हलिउडका चर्चित अभिनेता लियाम निसन अभिनित आइस रोडको दोस्रो शृंखला पनि बन्ने भएको छ । टेकेन शृंखला उनको ज्यादै रूचाइएको फिल्महरूमध्येमा पर्छन् ।

नेपालमा समेत छायाँकन गरिने निसनको आइस रोडको दोस्रो शृंखलाको नाम रोड टु द स्काई रहेको छ ।

उनको पहिलो शृंखला क्यानडाको हिमाली क्षेत्रमा छायाँकन भएको थियो । पहिलो शृंखला सन् २०२१ मा सिधै नेटफ्लिक्समा रिलिज गरिएको थियो ।

हालै क्यान्स फिल्म फेस्टिभलमा फिल्मी बजार लाग्दा निसनको फिल्मले लगानीकर्ता फेला पारेपछि नेपालको काठमाडौँ र सगरमाथाको आधार शिविरसम्म पुग्ने कथा बोकेको यो फिल्म बन्ने पक्का भएको हो । फिल्मको कथाअनुसार, निसनका भाइको अन्तिम इच्छाअनुसार उनको भष्म सगरमाथामा छर्ने उद्देश्यका साथ उनी नेपाल आइपुग्छन् र सँगै उनका दुस्मनहरू पनि उनीसँग झुत्ती खेल्न नेपाल आउँछन् ।

आइस रोड फिल्ममा अभिनेता लियाम निसन

नेपालको लुक्ला, सगरमाथा आधार शिविरसँगै काठमाडौँ तथा अन्य भेगमा पनि सुटिङ हुनसक्ने बताइएको छ । फिल्म अर्को वर्ष २०२४ को मार्चतिर सुटिङका लागि नेपाल आउने डेडलाइन डटकमले जनाएको छ ।

फिल्मलाई यो शृंखलाको पहिलो भाग निर्देशन गर्ने जोनाथन हेन्सलेगले नै गर्नेछन् । जोनाथनले यसअघि डाइहार्ड विद अ भेन्जेन्स, आर्मगार्डन र जुमान्जीजस्ता फिल्म लेखिसकेका छन् । यो फिल्मको कथा पनि उनैले लेखेका हुन् । यो फिल्ममा मज्जाको एक्सन हेर्न पाइने उनले प्रतिक्रिया दिएका छन् ।

आइस रोडको पहिलो भाग नेटफ्लिक्समा सन् २०२१ मा रिलिज हुँदा पहिलो हप्तामा सबैभन्दा बढी हेरिएको फिल्मका रूपमा गणनामा परेको थियो । यो दोस्रो भाग पनि उत्तिकै रूचाइने अपेक्षा गरिएको छ ।

उत्तरी अमेरिका अर्थात् युएसए र क्यानडामा जाडो यामका बेला नदीहरूमा ३० इन्च बाक्लो हिउँ जम्छ । यस्ता बाक्लो हिउँले ठूला ठूला ट्रकसमेत दौडन सक्छन् । रमाइलोका लागि केही ट्रक ड्राइभरहरू तिनै हिउँका बाक्ला पत्रमा बेपत्तासँग ट्रक दौडाउँछन् । यस्तो कार्य निकै खतरनाक हुन्छन् । केहीले चाहिँ आत्महत्याको दौडसमेत भन्छन् । पानीमाथिको यो बाक्लो हिउँको सडकलाई उनीहरू ‘आइस रोड’ भन्छन् ।

आउनुहोस्, यस फिल्मको पहिलो शृंखला हेरेर एक्सन प्याक मुभीको मज्जा लिऔँ र कल्पना गरौँ, सगरमाथाको आधारशिविर र वरपर खिचिने आइस रोडको दोस्रो भाग कति रोमाञ्चक होला !

https://www.youtube.com/watch?v=_du34_6B7vE