जेलको झ्यालबाट जनवरी महिना
उड्दै गएको छ
मैले अनेक कोठाबाट कैदीहरूले गाइरहेको
सुनिरहेको छ
“हाम्रो एक भाइलाई फेरि
स्वतन्त्रता प्राप्त भएको छ ।”
तिमी अझै पनि केदीहरुले गाएको
मधुरो आवाज सुन्न सक्छौ
र पालेहरुको शब्दहीन पाइलाका आवाज
र तिमी आफै गाउन थाल्नेछौ
“बिदा जनवरी बिदा !”
झ्यालको उज्यालो सामुन्ने
तर म फेरि घुम्छु–भावनामा डुब्दै
लामो गल्लीबाट–सोध्दै खाज्दै
अगाडितिर–त्यो टठाढाको देशतिर
जहाँ न मार्च छ, न जनवरी !

यो ‘टाढाको देश’ कविता १९८७ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता जोसेफ ब्रोडस्कीको हो । उनी अल्बर्ट कामुपछिका दोस्रो कम उमेरका नोबेल पुरस्कार पाउने साहित्यकार हुन् । कामुले ४४ वर्षको उमेरमा पाएका थिए भने उनले ४७ वर्षको उमेरमा पाए ।

ब्रोडस्कीको जन्म २४ मे १९४० मा लेनिग्राद रुसमा भएको थियो । उनले सन् १९५५ देखि कविता लेख्न आरम्भ गरेका हुन् । उनका प्रारम्भिक कविताहरू १९५६ को आसपास केही जागरुक सोभियत युवाहरुले निकालेका ‘सिताक्सिस’ पत्रिकामा प्रकाशित थिए ।

ब्रोडस्कीलाई १९६४ मा ‘सामाजिक परोपजीवि’ को आरोप लाग्यो र उनीलाई ५ वर्षको कठोर श्रमसहितको कारावासको सजाय तोकियो । १९६९ मा उनलाई बेलायतबाट अन्तर्राष्ट्रिय कविता महोत्सव तथा स्पोलेतोको निम्तो प्राप्त भयो । तर ती स्थानमा जान उनलाई सरकारी अनुमति प्राप्त भएन ।

उनलाई न्यायाधीशले सोधेका दुई प्रश्न र उनले दिएका उत्तर यस्ता थिए:
न्यायाधीश: तिम्रो पेशा के हो ?
ब्रोड्स्की: अनुवादक र कवि ।
न्यायाधीश: तिमीलाई कसले कविको उपाधि दियो ? तिमीलाई कविको तहमा कसले वर्गीकरण गर्यो ?
ब्रोड्स्की: कसैले गरेको होइन । कसले मलाई मानव जातिको तहमा वर्गीकरण गर्यो ?

सन् १९७२ मा ब्रोडस्कीको जीवनमा उनले चाहेको अनौठो मोड आयो। रुसी सरकारले इच्छुक यहुदीहरुलाई इजरायल जाने अनुमति दियो । यही मौकालाई ब्रोडस्कीले सदुपयोग गरे । उनी केही समय भियनामा बसे र अमेरिका प्रवेश गरे ।

उनले १९७२ मा उनले अन्तर्राष्ट्रिय कविता महोत्सवमा भाग लिन सके ।

ब्रोडस्कीका कविताहरु रुसमा छँदा एकदम अल्पसंख्यामा मात्र प्रकाशित थिए । सन् १९५६ तिरै उनी सडकमा कविता पाठ गर्ने अभियानमा लागे । यो ‘सडक कविता’ बिस्तारै लोकप्रिय हुँदै गयो र उनका कविताका प्रतिलिपिहरू हातैहात वितरित हुन थाले । महान रुसी कवयित्री अन्ना अख्मातोवाले उनलाई आफ्नो जीवनको अन्तिम ५ वर्ष निकै सराहना गरिरहिन् ।

विश्वका कुनै पनि कवि अग्रज वा समकालीन कविहरूबाट प्रभावित हुनु अत्यन्त सहज कुरा हो । ब्रोडस्की पनि पोलिस र अंग्रेजी अनेक कविबाट प्रभावित थिए । उनी सबभन्दा बढी टि.एस. इलियटबाट प्रभावित थिए । ४ जनवरी १९६५ मा टि.एस. इलियटको बेलायतमा जब मृत्यु भयो त्यतिबेला ब्रोडस्की रुसको सुदुर उत्तरी अर्खान्गल्स्क नामक स्थानमा कारावासको सजाय भोगिरहेका थिए । उनले इलियटको मुत्युको खबर एक हप्तापछि मात्र पाए । त्यसको चौबीस घण्टाभित्रै उनले ‘भर्सेस इन द डेथ अफ टी.एस इलियट’ शीर्षक लामो कविता लेखे जुन उनको सुविख्यात कविताहरुमध्ये एक मानिन्छ ।

ब्रोडस्की घुमफिर गर्न अत्यन्त रुचाउने कवि थिए । त्यसैले उनी निर्वासत कवि हैनन्, बरु विदेशमा बसिरहेका कवि हुँ भन्ठान्थे । यस तथ्यको उल्लेख उनले आफ्ना कविताको माध्यमबाट गरे । सोल्झेनित्सिन, चेस्लाव मिलोस एवं मिलन कुन्देराझैं ब्रोडस्कीले पनि आफ्नो मातृभाषामै लेख्थे पश्चिमी भाषा संस्कृतिको महासागरमा रहे पनि आफ्नो मातृभाषामा त्यागेका थिएनन् ।

ब्रोडस्कीका बारेमा अंग्रेजी कवि ओडेनले भनेका थिए–“ब्रोडस्की प्रथम श्रेणीका कवि हुन् । अरु कविहरुलाई जुन कुरामा चासो छ उनलाई पनि त्यस्तै चासो छ । उनका कवितामा मानवको स्थिति, मृत्यु तथा अस्तित्वका बारेमा विचार अभिव्यक्त भएको पाइन्छ ।”

नोबेल पुरस्कार पाइसकेका अर्का विख्यात कवि चेस्लाव मिलोसले भनेका थिए –“ब्रोडस्कीका कवितामा राजनैतिक आतङ्क, मान्छेको पतन र अधिनायकवादी साम्राज्यको विकासको अनुभव भेटिन्छ । म उनको कविताप्रति यसकारण आकर्षित हुन्छु कि उनको एउटा कोशिश निकै ठूलो हुन्छ । त्यो हो धम्काउने खालको जसले यो दुनियाँमा मान्छेलाई मजबूत बलियो तुल्याउने काम गर्छ ।”

ब्रोडस्कीका प्रमुख प्रकाशित कृतिहरुमा ‘अ क्रिसमस स्याले’ (१९६२), हलेजी फर जोन इन (१९६३), आइप्याक एण्ड अब्राहम (१९६३), न्यू स्टयान्जाज टू अगस्ता (१९६४), मर्सेस इन द डेथ अफ टी.एस. इलियट (१९६५), भर्सेस एण्ड पोइम्स (१९६५), सङ विदाउट म्युजिक (१९६९), ए स्पट इन द डेजर्ट, त्रर्सेस एण्ड पोइम्स (१९७०) तथा सेलेक्टेड पोइम्स (१९७३), ए पार्ट अफ स्पिच (१९७७), लेस दैन वन (१९८७) आदि छन् ।

उनका प्रशस्त कविताहरु फ्रेन्च, जर्मन भाषामा पनि अनुवाद भए ।

नोबेल पुरस्कार पाउँदा ब्रोडस्की अमेरिकाको मिचिगन सहरमा बस्थे । तर ब्रोडस्कीका एउटा सुपुत्र उनले रुस छाड्दा उतै छाडेका थिए यद्यपि उनले आफ्नी प्रेमिकासँग औपचारिक बिहा गरेका थिएनन् । रुस छाडेदेखि ब्रोडस्कीले आफ्नो छोराको अनुहार हेर्न पाएका थिएनन् ।

उनले रुस छाड्नुअघि तत्कालीन रुसी नेता ब्रेझनेभलाई दिएको निवेदनमा लेखेका थिए– “रुस मेरो घर हो । मैले आफ्नो सम्पूर्ण जिन्दगी यहीँ बिताएँ र मेरो आत्मामा जे पनि छ त्यसको लागि रुस र रुसी जनताप्रति म ऋणी छु ।”
यसै निवेदनमा उनले यो पनि लेखेका थिए–“मलाई कुनै पनि बेला रुस फर्कन पाउने अनुमति दिइयोस् !”

जन्मले सोभियत नागरिक ब्रोड्स्की सन् १९७२ सम्म सोभियत संघको नागरिक थिए । सन् १९७२ देखि सन् १९७७ सम्म उनी राज्यविहीन भए तर सन् १९७७ मा अमेरिकाको नागरिकता लिएपछि उनी आजीवन अमेरिकी नागरिक भए ।
सोभियत संघको बिघटनपछि ब्रोड्सकीलाई निम्ता गरिए पनि उनी कहिल्यै स्वदेश फर्केनन् ।

ब्रोड्स्कीको ५५ वर्षको उमेरमा न्यूयोर्कको ब्रुकलिनस्थित एपार्टमेण्टमा हृदयाघातका कारण भयो । उनको सन् १९७९ मा ओपन हर्ट सर्जरी र दुईवटा बाइपास सर्जरी गरिएको थियो ।