ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीको अन्तर्राष्ट्रिय बेइज्जती गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ । कसरी उनी रूसी आक्रमण रोक्न र अमेरिकी सहयोग माग्न गएका थिए, उल्टै उनलाई बेइज्जत गरी बिना सहयोग फर्काइयो भन्ने भाइरल भिडियोहरू हेर्न संसार व्यस्त छ ।
धेरैले अमेरिकी राष्ट्रपतिको यस्तो व्यवहारलाई थुःथुः गरिरहेका छन् ।
रूस र युक्रेन बीचको द्वन्द्वको कथा अरू कुनै बेला कथौँला तर ट्रम्प निर्वाचित भएपछि यो युद्ध चाँडै थामिएला भन्ने विश्वास धर्मराउन थालेको छ ।
युक्रेनले हामीलाई के पाठ सिकायो, पक्कै पनि केही सिकायो । के सिकायो भने, बढी राष्ट्वादी हुनुअघि आफ्नो औकात जान्नु आवश्यक छ । के उसो भए, साना र होचाले आफूलाई अन्याय भन्न पनि नपाउनु ? अवश्य पाउनु तर समय, काल र परिस्थिति पनि हेर्नू । कसैले उचाल्दैमा नउचालिनू ।
घाटा कसलाई भयो ? त्यहाँका सर्वसाधारण जनतालाई । तिनले जुन आर्थिक, सामाजिक र व्यक्तिगत घाटा बेहोरे, नजाने कयौं वर्षसम्म त्यसको पूर्ति हुन कठिन छ ।
जुन आत्मियता पहिले रुस र युक्रेनबीच थियो, अब त्यो रहने छैन । एउटा गहिरो घाउ बनेर यो युद्ध रहिरहने छ । त्यसको उदाहरण गएको वर्ष रिलिज भएको फिल्म ‘बुचा’ बन्न पुगेको छ ।
यो फिल्मले युक्रेनको विविधताबारे देखाएको छ । युक्रेनमा रहँदै बस्दै आएको अर्कै देशको एउटा नागरिकले युद्धका क्रममा सर्वसाधारणको ज्यान जोगाउन मोलेको जोखिमका बारेमा यो फिल्म बनेको छ । युक्रेनी उसका आफन्त होइनन् तर जुन देशले उसलाई आत्मसम्मानका साथ जीवन जिउन सघायो, उसप्रति ऊ कतिसम्म ऋणी छ भने अप्ठेरो अवस्थामा तिनलाई सघाउन साराका सारा जोखिम मोल्छ ।
युद्धका बेला सबैभन्दा बढी घातमा महिला पर्छन्, ती विधवा हुन्छन्, ती बलात्कृत हुन्छन्, ती अपहेलित हुन्छन् । तिनका दुःखको पहाड कही नसक्नु हुन्छ । यस्ता अनेक कथा बुनेर युक्रेनले रुसलाई पाठ पढाएको छ, तिमीले दिएको घाउ अब अपूरणीय बनिसक्यो । अब यो घाउले दुई दाइभाइबीच कहिल्यै नमेटिने दाग दिएर गएको छैन । अब दुईबीच कहिल्यै पनि त्यो आत्मियता रहने छैन ।
रुसले यो युद्धमा के पायो ? हेर्दा केही गज जमिन पाउला । त्यो जमिनको घाउले अब जन्मान्तरसम्म दुवै देशलाई पोलिरहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










