीहरू हुनुहुन्छ यस देशमा आउनोस् मेरो कम्पनीबाट भाडामा जिन्दावाद–मुर्दावाद गराउनोस् र राजनीतिक फाइदा उठाउनोस् ।

राजधानीमा जोसुकैले पनि राजनीतिक उद्देश्यप्राप्तिका लागि मेरो यस कम्पनीबाट शान्तिपूर्ण प्रदर्शनका लागि दस व्यक्तिदेखि दस लाख व्यक्तिसम्म भाडामा लिन सक्नेछ ।

यस कम्पनीका कार्यकर्ताहरू प्रदर्शन, धर्ना, पिकेटिङ र नाराबाजीमा सिद्धहस्त छन् । भाडा प्रदर्शनको प्रकृति, स्वभाव, परिस्थिति र आकार तथा प्रकार हेरी अग्रिम लिइनेछ ।

यद्यपि प्रदर्शन शान्तिपूर्ण कार्यका लागि मात्र भाडामा दिइनेछ । तर पनि २०३६ सालको जस्तो मोसो दलेर सहर घुमाउने, आगो सल्काउने र मोटर पोल्नेजस्ता कार्य पनि विशेष परिस्थितिमा स्वीकार गरिनेछ । यसका लागि भाडाचाहिँ दोब्बर लाग्नेछ ।
(२०४६ माघ)
(पिँडालीको व्यंग्यकृति ‘प्रसन्न हुनुहोस्’बाट)