वाशिंटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई नेपाल वाङ्गमय फाउण्डेसनद्वारा प्रकाशित ‘विश्वका राष्ट्रिय गान’ पुस्तक हस्तान्तरण गरिएकाे छ । फाउण्डेसनका तर्फबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले उक्त पुस्तक दूतावासलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा राजदूत खत्रीले सो पुस्तकको प्रकाशन सम्बन्धमा तथा अमेरिकामा रहेका नेपाली साहित्यकार र लेखनप्रति चासो राखे । उनले नेपाली साहित्यकारहरू अमेरिकी साहित्यकारहरूसँग घुलमिल हुनुपर्ने धारणा राखेकाे गोविन्द गिरी प्रेरणाले बताए ।

साथै, सो पुस्तक दूतावासको पुस्तकालयमा राखिने समेत राजदूतले बताएका थिए ।

“विश्वका राष्ट्रिय गान” पुस्तकमा संयुक्त राष्ट्र संघले मान्यता दिएको विश्वका १९५ देशका राष्ट्रिय गानको नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ ।

यो पुस्तक फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालको सम्पादकत्वमा प्रकाशनमा आएकाे हो । अमेरिकाको राष्ट्रिय गान अनुवादमा प्रेरणा समेत संलग्न रहेका थिए ।