युक्रेनकी प्रख्यात पुरस्कार प्राप्त उपन्यासकार भिक्टोरिया एमेलिनाको मिसाइल आक्रमणमा परी निधन भएको छ । ३७ वर्षीया एमेलिना
क्रामातोर्स्क शहरमा रहेको रिया पिज्जा नामक रेस्टुराँमा बसिरहेका बेला प्रहार गरिएको रूसी मिसाइलमा परी घाइते भएकी थिइन् ।
कवि तथा उपन्यासकारको परिचय बनाएकी उनले पछिल्लो समय रूसले युक्रेनमाथि थोपरेको युद्धका क्रममा भइरहेको युद्ध अपराधमाथि
डकुमेन्ट्री बनाउँदै थिइन् ।
मिसाइलमा परी उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी रेस्टुराँको छत खसेपछि च्यापिएकी थिइन् । उनलाई उपचारार्थ
नजिकैको अस्पतालमा भर्ती गरिएको थियो । त्यही दुई दिनपछि उनको निधन भएको चिकित्सकहरूले घोषणा गरेको पेन युक्रेनले
जनाएको छ । पेन युक्रेन लेखनीमार्फत मानव अधिकारको पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।
एमेलिनाले दुई उपन्यास लेखेकी छन् । उनको डोम्स ड्रिम किङडम उपन्यासले २०२१ मा पुरस्कारसमेत हात पारेको थियो । उनले आफ्नो
शहर बख्मुत छेउ रहेको न्युयोर्क शहरमा न्युयोर्क लिटरेचर फेस्टिभलसमेत आयोजना गर्ने गर्थिन् ।
उनले एउटा बाल पुस्तकसमेत लेखेकी थिइन् ।
कोलम्बियाली लेखक तथा पत्रकारहरूसँगको एउटा भेटका अवसरमा उनी रिया पिज्जामा खाना खाँदै थिइन् ।
युक्रेनको स्थानीय जासुसी संयन्त्र एसबियुले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले रूसी संयन्त्रलाई
आक्रमणका लागि सहयोग गरेको एसबियुको दाबी छ ।
रूसी आक्रमणपछि यो शहरका आधा मानिसहरू भागेका छन् । कुनै समय यहाँ डेढ लाख आवादी थियो । यो रेस्टुराँ केही सीमित
सञ्चालनमा रहेका रेस्टुराँमध्येको एक थियो ।
एमेलिनाले पछिल्लो समय वार एन्ड जस्टिस डायरीः लुकिङ एट वुमेन एट वार पुस्तक लेख्दै थिइन् । उनीसँगै डाइनिङमा रहेका लेखक तथा पत्रकारहरू भने सामान्य घाइते भएको जनाइएको छ ।
उनले लेखेको पछिल्लो काव्यकृति साइरन्सले युद्धका बेला बज्ने साइरन, युद्धको विभीषिका माथि लेखेकी छन् ।
उनका दुई छोरा छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।