मरेको मानिसले
पछाडि फर्केर – आँसुले टिपलपिल भएका
आफन्तका आँखाहरु हेर्छ कि हेर्दैन ?

मरेको मानिस
हिँड्छ कति कोस, कति जुनी ?
कुन नदीको किनारमा
नुहाउँछ चिसो पानीले,
र धुन्छ- गालाभरि बसेका
आँसुका धमिला धर्साहरु,
मरेको मानिस रुन्छ कि रुदैन ?

के – के लैजान्छ
मरेको मानिसले आफ्नो झोलामा–
जीवनकालभरि सबैबाट जोगाएका
स्मृतिहरु ?
पहिलोपल्ट लेखेको प्रेमपत्र ?
पहिलोपल्ट हिँडेको पाइला ?
प्रिय किताब ?
परिवारको सामूहिक तस्बिर ?
पहिलोपल्ट सन्तानले बोलेको
आफ्नो नाम ?

कि जान्छ – सबै छाडेर
बिर्सिएर सबथोक,
आत्मबाट मेटाएर
जीवनले कोरेका चित्र र अक्षरहरु ।

मरेको मानिसले
आकाशगंगाको डिलमा उभिएर
मुटुबाट सम्बन्धका ध्वजाहरु
फुकाउँछ कि फुकाउँदैन ?

अन्तिमपल्ट
धर्तितिर फर्किएर,
एकजुनी जीवनमा आफूसँग गाँसिएका
सबै – सबैलाई सम्झिएर
मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको
गोजीमा
फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?