आज शनिबारको दिन तपाईंहरूका लागि एउटा सुन्दर प्रेमकथा पस्किने तयारी गरेका छौँ । शहीद ए मोहब्बत बुटा सिंह एउटा भारतको पञ्जाब क्षेत्रमा घटेको वास्तविक घटनामा आधारित फिल्म हो । यो फिल्म सन् १९९९ मा बनेर रिलिज भएको फिल्म हो । यसले भारतको राष्ट्रिय फिल्म अवार्डमा पञ्जाबी फिल्मका तर्फबाट उत्कृष्ट फिल्मको अवार्ड हात पारेको थियो ।

यो फिल्मको सुन्दर पक्ष भनेको कथानक नै हो । जसमा एउटा पञ्जाबी युवा बुटा सिंह र जैनव नामक मुस्लिम युवती प्रेममा पर्छन्। १९४७ मा भारत‑पाकिस्तान विभाजनका बेला मच्चिएको धार्मिक दंगामा एउटा सैनिकका रूपमा बुटा सिंहले यही जैनबलाई बचाउँछ । समयक्रममा यिनीहरूबीच प्रेम मौलाउँछ र बिहे गर्छन् । बिहेसँगै बुटा र जैनबकी एउटी छोरी जन्मन्छे । धार्मिक दंगाका कारण छुटेका परिवारहरू मिलाउने भारत र पाकिस्तानको प्रयास स्वरूप जैनबलाई प्रहरीले गाउँबाट लैजान्छ र नयाँ दिल्लीको एउटा क्याम्पमा पुर्याउँछ । यो थाहा पाएपछि बुटा पनि दिल्लीस्थित क्याम्प पुग्छ तर प्रहरीले तिनलाई भेट गर्न दिँदैन ।

पछि दिल्लीबाट यस्ता छुटेका परिवार भेटाइदिने भनेर जैनवलाई बुवाआमाकहाँ पुर्याइन्छ । बुवाले शुरूमा चिन्नै अस्वीकार गर्छन् तर पछि जैनवकी आमाले अपनाउँछिन् ।

पछि जैनवको निकाह गरिन्छ र त्यही बेला बुटा सिंह जैनवको गाउँ पुग्छ । त्यहाँ अर्काकी छोरीमाथि दाबी गरेको भन्दै बुटामाथि कुटपिट हुन्छ ।

जैनव आफ्नी पत्नी भएको र उसको जबरजस्ती बिहे गरिएको भन्दै पाकिस्तानको अदालतमा बुटाले मुद्दा हाल्छ तर बाध्यताले जैनवले बुटालाई चिन्न अस्वीकार गर्छे । यो पीडा सहन नसकी बुटाले दौडरहेको रेलमा छोरीसहित हाम्फाल्छ । छोरीलाई कुनै चोट लाग्दैन । बुटाको भने तत्काल मृत्यु हुन्छ ।

यो देखेपछि पाकिस्तानका केही मानिसले प्रेमका खातिर बुटाको यस किसिमको त्याग देखेर जुलुस लिएर जैनवको गाउँमा पुग्छन् र त्यहीँ बुटालाई दफनाउने प्रयास गर्छन् । प्रहरीले हस्तक्षेप गरेपछि उनीहरूले लाहोर शहरमा इज्जतसहित दफनाउने व्यवस्था मिलाउँछन् ।

फिल्मको अन्त्यमा ठूली भएकी जैनवकी छोरी र उसको पति बुटालाई दफनाएको ठाउँमा पुगेर आशीर्वाद लिन्छन् र फिल्मको अन्त्य हुन्छ । यसरी प्रेमका खातिर ज्यान गुमाएको बुटा सिंह प्रेमशहीद बन्न पुग्छ । फिल्मले यसको कथानकका कारण विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू पनि घुमेको छ ।

फिल्म त्यति प्रख्यात पनि होइन । ज्यादै उम्दा तरिकाले बनाइएको पनि छैन तर कथानकले तपाईंलाई तानिरहन्छ । आज शनिबार यही फिल्म हेरेर मनोरञ्जन लिनुस् न है !