(यस शृङ्खलामा शास्त्रीय छन्दका कविहरू डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, मनोज भण्डारी, मेनुका चापागाईँ र सुदेश सत्यालका एक श्लोकमा संरचित कविता रहेका छन् । पछिल्लो समयमा छन्दकवितामा नवीनता र मौलिकताको अवस्था के-कस्तो छ ? कि यो परम्पराकै पुनरावृत्तिमा सीमित छ ? आजका छन्दकविताको विषय र शिल्पमा निजीपन चाहिँ के हो ? थुप्रै प्रश्नहरू छन् । यी प्रश्नमा बहस गर्नु आवश्यक छ । तपाईँका प्रतिक्रिया र विचार पनि दिनुहोला । – डा. विप्लव ढकाल)

 

१. बाटो

(मुरारी सिग्देल)

मुरारी सिग्देल

चौबाटोमा उभिएर
हेर्दै छु बाटो,
रोज्ने छैनँ चोरबाटो !

हिलो नै सही
धूलो नै सही
लम्बेतान नै सही

त्यही बाटो हिँड्छु—
जुन बाटो
पुर्खाले हिँड्न सिकाए !

 

२. सूर्यमुखी

(रेशम विरही)

सूर्यमुखी फूल
आहा ! तिम्रो मुखमण्डलको सौन्दर्य !

तिमी उम्रन्छौ माटोमा
फुल्छौ आकाशमा, झुक्छौ भुइँतिर
फर्किएर सूर्यपट्टि दण्डवत् गर्छौ हरदम !

वाह ! सूर्यमुखी
वाह ! तिम्रो नतमस्तक सौन्दर्य !

तिमी निहुरिनुको मुखमुद्रा नै साक्षी हो
शक्ति उपासनाको
तिम्रो सूर्यवन्दनाको मिजास
बेस्वादिलो सुवास
म हेरिरहन्छु जमीनबाटै ।

सौन्दर्यको लाचार अभिव्यक्ति
वाह ! सूर्यमुखी
वाह ! तिम्रो अभिशप्त सौन्दर्य !!

 

३. आशङ्काको चस्का

(कणाद महर्षि)

कणाद महर्षि

साँझ यौटा आकृति उदाएर
क्षितिजमा डुबुल्की मार्छ
म त्यसलाई
सधैँ पछ्याइरहन्छु
तर हरेक रातको एकान्तमा
एक्लै सोचिरहन्छु ।
फेरि व्यवहारमा
ब्यहोरिन सकिने हो कि नसकिने
आशङ्काले चस्काइरहन्छ,
यसरी जिन्दगी बाँचिरहेछु ।

 

४. असन्तुष्टि

(विवश पोखरेल)

भोकतृप्तिको एउटा भ्रमसँगै
वर्तमानको तप्त भट्टीमा
अझै हामी लोहोरो उसिनिरहेका छौँ

पाक्यो पाकेन छामिरहेका छन्
भोका केटाकेटीहरू !

थाहा छैन
ढुङ्गा नपाक्नुको यथार्थसँगै
कुन बेला भत्किने हो
उनीहरूको धैर्य
र कालान्तरमा फेरि जन्मिने हो कि
एउटा कोलाहल !
एउटा असन्तुष्टि !!
एउटा विद्रोह !!!

 

५. नियति

(युयुत्सु आरडी शर्मा)

मनसुनका झ्याउँकिरीहरू
च्याँठिन्छन्
चर्को स्वरमा,
प्यागोडा मन्दिरको
विशाल कास्य घण्टमुनि
बिस्तारै घुरिरहेको
बूढो कुकुर नजिकै सुतिरहेको
गलगाँड भएको जँड्याहा भरिया
तब मात्र उठछ— जुरुक्क,
जब उसको पीप बगिरहेको
हत्केलालाई
कुल्चिन्छ कुनै गोरिल्ला खुट्टाले !