
प्रितम चक्रवर्ती भारतीय हिन्दी फिल्मका एक चर्चित संगीतकारका रूपमा चिनिइन्छन् । उनको हालै व्रह्मास्त्र र लाल सिंह चढ्ढाका गीतहरू निकै रूचाइए । इन्डिया टुडेले उनीसँग गरेको छोटो मीठो वार्ताः
मुम्बई फिल्म उद्योगमा पहिलो हिट गीत तेरे लिए फिल्मका लागि थियो । अहिले त त्यो हिट गीत बज्न थालेको पनि २१ वर्ष बढी भइसकेछ । यी दुई दशकले बलिउडले तपाईंलाई के सिकायो ?
सफलता भनेको धुँवाजस्तै हुन्छ भन्ने सिकायो । सफलता पाउनेबित्तिकै तपाईं उम्तिन नथाल्नुस् । यो त पानीको फोकाजस्तै हो भन्ने निकै पछि मात्र चाल पाउनु हुन्छ । बरू तपाईं सिर्जनाको आनन्द लिनु होस् । जोसँग काम गरिरहनु भएको छ, उनीहरूसँगको सम्बन्धलाई आनन्दसँग लिनुहोस् । जुन फिल्मका लागि तपाईंले काम गरिरहनु भएको छ, त्यो फिल्मलाई बढीभन्दा बढी कसरी राम्रो गर्न सकिन्छ भनेर मिहिनेत गर्नुहोस् । खासमा काम लाग्ने भनेको त्यही मिहिनेत हो । अरू केही पनि काम लाग्दैन ।
तपाईंलाई जे कुरामा विश्वास छ, जे गर्नुमा तपाईं अर्थ देख्नुहुन्छ, त्यसका लागि समय दिनुहोस् । कामको गुणस्तरभन्दा अरू केही पनि अर्थ छैन । धेरैलाई सामाजिक सञ्जालमा बकबक गर्नु, सम्बन्ध राख्नु धेरै अर्थपूर्ण हो भन्ने लाग्न सक्छ तर त्यो छोटो अवधिका लागि मात्र हो । टाढासम्म पुग्नका लागि कडा मिहिनेतबाहेक अरू कुनै उपाय छैन ।
तपाईंको पहिला आफ्नै एउटा सांगीतिक ब्यान्ड हुने गर्थ्यो । तपाईंसँगै संघर्ष गर्नेहरू पनि फिल्मको साउन्ड ट्रयाक बनाउन थालेका छन् । पुराना दिन सम्झँदा कस्तो लाग्छ ?
सम्झेर ल्याउँदा फिल्म उद्योगमा टिक्न के मात्र गरिएन भन्ने लाग्छ । यति धेरै कामहरू गरियो कि मेरो पहिचान के होला भन्ने पनि सोच्छु । फिल्मबाहेक स्वतन्त्र एल्बम बनाउनु, बाङ्ला फिल्महरूमा संगीत दिनु मेरो भित्री इच्छा थियो । अहिले पनि छ तर समय छैन । तिनका लागि मैले समय मिलाउन सकिरहेको छैन । मातृभाषाका लागि गर्न पाउँदा म सधैँ खुसी हुन्छु । तर समय छैन । शायद चाँडै नै त्यो मौका पनि आउला ।
अरू संगीतकर्मीजस्तै मेरो पनि स्वतन्त्र एल्मब निकालूँ, हिन्दी फिल्मका कमर्सियल संगीतभन्दा आफ्नै केही गरूँ, खासगरी बाङ्ला म्युजिकमा केही गरूँ भन्ने सधैँ लागिरहन्छ ।
तपाईंको जिगरी गायक, संघर्षताकाको साथी केकेको हालै देहान्त भयो । घरिघरि त उनको याद आउला नि, हैन ?
यो संसारमा अब ऊ छैन भन्ने पत्याउनै मलाई गाह्रो हुन्छ । उसको देहान्तपछि अस्थि सेलाउन मुम्बई ल्याइएको थियो । मलाई त्यो बेला कोभिड १९ रोगले थलाएकाले जान पाइनँ । मेरो दिलदिमाग त ऊ अझै ज्यूँदै छ भन्ने लाग्छ ।
एक पटक म म्युजिक सिटिङमा थिएँ । एउटा विशेष किसिमको गीतको कुरा उठिरहेको थियो । कसलाई गाउन दिने भन्दा मैले फ्याट्ट केकेको नाम लिएँ । स्टुडियोमा अचानक सन्नाटा छायो । किन सब चुपचाप भए, किन सन्नाटा छायो भन्ने दिमागमा घुसेन । पछि मैले के गल्ती गरेँ भन्ने बुझेपछि बाथरूममा गएर ग्वाँ ग्वाँ रोएँ । ऊ मेरो कति नजिक रहेछ कि म मरिसक्यो भन्ने नै दिमागमा घुसेको रहेनछ । अनि केही दिन अघि त उसको कोलकातामा सांगीतिक कार्यक्रमको भिडियो देख्दा मैले मन थाम्नै सकिनँ ।
शुरूवाती केही वर्षमा तपाईंलाई विदेशी गीत चोरेको आरोप लाग्यो । तपाईंले त्यसमा गल्ती भएको स्विकार पनि गर्नुभयो । पछिल्लो समय व्रह्मास्त्र फिल्मको केसरिया गीत पनि चोरेको आरोप लगाइरहेका छन् नि ?
यस्तो आरोप लगाउने मेरो प्रशंसक हुन सक्दैनन् । किनभने मैले पहिले गरेका गल्ती म दोहर्याउँदिनँ भन्ने प्रशंसकहरूलाई थाहा छ । म अहिलेसम्म यो उद्योगमा टिकेको छु भने प्रशंसकहरूकै कारणले टिकेको छु । समस्या अधकचरा स्रोताहरूमा छ । उनीहरूलाई जेनेरिक या खास किसिमको मेलोडिक धुन र त्यसको स्पिड हेरेर कुनै न कुनै गीतसँग मिल्यो भनेर होहल्ला गर्न थालिहाल्छन् । जेनेरिक वा मेलोडिक धुनका केही अंश चोर्नु पर्दैन, त्यो आफसेआफ मिल्छन्, केही सेकेन्ड मात्र त्यो धुन सुन्यो भने मिलेजस्तो लाग्छ । त्यसका लागि प्रशंसकहरूमा धैर्य हुन्छ, अधैर्यहरूले जहिले पनि खोट लगाइहाल्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

