(यस शृङ्खलामा शास्त्रीय छन्दका कविहरू डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, मनोज भण्डारी, मेनुका चापागाईँ र सुदेश सत्यालका एक श्लोकमा संरचित कविता रहेका छन् । पछिल्लो समयमा छन्दकवितामा नवीनता र मौलिकताको अवस्था के-कस्तो छ ? कि यो परम्पराकै पुनरावृत्तिमा सीमित छ ? आजका छन्दकविताको विषय र शिल्पमा निजीपन चाहिँ के हो ? थुप्रै प्रश्नहरू छन् । यी प्रश्नमा बहस गर्नु आवश्यक छ । तपाईँका प्रतिक्रिया र विचार पनि दिनुहोला । – डा. विप्लव ढकाल)

डा. रामप्रसाद ज्ञवाली

१. अमरता

(डा. रामप्रसाद ज्ञवाली)

करोडौँ व्यक्ति जन्मिन्छन् युगमा युगले गरी
एकाध मात्र जन्मिन्छन् युगै जन्माउने गरी
युगले जन्मिने मान्छे युगैभित्र बिलाउँछन्
युग जन्माउने मान्छे युगौँ सम्मान पाउँछन् ।

 

डा. देवी नेपाल

२. झुक्नु हुन्न

(डा. देवी नेपाल)

पड्किन्छ एक कविता अनि शक्ति ढल्छ
पोखिन्छ भाव सरिताबीच अग्नि बल्छ
हो जिन्दगी हिमनदी अब सुक्नु हुन्न
साँचो कला समयका अघि झुक्नु हुन्न ।

 

मनोज भण्डारी

३. साँझ

(मनोज भण्डारी)

धकेल्छ सिङ्गो दिन सूर्यलाई
र रात आउन्न समात्नलाई
दोसाँध, अन्योल र बेइमानी
के साँझझैँ छैन र जिन्दगानी ?

 

मेनुका चापागाईँ

४. सच्चा मानव

(मेनुका चापागाईँ)

भोको होस् तर मन्त्र जप्छ जिउने यी पाखुरी चाल्दछु
काटी गाँस निलेर प्यास पसिना छाप्रो स्वयम् हाल्दछु
आफैँ जल्छु जलेर दिव्य जगमा बत्ती स्वयम् बाल्दछु
केही गर्छु गरेर मर्छु भवमा मान्छे भई बाँच्दछु ।

 

सुदेश सत्याल

५. माझी

(सुदेश सत्याल)

धकेल्ला नदीमा कुनै एक बुद्ध
गरौँला म गोहीहरूबीच युद्ध
डुबाएर मार्ने थियो होडबाजी
म पौडेर तर्ने थिएँ एक माझी !