मध्यरातमा
अनौठो हाहाकार सुनिन्छ सहरमा !
.
ए जोगिन्दर ! ए मिस्रीमाया !
ए लोप्साङ ! ए धौलेका बाउ !
सपनाहरूलाई ओछ्यानमै छाडेर
ब्यूँझ अब यो कालनदीको निद्राबाट !
बोक बाल्टिनहरू, गाग्रीहरू, जर्किनहरू !
प्लास्टिकका बाटा, बोतल र गिलासहरू !
जीवनका सबै रित्ता भाँडाहरू बोक
र चाँडो निस्क बाहिर !
आज यत्तिका दिनपछि तिम्रो सहरले
आफ्नै सक्कली लोकगीत गायो—
कलधारामा पानी आयो !
.
इतिहासका चिसा आँसुले भिजेका
फोहोर लुगाहरू बाहिर निकाल !
श्रमको अमिलो गन्ध आउने
भोटो र कछाडहरू बाहिर निकाल !
श्रीमतीका सुत्केरी थाङ्नाहरू निकाल !
विचारझैँ गनाइरहेका मोजाहरू निकाल !
घरबेटीको आँगनमा काकाकुलझैँ
रुन थालिसके पानीका मोटरहरू !
आज यत्तिका दिनपछि तिम्रो सहरले
अधूरो क्रान्तिको हथौडी पायो—
कलधारामा पानी आयो !
.
ए सगरका श्रापित सन्तानहरू,
बिउँझ आफ्नो खरानीको तापबाट !
तिमीले थोपाथोपा बचाउनु छ जिन्दगीलाई !
यही पानी पिएर गाउनु छ राष्ट्रिय गान !
निदाएका नानीहरूलाई उठाऊ चाँडो !
नत्र भोलि स्कुलमा तिनका मैला हातहरूले
कसरी पल्टाउँछन् इतिहासको पुस्तक
र कसरी खप्छन् मास्टरको छडी ?
आज यत्तिका दिनपछि तिम्रो सहरले
जिउँदो सपनाको उत्सव मनायो—
कलधारामा पानी आयो !
.
ठूला सपनाहरू देख्दा देख्दै
साना दुःखहरूसँगै हारेछौँ हामी !
ए जोगिन्दर ! ए मिस्रीमाया !
ए लोप्साङ ! ए धौलेका बाउ !
यो मध्यरातमा आज फेरि
अनौठो हाहाकार सुनिन्छ सहरमा !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।