सन् १९७६ मा रिलिज भएको श्याम बेनेगलद्वारा निर्देशित मन्थन एउटा रोचक फिल्म हो । खासमा देशमा कृषि क्रान्ति गर्न चाहँदाका समस्याहरू, ती समस्या समाधानका लागि गरिने सुझबुझपूर्ण निर्णय र त्यसपछि प्राप्त हुने परिणामका बारेमा बनाइएको फिल्म हो ।

खासगरी भारतमा जुन बेला अमूल नामक दुध कम्पनी निर्माण भयो, त्यसका बारेमा बनाइएको फिल्म हो । फिल्मको पोस्टरमा नै गुजरातभरिका पाँच लाखभन्दा बढी किसानहरूद्वारा निर्माण गरिएको फिल्म भनी यसको महत्त्व झल्काउन खोजिएको छ । भनिन्छ, पाँच लाख किसानले दुई दुई रूपैयाँ लगानी गरेका थिए । १० लाख रूपैयाँ लागतमा बनेको यो फिल्मले त्यस बेला दुई वटा राष्ट्रिय पुरस्कारसमेत हात पारेको थियो । अचेल क्राउड फन्डिङ निकै चर्चित छ । फिल्म बनाउने बटेज नभए सर्वसाधारणसँग लगानीका लागि इन्टरनेटमा आह्वान गरिन्छ र त्यहाँबाट लगानी ओइरिएपछि फिल्म निर्माण गरिन्छ । तर फिल्म निर्देशक बेनेगलले त्यो बेला नै क्राउड फन्डिङमा यो फिल्म निर्माण गरेर सबैलाई चकित बनाएका थिए ।

वर्गिज कुरियनले अमूल कम्पनी स्थापना गरेका थिए । उनले आफ्नो संघर्षको कथालाई नै फिल्मको कथामा उतारेका छन् । उनले नै भारतमा ह्वाइट रिभोल्युसन अर्थात श्वेत क्रान्ति ल्याएका थिए । उनकै कारण भारतमा दुग्ध उत्पादनमा संसारकै नम्बर एक बनाएका थिए । त्यसैले उनलाई मिल्क म्यान पनि भनिन्छ ।

भारतमा त्यो बेला गाउँगाउँमा भोकमरी, बेरोजगारी चरम अवस्थामा थियो । यस्तोमा वर्गिज कुरियनले कृषि सहकारी बनाएर गाउँगाउँमा दुग्ध संकलनको काम गरेका थिए । उनको संस्थामा पाँच लाख किसान संलग्न थिए । किसानका समस्या संसारलाई देखाउने नियतले यो फिल्म बनाइएको थियो ।

गुजरातको सांगवा गाउँमा ४५ दिनसम्म सुटिङ गरिएको थियो । यस फिल्ममा काम गर्ने सर्वसाधारणका लागि श्याम बेनेगलले दैनिक काम गरेबापत सात रूपैयाँ दिन्थे । त्यो बेला दैनिक पाँच रूपैयाँमा सर्वसाधारणले अरूका घरमा काम गर्ने गर्थे ।

यो फिल्मलाई सन् १९७६ मा भारतका तर्फबाट अस्कर अवार्डका लागि पठाइएको थियो ।

यसमा एउटा युवा पशु चिकित्सक राव (गिरीश कर्नाड) मानवतावादी र समाजवादी मूल्य मान्ने व्यक्ति हुन्छन् । उनले गाउँमा एउटा सहकारी बनाउने प्रयास गर्छन् । मानिसलाई सचेत बनाउँछन् । तर त्यहाँको सबैभन्दा ठूलो बाधा चाहिँ स्थानीय व्यापारी गुप्ताजी (अमरिश पुरी) हुन्छन् । उनले चाहेका मान्छेका दुध किन्ने, संकटमा पार्न चाहनेको नकिन्ने जस्ता काम गर्छन् । बजारभन्दा निकै कम पैसामा गाउँबाट दुध गुप्ताजीले उठाउने गर्छन् । दिनुपर्ने पैसा पनि मनलाग्दी समयमा दिन्छन् । गाउँलेलाई संकटमा पार्ने, त्यो संकट आफैँले सिर्जना गर्ने र समाधान पनि आफैँले गर्ने हुनाले गाउँलेहरू गुप्ताजीकै भरमा पर्नुपर्छ ।

तर पछि भोला (नसरुद्दीन शाह) र अन्यले यो वास्तविकता बुझ्न थाल्छन् र उनीहरूले डा. रावलाई सघाउन थाल्छन् । फिल्ममा कम पढेलेखेका विन्दु (स्मिता पाटिल) जस्ता साहसी नारी पनि छन् । सहकारिता कति राम्रो हो भन्ने कुरा यसले सर्वसाधारणको आत्मसम्मान उँचो बनाउन खेल्ने भूमिकाका लागि यसको लोकप्रियता बढेको हो ।

आउनोस्, आजको सटर्डे सिनेमामा यही फिल्म मन लगाएर हेरौँ । नेपालजस्तो कृषिप्रधान देशमा आउने समस्या र तिनका समाधानका अनेकन् उपायका लागि यसले सर्वसाधारणलाई उत्साह प्रदान गर्ने गर्छ ।