(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)

 

१. बिहान हुनुभन्दा पहिले
(हेम हमाल)

कोठा चोटा बढार्ने
मानिसहरू उठेका छैनन्
मूल ढोका उघार्ने
हातहरूको चुरा बजेको छैन
भयाङमुनिको आँगन लिप्ने पोतारीलाई
कसैले चलाएकै छैन,
फूलका तरेलीहरूमा अल्झेको शीतको थोपा
झर्न सकेको छैन,
पन्छीहरूले पखेटा तानेका छैनन्
चिरिबिरीको आवाज केही दिएका छैनन्
अझै त निकै सुनसान छ
पूर्व दिशातर्फ उज्यालोको कुनै आभास छैन
यस बेलासम्म कतै
भाले बासेको सुनेको छैन
सुत नेपाली सुत
उठ्ने बेला भएको छैन ।

२. लोकतन्त्रको तन्दूरमा पाकेको रोटी
(हरि अधिकारी)

हरि अधिकारी

लोकतन्त्रको तन्दूरमा पाकेको
वास्नादार विशाल रोटी
मानिसको मुठ्ठीको उचाइभन्दा एक गजमाथि
हावामा झुन्डिएको देखेर
भोका बालकहरूले आमाबाबुसँग सोधे
त्यो रोटी चन्द्रमा जस्तै टाढा छ हगि ?

त्यो रोटीलाई तान्न
उफ्रिरहेका बाबुआमाहरू
अवाक्, बिस्तारै–बिस्तारै
टुक्रिरहेको चन्द्रमातिर हेर्न लागे
रात कहिल्यै नसिद्धिने
नर्कको सुरुङ झैँ फैलिँदै गयो
लोकतन्त्रको तन्दूरमा पाकेको रोटी
ग्रहणको जून झैँ
खग्रास कालो भयो ।

३. कविता
(अशेष मल्ल)

अशेष मल्ल

कविता लेख्न बिर्से के होला
कहाँ पोख्ने आँसु
दुख्ने घाउ अझ दुख्दो हो
एकदम, हर्दम
मन कतै बिरानो जङ्गलमा पुग्दो हो
र चिथोर्दो हो
बाघका पन्जाहरूले
कविता छ र त आँसु पिइदिने कोही छ
कविता छ र त मन बिसाउने चौतारी कहीँ छ ।

४. तिमी के गछौँ ?
(बम देवान)

बम देवान

समुद्रको बीच धारमा
लहरिएको नाउमा
तिमीलाई तिर्खा लाग्दा
भन, तिमी के गर्छौ ?
सुशितल सुन्दर नागीमा
जूनै ओर्लेको एकान्तमा
जुनेलीले पोल्न लाग्दा
भन, तिमी के गर्छौ ?
म त आफ्नै छातीलाई
काँडाले कोतरेर
रगतपच्छे बनाउँछु
र उपचार गर्न थाल्छु ।
वायुयान उडिरहेछ
तेल सिद्धिरहेछ
बाँच्ने इच्छा चिच्याइरहेछ !
भन, तिमी के गर्छौ ?

५. केही मानिसहरू
(मीनबहादुर बिष्ट)

मीनबहादुर बिष्ट

केही मानिसहरू
भालेको पहिलो डाकोसँगै बिउँझिए,
केही मानिसहरू
भालेको दोस्रो डाकोसँगै बिउँझिए,
र अरू केही मानिसहरू
भालेको तेस्रो डाकोसँगै बिउँझिए,
ती जो बिउँझिएनन्
घाम लागुन्जेल त
अवश्य पनि
बिउँझिनेछन् ।