हिन्दी साहित्यमा निकै उँचो नाउँ छ, धर्मवीर भारतीको । उनका खातामा प्रख्यात उपन्यास, प्रख्यात पुरस्कारहरू त छन् नै साथमा कतिपय उपन्यासलाई फिल्मान्तरण पनि गरिएका छन् । तिनै फिल्महरूमध्ये एउटा फिल्म हो, सूरज का सातवां घोडा । यो फिल्म यही शीर्षकको उपन्यासबाट बनाइएको हो ।

यो फिल्म उपन्यासजस्तै सुस्त गतिमा अघि बढ्छ तर उपन्यास पढ्नु भएको छैन भने फिल्म हेर्नुहोस् र यो फिल्मले ठ्याक्कै उपन्यासकै मजा दिन्छ ।

एउटा गज्जबको प्रेमकथा समाजका लागि कल्याणकारी हुनुपर्छ । कथा चाहे, छायावादी होस्, प्रगतिवादी, ऐतिहासिक होस् या अनैतिहासिक, सामाजिक होस् या असामाजिक, तिनले समाजलाई कुनै निष्कर्ष वा प्रेरणा अवश्य हुनुपर्छ । लेखकको आग्रह यही हो । उपन्यासमा पनि लेखकहरूको समूह भेला हुन्छन् र प्रेमकथा वर्गीय हुन्छ कि हुँदैन भनेर चर्चा गर्न थाल्छन् । त्यसैले पनि यो फिल्म हेरूञ्जेल उपन्यास पढेको महसुस हुन्छ ।

यस्तो लाग्छ, उपन्यास लेख्दै गर्दा उपन्यासकार धर्मवीर भारती देवदास फिल्मबाट निकै प्रभावित भएका थिए । हुनसक्छ, उनले फिल्म हेर्नुअघि उपन्यास नै पढेका हुन सक्छन् । त्यो प्रभाव सिनेमाको आधाआधिसम्म पूरापूर देखिन्छ । फिल्मको भावभूमि देवदास उपन्यास छ तर अर्कै सेटिङमा छ भन्दा फरक पर्दैन ।

यस फिल्मको मुख्य पात्र माणिकले सारा घटना, कथा र विवरणहरू सुनाउँछ । अधिकांश विवरणहरूको ऊ भोक्ता पनि छ । जमुना, लिली र सत्तीजस्ता तीन स्त्रीहरूको भोगाइलाई प्रेमसँग जोड्दै प्रेमका विविध रङहरू दिने प्रयास गरिएको छ । फिल्म हेर्दै जाँदा जमुनाको प्रेम सबैभन्दा रोचक महसुस हुन्छ ।

सटर्डे सिनेमामा साहित्यमा रूचि राख्नेहरूले हेर्नैपर्ने फिल्म प्रस्तुत गरेका छौँ । यसका साथै, तपाईंलाई पछि उपन्यास पढ्ने चासो पनि ह्वात्तै बढ्न सक्छ । उपन्यासको लिंक पनि यहाँ प्रस्तुत गरिएको छ ।

Suurj Kaa Saatvaa N Ghoddaa (सूरज का सातवाँ घोड़ा) : Dharmvir Bharati : Free Download, Borrow, and Streaming : Internet Archive

यस फिल्मलाई श्याम बेनेगलले निर्देशन गरेका छन् । यो फिल्म सन् १९९४ जनवरी १४ मा सार्वजनिक प्रदर्शन भएको थियो । फिल्ममा अमरिश पुरी, नीना गुप्ता, इला अरूण, केके रैना, पल्लवी जोशी, रघुवीर यादव र रजत कपुरको अभिनय छ । फिल्मलाई भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन र दूरदर्शन टेलिभिजनले मिलेर बनाएका थिए ।