भर्खरै केही दिनअघि भ्यालेन्टाइन डे सकिएको छ । प्रेमको रमरमीमा केही प्रेमिल फिल्म हेर्न मन छ भने आज सटर्डे सिनेमामा हामी एउटा सुन्दर फिल्म अवलोकन गर्ने छौँ ।

फिल्मको नाउँ हो, द लास्ट होप । युट्युबको लिंकमा यसको नाम तपाइँले अर्कै पाउनु हुन्छ तर त्यसमा नझुक्किनु होला । खासमा भ्युअर तान्नका लागि यस्ता कुरा सामान्य हुन् । यो फिल्म सन् २०११ मा जर्मनीमा बनेको हो । जर्मनीको राष्ट्रिय टेलिभिजनले निर्माण गरेको यो टिभी फिल्मको कथाले सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिनै लाग्दा जर्मनीकै केही युवाहरूको विद्रोहका बारेमा बताउँछ ।

जसमा एलिन लुडविग नामक २५ वर्षीया युवती आफ्नै सेनाका विरूद्ध लडिरहेकी छे । नाजीका कारण देशको ठूलो नोक्सान भएकाले उनी आफ्ना सेनाले हारून् भन्ने चाहिन्छिन् । यस्तो चाहना राख्ने उनी मात्र एक्ली होइनन्, कयौँ युवा यस कार्यमा लागेका छन् ।

तीमध्ये रोबर्टसँग उनको परिचय हुन्छ । रोबर्ट बेलायती सेक्रेट एजेन्ट हुन्छन् । स्थानीय अस्पतालमा चिकित्सकका रूपमा कार्यरत यी डाक्टरले एलिनलाई असाध्य मन पराउँछन् तर उनको मुख्य उद्देश्य जर्मनीलाई थप हानिबाट जोगाउनु हुन्छ । त्यसैले उनले एलिनको सौन्दर्यलाई प्रयोग गरी जासुसी कार्यमा उपयोग गर्न चाहन्छन् ।

एकातिर स्वयं एलिन यसका लागि तयार छिन्, अर्कोतिर आफूलाई मन पराउने चिकित्सक पनि उनलाई जासुसी कार्यका लागि तयार गर्ने भएपछि उनी यु ८६४ नामक पनडुब्बी जहाज (सबमरिन)मा काम गर्ने अफिसर हान्ससँग हिमचिम बढाउँछिन् र नयाँ नयाँ जानकारी फेला पार्छिन् ।

हान्स अन्य नाजी सेनाजस्ता छैनन् । उनी वैज्ञानिक मनका नयाँ कुरा पत्ता लगाउने व्यक्ति हुन् तर देश युद्धमा होमिएका कारण उनी पनि युद्धमा जान बाध्य छन् ।

एलिन र हान्सबीच सम्बन्ध नजिकिदै जाँदा एलिन रोबर्टलाई भन्दा बढी हान्सलाई मन पराउन थाल्छिन् । जासुसी काम गर्दै उनको सेनालाई अप्ठेरोमा पारेकामा उनलाई अपराधबोध हुन थाल्छ । एक पटक त हान्स चढेकै यु ८६४ नामक पनडुब्बीमाथि उनैका कारण आक्रमण हुन्छ । यो आक्रमणमा परी उनीहरू एउटा अप्ठेरो ठाउँमा बास बस्नु पर्ने हुन्छ ।

एलिनलाई अब हान्ससँग अन्तिम भेट यही होला भन्ने लागेपछि बडो सकसका साथ भेट्न जान्छिन् । र, वास्तविकता बताइदिन्छिन् । तर हान्सले यति माया गर्ने मान्छेले आफ्नो के जासुसी गरी होली भनी पत्याउँदैनन् । अन्त्यमा हान्सको पनडुब्बीमाथि आक्रमण हुन्छ ।

हान्सको मृत्युमा आफ्नो हात भएकोमा उनलाई जीवनभर पछुतो लाग्छ । रोबर्टसँगको सम्बन्ध पनि उति राम्रो हुँदैन । पछि उनी बेलायतबाट फर्केर जर्मनीमै बस्छिन् ।

फिल्मको कथा सुन्दर छ । साथै, यसले अब के होला भन्ने बनाइरहन्छ । कथा पूरै फ्ल्यासब्याकमा छ । उनले आफ्नो कथा नातिनीलाई सुनाउँदै अघि बढ्छ ।

यो वास्तविक कथा होइन, यस्तो घटना भएको पनि थिएन तर यसले गज्जबको मनोरञ्जन दिन्छ ।