शिव प्रधानको नामसँग हल्का परिचय भए पनि, उनका रचनासँग परिचय भए पनि उनीसँग सम्पर्क भने थिएन । उनको बारेमा अरु क्यै थाहा थिएन, सिक्केमेली साहित्यकार हुन् भन्ने बाहेक । अविनाश श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिए र त्यो समय उनले असम र काठमाडौंबीच पुलको काम गरिरहेका थिए । नेपाली साहित्य परिषद असमसँग सम्बध्द थिए र सो परिषदको मुखपत्र र उताका साहित्यकारका कृतिहरु मात्र होइन, नेपालका साहित्यकारका साहित्यिक कृतिहरु पनि उनले त्यस समयमा सो संस्थाबाट प्रकाशित गराएका थिए ।
यसै सिलसिलामा मुद्रणकार्यका लागि उनी वनारस गइरहन्थे र त्यहाँ स्वभावतः मुद्रण कार्यका लागि जाने नेपालीहरुसँग उनको भेटघाट र बसउठ हुनु स्वाभाविकै थियो । एकपल्ट वनारसबाट फर्केपछि उनले भने, “गिरीजी, तपाईं त समालोचना पनि लेख्नुहुन्छ, यौटा समालोचना दिनुस् न, सिक्किमका शिव प्रधानले बृहत् समालोचना निकाल्दैछन् । उनले मसँग पनि सहयोग मागेका छन् समालोचनाहरु संकलनका लागि !”
तर के कसो भएर हो, मैले समालोचना दिन सकिंनँ, त्यत्तिकै भयो ।
अचानक एक दिन थाहा भो शिव प्रधान काठमाडौं आएका छन् । मैले थाहा पाउनेबित्तिकै सम्पर्क गरेँ । उनले खुशी भएर भोटे बहालमा उनी बसेको होटलको नाम ठेगाना बताउँदै भने, “जयदेव भट्टराई पनि आउँदैछन्, एकैपल्ट भेटौं त्यही समयमा ।”
उनले दिएको दिन र समयमा म पुगें भोटे बहालको होटलमा । जयदेव पहिल्यै पुगिसकेका रहेछन् । म पुगेर अभिवादन गरिसकेपछि उनले भने, “भाइहरुलाई म चिया मगाउँछु है !”
हामीले मुण्टो हल्लायौं । केहीबेरमा दुई गिलास चिया आयो अनि उनले भने, “मेरो त यस्तो चिया छ ।”
यसो भनेर उनले त ह्विस्की गिलासमा हाले क्वार्टर साइजको बोतलबाट र चुस्की लगाउन थाले ।
साहित्यिक कुराकानी शुरु भयो । विशेष उनी जयदेवसँग कुराकानी गर्दै थिए । शायद पहिलेदेखि सम्पर्क थियो कि ! अनि केही बेरमा उनले सुटकेशबाट यौटा ढड्डु किताब निकालेर त्यसमा उपहार लेखेर जयदेवलाई दिए । त्यो किताब थियो, त्यही “बृहत् समालोचना”, जसमा प्रकाशनार्थ अविनाशले मलाई समालोचना दिनका लागि आग्रह गरेका थिए । त्यो किताब देखेपछि म आफू त्यो पुस्तकमा आफ्नै कारणले छुटेकोमा मनमनै चुकचुकाएँ र आशालाग्दो पाराले उनीतिर हेरेँ, कतै मलाई पनि यौटा त्यो “बृहत् समालोचना” को पुस्तक दिइहाल्छन् कि भनेर !
तर उनले सुटकेशमा हात घुसारेर पिंधतिरबाट यौटा पातलो पत्रिका जस्तो किताब निकालेर मलाई दिंदै भने, “ यो चाहिँ भाइलाई !”
मेरो अनुहार खिस्रिक्क भयो ।
उनले मेरो हातबाट त्यो पुस्तक लिंदै भने, “भाइ, यो किताब त्यो भन्दा धेरै महत्त्वपूर्ण छ । यो नेपाली भाषाको आन्दोलनको किताब हो, यो कितावको अन्तमा केही हरफ कविता छन्, ती कविताका तिनै हरफहरु नै यो पुस्तकको मुटु हो । ल हेर्नु होस् ।”
यति भनेर तिनले मलाई त्यो स्यानो पुस्तक हातमा दिए । मैले पुछारको पातो पल्टाएर हेरें । शिव प्रधानले त्यो किताबको मुटु भनेको ती कविताका हरफहरु मेरै कविताका हरफहरु रहेछन् । २०३६ सालको सडक कविता क्रान्तिमा पढेको र त्यतिबेलै कतै प्रकाशित कविताको अंश रहेछ । त्यो मेरो लागि अभूतपूर्व आश्चर्यपूर्ण सुखद् अनुभूतिको क्षण थियो ।
यसरी शिव प्रधानसँग मेरो पहिलो प्रत्यक्ष भेट र चिनाजानी अविष्मरणीय बन्न पुगेको थियो ।
दोस्रोपल्ट उनीसँग मेरो भेट होटल शंकरमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कथा दिवस र मैनाली कथा पुरस्कार वितरण समारोहमा भएको थियो । मैले आफ्नो कथा लेखनको २५ औं वर्षमा सो पुरस्कार पाएको थिएँ । सोही समारोहमा रमेश विकल तथा शिव प्रधानलाई सम्मान गरिएको थियो । हामीले एउटै मञ्चमा साथै बस्न पाएका थियौं ।
त्यसपछि उनीसँग एकैपल्ट सिक्किमको राजधानी गान्तोकमा भेट भयो, उनकै निवासमा ।
नकुल सिलवाल र मैले “नेपाल-भारत साहित्य संस्कृति अध्ययन-भ्रमण” गरेका थियौं । सो सिलसिलामा सिक्किम पुगेपछि हामी सोध्दै खोज्दै पुग्यौं उनको निवास । बिहानको समय थियो । सिक्किम साहित्य परिषदमा टीकाराम ढुंगेलको हातबाट चिया पिएर हामी त्यता लागेका थियौं । स्टेसनरी र पुस्तकको दोकान रहेछ तर कोही देखिएनन् पसलमा ।
“शिव दाइ ! शिव दाइ हुनुहुन्छ ?” मैले सोधेँ ।
“ को हो भाइ ? म पछाडि छु आउनुहोस् न !” उनको चिरपरिचित आवाज दोकान र पछाडिको कोठालाई छेक्न टाँगिएको पर्दाबाट आवाज आयो ।
हामी पछाडि गयौँ । पछाडिको कोठा एक प्रकारको गोदाम जस्तो रहेछ । पुस्तक र स्टेसनरीका सामानहरुको अनि पुस्तकको र्याकमा ह्विस्कीको फुल बोतलबाट यौटा गिलासमा हाल्दै रहेछन् । उनले हाँस्दै भने, “ए लौ भाइहरु पो आउनु भएछ ! ल भाइहरु पनि लिऊँ । म त यी पटियाला पेग लिँदैछु ।”
यति भनेर उनले हामीलाई पनि पनि चियाको गिलासमा चिया हालेजस्तै गरेर ह्विस्की हालेर दिए । नकुलजी र म अकमक्क पर्दै एकअर्कालाई हेर्न थाल्यौं । “सिक्किममा ह्विस्की खानुपर्छ भाइ । यहाँ खूप सस्तो छ । सिक्किमेहरुले देश बेचेबापत सस्तो मोलमा रक्सी खाएर झुल्न सरकारले राम्रो व्यवस्था गरेको छ ।”
हामीले संकोच मानेर लियौं । बिहान-बिहानैबिना सितन हामीलाई बडो मुस्किल भयो पटियाला पेग सक्न । यसै बीच साहित्यका कुरा पनि गर्न लाग्यौं । हामीले हाम्रो भ्रमणको उद्देश्यको बारेमा बतायौं ।
उनले भने, “भोलि त गान्तोकमा कोही पनि त भेटिन्न हो भाइ ! कश्यपजीको भोलि १३औं दिन । सारा मान्छे उनको निवासतिर लाग्छन् । सिएम (चिफ मिनिस्टर) पनि जान्छन् । अँ बरु भाइहरु पनि उतै जाऊँ । पुण्य र म जान गाडी लिएका छौं, तपाईंहरु पनि सँगै जाऊँ । सिएमसँग त्यहाँ भेट्न पनि सजिलो हुन्छ । पुण्यको राम्रो छ । उसले मिलाउँछ ।”
र, भोलिपल्ट हामी चार जना लाग्यौं कश्यप निवास । त्यहाँ सिएम अर्थात् सिक्किमका मुख्यमन्त्री पवन चामलिङसँग पनि संक्षिप्त भेट भो र त्यसपछि त्यो दिनभरि, रात नपरुन्जेल हामीले कति ठाउँमा पस्यौं, तोङ्वादेखि पटियाला पेगसम्म, समोसादेखि सुकुटीसम्म के र कति खायौं, पियौं त्यसको कुनै लेखो नै भएन ।
शिव प्रधानसँगको त्यो दिनको सहयात्रा अविस्मरणीय भयो ।
काठमाडौंमा बगर फाउण्डेसन नेपालको तर्फबाट शिव प्रधानलाई बगरको वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो । नेपाल-भारत साहित्य संस्कृति अध्ययन भ्रमणका सहयात्री मित्र नकुल सिलवालको अध्यक्षतामा रहेको बगर फाउण्डेसन नेपालमा म पनि जोडिएको थिएँ । उनलाई त्यसरी नेपालमा सम्मानित गर्न पाउँदा नकुलजी र म दुवैलाई सन्तोष लागेको थियो ।
साहित्य पेसा होइन लगाव हो । साहित्य भाषा प्रतिको प्रेम हो । संस्कृतिको जगेर्नाको जग हो । संसारभर फैलिएका नेपालीहरुले सिर्जना गर्ने साहित्य भनेको नेपाली साहित्यको अस्तित्वको जगेर्ना हो, भाषाको अस्तित्वको जगेर्ना हो, संस्कृतिको अस्तित्वको जगेर्ना हो । त्यसरी जगेर्ना गर्ने मध्यकै एक थिए शिव प्रधान ।
उनले आफ्नो जीवन नेपाली भाषा साहित्यका निम्ति अर्पित गरेका थिए । उनले नेपाली भाषामा लेखे, नेपाली पुस्तक सम्पादन गरे, नेपाली पुस्तक प्रकाशन गरे । अशेष मल्लले एमएमा लेखेको “तेस्रो आयाम” को थेसिसलाई उनले किताबको रुपमा प्रकाशन गरेका थिए । मैले जानेसम्म उनी नेपाली भाषाका पुजारी थिए, तर पटियाला पेग उनको रुचि र कमजोरी दुवै थियो ।
अहिले शिव प्रधान छैनन् तर उनले नेपाली भाषा साहित्यका लागि गरेको योगदानको इतिहास जीवित छ । उनले लेखेका कृतिहरुको इतिहास जीवित छ । अनि संगत गर्नेहरुको मनमा उनी अझै जीवित छन् ।