१. यो साँझ

(बुद्धिसागर)

म ओर्लिन खोजिरहेछु,
आफ्नै आँखाको भर्‍याङबाट
सुस्तसुस्त
बोकेर केही कलिला
सपना,

त्यो अँध्यारो–अँध्यारो
झ्याङपछाडि
युगौँदेखि पर्खिरहेछ, सुक्सुकाउँदै
एक्लो जून,

उसलाई केही सपना दिएर
आज बिदा गर्नु छ ।

२. तिम्रो सम्झनामा

(रमेश सायन)

भर्खरै बिर्सेँ
आँगनमा फुलेको गुलाबको रङ
पिँढीमा सुनेको बतासको सुसेली
ऐनामा हेरेको आफ्नै अनुहारको हुलिया

सब थोक बिर्सेँ !

एकोहोरो आइरहने तिम्रो सम्झनाले गर्दा
आफैले आफैलाई बिर्सेँ

अब भन प्रिय,
म तिमीलाई भुलूँ कि
तिम्रो सम्झनामा आफैलाई भुलाएर
सोधिरहूँ बाटो–दोबाटोमा आफ्नै हुलिया !

३. देश/आदेश

(निष्प्रभ सजी)

मैले आफ्नै भाइलाई
बिना सनाखत गाडेको छु
र बालाई
भाइ फर्किन्छ भनेर ढाँटेको छु ।

तिमीले ढलाऊ भन्यौ
मैले ढालिदिएँ
ढलेको मेरै भाइ रहेछ !

मलाई आशा थियो
बा नअस्ताउँदै
उदाउनेछ घाम ‘भाइ’ भएर

न त भाइ फर्कियो
न त बाले घाम तापे,

तिमीले जलाऊ भन्यौ
मैले जलाइदिएँ
जलेको मेरै देश रहेछ !

४. विद्रोह

(सिर्जन अविरल)

आहालहरूमा पौडिएर आँसुको
ऊ सपना देखिरहन्छ सधैँ–सधैँ जीवनको,
थकित थकित यात्रा ओढेर पनि पाइलाहरूमा
ऊ गीत लेखिरहेछ आगोको !

आगो, आगो मात्र होइन
यो त विद्रोह हो,
यो त प्रतीक हो जीवनको !

पाइला पाइलामा
पीडाको पहाड चढ्दै
ज्वालामुखी पढेर आँखाभरि
ऊ विद्रोह गरिरहेछ
एउटा सिङ्गो युग ब्यूँझाउन
असङ्ख्य बेथितिहरूको !

 

५. जागिर

(जेनन नेपाल)

रामविलासको पानपसलबाट
किनेको जर्दा पान
चपाएको छु न्वारनदेखिको बलले,
निल्न सकिँदैन—
चहर्‍याएर आउँछ मुख !
थुक्न झनै सकिँदैन—
पैसा तिरेर जो किनिएको छ !