अहिले नेपालका प्रमुख शहरहरूमा सुन्दर फिल्महरू पर्दामा देखिइरहेका छन् । तीमध्ये एउटा पूर्णबहादुरको सारंगी पनि हो ।

सारंगी हेर्न यतिबेला सारा दर्शक ओइरिरहेका बेला टिकट पाइराख्नु भएको छैन भने नेटफ्लिक्समा एउटा सुन्दर फिल्म रिलिज भएको छ । त्यो हेरेर तपाईं पछुताउनु हुन्न ।

फिल्मको कथा पूरै त यहाँ भनिने छैन तर पनि तपाईंलाई यसको सामान्य कथा भने बताउनै पर्छ । जसमा दुई प्रमुख पात्रहरू छन् । एक जना छन्, रोजा फिल्मबाट चर्चामा आएका अरविन्द स्वामी र अर्का कैथी फिल्मका अभिनेता कार्थी ।

तर यी दुईसँगै सबैभन्दा महत्त्वपूर्ण भूमिका चाहिँ साइकलको छ है ! यो साइकलले सबै पात्रहरूभन्दा गज्जबको कथा बोकेको छ ।

कथाअनुसार, पारिवारिक झगडाका कारण अरविन्द स्वामी र उनको परिवारले आफ्नो पुस्तैनी सम्पत्ति र घर अरूलाई नै जिम्मा लगाउनु पर्छ । उनीहरूलाई यस घटनाले यति सताउँछ कि वर्षौं भइसक्दा पनि गाउँ जाने हिम्मत जुटाउन सक्दैनन् ।

तर एक दिन अरविन्दले ज्यादै स्नेह गर्ने मामाकी छोरीको बिहेमा नपुगी हुँदैन । परिवारका अरू सदस्यहरू पनि जानु पर्ने हुन्छ तर अनेक बहाना बनाउँछन् । ती सबै क्षतिको पूरताल गर्न अरविन्द बहिनीलाई आशीर्वाद र उपहार दिन गाउँ पुग्छ ।

त्यही गाउँमा कार्थीसँग भेट हुन्छ ।

अब यहाँ तपाईंलाई भन्दिहालौँ कि कार्थीलाई अरविन्दले चिन्दा पनि चिन्दैन । तर गाउँमा केही पात्र यस्ता हुन्छन् कि नचिने पनि टाँस्सिइरहन्छन् । यति टाँस्सिन्छन् कि दिक्क लगाउँछन् ।

शहरबाट दाइ पर्ने व्यक्ति आएपछि कार्थीले अरविन्दलाई खुब खातीर गर्छ । त्यो खातीरबाट ऊ निकै प्रशन्न हुन्छ तर उसको नाउँ सोध्ने हिम्मत गर्न सक्दैन । अरूलाई सोध्ने प्रयास पनि गर्छ तर जब जब अरूलाई सोध्ने बेला हुन्छ, ऊ टुप्लुक्क आइपुग्छ । यही कारणले ऊ नाउँ नै नसोधी गाउँबाट शहर आइपुग्छ ।

शहर आइपुगेपछि भने उसलाई पछुतो लाग्छ । उसका बारेमा किन सोधिएन, किन उसलाई त्यहीँ उसको नाममा बोलाउने प्रयास गरिएन ? ऊ किन यति मरिहत्ते गर्छ ?

फिल्मले गाउँको आत्मा देखाएको छ । जसले अरविन्द र उनको परिवारको घर हडपेका छन्, उनीहरूलाई गाउँभरि घृणा गरिन्छ भन्ने देखाइएको छ । उनीहरूले धेरै पैसा कमाएका भए पनि त्यसको मूल्य गाउँमा नभएको बरू जमीरका लागि गाउँ छाड्ने शिक्षक बाबु र उसको छोरो अरविन्दलाई नै अझै गाउँलेले वर्षौं बितिसक्दा पनि सम्झिरहने सन्देश फिल्मले दिएको छ । हुन पनि जहाँ जहाँ अरविन्द पुग्छन्, त्यहाँ त्यहाँ उसको शिक्षक बाबुलाई सबैले सम्झिरहेको देखिन्छ । गाउँले कहिल्यै बिर्संदैन भन्ने सन्देश फिल्मको छ । गाउँ छाडेर जानेहरूले धेरै कुरा छाड्ने गर्छन् । याद छाड्छन्, मानिसका सम्बन्धहरू छाड्छन् । छाड्दा छाड्दा उनीहरूले आफ्ना धेरै कुराहरू यति छाडिसकेका हुन्छन् कि उनीहरू गाउँ फर्किए भने सम्झनका लागि केही रहँदैन । उनीहरूसँग केही रमरमी बाँकी रहन्छ ।

तर चाहेको खण्डमा गाउँ छाड्नेहरूले आफ्नो परित्यक्त आत्मालाई पुनः प्राप्त गर्न सक्छन् भन्ने सन्देश फिल्मले दिएको छ ।

यो एउटा फिलगुड फिल्म हो । शुरूका केही मिनेट यो फिल्म झेल्न निकै गाह्रो हुन्छ । तर जब अरविन्द स्वामी पर्दामा देखिन्छन् र ऊ गाउँ जान तयार हुन्छ, त्यसपछि यसले गति पक्डन्छ ।

गाउँमा उनको भेट कार्थीसँग भएपछि भने फिल्मले निकै हँसाउन थाल्छ । यति हँसाउँछ कि फिल्मले मोहनी लगाउन थाल्छ । घर फर्कन तयार भएको अरविन्दको गाडी छुटाउन कार्थीले षडयन्त्र गरेपछि अरविन्दका सारा बाटाहरू बन्द हुन्छन् र ऊ कार्थीको घरमा बास बस्छ ।

जब उसको घरमा बास बस्छ र जे घटनाहरू घट्न पुग्छन्, तिनले अरविन्दलाई अपराधबोध हुन थाल्छ । जो व्यक्ति उसले वाहियात ठानिरहेको छ, ऊ अरविन्दका लागि मृतहृदय खोज्न मद्दत गर्ने व्यक्ति बन्न पुगेको महसुस गर्छ ।

कहिलेकाहीँ मानिसलाई यति धेरै अपराधबोध हुन्छ कि उसले सामान्य गल्तीलाई माफी माग्न सक्दैन । कार्थीसँग यही अपराधबोधको पटाक्षेप कसरी हुन्छ भन्ने फिल्मको विरेचनले नै फिल्मको सारा शक्ति उजागर गर्छ ।

फिल्मले गाउँको चरित्र बताउँछ । त्योभन्दा ठूलो कुरा, जीवनमा साना ठानिएका कुराहरूको महत्त्व कति ठूलो हुन्छ, कालान्तरमा एउटा सानो उपकारले कसैको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिँदै फिल्म सकिन्छ ।

फिल्मले अरूप्रति करूणाभाव राख्न प्रेरित गर्छ । यसमा अरविन्द स्वामी र कार्थीजस्ता चर्चित तमिल फिल्मका नायकहरू छन्, जसको अभिनयले दर्शकलाई अन्तिम समयसम्म बाँधेर राख्छ ।

तपाईंलाई लाग्ला, यो फिल्मको सबै कथा आइसक्यो, अब के हेर्नु ?

गलत ! फिल्मभित्र छिर्ने एउटा दुलो मात्र देखाइएको हो यहाँ । जब त्यहाँ छिरिन्छ र त्यसले जे देखाउँछ, त्यो तपाईंको आफ्नै जीवनयात्रा पनि बन्न सक्छ ।