शेखर आचार्य

उस्तै छ छटा
मेरै देश जस्तो
मेरै भीरपाखाजस्ता
उस्तै मान्छेका बस्तिहरू
मात्र उता बम बारूद खसिरहेछन्
मैदान क्षतविक्षत हुनेगरी
अहिलेलाई यता नखसेको मात्र हो ।

भोग्ने आत्मा उस्तै हो
मात्र अहिलेलाई आँखा ओभानो छ कि
डिल भिजेका छन् भन्ने न हो
यता पनि
ट्याङ्करले पेल्न सकिने सिमाना उतिनै कमजोर छन् ।
झिकी कटकमा खुकुरी नचाए पनि
हार उस्तै हो, हाम्रै हो ।

बाख्राले बाघलाई तर्साएको निहुँमा
पानी धमिल्याएको निहुँमा
या अरू कुनै
बाघले झम्टने उसैगरी हो ।

जब सिंहासन बहुलाउँछ
को उदार ? को निरङ्कुश ?

कुन ढुङ्गे युग ?
कुन एक्काइसौं शताब्दी ?
हतियार भएपछि
चलाउने उसैगरी हो ।

केही फरक छैन
सोमालियामा बाँच्नु या सिरियामा
अफगानिस्तानमा बस्नु या अन्त कतै ।

अहिले म नेपालमा बसेर
युक्रेन बाँचिरहेछु ।

शंखादेवी