यतिबेला सिनेमा हलमा हिन्दी सिनेमा प्रतिबन्धित छ । ‘आदिपुरूष’ काण्डका कारण सिनेमा हलमा हिन्दी फिल्मले झट्का बेहोरिरहेका बेला हिन्दी फिल्महरू मध्येकै सबैभन्दा बहुचर्चित फिल्मका बारेमा यहाँ चर्चा तथा अवलोकन गराउने भएका छौँ ।

जब प्यार किया तो डरना क्या !

यो गीत प्रायः नसुन्ने पुरानो पुस्ता कोही छैन । यही गीतले यो फिल्म रिलिज भएका बेला दर्शकहरू मनग्य तानेको थियो। कयौँ कारणले यो फिल्म आजका लागि पनि महत्त्वको बन्न पुगेको छ । हिन्दी फिल्म इतिहासमा त त्यसै पनि यो फिल्मले विभिन्न कीर्तिमान नै बनाएको छ ।

आज हामी यही फिल्म हेर्नेछौँ तर त्यसभन्दा अघि यो फिल्मका बारेमा केही जानकारी पनि हासिल गरिहालौँ ।

यो कथा भारतका शासक अकबर र उनका छोरा सलीमको कथा हो । केही वर्षअघि बलिउडले अकबर र जोधाको प्रेमकथामा आधारित जोधा‑अकबर फिल्म बनाएको थियो । फिल्मले ठीकैको व्यापार गरेको थियो । त्यो फिल्ममा पनि र यो फिल्ममा पनि, एउटै कुराको कमजोरी छ । कथा राम्रो भए पनि इतिहासको सत्यतामाथि फिल्मले आँखा चिम्लिएको छ । हुन त फिल्म मनोरञ्जनका लागि हो भन्नेहरूका लागि केही भन्नु छैन तर फिल्मले पस्किएका धेरै कुरालाई दर्शकले सत्य मान्ने हुनाले पस्किएका कुरामा निर्माता तथा निर्देशक सचेत हुनुपर्छ भन्ने यस फिल्मले पनि देखाउँछ ।

कुरा गरौँ, मुगल ए आजमको । भनिन्छ, सलीमले मन पराएकी युवती अनारकली राजा अकबरकी रखौटी थिई । आफ्नै रखौटीलाई अनारकली नाम राख्ने काम अकबरले नै गरेको थियो । यस्तोमा सलीमले उसैलाई मन पराएर रानी बनाउँछु भन्न थालेपछि राजा र युवराजबीच द्वन्द्व चर्कन्छ । कतिसम्म भने रक्तरञ्जित युद्धसमेत हुन्छ । युद्धमा सलीम नराम्ररी घाइते हुन्छ । अन्त्यमा राजाले अनारकलीलाई मृत्युदण्ड सुनाउँछ ।

एउटी युवतीलाई लिएर राजा र युवराजबीचको द्वन्द्व हुनु वा त्यसलाई महिमामण्डन गर्नु उचित थियो कि थिएन, त्यसको आफ्नै पक्ष विपक्षमा कुराहरू चल्लान् तर दरबारको नियम के हुन्छ भने, राजाकी रखौटीलाई राजकुमारहरूले विरलै आँखा लगाउँछन् तर यहाँ त्यस्तो हुँदैन । सलीमले आँखा मात्र लगाउँदैन, राजासँग निहुँ नै खोज्छ ।

यसैगरी यहाँ अनारकलीले गरेका कयौँ विद्रोहले फिल्मलाई रोचक बनाउन भूमिका खेलेको छ । केही दरबारभित्रका द्वन्द्वहरू पनि छन् । यस्ता कयौँ कुराले फिल्म हेरूञ्जेल रोचक र मनोरञ्जक बन्न पुगेको छ ।

मुगल ए आजमको अर्थ, महान् मुगल हो । अकबरका नाउँमा महान् पनि जोड्ने चलन छ । खासगरी अलेक्जेन्डर द ग्रेट भनेर सम्बोधन गरिएजस्तै अकबर द ग्रेट पनि भन्ने चलन चलाइएको हो। यो फिल्म के. आफिसद्वारा निर्माण तथा निर्देशन गरिएको हो । फिल्ममा पृथ्वी राज कपुर अकबर महान् बनेका छन् । दिलिपकुमार राजकुमार सलीमको भूमिकामा देखिएका छन् । यिनै सलीम अकबरको मृत्युपछि नाम परिवर्तन गरेर जहाँगीर बने । उनको शासनकाल तुलनात्मक रूपमा राम्रै मानिन्छ ।

इम्जियाज अली ताज नामक एक नाटककारले अनारकली नाउँबाट नाटक लेखेका थिए । निर्माता के. आसिफले त्यो नाटक पढेपछि यसमाथि फिल्म बनाउन तम्सिएका थिए । यो फिल्मको बजेट तुलनात्मक रूपमा महँगा फिल्मको हाराहारीमा गनिन्छ ।

पहिलो पटक सन् १९६० अगस्त ५ मा रिलिज हुँदा यसले सारा कीर्तिमान भंग गरेको थियो । १५ वर्षसम्म यसले सबैभन्दा व्यापार गरेको फिल्मको कीर्तिमान राखिरह्यो । सारा अवार्डहरू यसको भागमा पर्यो । त्यो बेला भारतभर जम्मा १५० सिनेमा हल थिए । ती सबै हलमा यो फिल्म रिलिज गरिएको थियो । फिल्मले पहिलो सातामा ४० लाख भारूको व्यापार गरेको थियो । फिल्म उत्रिदा यसले निर्मातालाई ३ करोड भारू नाफा दिलाएको थियो । मुम्बईको मराठा मन्दिर सिनेमा हलमा तीन वर्षसम्म हाउसफुल चलेको थियो । अहिलेको हिसाबले गणना गर्दा यो फिल्मले १२३४.९५ करोड व्यापार गरेको देखिन्छ ।

सन् २००४ मा यो फिल्मलाई रंगीन बनाएर पुनः रिलिज गरिएको थियो । फिल्मको रिलिजमा दिलिपकुमार उपस्थित थिए । पहिले दिलिपकुमार उपस्थित हुन नसकेको दुःख यस पटक पूरा गरे । रंगीत मुगल ए आजमसँगै त्यो बेला वीर‑जारा, एतराज र नाच पनि रिलिज गरिएको थियो । त्यो वर्ष नाचभन्दा बढी व्यापार गर्न सफल भएको थियो ।