यस पटकको सटर्डे सिनेमामा तपाईंहरूका लागि पस्किएका छौँः एउटा छोटो फिल्म ह्याप्पी बर्थ डे ।

छोटा फिल्मको सबैभन्दा सुन्दर पक्ष भन्नु नै, छोटो अवधि, छिटोमिठो केही हेर्न, केही एक्साइटिङ महसुस गर्नु हो ।

फिल्मको कथानक निकै रोचक छ । एक जना वृद्ध छन्, रट्टु ओसिदार । ओसिदारले मृतात्माहरूसँग कुराकानी गर्न सक्छन् । त्यसैले केही व्यक्ति मृतात्मासँग कुरा गर्नैका लागि भनेर ओसिदारकहाँ आउने गर्छन् ।

यसै सिलसिलामा एक जना महिला बेथ रोजले उनीसँग समय लिएकी हुन्छिन् तर उनी समय लिएभन्दा एक दिन अगावै आइपुग्छिन् ।

ओसिदारले भोलिको साटो बेथ रोज आजै आइपुगिन् भन्ने थाहा पाउँछन्, उनले भरसक भोलिका लागि समय टार्न खोज्छन् । केही क्षण सोचेपछि उनले घरै खोजेर आइपुगेकी महिलालाई किन रित्तो हात पठाउने भनेर घरभित्र बोलाउँछन् ।

त्यो बेलासम्म थाहा भइसक्छ, ओसिदार कुनै काममा व्यस्त छन् र उनको यो व्यस्तता जन्मदिनको व्यस्तता हो भन्ने दर्शकले अनुभूत गरिसक्छन् ।

गलत समयमा आइपुगेँ कि भनेर बेथ अलि हिच्चिचाउँछिन् तर ओसिदारले उनलाई सहज बनाउँछन् । यसपछि शुरू हुन्छ, आत्मासँग कुराकानी गर्ने क्रम ।

एक वर्षअघि मात्र क्यान्सरका कारण निधन भएको छोरोको आत्मासँग कुरा गर्न बेथलाई जति उत्साह छ, त्यति नै दुःख पनि छ किनभने उनलाई सधैँ छोरो अझै बाँच्थ्यो तर आफ्ना कारणले ज्यान गयो भन्ने लाग्छ । तर, उनका लागि छोराको आत्मासँग कुरा गर्नु आनन्ददायक नै रह्यो किनभने छोराले आफ्नो कुनै गुनासो नरहेको बताइसक्यो ।

यो दृश्यमा दर्शकलाई छक्क पार्ने दृश्य चाहिँ, जब छोराको आत्मासँग ओसिदारले कुरा गर्न ठीक पर्छ, त्यो बेला केही क्षण रोकिएर बेथलाई सोध्छः तिम्रो छोरो भक्भके थियो हो ?

यो सुनेर बेथ हतप्रभ हुन्छे र छोरो भक्भके रहेको स्वीकार्छे । र, आत्मासँग कुरा गर्दा ओसिदार भक्भकाएर नै कुराकानी गर्छ ।

बेथ छोरोको कुराबाट सन्तुष्ट हुन्छे । उसलाई छोरोको आत्माको जुन चिन्ता थियो, त्यो हट्छ ।

त्यसपछि ऊ घर फर्कन खोज्छे तर ओसिदारले बेथलाई केहीबेर कुर्न आग्रह गर्छ । दुवै मिलेर बेलुन फुलाउँछन् । कुराकानी गर्छन् ।

आफ्नी छोरीलाई जन्मदिनको केक फुक्न र नयाँ कपडा लगाइदिने बेला हुन लाग्यो भन्ने लागेपछि उसले बेथलाई छोरीसँग भेट गराउन एउटा कोठामा जाउँ भन्छ ।

बेथले पनि मज्जाले स्वीकार्छे । स्वीकार्नुका पछाडि एउटा दृश्यले काम गरेको छ र फिल्ममा त्यो निकै मजाले देखाइएको छ ।

ओसिदार वृद्ध र तालुखुइले छ तर त्यो लुकाउन उसले नक्कली कपाल लगाउँछ, मान्छेलाई भेट्दा । तर जब बेथ र ओसिदारबीच गम्भीर कुराकानी अघि बढ्न थाल्छ, त्यो बेला उसले नक्कली कपाल खोल्दा बेथ झस्किन्छे । जवाफमा ओसिदार भन्छ, ‘झस्किनु पर्दैन । अब त हामी साथी भइसक्यौँ । साथीहरूलाई तालु के लुकाउनु !’

ती दुईबीचको दोस्ती छोटो समयमै कति मज्जाले गहिरियो भन्ने बुझाउन यो दृश्यले निकै राम्रो भूमिका खेलेको छ ।

ओसिदारले आफ्नी छोरीको जन्मदिनको शुभकामना व्यक्त गर्न एउटा बेग्लै कोठामा लैजान्छ । बेथ पनि पछि पछि लाग्छे । तर जब एउटा अचम्मको कोठामा दुवै छिर्छन्, बेथ चकित पर्छे ।

के देखेर चकित पर्छे बेथ ? त्यो पक्ष नै यो फिल्मको सबैभन्दा उम्दा दृश्य हो । यही दृश्यले तपाईंका रौँ ठाडा पारिदिन्छन् । र, कतिले फेरि दोहोर्याएर प्रत्येक दृश्यलाई हेर्छन् ।

यो फिल्ममा एउटा दृश्य छ, बेथले पानी ल्याउँछु भनेर फ्रिजतिर लाग्छे । फ्रिजमा एउटा केक राखिएको छ । त्यो भागमा केकबाहेक केही हुँदैन । त्यसपछि माथिको भाग खोलेर हेर्दा मासुका टुक्राहरू देखिन्छन् । त्यो मासुका टुक्राहरू देखेर ऊ किन छक्क परी ? त्यो मासु देखाउनुको प्रयोजन के हो ? त्यो खुल्दैन ।

यी केही दृश्यबाहेक अन्य सबै दृश्यले दर्शकलाई जिज्ञासु बनाइरहन्छ र दृश्यले तानिरहन्छ ।

लौ त, अबका १८ मिनेट तपाईं पनि यसैमा रमाउनुस् है त !