साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

नोबेल पुरस्कार विजेता प्रथम जापानी साहित्यकार यासुनारी कावावाता

 

यासुनारी कावावाता

“म टुहुरो थिएँ र धेरैजसो अरुको दयाको भरमा बाँच्थें । अहिले म यस्तो व्यक्ति भएको छु जो न कसैलई घृणा गर्न सक्छ न कसैसँग रिसाउन नै । तर पनि आफैं मेरो दिनचर्या शान्तिपूर्वक चलिराखेको छ । कसैबाट मैले केही आशा गरें भने त्यो म पाउन सक्छु ।”

यो आत्मकथ्यको अंश हो साहित्यतर्फको नोवेल पुरस्कार पाउने विश्व विख्यात प्रथम जापानी उपन्यासकार यासुनारी कावावाताको । उनका पिता डाक्टर थिए जसले उनी दुई वर्षको छँदा नै देह त्याग गरे । त्यसको एकवर्षपछि उनकी आमाको पनि देहान्त भयो । त्यसको लगत्तै पछि उनकी बहिनीको र उनको पालन–पोषणको लागि जिम्मा लिएकी हजुरआमाको पनि मृत्यु भयो ।

नौ वर्षको उमेरसम्म उनी हजुरबासँग बसे जसको मृत्यु पनि उनी सोह्र वर्षको छँदा भयो । र यसरी सोह्र वर्षको उमेरसम्ममा आफ्ना सम्पूर्ण नजिकका नातेदारहरुलाई उनले गुमाइसकेका थिए र उनले सानै उमेरमा ऐकान्तिकता र मानव अस्तित्वको बोझा स्वीकार्न बाध्य हुनुपर्यो ।

११ जुन १८९९ मा ओसाका जापानमा जन्मेका यासुनारी कावावाताले १९२४ मा टोकियो इम्पेरियल विश्व विद्यालयबाट स्नातक गरेका हुन् । आफ्ना संरक्षक हजुरबाको मृत्युपश्चात् त्यो पीडादायक मृत्युलाई लिएर ‘१६ वर्षे केटाको दैनिकी’ (१९२५) उनले लेखेका थिए । यसको बारेमा जापानी साहित्यका अध्येता विद्वान डोनाल्ड कीन भन्छन्–‘यौटा ठिटोले यति लेख्नु असाधारण हो ।’

सन् १९२१ मा उनले निकालेको युद्धमा मर्नेहरुको स्मृति सेवामा अर्पित दृश्यले त्यस बखतका ख्यातिप्राप्त नाटककार कान किकुचीको ध्यान खिंच्यो र उनले कावावातालाई आफ्नो पत्रिका ‘बुन्गी सुन्जु’ मा सहायक नियुक्त गरे ।

सुरु सुरुमा कावावाता चित्रकार हुने अभिलााषा राख्तथे । तर बाह्र वर्षको उमेरमा साहित्यतर्फ उनको रुची जन्म्यो र बौद्धमार्गी लेखनमा आफूलाई समर्पित गरे । यस बारेमा उनी भन्छन्–‘म बौद्धलाई धार्मिकभन्दा बढी साहित्यिक दृष्टिको फैन्टेसीको रुपमा महत्व दिन्छु ।“

उनले रिची योकोमिचुसँग पनि भेटे जो त्यस दशकका प्रमुख जापानी उपन्यासकार गनिन्छन् । उनीहरु ‘बुङ्गी जिदाई’ साहित्यिक पत्रिकाका संस्थापक थिए जुन ‘नियो सेन्सेनिज्म’ आन्दोलनको प्रमुख अंग थियो । त्यसले सन् १९२० को दशकको प्रकृतिवादको स्थापत्य र सामाजिक विरोधको साहित्यलाई अस्वीकार गरेको थियो ।

गोविन्द गिरी प्रेरणा

‘नियो सेन्सेनिज्म’, ‘क्यूविज्म’, दादाइज्म, फ्यूचरिज्म र सर्रियलिज्मको प्रयोग गर्दै कावावाता केही समय ‘चेतनाप्रवाह’ प्रति पनि आकर्षित भएका हुन् । उनका सुरुका रचनाहरुमा १५ औं शताब्दीको रेङ्गाको प्रष्ट प्रभावहरु देख्न सकिन्छ । यो गुण त्यस्तो गुण हो जुन गुण जापानको सत्रौं शताब्दीदेखि २० औं शताब्दीसम्म पनि गद्य विधामा देख्न सकिन्छ ।

यो पछिको कुरा हो, कावावाताको आख्यानले यसलाई पछिल्ला वर्षहरुको नजिक ल्यायो ।

सन् १९२६ मा उनको पहिलो लोकप्रिय रचना ‘द ईजु डान्सर’ प्रकाशित भयो । वास्तवमा यो कथा रचनाले उनको साहित्यिक संसारको मुल ढोका नै खोलिदियो । यसपछिका उनका सम्पूर्ण रचनाहरुलाई यही रचना र यसैको प्रतिष्ठाले बोकेको भन्नेहरु पनि भेटिन्छन् । यो कथा रचना लामो कथा भन्दा अलि छोटो कथा हो ।

अर्ध कथात्मक ‘द ईजु डान्सर’ द आर्टिस्टिक एज पत्रिकामा प्रकाशित भएको थियो जुन उनले सुप्रसिद्ध जापानी लेखिका योकोमिसु रिचिसँग मिलेर स्थापना गरेका थिए, जुन पछि नियो सेन्सेइज्म समूहको यौटा हाँगो साबित भयो ।

कावावाताका प्रमुख उपन्यासहरु स्नो कन्ट्री, थाउजेण्ड क्रेनस, द साउण्ड अफ माउण्टेन आदि हुन् ।

स्नो कण्ट्री अर्थात् हिमदेश १९३७ मा अधुरो प्रकाशित भएको थियो । यो उपन्यास दशवर्षपछिसम्म पनि पूर्ण भएन । कावावाताको विशेषता नै थियो– छोटो उपन्यासको लागि पनि अत्यधिक समय लगानी गर्नु । यो एउटा पहाडमा अवस्थित स्थानको सिमामुरा र सुन्दरता हराइसकेको गीसा कोमाकोको प्रेम प्रसङ्ग हो । उ प्रेम गर्छे तर उ गर्दिन । यस उपन्यासलाई नेपालका कवि तथा अनुवादक क्षेत्रप्रताप अधिकारीले शुरुमा साहित्यिक मासिक पत्रिका मधुपर्कमा धारावाहिक रुपमा अनुवाद गरी प्रकाशित गरेका थिए तथा पछि पुस्तकाकारमा पनि प्रकाशित भएको थियो ।

प्रख्यात समालोचक सी.जी. रोलोले यसलाई युद्धपछिको अत्यन्त सुन्दर लघु उपन्यास भनेका छन् ।

थाउजेण्ड क्रेनस अर्थात् सहस्र सारस (१९५९) मा मानवीय सुन्दरताको बहादुरी र अवोधता छ चियापान समारोहको पुरानो परिपाटी बिरुद्ध । यो एएटा यस्तो युवकको कथा हो जसले धेरै स्वास्नीमानिसहरुसँग सम्पर्क राख्छ ।

द साउण्ड अफ माउण्टेन अर्थात् पहाडको आवाज (१९५४) एउटा मानिसको हराएको शक्ति र परिचय एवं मृत्युसँगको सम्पर्कको कथात्मक प्रस्तुति हो ।

कावावाताका पछिल्ला उपन्यासहरुमा जापानी उपन्यासकार जुनीकिरो तानीजाकीको झैँ ‘ईरोटिक एप्रोच’ स्पष्ट देख्न सकिन्छ । ‘द हाउस अफ स्लिपिङ ब्युटिज’ यस्तै रचना हो । यसमा बृद्ध इगुचीले छ रात एउटा विश्रामगृहमा बिताउँछ जहाँ मनोरञ्जनको लागि हरेक रात कुमारी केटीहरु नग्नता प्रदर्शन गर्दछन् ।

जव कावावाताले नोवेल पुरस्कार स्वीकार गरे, उनले भने–“मैले आफ्ना रचनामा मृत्युलाई अझ सुन्दर बनाउने प्रयत्न गरेको छु र मानवको तन्तुसँग मिलाउने प्रयत्न गरेको छु प्रकृति र खालीपन सहित ।”

दोस्रो विश्वयुद्धताका कावावाताले मन्चुरिया भ्रमण गरे तर यो उनको लागि पीडादायक समय थियो । उनले युद्धको समय पढ्ने काममा बिताए । प्रायः उनले क्लासिक्सहरु पढे, जस्तो ‘द टेल अफ गेन्जी ।’ यसमा उनले ‘पुरातन जापानको खिन्नता’ अनुभव गरे ।

एउटा अंग्रेजी आलोचकले भनेका छन्–“कावावाताको संसार ऐकान्तिकता र मृत्युको संसार हो । उनको मूल्याङ्कनमा मानवीय सम्बन्ध क्रूरतापूर्णसम्म चिसो छ ।”

सन् १९४८ देखि १९६५ सम कावावाता अन्तरराष्ट्रिय साहित्यिक संस्था ‘पेन’ को जापान च्याप्टरको अध्यक्ष रहेका थिए भने अन्तरराष्ट्रिय स्तरमा १९५६ मा उपाध्यक्ष भए । पेनकै माध्यमबाट उनले १९५७, १९६० र १९६४ मा युरोप र अमेरिकाको भ्रमण पनि गरे ।

आकुतागावा पुरस्कार लगायत जापानका सबैजसो प्रतिष्ठित पुरस्कारले सम्मानित कावावाता जापानको कला प्रतिष्ठानको सदस्य थिए र गोयथे गोल्ड मेडल अफ द सिटी अफ फैंकफर्ट, द फ्रेन्च अर्डर डेस आर्टस् एट लेटर्स, कल्चरल मेडल जापानी गभर्नमेण्ट आदि पदक र पुरस्कारले विभूषित भएका थिए ।

उनी रविन्द्रनाथ टैगोरपछि साहित्यतर्फको नोवेल पुरस्कार पाउने दोस्रो सौभाग्यशाली एशियाली लेखक तथा प्रथम जापानी साहित्यकार भए सन् १९६८ मा । उनलाई नोवेल पुरस्कार प्रदान गर्ने समारोहमा उनको तत्कालिन समयमा भर्खरै प्रकाशित उपन्यास “ द वर्ल्ड क्यापिटल” को चर्चा गरिएको थियो र त्यसलाई महत्वपूर्ण कृतिका रुपमा वर्णन गरिएको थियो । नोवेल पुरस्कार ग्रहण समारोहमा कावावाताले “ जापान, द व्युटिफूल एण्ड माइसेल्फ” शिर्षकमा व्याख्यान दिएका थिए ।

जीवनको अन्तिम समय उनको शरीर त्यति स्वस्थ थिएन । प्रायः उनी सधैं सुतिरहने गर्दथे ।

सन् १९७० मा जापानका अत्यन्त विख्यात लेखक युकियो मिसिमाले आत्महत्या गरेका थिए । त्यसको अन्तिम संस्कार सभाको अध्यक्षता कावावाताले नै गरेका थिए र अचानक १६ अप्रिल १९७२ का दिन यो दुनियाँमा श्रीमती र छोरीलाई टुहुरो छाडेर जुसीको किनारमा ग्याँसको माध्यमले आफ्नै कोठामा विना कुनै कारण आत्महत्या गरेर आफ्नो दैहिक अस्तित्वको अन्त्य गरे ।

उनको मृत्युको वारेमा केही मतभेद देखिएका छन् । उनले झुक्किएर वाथरुमको ग्यास खोल्दा दुर्घटनावस उनको मृत्यु भएको पनि भनिन्छ । अर्कोतिर उनलाई पार्किन्सन्स रोग भएकोले खराव स्वास्थ्यको कारण तथा उनको अवैध प्रेम सम्वन्धले आत्महत्याको बाटो रोजेको पनि विश्वास गरिन्छ । उनका साहित्यिक मित्र युकियो मिशिमाले आत्महत्या गरेकाले पनि उनले आत्महत्या गरेको विश्वास गर्नेहरु पनि छन् । पछिल्लो समय उनी डिप्रेसनमा गएका थिए र साथीहरुलाई यातराको वेला प्लेन दुर्घटना भैदियोस् भन्ने लागेको वताउने गर्थे ।

जे होस् उनले मृत्यु अघि कुनै इच्छापत्र नलेखेकाले धेरै कुरा अनुमानमा र रहस्यमा सीमित भयो, उनको मृ्त्युको कारण ।

प्रतिक्रिया
Loading...