(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो ।डा. विप्लव ढकाल)

१. समान–अन्तर

उपेन्द्र सुब्बा

(उपेन्द्र सुब्बा)

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

गाउँमा—
बाउ हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरा’छु ।

गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहङ्कार छ ।

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

 

२. हल्लिनु

धर्मेन्द्र विक्रम नेम्बाङ

(धर्मेन्द्रविक्रम नेम्वाङ)

हल्लिनु भनेको पुरानो अवस्थामा खलबल आउनु ।
हल्लिनु भनेको पुरानो व्यवस्थामा खलल आउनु ।
हल्लिनु भनेको यथास्थितिलाई धक्का दिनु ।
हल्लिनु नयाँ विज्ञानको सुरुवात हुनु ।
हल्लिनु भनेको मक्किएको टुक्रिनु,
चुटिनु, अलमलिनु, उल्टिनु, विघटन हुनु ।
पुरानो उखेलिनु, नयाँ परिस्थिति आउनु ।
हल्लिनु भनेको अस्थिर बन्नु ।
हल्लिनु भनेको पुरानो विस्थापन नयाँ आमन्त्रण ।
हल्लिनु ज्ञान, चेतना, धरातल,
कुण्ठा, मुटु, छाती, मगज, पृथ्वी आदि इत्यादि ।
हल्लिनु भनेको हिल्लिनु ।

 

३. नयाँ वर्ष

स्वप्निल स्मृति

(स्वप्निल स्मृति)

गाउँमा—
पूरै एक वर्ष भयो
राजधानीबाट अझै आइपुगेन
झाडावान्ताको ओखतीबाहेक हेलिकप्टर
ल, चाँपको हाँगामा
कति चाँडो आइपुगेछ नयाँ वर्ष !

 

४. याद

चन्द्रवीर तुम्बापो

(चन्द्रवीर तुम्बापो)

आफू—
भेलबाढी बनिदिन्छ,
र हामीलाई
बगर बनाएर जान्छ !

 

 

५. दुरी
(राबत)

राबत

एउटै बोटको
फरक हाँगामा फुलेको फूलझैँ
एउटै परिधिमा रहेर पनि
तिम्रो र मेरो मिलन
नचुँडिएसम्म सम्भव छैन ।