तपाईंलाई युद्धको पृष्ठभूमिमा वा युद्धमाथि बनाइएको फिल्महरू कत्तिको मन पर्छ ? मन पर्छ भने सन् २०१७ मा बनाइएको फिल्म द ट्वेल्थ म्यान (बाह्रौँ व्यक्ति) तपाईंलाई मन पर्छ । पक्कै मन पर्छ ।

यो दोस्रो विश्वयुद्धताका नर्वेली कोण र नर्वेलीहरूको भोगाईमा आधारित छ । यो जन बाल्सट्रडको वास्तविक जीवनमा आधारित फिल्म भएकाले तपाईंलाई अझ दिलको नजिक लाग्न सक्छ ।

यो फिल्मको कथानक के छ भने, जन (थोमस गलस्टाड) जर्मन नाजीहरूलाई परास्त गर्ने योजनाका साथ एउटा मिसनमा जान्छन् । उनीहरू नाजीले कब्जा गरेको नर्वेली क्षेत्रमा जाँदा उनीहरूको पानीजहाजलाई नाजीले फेला पार्छन् । मिसनमा गएका १२ जनामध्ये ११ जनालाई नाजी सेनाले पक्राउ गर्छन् ।

पक्राउ परेकाहरूलाई कहाँ, के उद्देश्यका साथ आएको भनी केरकार गर्छन् र त्यसमा जानकारी नदिएपछि उनीहरूलाई गोली हानी हत्या गरिन्छ ।

पानी जहाजमा गोलाबारी हुँदै गर्दा एक जना भने फुत्कन सफल हुन्छन् । उनी आफ्नो ज्यान जोगाउन नर्वेको हिउँ नै हिउँ ढाकेका ठाउँहरूमा हिँड्दै लुक्दै, गाउँका ससाना घरहरूमा सहयोग माग्दै र गोली लागेको ठाउँमा उपचार गर्दै उनी कसरी नर्वेको सीमा पार गर्न सफल हुन्छन् भन्ने विषयमा यो फिल्म बनेको छ ।

उनले यो यात्रामा आफ्नो गोप्य योजना नाजीसम्म पुग्नबाट कसरी जोगाउँछन् र नर्वेको प्रतिरोध युद्धमा कसरी नायक बन्न पुग्छन् भन्ने कथा यसको मूल कथानक हो ।

यो फिल्मको कथा पढ्नुभन्दा पनि हेर्नु ज्यादै रोचक र उत्साहप्रद छ । वास्तवमा जब युद्ध हुन्छ, त्यसको प्रतिरोध हुन्छ । प्रतिरोधका बेला केही सीमित साहसीले आफ्नो बलिदानी र साहसले देशलाई नै उँचो आत्मविश्वास दिलाउन सफल हुन्छन् भन्ने फिल्मले सन्देश दिएको छ ।