जब सन् १९०९ मा स्वीडेनकी सेल्मा लागरलोफलाई त्यस बर्षको साहित्यतर्फको नोवेल पुरस्कार दिइने घोषणा गरियो – नोवेल पुरस्कारको इतिहासमै एउटा नयाँ अध्याय थपियो । उनी नोवेल पुरस्कार प्राप्त गर्ने प्रथम महिला साहित्यकार भइन् । पुरस्कार स्थापना भएको नवौं बर्षमै उनले आफ्नो नाउँ नोवेल पुरस्कार विजेता साहित्यकारहरुको सुचिमा बेग्लै विशेषता सहित अङ्कित गरिन् । यो बेग्लै कुरा हो, त्यस वर्षको नोवेल पुरस्कारका लागि स्वीडेनकै अगस्त स्ट्रिनवर्ग पनि मनोनयनमा परेका थिए । तर सेल्माले वाजी मारिन् ।

गोविन्द गिरी प्रेरणा

सेल्मा लागरलोफको जन्म सन् १८५८ को नोभेमवर २० का दिन भर्मलैण्ड स्वीडेनमा भएको थियो । उनका पिता इरिक गुस्ताफ लागरलोफ र माता लुइसा एलिजावेथ वालरक लागरलोफ हुन् ।

सेल्मा तीन वर्षकी छँदा आफ्ना पितासँग एउटा तलाउमा नुहाउन गएपछि उनलाई एक प्रकारको पक्षाघात भयो । त्यसैले उनले आफ्नो वाल्यकाल या त सेनेटोरियममा अथवा न्यानो हावापानी भएको स्थानमा विताउनु पर्यो–स्वास्थ्य लाभको लागि । वाल्यकालमा सेल्माकी हजुरआमा यस्ती निरन्तर कथाकी श्रोत भइन् – जो उनलाई कथा सुनाइरहन्थिन्, सधैं । निरन्तर । जसको छाप पछि उनका कथाहरुको पुस्तकमा देखा पर्छन् । उनको नाजुक स्वास्थ्यको कारण उनलाई सानोमा स्कूल पढ्न पठाइएन । घरमै पढाइको बन्दोवस्त गरियो । उनका माता पिता दुबै सुसंस्कृत थिए । उनका पिता सैनिक अफिसर र माता चर्चकी पुजारीका खानदानका थिए ।

उनका पिता उनी करिब बीस वर्षकी हुँदा नै बिते र उनले आर्थिक कठिनाइको सामना गर्नु पर्यो । यसै समयमा उनी गाउँले स्कुल शिक्षिकाको रुपमा तयार हुँदै थिइन् । उनी बाइस बर्षकी हुँदा स्टकहोम गइन् र अध्यापन सम्बन्धी शिक्षा ग्रहण गरिन् । त्यसपछि उत्तरी स्वीडेनको ल्याण्डसक्रोनामा शिक्षणको लागि खटिइन् ।

साहित्यतर्फ सेल्माको झुकाव रङ्गमञ्चबाट शुरु भएको हो । आफ्नो काकासँग स्टकहोममा नाटक हेर्ने बित्तिकै उनलाई लागेथ्यो उनी नाटक लेख्नेछिन् र उनले त्यसै रात ‘प्रार्थना’ जस्ता पद्य कविता लेखेकी थिइन् । त्यस समयमा उनले नाटकतर्फ अभिरुचि देखाएकी थिइन् । तर उनको प्रथम प्रकाशित रचना भने कविता नै हुन पुग्यो । उनका ती कविताहरु स्थानिय पत्र–पत्रिकामा देखा परे । तर उनका ती फूटकर कविताहरुलाई सङ्कलित रुपमा छाप्ने प्रकाशक उनले पाइनन् र पछि पुस्तकको रुपमा छाप्ने विचारै उनले मष्तिष्कबाट हटाइन् ।

शिक्षणको क्रममा ल्याण्डसक्रोनामा लागिरहेकै समयमा उनले भर्मलैण्ड र डेलेकार्लियाको पृष्ठभूमिमा किसानहरुको सुखदुःदको प्रत्यक्ष अनुभव र अनभूति सँगालिन् । त्यसैलाई नै उनले २ खण्डको ‘द स्टोरी अफ गोष्टा वर्लिङ’(१८९१) लेखेकी हुन् । गीति शैलीमा लेखिएको यो उपन्यासले धेरैको ध्यान आकर्षित गर्यो । थोमस कार्लाइललाई विउँझाएको अनुभव गरायो तथा सन् १८९० को दशकमा फेरि रोमाण्टिक धाराको पुनर्जागरण गरायो । यो रचना शुरुमा उनले पद्यात्मक रुपमा लेखेकी थिइन्, फेरि यसलाई उनले नाटकको रुप दिन चाहिन् । र अन्तमा संक्षिप्त कथाको रुपमा तयार गरिन् । पछि त यसले बृहत उपन्यासकै रुप लिन पुग्यो ।

सन् १८९४ मा उनले एउटा कथा सङ्ग्रह ‘इनभिजीवल लिङ्कस्’ प्रकाशित गरिन् । सन् १८९५ मा उनलाई ‘यात्राको लागि छात्रबृत्ती’ प्राप्त भयो । यसपछि उनले शिक्षण पेशा सदाको लागि त्यागेर आफ्नो साहित्यिक पृष्ठमूमिलाई अझ बलियो र स्तरिय पार्न इटालीतिर लागिन् । पछि उनले इटलीको भ्रमण गरिसकेमछि ‘द मिराकल अफ एण्टीक्रिष्ट’ (१९९७) लेखिन् । यो सिसलीको पृष्ठभूमिमा तयार गरिएको सुन्दर उपन्यास हो । सन् १८९९ र सन् १९०० को हिउँदमा इजिप्ट र प्यालेष्टाइनको भ्रमणले उनलाई २ खण्डमा ‘जेरु शेलम’ उपन्यास लेख्न हुटहुटी जागृत गरायो । यस उपन्यासले नै सेल्मा लागरलोफलाई स्वीडनको उपन्यास साहित्यको सर्वोच्च स्थानमा प्रतिष्ठापित गरायो ।

आफ्ना पुस्तकहरुको लेखकस्वबाट आर्जेको रकमले उनले फालुनमा एउटा सानो घर किनेकी थिइन् जहाँ उनी आफ्नी आमा र काकीसँग बस्थिन् । उनले कहिल्यै बिहा गर्न रुचाइनन् । तर आफ्नो बैंशको भर्भराउँदो अवस्थामा उनी पनि प्रेम प्रकरणमा परेकी उपकथाहरु भने अवश्यनै देखिन्छन् ।

सन् १९०४ मा उनले स्वीडिस एकेडेमीबाट स्वर्णपदक प्राप्त गरिन् र १० बर्षपछि त्यही एकेडेमीको सदस्यमा नै मनोनित भइन् ।

दोश्रो विश्वयुद्धले सेल्माको लेखनमा गहिरोसंग बाधा पुर्याय। र केहीबर्ष उनले थोरै मात्र कलम चलाइन् । त्यसपछि ‘द वण्डरफूल एडभेन्चर अफ नाइल्स’ (१९०६), ‘द फर्दर एडभेन्चर अफ नाइल्स’(१९११), ‘द गर्ल्स फ्रम द मार्स क्रोफ्ट’(१९१२) जस्ता कृतिहरु उनको प्रतिभाशाली कलमले जन्मायो ।

‘द वण्डरफूल एडभेन्चर अफ नाइल्स’ भूगोलको पाठ्यपुस्तक हो, जसलाई उनले लोककथाको रुपमा लेखेकी हुन् । उनका रचनामा लोककथा र लोकगाथा अत्यधिक रुपमा प्रयोग गरिएको पाइन्छ । यसमा एउटा यात्रु केटाले देखेको किसिमले स्वीडेनको वर्णन छ । यो सत्य र तथ्यलेपूर्ण कृति हो र शैली ‘हान्स क्रिश्चियन एण्डरसन’को ‘एलिस इन वण्डरलैण्ड’ बाट प्रभावित छ । यी पुस्तकहरु स्वीडिस विद्यालय अधिकारीहरुको अनुरोधमा बालकहरुको लागि लेखिएको हो ।

सन् १९३२ मा प्रकाशित ‘द डायरी अफ सेल्मा लागरलोफ’ आफ्नो बाल्यकालको सम्झनामा लेखिएको कृति हो । त्यस्तै उनका जीवनका अनुभवहरु, भोगाइहरु ‘मेम्वायर्स अफ माई चाइल्डहुड’ मा स्पष्ट देख्न सकिन्छ । उनको ‘भर्मलैण्ड ट्रिलोजी’ १८ हौं शताब्दिमा आधारित छ । यसमा ‘द रिङ अफ द लोअनकोडस् प्रथमखण्ड हो जसमा रोमान्स, रहस्य र पारिवारिक इतिहास छ । त्यस्तै अरु २ खण्ड ‘द जनरल्स रिङचार्लोट लोभनकोड’ तथा ‘अन्ना यार्ड’ हुन् । उनी आफ्नो भारवाकाको घरसँगै बढी आकृष्ट थिइन् । यसलाई उनको पिताको मृत्युपछि बेचिएको थियो तर उनले त्यो घर नोवेल पुरस्कार पाएपछि त्यही रकमले किनिन् ।

सेल्मा लागरलोफको लेखनमा धर्मको ठूलो भूमिका रहेको पाइन्छ । उनको २ खण्डको ‘जेरुशेलम’ उपन्यासमा स्वीडिस धार्मिक समुदायहरुले दोस्रो क्राइष्टको प्रतीक्षा गर्दछन् । त्यस्तै ‘क्रिष्ट लिजेण्डस्’ (१९०४) क्रिस्तानी मीथमा आधारित ग्रन्थ हो ।

सन् १९०९ मा सेल्मा लागरलोफलाई नोवेल पुरस्कार दिइने घोषणा गर्दै स्वीडिस एकेडेमीले उनलाई यो पुरस्कार “कोमल आदर्शबादको प्रसंशामा तथा अलौकिक कल्पनाशीलता र आफ्ना कृतिहरुमा इश्वरीय भावभूमिमा चरित्रहरुको निर्माण गरे बापत” प्रदान गरेको हो । साँच्चै भन्ने हो भने उनको लेखनमा तत्कालीन स्वीडेनको यथार्थबाद झल्कन्छ ।

समय बित्दै जाँदा लागरलोफ धेरै भन्दा धेरै आरामै गरेर दिन बिताउन थालिन् । उनको पचासौं जन्मोत्सव राट्रिय स्तरमा मनाइयो र सत्तरियौं जन्मोत्सव अन्तरराष्ट्रिय स्तरमा । उनी हिउँदमा फालुनमा बस्थिन् र बर्षामा मारवाका जहाँ उनको १४० एकड जमिनको फार्म समेत थियो ।

सेल्माको जीवनको अन्तिम महिनातिर स्क्याण्डनेभियामा युद्ध फैलिएको थियो र स्वीडेनलाई चेतावनी प्राप्त भैरहेको थियो । यसले उनलाई प्रशस्त कष्ट दिएको थियो । लामो अश्वस्थतापश्चात् उनी सन् १९४० मार्च १६ का दिन यो संसारबाट बिदा भइन् । उनले मृत्युपूर्व २४ घण्टा लामो अवचेतन अवस्थाको पीडा खप्नु परेको थियो । उनले लेखेको जीवनको अन्तिम कुरा थियो – “म आफ्नो अस्वस्थ्यताको कारण आत्मकथात्मक रचना तयार गर्न सक्दिन ।” यो उनले अंग्रेजी भाषामा आफ्नो आत्मकथात्मक रचनाको सम्पादकलाई लेखेकी थिइन् ।

सेल्मा लागरलोफ ६ भाषामा राम्रोसँग लेखपढ गर्न सक्दथिन् । एडविन जार्क मैनले उनको सम्बन्धमा ‘भ्वाइसेस अफ टूमारो’ मा लेखेका छन्– “उनी एक स्वप्नदर्शी, भावनामयी, र अभिलाषापूर्ण महिला थिइन् ।”

सन् १९११ मा भएको अन्तरराष्ट्रिय स्त्री सुधार काँग्रेसको अधिवेशनमा उनले एउटा महत्वपूर्ण भाषण दिएकी थिइन् जुन भाषण संसारका प्रमुख पत्रिकाहरुमा अनुवाद भएर प्रकाशित भयो । यसमा बेला बजाउने युवतीको मधुर र काव्यपूर्ण रुपमा कल्पना गरिएको छ । उ संगीतलाई नै आफ्नो घर सम्झन्छे । र त्यसैलाई नै विश्रामस्थल, त्यसलाई छाडेर उ संसारमा कुनै कुरालाई पनि मान्दिन । तन्मयताको मनोमुग्धकारी बर्णन त्यस पुस्तकमा जसरी गरिएको छ, त्यो अत्यन्त दुर्लभ छ ।

वास्तवमा सानै उमेरमा सेल्मा लागरलोफलाई बेलमैनका कविताहरुले धेरै प्रभाव पारेको थिए । किनकी तिनमा हास्य, करुणा र संगीतको अभूतपूर्व सामन्जस्य थियो । उनले ‘टिचर्स कलेज, न्यूनवर्ग तथा उनका कविताहरुको सम्बन्धमा ब्याख्यान सुनेकी थिईन् अनि त उनी अकस्मात् भाबुकताले अभिभूत भएर निश्चय गरिन–उनी पनि त्यस्तै कथाहरु लेख्नेछिन् र तिनमा प्रचलित किस्सा, कहानी र किम्बदन्तीहरुको प्रचुरमात्रामा उपयोग गर्नेछिन् ।

सेलमा लागरलोफको मृत्युको ५१ वर्षपछि सन् १९९१ मा स्वीडिस सरकारले उनको तस्वीर अङ्कित २० स्वीडिस क्रोनर नोट निष्कासन गर्यो । विश्वमा नोवेल पयरस।कार पाउने महिला साहित्यकार सेलमा यसरी बैङ्क नोटमा तस्वीर अँकित हुने प्रथम स्वीडिस महिला भइन् । स्वीडेनमा उनको नाममा २ वटा होटल नामाकरण भएका छन् र उनको मारवाकाको घरलाई म्युजियम बनाईएको छ ।