
आज शनिबार । त्यसै पनि बिदाको दिन । त्यसमाथि महाचाडको बिदा । भनेपछि यो बिदालाई महाबिदा मान्दा पनि हुन्छ नि हैन ?
यो महाबिदाका बेला एउटा सोच्न बाध्य पार्ने सिनेमाको कुरा गरौँ न, हुन्न ?
सन् १९८९ भन्ने बित्तिकै तपाईंले के सम्झनु हुन्छ ? त्यो बेला तपाईं जवान हुनुहुन्थ्यो भने हिन्दी सिनेमामा एउटा वर्ग समाप्त हुँदै थियो र अर्को जन्मदै थियो ।
भनाइको अर्थ, हिन्दी सिनेमामा यस अवधिपछि नयाँ किसिमको व्यावसायिक फिल्म जन्मदै थिए । त्यसैबीचमा केही गम्भीर फिल्मको अभ्यास पनि चलिरहेका थिए । त्यो समयमा रिलिज भएको ‘कमला की मौत’ समानान्तर फिल्मको एउटा राम्रो उदाहरण थियो ।
यही अवधिमा मैंने प्यार किया, कयामत से कयामत तक जस्ता मूलधारका फिल्महरू रिलिज हुँदै थिए । तिनले फिल्म उद्योग र मनोरञ्जन चाहने दर्शक दुवैको स्वाद परिवर्तन गर्दै थिए ।
कमला की मौत वैकल्पिक स्वाद दिने र केही गम्भीर बनाउने फिल्म हो ।
कुनै सहरमा एउटा चालमा बस्ने परिवारमा वृद्ध हुँदै गएको व्यक्ति पंकज कपुर उसकी पत्नी र दुई छोरीहरूसँग जीवन गुजारा चलाइरहेको छ । यत्तिकैमा सो घरको माथिल्लो तलाबाट एक जना युवतीले हाम्फालेर मर्छे, उसको नाउँ कमला थियो ।
कमला किन मरी ? भन्ने प्रश्नमाथि प्रहरीले खोजबिन गरेका कुराहरू केही पनि देखिँदैन । मात्र समाज र परिवारभित्र यसका कुराहरू खोतलखातल हुन्छन् ।
पंकज कपुर चाहन्छ, आफ्नी छोरीहरू कमलाले जस्तो आत्महत्या नरोजून् । उनीहरू आफूजस्तो नबनून्, उनीहरूकी आमाजस्ती सोझी, पतिलाई नै परमेश्वर मान्नेजस्ती होऊन् ।
यो फिल्मको सबैभन्दा रोचक पक्ष भन्नु नै, हरेक व्यक्तिले कुनै न कुनै समयमा कसैलाई मन पराएको हुन्छ, उसलाई माया गरेको हुन्छ र हदसम्म पुगेर दुर्घटित भएको हुन्छ भन्ने स्थापित गरेको छ । फिल्ममा पनि पंकजले कसैलाई मन पराएको छ तर वृद्धावस्थामा ऊ यति पत्नीप्रेमी छ कि पत्नीलाई उसको विगत थाहा नभएका कारण आफ्ना छोरीहरू आफ्ना बाबाजस्तै सोझो, सुधो बनून् भन्ने चाहन्छे ।
यता दुई छोरीहरूका पनि आफ्नै प्रेमीहरू छन् । आफूहरूले प्रेम गरेकै कारण उनीहरू भित्रभित्र आफू गलत छु भन्ने मानसिकताबाट पीडित हुन्छन् ।
फिल्मले यो संसारमा एउटा समयमा कोही न कोही, कसैको प्रेममा परेको हुन्छ, धोका खाएको हुन्छ वा उसले यस्तो कुकर्म गरेको हुन्छ, त्यसले उसलाई पछिसम्म पोल्छ ।
तीस वर्षअघिको समाजमा प्रेम एउटा वर्जित पक्ष मानिन्थ्यो । त्यसमाथि प्रेमबाट सिर्जित अनिच्छित गर्भ त ठूलो पाप नै थियो । त्यस बेलाको समाज टपक्क टिप्न फिल्म सफल छ ।
यसमा तपाईंका लागि बोनस पक्ष भन्नु इरफान खानको सुन्दर अभिनय र यसको कथानक नै हो । फिल्म छोटो छ, जम्मा डेढ घण्टाको तर यसले दिएको सन्देश भने साँच्चिकै मननयोग्छ ।
https://www.youtube.com/watch?v=YPmfeLfxazE



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

