आर्ट फिल्म प्रेमीका लागि यो चलचित्र मनमा फोटोकपी बनेर बस्न योग्य छ । सबैभन्दा जटिल विषय भनेको मानव-जीवन हो । यसका लागि दुनियाँमा तमाम दार्शनिकले काम गरेका छन् तर कसैको पनि दर्शन पूर्ण भने लाग्दैन । सायद मानव-जीवनमा हरेक व्यक्तिपिच्छे फरकफरक दर्शनको आवश्यकता पर्छ होला । मानिसलाई खुसी चाहिन्छ । खुसी इन्द्रियको माग हो । जब मान्छे इन्द्रियको मागलाई पूरा गर्न खोज्छ अनि त्यसबाट दुःख जन्मिन्छ । यसर्थ इन्द्रिय नै सुखदुःखको कारण हो ।
सुखदुःखभन्दा पर पुग्ने इच्छा राख्ने हो भने यो दुवै चाहलाई महत्त्व दिन हुन्न भनिन्छ । यस्तै जटिल विषयलाई फिल्मले देखाउन खोजेको छ । एउटा मान्छे के चाहन्छ ? किन चाहन्छ ? प्राप्तिपछिको अवस्था के हुन्छ ? आखिरमा सत्य के रहेछ ? यस्ता प्रश्नहरूको उत्तर खोज्न यो फिल्मले सहयोग गर्छ ।
कथावस्तु र परिवेश
कथा बौद्ध साधु र चेलामा केन्द्रित छ । भिक्षु जसले जीवनको अर्थ बुझेका छन् । चेला जो भर्खर जीवन के हो सिक्दै छन् । बालक भिक्षु जो हुर्किँदै छन् । हुर्किँदै गर्दा मान्छेको प्राकृतिक स्वभावहरू के कसरी विकर्षित हुँदै जान्छन् ? मान्छे कसरी सुखको प्राप्तिमा तल्लिन भएर लाग्छ ? सुखलाई भेटेपछिको अवस्था के हो ? सुखको आयु कति हुन्छ ? सुखपछि के आउँछ ? मानवले आफूलाई कसरी दुःखको जालोमा अल्झाउँदै जान्छ ? यी सबै कुराको चित्रणमा फिल्म उत्रेको छ ।
बुद्धले २५ सय वर्ष पहिला पत्ता लगाएको दुःख छ; त्यसको कारण छ; कारणको निवारण पनि छ भन्ने कुरा नै फिल्मको प्रमुख विषय हो।
लोकेसन, यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो । जङ्गल र पहाडले घेरिएको एउटा ताल छ । तालको बीचमा फ्लोटिङ हाउस छ । आवातजावत गर्न डुङ्गा छ । बिहानमा पहाड कुहिरोको पछ्यौरी ओढेर बस्छ । तालको पानी मन्द मुस्कुराइरहन्छ । फिल्म हेरिसकेपछि कयौँ दिन यसको परिवेशले बाँधेर राख्छ ।
फिल्मको दार्शनिक पक्ष र विम्ब
फिल्म पूर्णतः दार्शनिक वृत्तमा घुमेको छ । फिल्ममा बौद्ध दर्शनलाई आधुनिक कालमा ढालेर देखाइएको छ ।
फिल्मको एउटा दृश्यमा बौद्ध भिक्षु र चेला जङ्गलमा वनस्पति संकलन गर्न जान्छन् । घर आएर केलाउँदै गर्दा भिक्षुले बालकले टिपेको उस्तै देखिने वनस्पतिलाई विषालु वनस्पति हो भनेर बताउँछन् । बालक जिज्ञासाले भरिन्छ । एउटै देखिने पात कुनै विषालु कुनै खानयोग्य कसरी भयो भन्ने उत्सुकता व्यक्त गर्छन् । यो घटनाले गहिरो दर्शन दिएको छ । जीवनमा छनोट सबैभन्दा महत्त्वपूर्ण कुरा हो । छनोट गर्ने कला सबैसँग हुनुपर्छ । एउटै देखिने वस्तु पनि एउटा विष र अर्को अमृत हुन्छ भन्ने ठूलो शिक्षा प्राप्त गर्न सकिन्छ । असल र खराबको बीचमा झिनो भिन्नता हुन्छ । आफ्नो स्वविवेक र अभ्यासले नै असल र खराबको चयन गर्न सिक्नु पर्छ भन्ने दर्शन यसमा लुकेको छ ।
दोस्रो महत्त्वपूर्ण दृश्यमा देखाइएको विषयले फिल्मलाई पूर्ण बनाएको छ । बालक हुर्कदै छन् । जिज्ञासा् छ । उत्सुकता छ । बालकले मनोरञ्जन खोजिरहेका छन् । मनोरञ्जनको लागि उनी खोलाको किनारमा गएर सर्प,भ्यागुतो र माछासँग खेल्न थाल्छन् । खेल्ने क्रममा उनले सर्प,भ्यागुतो र माछालाई ढुङ्गा बाँधिदिन्छन् । ढुङ्गा बाँधिएपछि ती जीवलाई आफ्नो कार्य गर्न असहज हुन्छ । त्यो असहजताले बालकमा खुसी ल्याउँछ । बालक रमाउँछ्न् ती जीवको असहजता देखेर । यो सबैकुरा बौद्ध साधुले अवलोकन गरिरहेका हुन्छन् । उनलाई सही/गलतको शिक्षा दिन उनले प्रयोगात्मक प्रणाली प्रयोग गर्छन् । बालक सुतिरहेको बेला उनको कम्मरमा एउटा ढुङ्गा बाँधिदिन्छन् । बिहान बालक उठ्न खोज्दा असहज हुन्छ । गुरूलाई उनले ढुङ्गा निकाल्दिन आग्रह गर्छन् । गुरुले हिजो बालकले जुनजुन जीवमा यसरी ढुङ्गा बाँधिएको थियो ती सबै जीवबाट ढुङ्गा हटाएर आएपछि मात्र सो ढुङ्गा कम्मरबाट निकाल्दिने शर्त राख्छन् । बालक हिजो उनले ढुङ्गा बाँधिदिएका जीव खोज्न निसकन्छन् । माछा खोज्छन्; माछा मरिसकेको हुन्छ । सर्प खोज्छन्; सर्प पनि मरिसकेको हुन्छ । भ्यागुतो खोज्छन्; भ्यागुतो भने जीवित भेट्छन् । भ्यागुतोलाई मुक्त गरिदिन्छन् । यस घटनाले बालकमा एकदमै निराशा ल्याउँछ । उनी रुन थाल्छन् ।
फिल्मको यो दृश्यबाट जीवन दर्शनको ठूलो पाठ लिन सकिन्छ । हामी अरूको पीडामा आफ्नो खुसी खोजिरहेका हुन्छौँ । यसो गर्नु विकृत मानसिकता हो । यसले अन्ततः दुःखी बनाउँछ भन्ने दर्शन यसमा भेटिन्छ । अत्यधिक भार बोक्नु पीडाको यात्रा गर्नु हो भनेर बुझ्न सकिन्छ । प्राणीलाई गरिने हिंसाको प्रयोगात्मक ज्ञानद्वारा स्मरणीय शिक्षा यसले दिन्छ ।
फिल्मको नाममा नै ऋतु छ । ऋतुलाई विम्ब बनाएर मानिसको जीवनमा आउने अनेक मौसमको चित्रण गरिएको छ ।
स्प्रिङ – वसन्त जसमा नयाँ पालुवाको जन्म हुन्छ । नयाँ कोपिला र बतिलाको विकास हुन्छन् । मानिसको जीवनको बालापनलाई यो ऋतुद्वारा विम्बात्मक शैलीमा देखाइएको छ । मानिसको जीवनमा पनि नयाँ मस्तिष्कको जन्म हुन्छ, कोपिला लाग्छ्न्, बतिला लाग्छन् । यो उमेरको कलिलो मस्तिष्कलाई उचित अभ्यास र ज्ञानद्वारा पल्लवित हुने वातावरण निर्माण गर्दिनुपर्छ । यस उमेरका मस्तिष्क बिथोल्न के कस्ता असिना, झरी र हुरीबतास आउन सक्छन् भन्ने विषयलाई दर्शाइएको छ ।
समर – गर्मी ऋतुको विम्बबाट मानिसको मनमस्तिष्कमा आउने गर्मी चित्रण गरिएको छ । यो गर्मीलाई व्यवस्थापन गर्न नसक्दाको परिणाम देखाइन्छ । गर्मी अर्थात कामवासना, क्रोध, लोभ, जिद्दीपना आदि कुरालाई विम्बित गरिएको छ ।
फल: जीवनमा आफ्ना गलत निर्णयका कारण जे जस्तो असहज परिस्थिति आउँछ त्यसलाई फल विम्बले दर्शाएको छ ।
विन्टर: जाडोलाई मानिसको जीवनको उदास अवस्थामार्फत विम्बित गरिएको छ । एउटा यस्तो मौसम जसमा हिउँ जमेको छ । आफ्ना कर्मको फलले गर्दा उदासी छ, निराशा छ, ग्लानि छ, पछुतो छ । अपराधलाई पगाल्ने कोशिश छ ।
स्प्रिङ – जीवन चक्र हो । यो घुमिरहन्छ । इन्द्रियहरूको नियन्त्रण नहुँदा आउने पीडा र त्यसले जन्माउने अपराध । अपराधले दिने ग्लानि र त्यसपछि फेरि जीवनमा वसन्त फर्किने कुरा विम्बित भएको छ ।
विवादस्पद निर्देशक
किम कि दुक ( सन् १९६०-२०२०) फिल्म फेस्टिबलका नायक हुन् । उनको पटकथा र निर्देशन रहेका अधिकांश फिल्मलाई मन पराइएका छन् । करिब दुई दर्जनभन्दा माथि चलचित्रमा पटकथा र निर्देशकको भूमिका निभाएका उनी आर्ट हाउस सिनेमाका लागि स्मरणीय नाम हुन् । उनका फिल्ममा फरक कथावस्तु, मानवको अँधेरा पक्ष, हिंसा, अराजकता, आपराधिक मनोविज्ञान, यौन आदि विषयलाई दर्शाइन्छ । उनको करिअरमा फिल्मकी नायिकामाथि शारीरिक शोषण गरेको र जनावरमाथि हिंसा गरेको आरोप पनि लागेको छ । उनका फिल्ममध्ये यो मास्टरपिस चलचित्र मानिन्छ ।
यो फिल्मले मानिस तमाम कमी कमजोरीसहित जन्मेको प्राणी हो । उसको सुखको खोज नै दुःखको कारण हो भन्ने दर्शाउँछ । यदि उचित समयमा आफ्ना इन्द्रियमाथि अंकुश लगाउन सकियो भने जीवन आनन्दमय बन्न सक्छ । नत्र फरकफरक कष्टले जीवनलाई घेरिरहन्छ भन्ने सन्देश यसमा पाइन्छ । आर्ट फिल्म मन पराउने दर्शकका लागि यो उत्कृष्ट चुनाव हो । यो फिल्मले सिकाउने भनेको ‘इथिक्स’ हो । दुःखबाट मुक्त हुने कला हो । एउटा जटिल विषयलाई सरल तरिकाले प्रस्तुत गरेर सिङ्गो बौद्ध दर्शन यस फिल्ममा देख्न पाइन्छ । विश्वव्यापी रूपमा नै मन पराइएको यो फिल्म मस्ट वाच छ ।अठार प्लसले मात्र हेर्न सुझाव छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।