
श्रीओम श्रेष्ठ रोदनसँग मेरो मित्रता अलि ढिलो कसिलो भयो । तर त्यो कसिलोपन निरन्तर कसिलो हुँदै गयो, त्यसको निरन्तरता निरन्तर छ ।
मधुपर्कको सम्पादन समूहमा उनको आगमनले साहित्यिक मित्रता झाँगिएकाे हो । उनी गोरखापत्र संस्थानको सामुन्नेको ठूलो नेपाल बैङ्क लिमिटेडको जागिर छोडेर गोरखापत्र संस्थानमा आएका हुन् । धेरै मानिसले त्यतिबेला कुरा गरेका हुन्, बैङ्कको जागिर छोडेर किन गोरखापत्रको जागिरमा आएको होला ? त्यतिबेला बैङ्कको जागिर भनेको राम्रो जागिर नै मानिन्थ्यो । शायद अहिले पनि मानिन्छ ।
तर त्यो त्यत्तिखेरकाे निर्णयले नै आजको श्रीओमको व्यक्तित्त्व बनेको हो ।
लेखनमा सक्रिय र परिचित हुनुअघि उनले नाटकमा खेलेका थिए । कलाकारितामा उनले प्रतिभा देखाएका थिए । सानो पर्दामा अभिनय पनि गरेका थिए । तर मधुपर्कमा जागिर भएपछि भने उनको प्रतिभा साहित्य लेखन र सम्पादनमा एकोहोरिँदै गयो । पछि त उनको बाटो साहित्यमा “वन वे ट्राफिक” नै भयो ।
कविता लेखनबाट शुरुवात गरे पनि श्री ओमले छिटै नै आफूलाई लघुकथामा बढी केन्द्रित गरे । त्यतिबेला लघुकथा फाट्टफुट्ट लेखिन्थे । गम्भिरतापूर्वक लघुकथामा कलम चलाउनेहरू कम थिए । भारतीय कथाप्रधान साहित्यिक पत्रिका “सारिका”ले हामीलाई लघुकथाप्रति बढी आकर्षित गर्दथ्यो । बेलाबेलामा लघुकथा विशेषाङ्क पनि प्रकाशित गर्दथ्यो सारिकाले । विभिन्न मुलुकका लघुकथाहरूको अनुवाद पनि त्यसमा प्रकाशित हुन्थे । मधुपर्कमा पनि फाट्टफुट्ट लघुकथाहरू प्रकाशित हुन्थे । बलियो विधाको रुपमा स्थापित भैसकेको बेलामा श्रीओम लघुकथामा एकोहोरिएका थिए ।
हुन त डा. जय नारायण गिरीको “कसिङ्गर” लघुकथा सङ्ग्रह कलकत्ताबाट प्रकाशित भएको सुनिन्थ्यो । तर बजारमा उपलब्ध थिएन । पूर्णप्रसाद ब्राम्हणको लघुकथासङ्ग्रह भने रत्न पुस्तक भण्डारमा पाइन्थ्यो । केही गोजिका पत्रिकाहरूले लघुकथा विशेषाङ्क प्रकाशित गरेका भए पनि साहित्यको मूलधारमा लघुकथाले स्थान भने अझै बनाइसकेको थिएन । तर श्री ओम भने लघुकथा लेखिनै रहेका थिए ।
लघुकथासँगै श्री ओमले नियात्रामा पनि कलम चलाए । उनको युरोप यात्राका नियात्राहरु रोचक थिए । उनले नियात्रा फुटकर रूपमा लेखे । प्रकाशन गरे । पाठक रिझाए । नियात्राको पुस्तक समेत प्रकाशित गरे ।
एकदिन श्रीओमले जावलाखेलको यौटा नेवारी रेष्टुँरेण्टमा साँझको खाजाको लागि मलाई आमन्त्रण गरे । त्यो साँझ साहित्यका विषयमा र व्याबहारिक विषयमा निकै गफियौं । हाम्रो सम्बन्ध, औपचारिक मित्रता भएकैले हामी त्यो साँझ सँगै थियौँ । तर त्यही साँझदेखि भने हामी मित्रताको गहिराइमा पुग्यौँ । अनौपचारिकता र निष्ठापूर्ण गहिरो मित्रताको शुरुवात त्यही साँझबाट शुरु भयो । कुनै खास कामका लागि खास घटना वा संयोग जुर्नुपर्छ भन्ने नेपाली आहान छ । हाम्रो संयोग त्यही साँझ हुन पुग्यो ।
श्री ओम मधुपर्कको सम्पादन र लेखनमा तथा अन्य सामाजिक गितिविधि, कलाकारिताको गतिबिधिमा त सक्रिय छँदै थिए, साझा प्रकाशनको सञ्चालकको पदका लागि चुनावमा पनि होमिए । तर जीत हात लागेन ।
मधुपर्कको सम्पादक हुन पञ्चायत कालमा जति सजिलो थियो, बहुदलको पुनर्स्थापनापछि त्यति सहज थिएन । पञ्चायतकालमा राजाको जन्मोत्सवमा केही राजभक्तिका सामग्री जान्थे । एकाध दरवारिया लेखकका रचना आउँथे । त्यत्ति हो । तर बहुदलको पुनर्स्थापनापछि त मन्त्री सचिवका फोन आउनु सामान्य कुरा हुन्थ्यो, फलानाको यो रचना छापिदिनू भनेर । तर श्रीओम कुनै अयोग्य रचनाका लागि दवाव आयो भने के कारणले त्यो रचना प्रकाशित हुन सक्दैन त्यो स्पष्टसँग भन्न सक्ने क्षमता राख्दथे भने राम्रा र अग्रज लेखकलाई सम्मान दिन पनि चुक्दैनथे ।
श्रीओम मधुपर्कको पूर्ण सम्पादक भएपछि बर्षेनी प्रकाशित हुने मधुपर्कको बिधागत तथा अन्य विशेषाङ्क निकै महत्त्वपूर्ण छन्, आज पनि पल्टाएर हेर्दा । यो पनि यौटा संयोग मान्नुपर्छ, मधुपर्कको ५०० औं अङ्कको बृहत् बिशेषाङ्क श्रीओमकै पालामा प्रकाशित भएको थियो । मधुपर्कको कीर्तिमानी विशेषाङ्कमा उनको नाम जोडिनु सुखद, ऐतिहासिक र गौरव गर्न लायक संयोग मान्नुपर्छ ।
म सन् २००४ देखि अमेरिका बस्न थालेको हुँ । सन् २००६ मा उनी पनि अमेरिका आए । उनको आगमन बोष्टन शहरमा भएको थियो । तर त्यो भ्रमणमा उनलाई स्वास्थ्यले त्यति साथ दिएन । हामी नियमित रूपले फोनमा कुरा गर्थ्यौं । उनी बोष्टनबाटै नेपाल फर्किए ।
उनको दोश्रो भ्रमणको सिलसिलामा त म पनि जोडिएको थिएँ । म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिंटन डिसीको अध्यक्ष थिएँ । उनी पुरस्कृत भएका थिए । अनि त्यो पुरस्कार ग्रहणका लागि अमेरिका आउने तारतम्य मिलाइएको थियो । यस भ्रमणमा उनी सिधै मेरो निवासमा आएका थिए । केही समय हामी साथै बसेका थियौँ । मैले पाक्षिक अखबार “विश्वपरिक्रमा” प्रकाशनको थालनी गरेको थिएँ । त्यसमा उनको पनि स्तम्भ थियो । उनले यता आएर पनि त्यस स्तम्भ लेखनलाई निरन्तरता दिएका थिए ।
अमेरिकाबाट फर्केपछि श्रीओम पत्रिकाको लागि काठमाडौंबाट सहयोग गर्ने मूल स्तम्भ बने । केही स्तम्भ लेखन, केही मूल लेखहरु उनकै सौजन्यमा प्राप्त हुन्थ्यो । उनले संयोजन, सङ्कलन, टाइपिङमा समेत सहयोग जुटाइदिन्थे र मैले पठाएको लेखक र स्तम्भकारहरुको पारिश्रमिक वितरणमा पनि सहयोग पुर्याउँथे । सहयोगी भावनाको अब्बल मित्रको दृष्टान्त थिए । त्यो विविध रूपमा आज पनि निरन्तर छ, हाल पत्रिका प्रकाशन बन्द भए पनि ।
उनको तेश्रो अमेरिका भ्रमण चाहिँ मध्य अमेरिकी राज्य मिजौरीमा भएको थियो । उनी मिजौरी बसुञ्जेल हामी फोनबाट मात्र जोडियौं । तर नेपाल फर्कनुअघि हामीले क्यालिफोर्नियामा भेट्ने योजना बनायौं । संयोग के थियो भने, क्लिफोर्नियाको बे एरियामा अमेरिकाको त्यतिबेला ठूलो वार्षिक सम्मेलन गर्ने प्रख्यात् संस्था एएनएको सम्मेलन थियो । म त्यसका लागि जाँदै थिएँ भने उनी पनि नेपाल क्यालिफोर्नियाबाटै फर्कने टिकट मिलाएर आउने भए । हामीले लामो समयपछि रातभरि रेष्टुँराहरु चहारेर गफिँदै बिताएका थियौं । गफको विषय मेरो विश्वपरिक्रमा अखबार र साहित्य नै थियो ।
श्रीओमको नेतृत्वमा विसं २०६५ सालमा नेपाली लघुकथा समाजको गठन भयो । उनले विसं २०७८ सालसम्म तेह्र वर्ष समाजको नेतृत्व गरे । यो अवधिमा नेपाली साहित्यमा लघुकथाले यौटा निश्चित गति पायो, मान्यता पायो, स्वरूप पायो र पायो व्याप्ति । उनले समाजबाट राष्ट्रव्यापी लघुकथा प्रतियोगिता गराए । मधुपर्कमार्फत् पनि राष्ट्रव्यापी लघुकथा प्रतियोगिता गराए । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पनि राष्ट्रव्यापी लघुकथा प्रतियोगिता गराए । जहिले, जहाँ जतिबेला मौका पाउँदा पनि लघुकथालाई केन्द्रमा राखे । लघुकथाको उन्नयनमा लागे ।
सबैभन्दा चाखलाग्दो कुरा उनी र उनकी श्रीमतीले नेपालका पुराना लघुकथाकार पूर्णप्रसाद ब्राम्हणको नामक्मा पुरस्कार नै स्थापित गरिदिए । जात न कूलको, नाता न सम्बन्ध, एक अग्रज साहित्यकारको नाममा पुरस्कार स्थापना गरेर उनले आफ्नो उँचाइ बढाए । उनको लघुकथा सङ्ग्रहको पुनर्प्रकाशनमा पहल समेत गरे ।
लघुकथा समाजको तर्फबाट लघुकथाको सिद्धान्त समेत तयार गराए ।
हुन त लघुकथा समाजको आजीवन अध्यक्ष हुने हो कि श्रीओम भनेर केहीले खासखास खुसखुस गर्थे । तर विसं २०७८ मा उनले अध्यक्ष पद हस्तान्तरण गरे, लघुकथा समाजलाई एउटा उँचाइमा पुर्याएर ।
गोरखापत्र संस्थानमा पनि उनी मधुपर्कको सम्पादनबाट गोरखापत्रको प्रबन्ध सम्पादक हुँदै प्रधान सम्पादकको गरिमामय उच्च पदमा पुगे । यो उनको जागिरे जीवनको उच्चतम प्राप्ति थियो ।
मधुपर्क सम्पादनको सिलसिलामा आफ्ना अग्रज सम्पादकहरुको स्नेह र अनुभव पनि उनलाई आशीर्वादको रूपमा प्राप्त भयो । तर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा कपिल घिमिरेलाई हटाएर फुत्त मधुपर्कको सम्पादकको रूपमा छिरेका पूर्वेली ज्योतिष कवि उदय निरौला जस्ता पात्र पनि उनले व्यहोरे । तर यस प्रकारका आयाराम गयारामहरूले उनको सम्पादन कर्ममा, निष्ठामा, प्रतिबद्धतामा कुनै आँच आएन ।
मधुपर्कमा सम्पादनरत हुँदा विभिन्न लेखकहरूसँग प्रकाशन हेतु उनले गरेका सम्वाद निकै चाखलाग्दो हुन्थे । त्यसको पुस्तक पनि प्रकाशित भयो, “प्रसङ्गवस्” । यसको प्रकाशन हुने वित्तिकै चर्चा चुलियो ।
यौटा बहुविधामा लेख्ने लेखकलाई पर्ने सङ्कट के हो भने, उसले सबै विधामा उत्तिकै रचना सिर्जना त्यति सम्भव हुँदैन, थोरै अपवादबाहेक । श्री ओमले कविता लेखे लेखनको शुरुवातमा । तर लेखनमा स्थापित भएपछि उनलाई कविको रुपमा बोलाएको कहिल्यै देखिंनँ । उनले कविता वाचन गरेको मैले सुनेको कुनै हेक्का पनि छैन । उनी लघुकथाकार, निबन्धकार र नियात्राकारको रुपमा बढी चिनिए । मधुपर्कले उनको सम्पादकीय व्यक्तित्वलाई उँचाइमा पुर्यायो । लघुकथा समाजले नेपाली लघुकथाको शिर्षस्थ प्रवक्ता बनायो, लघुकथा लेखकसँगै ।
पछिल्लो चरणमा उनले व्यक्तिकेन्द्रित साहित्यकारका व्यक्तिचित्रहरु लेखे । एक प्रकारको नितान्त नौलो शैलीमा । यो शैली नै उनको पहिचान बन्यो । यसलाई पुस्तकाकार दिए, “अभिवन्द्य” शीर्षकमा । यो किताब चर्चित भयो । प्रशंसित भयो । पुरस्कृत भयो । यो पुस्तकले उनलाई नयाँ उँचाइमा पुर्यायो ।
उनको खरो टिप्पणी गर्ने हिम्मत र स्पष्टवादिता पनि पछिल्लो समय निकै चर्चामा रह्यो । उनको यो भनाइ साहित्यपोस्टकाे “लेखकको ‘पिआर’ मिडियाको प्यार” विशेष चर्चामा रहेको थियो-
“खासगरी पछिल्लो समयका साहित्यकारहरू राम्रो लेख्नेमा भन्दा पनि राम्रो प्रचार र चर्चा गर्ने अभियानमा लागेको अनुभव मैले गरेको छु । त्यसमा पनि, देशमा बसेका भन्दा विदेशमा बस्नेहरू यो मामिलामा अघि छन् । उनीहरू बिदा मनाउन, छोराछोरीलाई घुमाउन तथा आफन्त–परिवारसँग भेटघाटका लागि नेपाल आउँछन् । उनीहरू उपहार तथा विभिन्न खानेकुराहरू लिएर आउँछन् । उनीहरूको पैसा पनि हाम्रो भन्दा धेरै महँगो हुन्छ ।
खास गरी, अमेरिका, क्यानडा तथा युरोपबाट आउनेहरू नेपाल आउनुलाई उपलब्धिमूलक बनाउन चाहन्छन् । घरमा बाउआमा भेटेको भन्दा पनि आत्मप्रशंसाका लागि किताब निकाल्ने, कार्यक्रमहरू गराउने, पुरस्कारहरू छाप्ने र दुनियाँलाई भोज खुवाएर त्यसको प्रचारप्रसार गराउने गरेको मेरो अनुभव छ ।
मिडिया तथा पत्रकारहरू पहिल्यैबाट यसै प्रवृत्तिको पछि कुद्ने गरेका छन् । अहिले परिभाषा अलिक फरक बनेको छ बरु, पहिले त ‘जहाँ पत्रकार त्यहाँ रक्सीको खोलो’जस्ता उखानै बनेको थियो । पत्रकार महासंघदेखि विभिन्न मिडियाहरुको कार्यक्रमहरुमा अझ पनि त्यस्तै नै भइरहेको छ । ठुला भनिएका अखबार तथा अनलाइनहरु हेर्नुहोस्, एउटा कुनै विषयमा एक संस्थाको विरोध गर्छ, गर्छ, गर्छ । अनि ठ्याप्पै बन्द गर्छ । यो भनेको बार्गेनिङ होइन ? पत्रकारिताको काम बेथितिहरुको विरुद्धमा लेख्ने हो, तर सबैभन्दा धेरै बेथिति पनि यहीभित्र देखिएको छ । होइन र !
ठूला भनेका मिडियाहरूले चोरलाई साधु र साधुलाई चोर बनाउने काम गरिरहेका नै छन् । समयमा तलब नपाउने साना–साना पत्रकार तथा रिपोटरहरू कतिपय अवस्थामा मिडियाकै बफादार बनिरहेका हुन्छन् । सबै त होइन, तर अलिकति बोतल खान पाएपछि, पार्टी खान पाएपछि, सानो उपहार ल्याइदिएपछि नूनको सोझो गर्दै कलम तिर्खानेहरू पनि प्रशस्तै छन् ।
नेपालभित्रकै कुरा गर्दा पनि नितान्त साधना गरेको लेखकको भन्दा उद्योगी–व्यवसायी लेखकहरुको प्रचारप्रसार बढी छ । यसर्थ, हामीकहाँ लेखनको मूल्याङ्कन कमै भएका छन् । हुँदै आएका छन् ।“
यति स्पष्टसँग यथार्थ पस्किने समकालीन लेखक अति कम छन् । यति निर्भीक हाँक हाँक्ने अति कम छन् । झण्डै दुर्लभ नै भनौँ । तिनमा श्रीओम टड्कारो रूपमा सिरानतिरै दृष्टिगोचर हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

