बेबिज् डे आउट सन् १९९४ मा रिलिज भएको अमेरिकी एडभेन्चर कमेडी विधाको फिल्म हो । फिल्मलाई प्याट्रिक रिड जोन्सनले निर्देशन गरेका थिए भने जोन हग्सले लेखेका थिए । फिल्ममा जो मन्टेग्ना, लारा फ्लिन बोयल, जोइ प्यान्टोलियानो र ब्रायन हेलीले अभिनय गरेका छन् ।
फिल्मको कथा सामान्य छ । तीन अपराधीहरू जेलबाट भर्खर निस्केका छन् । उनीहरूले एउटा बालकलाई बेवारिसे देखेपछि अपहरण गर्न खोज्छन् । यसबीचमा घरबाट निस्केको काखे बालक कसरी सडक सडक दौडँदै विभिन्न ठाउँमा पुग्छ भन्ने कथा निकै रोचक छ ।
त्यसो त यो फिल्म सुपर फ्लप भयो । फिल्मको बजेट ४८ मिलियन डलर भए पनि जम्माजम्मी ३० मिलियनको व्यापार गरेको थियो । कतिसम्म भने यसलाई केही समीक्षकले त दशककै सबैभन्दा झूर फिल्मको ट्याग लगाइदिएका थिए । तर समयक्रममा यो फिल्मले एक किसिमको कल्ट फिल्मको पदवि पाएको छ । कल्ट फिल्म त्यस्तालाई भनिन्छ, जसका प्रशंसकहरू त्यस फिल्मप्रति मरिहत्ते गर्छन् । वर्षौंपछि पनि त्यसको चर्चा गरिरहन्छन् ।
यो फिल्मले भारतमा भने राम्रै चर्चा र व्यापार गरेको थियो । भारतको कोलाकातामा यो फिल्म १९९९ मा रिलिज हुँदा १७ हप्तासम्म चलेको थियो । यो फिल्मबाट प्रभावित भएर तेलुगू भाषामा १९९५ मा सिसिन्द्री फिल्म बनाइएको थियो भने हिन्दीमा त्यसैलाई एक फूल तीन काँटे नाममा बनाइएको थियो । श्रीलंकाले पनि सिंहाली भाषामा यसको आफ्नै संस्करण बनाएको थियो ।
आज हामी यही कल्ट फिल्मको उपाधि पाएको बेबिज् डे आउटलाई मजाले हेर्नेछौँ ।

फिल्मको मुख्य भूमिकामा एउटा बालक छन्, जसको नाम बेबी बिंक रहेको छ । फिल्ममा यो बालक एउटै भए पनि फिल्म सुटिङ गर्न जुम्ल्याहा दाजुभाइको प्रयोग गरिएको थियो । जुम्ल्याहा दाजुभाइ ज्याकब र एडम थिए । सुटिङमा एक जना थाके भने अर्कोलाई प्रयोग गरिन्थ्यो । यतिबेला यी जुम्ल्याहा त ठूलो भइसके । उनीहरूले जीवनमा कहिल्यै पनि अभिनय गर्नेबारे सोचेनन् । यो फिल्म नै उनीहरूको पहिलो र अन्तिम फिल्म बन्न पुग्यो ।

आउनोस्, हिन्दी भाषामा यो फिल्म आजको सटर्डे सिनेमा अन्तर्गत हेरौँः