
१. पानी भ्यागुतो
(बिकु लामा)
चारैतिरबाट
बनेको छ बन्दी
बीचमा छ एउटा पानी भ्यागुतो,
पर्खाल अग्लिँदै छ झन्झन्
तर भ्यागुतो
सडकसम्म पुग्नका लागि
खनिरहेछ माटो भित्रभित्रै !
अहो !
पर्खाल भत्किनेछ क्रमशः क्रमशः !
२. पुतलीहरूको रङ
(हरीश अधिकारी)
उज्यालो बटुल्दा बटुल्दै
झमक्कै साँझ पर्यो !
र साँझ छिप्पिँदै गएपछि मात्र थाहा भयो—
बटुलेको त्यो सबै उज्यालो
चोरी भइसकेको रहेछ !
निष्पट्ट अन्धकारमा पुतलीहरू
उही उज्यालो ओडेर, ओछ्याएर, ओकलेर
उन्मुक्त उडिरहेका थिए !
अघिसम्मका ती पुतलीहरूको रङ
अहिले एकाएक फेरिएको थियो !
३. छोएर जानेहरू
(रमेशचन्द्र अधिकारी)
मलाई छोएर जानेहरू
आँखाको डिलैडिल भएर गए !
आँखाबाट भुइँमा खस्नेहरूले
भिन्नाभिन्नै पिंजराभित्र
भिन्नाभिन्नै नक्साहरू कोरेर गए !
आँखाको रेटिनामा हेर्नोस् त—
परेलीमा नअटाएका गीतहरूले
यिनै उल्टा तस्बिरहरू छोडेर गए !
४. हाँस्ने हिमाल
(जनार्दन दाहाल)
बिहान उठ्दा ऊ
हिमाल हेरेर हाँस्ने गर्थ्यो !
आजकाल त ऊ
निकै ढिलो उठ्छ,
उसलाई नै हेरेर
हिमाल हाँस्ने गर्छ !
५. अछुतो भेरी
(किशन पौडेल)
पृथ्वीको एउटा कन्दरामा
पृथ्वीलाई नै नछोई
बगिरहेको छ अछुतो भेरी !
ए आदिम बस्तीहरू !
रोक उसका वेगहरूलाई
सुृकाऊ यो अछुतो पानी !
नत्र भोलि कसरी चोखो रहला
हरियो खेतबारी र चिसो बतास ?
कसरी चोखो रहला
मन्दिरको भगवान्
र समुद्रका आँसुहरूको इतिहास ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

