रोशन कुनै समयका प्रख्यात सङ्गीतकार हुने गर्थे । हिन्दीमा फिल्ममा उनले दिएका सङ्गीत यति लोकप्रिय थिए कि गरिवीमा जीवन बिताइरहेका रोशन र उनको परिवारका लागि मुम्बई एउटा ओत बन्न पुग्यो ।

दुःखको कुरा छोराहरू आफ्नो गोडामा उभिनुअघि नै रोशनको निधन भयो । त्यसपछि घरको जेठो छोरो भएकाले राकेश रोशनले घर चलाउन सानोतिनो भूमिका गर्ने, निर्देशकको सहायक हुनेदेखि लिएर अनेक दुःख गरे ।

जब विवाह लायक भए, उनको मिहिनेत देखेर त्यो बेला बलिउडका प्रख्यात फिल्म निर्माता निर्देशक जे. ओमप्रकाश मेहराले आफ्नी छोरी नै दिए ।

सुनको चम्चामा खाएर हुर्किएकी पिंकी मेहरासँग बिहे त भयो तर घर कसरी चलाउने भन्ने तनावले कहिल्यै छाडेन ।

तर बलिउडमा प्रख्यात निर्माता निर्देशकको छोरी बिहे गरेका कारण उनलाई निर्माता निर्देशक हुने बाटो भने छँदैथियो ।

राकेश रोशनमा बलिउड मटेरियल थियो तर पनि उनी कहिल्यै माथि उठ्न सकेनन् । उनलाई कसैले पनि पत्याएनन्, यसको मलाल उनलाई सधैं रहिरहन्छ ।

समय घर्किसकेको थियो । अब उनले त्यसमा केही गर्न सक्ने अवस्था थिएन । त्यसैले उनले आफ्नो क्षमता निर्देशनमा अजमाउने प्रयास गरे ।

उनले निर्देशन गरेको पहिलो फिल्म ‘खुदगर्ज’ नै हिट भइदियो । यसले उनको निर्देशनको बाटो खुल्यो । उनले पछि आफैं फिल्म निर्माण र निर्देशन गर्न फिल्म क्राफ्ट नामक फिल्म कम्पनी शुरू गरे ।

‘खुन भरी माग’ले राम्रै चर्चा पायो । ‘किसन कन्हैया’ हिट भयो । तर जब उनले छोरो ऋतिक रोशनलाई ‘कहो ना प्यार है’ बनाए, त्यसपछि भने उनको करियर निकै माथि उठ्यो । त्यसपछि क्रमशः बनाइएका अन्य फिल्महरू खासगरी ‘क्रिस’ र त्यसका अन्य शृंखलाले उनलाई लगानी गरेभन्दा धेरै दियो । एकै झमटमा एउटा सामान्य सफल फिल्म निर्माता निर्देशकको छविबाट माथि उठेर सय करोड क्लबभन्दा बढी कमाउने अब्बल दर्जाका निर्माता निर्देशकको परिचय बनाउन पुगे ।

अहिले रोशनहरूको सम्पत्ति तीन सय करोडभन्दा बढी छ भन्ने आकलन गरिन्छ । यो केही वर्षअघिको तथ्याङ्क हो, त्यसमा हेरफेर भइरहन्छ । तर उनीहरूको सम्पत्तिको आकलन गर्न यत्ति काफी छ कि जुन ठाउँमा उनीहरूबारे डकुमेन्ट्री बनाइएको छ, त्यो आलिशान महलको कम्तीमा पनि २ सय करोडभन्दा बढी नै महँगो होला ।

हुन त डकुमेन्ट्रीले पैसाको प पनि उच्चारण गरेको छैन तर रोशन परिवार, खासगरी राकेश र उनका छोरा ऋतिकले कति पैसा कमाएका रहेछन् भन्ने चाहिँ देखिन्छ । पैसा कति कमाए भन्ने थाहा पाउन, त्यो घरका स्त्रीहरूको शानले बोल्छ । यहाँ त्यही देखिन्छ । डकुमेन्ट्रीमा ‘खानदानी’ पिंकीको निकै ठूलो बोलवाला देखिन्छ । त्यसो त रोशनकी पत्नी अर्थात् राकेश र राजेशकी आमा पनि निकै कडा महिलाका रूपमा डकुमेन्ट्रीमा देखिन्छिन् ।

एक ठाउँमा राजेशको बिहे गर्ने बेलामा पञ्जाबी मूलकी बुहारी खोज्ने चटारीका बीचमा उनले गाउँले बुहारी ल्याएकामा दुःखी देखिन्छिन् । तर सँगै उनले कान्छी बुहारीलाई मुम्बई ल्याइसकेपछि कसरी अंग्रेजी सिकाइन् भनेर अंग्रेजीमा जोड दिएको देखिन्छ ।

बलिउडियाहरूमा अंग्रेजी बोल्न जान्नुलाई यति ठूलो गुणका रूपमा लिइन्छ कि हिन्दी बोल्नुलाई गँवार नै ठान्छन् । यस्ता कयौँ दृष्टान्तहरू उत्तर प्रदेश तथा विहारबाट संघर्ष गर्न मुम्बई पुगेका उम्दा कलाकारहरूले तिक्तता व्यक्त गरिसकेका छन् । यो डकुमेन्ट्रीमा कान्छी बुहारीले अंग्रेजी नजान्नुलाई पनि त्यही गँवारपनाका रूपमा व्याख्या गरेको देखिन्छ ।

खैर, रोशन परिवारका कान्छा सदस्य राजेश रोशन पेशाले सङ्गीतकार हुन् । उनी अलि चर्चाबाट बाहिर रहने गर्छन् । यो कुरा डकुमेन्ट्रीमा बडो मजाले देखाइएको छ । कतिसम्म भने उनका सन्तान पनि यति लजालु छन् कि डकुमेन्ट्रीमा छैनन् बराबर नै देखिन्छन् ।

त्यसपछि डकुमेन्ट्रीमा ऋतिक रोशनको कथा आउँछ । ‘कहो ना प्यार है’को अपार सफलतापछि उनको करियर निकै माथि गयो । अभिनयमा त ‘कोही मिल गया…’बाट उनले आफूलाई प्रमाणित नै गरिदिए ।

यो डकुमेन्ट्री हेर्दा यस्तो लाग्छ, संघर्ष र दुःखले यो परिवार खारिएको छ । खासगरी जब ‘कहो ना प्यार है’को अपार सफलतालगत्तै मुम्बईको अन्डरवर्ल्ड डनबाट गोली हानी हत्या गर्ने गरेको प्रयास हेर्दा त ‘अहो, कति दुःख दिन सकेको !’ भन्ने मुखबाट निस्कन्छ ।

जब ४५ मिनेटका चार वटा एपिसोड सकिन्छ अनि मात्र दर्शक भरङ्ग हुन्छन् । बलिउडका सबै चम्चाहरूलाई भेला पारेर रोशन परिवारको गुनगान गवाइन्छ । त्यसमा जीतेन्द्र, शत्रुघ्न सिन्हादेखि शाहरूख, माधुरी दीक्षित, अनिल कपुरसम्म देखिन्छन् । बलिउडको अर्को चाकडीबाज करण जोहरले त झन् अश्लीलताको हदमा गएर तिनको चाकडी गरेको देखिन्छ ।

डकुमेन्ट्रीमा कहीँकतै पनि नेपालको प्रसंग उल्लेख छैन । उनीहरूलाई त्यसको मतलब पनि नहोला किनभने उनको नाममा जो मरे, ती नेपाली थिए । जो जसमाथि आक्रमण गरियो, मधेशीहरूलाई भारतीय भनी आक्रमण गरियो ।

खैर, यो नेपालको प्रसङ्ग हो, नेपालीहरू मरे त के भो ?

ऋतिक रोशनले सुजैन खानसँग बिहे र पारपाचुके गरे । उनका दुई छोरा छन् । डकुमेन्ट्रीमा उनका दुई छोराका कला पनि देखाइन्छ तर कतै तिनकी आमाको एक शब्द उच्चारण छैन । कतिसम्म भने पहिले ललाई फकाई प्रेममा पारेर पछि रछ्यानमा फ्याँकिएकी कंगना रनावतसँग माफीसम्म मागेका छैनन् ।

समग्रमा यो डकुमेन्ट्री एउटा असल हजुरबाको असलपनाले रोपेको एउटा रूख कसरी वृक्ष बन्न पुग्यो भन्नेबारे हो । तर सबै कुरा प्रशंसै प्रशंसा देखेपछि भने अन्त्यमा यस्तो झूर डकुमेन्ट्री के हेर्नु भन्ने लाग्छ ।

हरेक व्यक्तिका कमजोरी हुन्छन् । रोशनहरूमा पनि हुनुपर्छ । कम्तीमा राजेश रोशनले एक ठाउँमा भन्छन्, ‘मेरो ठूलो कमजोरी छ, म काम माग्न जान्नँ । त्यसैले अचेल पछि परेँ ।’

बरू यो डकुमेन्ट्रीभन्दा हजार गुणा बढी सुन्दर ‘द रोमान्टिक्स’ छ । जसमा यश चोपडाले आफ्ना दाइ बीआर चोपडा (जसले महाभारत बनाए)को कम्पनीबाट अलग्ग आफूलाई उभ्याएका बारेमा देखाइएको छ ।

समग्रमा रोशन्स एउटा चाकडी र बजारका लागि बनाइएको डकुमेन्ट्री हो भन्दा अत्युक्ति नहोला ।