अहिले दक्षिण भारतमा बनेको एउटा फिल्मको निकै चर्चा भइरहेको छ ।

अम्बाजीपेटा म्यारिज ब्यान्ड नामक यो फिल्म वास्तविक घटनामा आधारित भन्ने दाबी गरिएको छ । वास्तविक कथामा भएको नभनिएको भए पनि यो फिल्मले उत्तिकै चर्चा बटुल्ने थियो ।

आज हामी सटर्डे सिनेमामा यो फिल्मका बारेमा थोरै कुराकानी गर्नेछौँ र बढी चाहिँ यो फिल्म हेरेर मनन गर्नेछौँ ।

यो फिल्म हिन्दीमा डब गरिएको दक्षिण भारतीय फिल्म हो । यसलाई दुश्यन्त कातिकानेनीले निर्देशन गरेका हुन् भने सुहास र शिवानीको मुख्य भूमिका रहेको छ ।

यसमा एउटा दलित युवाले गाउँकै उच्च जातकी एउटी युवतीलाई मन पराउँछ । एउटै गाउँ भएकाले कलेज आउजाउ गर्दा उसले युवतीलाई हेर्ने र युवतीले युवालाई हेर्ने क्रम जारी रहन्छ ।

समयक्रममा युवाले युवतीलाई आफ्नो मनको भावना बताइदिन्छ । युवतीले पनि आफूले लामो समयदेखि मन पराएको कुरा बताउँछे ।

यो दलित युवाकी एउटी दिदी छे । ऊ स्थानीय गाउँमा प्राथमिक स्कूलका बालबालिका पढाउँछे । दलित भएका कारण उसले क्षमताले पाएको जागीर भन्दा पनि भनसुन र गाउँकै एउटा लठैतसँग सुतेका कारणले पाएको विश्वास धेरैलाई छ ।

खासमा भन्ने हो भने लक्ष्मी नामक यो युवतीले त उच्च घरानाको भनिएको त्यो विवाहित पुरूषलाई खासै महत्त्व दिन्न । उसलाई आफ्नो क्षमताप्रति विश्वास छ ।

एक दिन लक्ष्मीको भाइको प्रेम उच्च जातिकी युवतीसँग भएको खुल्छ र त्यो खुलासा भएदेखि यी दलितका दुःखका दिन शुरू हुन्छन् । एक पटक त मुख्य भिलेनले लक्ष्मीलाई नाङ्गै बनाइदिन्छ ।

यसबाट बदला लिन लक्ष्मीको भाइ तम्सिए पनि फिल्मले कस्तो मोड लिन्छ, हेर्न रोचक हुन्छ ।

आज, शनिबारको दिन आउनोस्, यो सत्य घटनामा आधारित भनिएको फिल्म अवलोकन गरौँः